सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हतपती नमर्ने पानी भालु

हतपती नमर्ने पानी भालु

हतपती नमर्ने पानी भालु

जापानका ब्यूँझनुहोस्‌! लेखक

▪ पानी हुने जुनसुकै ठाउँ, चाहे त्यो काई, बरफ, खोला, तातो पानीको कुण्ड, ताल, समुद्र वा करेसाबारी नै किन नहोस्‌, पानी भालु त्यहाँ हुन सक्छ। यो प्राणीको शरीर साह्रो हुन्छ तर एकदमै सानो हुने हुँदा हतपती देखिंदैन। यसको जीउ चार खण्डको हुन्छ अनि कडा खोलले ढाकिएको हुन्छ। यसको आठवटा खुट्टा हुन्छ र प्रत्येक खुट्टामा नङ्‌ग्राहरू हुन्छन्‌। झट्ट हेर्दा भालु जस्तै देखिने भएकोले यसको नाउँ पानी भालु राखिएको हो।

पानी भालु टार्डीग्राडा फाइलममा पर्छ। यसका सयौं प्रजातिहरू छन्‌ अनि पोथीले एक चोटिमा एकदेखि ३० वटा सम्म अण्डा पार्छे। दुई चार मुठी ओसिलो बालुवा वा माटोमा हजारौं पानी भालु हुन सक्छन्‌। पानी भालु सजिलै पाइने ठाउँ भनेको छानामा परेको काई हो।

अत्यन्तै प्रतिकूल वातावरणमा पनि पानी भालु बाँच्न सक्छ। इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ, “पानी भालुलाई आठ दिनसम्म हावा नभएको ठाउँमा राखियो, त्यसपछि सामान्य तापक्रममा तीन दिनसम्म हिलियम ग्याँसमा अनि केही घण्टासम्म माइनस २७२ डिग्री सेल्सियसमा (माइनस ४५८ डिग्री फरेनहाइट) राखिसकेपछि पनि फेरि सामान्य तापक्रममा राख्दा यिनीहरू पुनः जीवित भए।” जुन विकिरणको मात्रामा मानिसहरू मर्छन्‌, त्यसको सयौं गुणा बढी विकिरण हुँदा समेत पानी भालु बाँच्न सक्छ। सैद्धान्तिक तवरमा भन्‍ने हो भने, अन्तरिक्षमा समेत यिनीहरू केही समय बाँच्न सक्छन्‌!

यसरी मरेतुल्य अवस्थामा बाँच्न सक्नुको मुख्य कारण हो, यिनीहरूको शरीरमा जीवन धान्‍ने जति पनि प्रक्रियाहरू हुन्छन्‌, यति बेला त्यो सामान्य अवस्थाको तुलनामा ०.०१ प्रतिशत मात्र हुन्छ। भनौं भने, ती जीवन धान्‍ने प्रक्रियाहरू भए नभएको पत्तै लगाउन सकिंदैन! यस्तो अवस्थामा पुग्न यिनीहरूले खुट्टा खुम्च्याएर शरीरभित्र लुकाउँछन्‌, आफ्नो शरीरबाट खेर गएको पानीलाई विशेष किसिमको चिनीले परिपूर्ति गर्छन्‌ अनि शरीरलाई मैनले ढाकिएको जस्तो गुँडुल्को बनाउँछन्‌। सामान्य, ओसिलो वातावरण भएपछि केही मिनेटदेखि केही घण्टा भित्रै सक्रिय हुन्छन्‌। एक चोटि, १०० वर्षसम्म मरेतुल्य अवस्थामा बसिसकेको पानी भालुलाई पुनः सक्रिय बनाउन सम्भव भएको थियो!

हो, यी साना ‘घस्रने जन्तुहरूले’ कुनै आवाज नै ननिकाली अचम्म किसिमले यहोवाको प्रशंसा गर्छन्‌।—भजन १४८:१०, १३. (g 3/07)

[पृष्ठ ३०-मा भएको चित्रको स्रोत]

© Diane Nelson/Visuals Unlimited