अत्तर उत्पादकहरूको प्रिय फल
अत्तर उत्पादकहरूको प्रिय फल
इटालीका ब्यूँझनुहोस्! लेखक
अत्तरको प्रयोग हुन थालेको धेरै पहिलेदेखि हो। बाइबल लेखिएको समयतिर औकात हुनेहरूको घर, लुगाफाटा, ओछ्यान र जीउ अत्तरको बासनाले मगमग हुन्थ्यो। अत्तर बनाउन अगर, सुगन्धित तेल, सिन्कौली र अरू मरमसला प्रयोग गरिन्थ्यो।—हितोपदेश ७:१७; श्रेष्ठगीत ४:१०, १४.
अत्तर बनाउनको लागि अहिले पनि वनस्पतिबाट निकालिने रस नभई हुँदैन। वनस्पतिबाट निकालिने एउटा तत्त्व उत्पादन गर्ने ठाउँ हेर्न हामी क्यालाब्रिया गयौं। यो ठाउँ इटालेली प्रायद्वीपको सबैभन्दा दक्षिणी भेगमा पर्छ। बर्गामट शब्द सुन्दा तपाईंलाई यो के हो जस्तो लाग्न सक्छ तर यस फलको बासना महिलाहरूले प्रयोग गर्ने अत्तरमध्ये एक तिहाई र पुरुषहरूले प्रयोग गर्ने अत्तर अर्थात् कोलोनमध्ये आधीजसोमा पाइन्छ। हामी तपाईंहरूलाई बर्गामटबारे केही जानकारी दिन चाहन्छौं।
बर्गामटको बोट, सुन्तला जातको सदाबहार बोट हो। यसमा मार्चको अन्ततिर फूल फुल्न थाल्छ। पहेंलो रङको अनि बोक्रा चिल्लो हुने यो फल लगभग सुन्तला जत्रै हुन्छ। फल टिप्ने काम भने अक्टोबरदेखि डिसेम्बर महिनाभित्र हुन्छ। थुप्रै विशेषज्ञको विचारमा बर्गामट ठिमाहा हो र यसको उत्पत्ति कहाँ भएको हो भन्ने कुरा रहस्य नै रहेको छ। जङ्गली अवस्थामा बर्गामटको बोट कतै पाइँदैन र बीउ लगाएर उमार्न पनि सकिंदैन। उस्तै जातका बोटहरू, जस्तै कागती वा सुन्तलाको बोटमा कलमी गरेर मात्र खेती गर्न सकिन्छ।
अत्तर निर्माताहरूको लागि बर्गामट फलका अद्भुत विशेषताहरू छन्। यसै विषयमा लेखिएको एउटा किताबले बताएअनुसार बर्गामटबाट निकालिएको बासनामा एउटा अचम्मको विशेषता पाइन्छ। “यसले विभिन्न बासनाको सम्मिश्रण गरेर एउटा छुट्टै बासना निकाल्छ अनि यसमा मिसाइने प्रत्येक तत्त्वलाई स्फूर्तिदायी सुगन्ध दिन्छ।” a
क्यालाब्रियामा खेती
इतिहासको पुस्तकअनुसार १८ औं शताब्दीको सुरुतिर नै क्यालाब्रियामा बर्गामटको खेती गरिन्थ्यो अनि त्यहाँका स्थानीयवासीहरूले त्यो ठाउँ भएर जाने यात्रुहरूलाई कहिलेकाहीं बेच्ने गर्थे। तर कोलोनको सफलतापछि मात्र व्यावसायिक रूपमा यसको खेती थालियो। इटालीबाट जर्मनीमा बसाइँ सरेका जान पाओलो फेमिनिसले सन् १७०४ मा बर्गामटको बासना आउने टोइलेट वटर अर्थात् बास्ना आउने पानी बनाए। यसलाई तिनले आक्वा एडमिराबिलिस अर्थात् “गजबको पानी” भने। हुन पनि यसको मुख्य तत्त्व बर्गामट नै थियो। यसरी बनाइएको अत्तर यु डि कोलोन, “कोलोन वटर” वा कोलोनको नाउँबाट प्रख्यात हुन थाल्यो। कोलोन सहरमै उत्पादन गरिएको हुँदा नाउँ पनि कोलोन नै रहन गयो।
बर्गामटको पहिलो बगान सन् १७५० तिर क्यालाब्रियाको रेजियोमा लगाइएको थियो। अनि यसबाट मनग्गे फाइदा भएको हुँदा अझ बढी खेती गरियो। बर्गामटको बोट फस्टाउन ठिक्कको हावापानी चाहिन्छ। यसलाई उत्तरबाट आउने चिसो बतासबाट
जोगाउन दक्षिणी मोहडा भएको ठाउँ चाहिन्छ। तर बेस्सरी बतास चल्यो, अकस्मात् हावापानीमा फेरबदल भयो र लामो समयसम्म ओसिलो रहिरह्यो भने यो फस्टाउन सक्दैन। यसको खेती हुने ठाउँ इटालीको सबैभन्दा दक्षिणी समुद्रीतटमा पर्छ र यसले ओगटेको भूभाग केवल पाँच किलोमिटर चौडा र १५० किलोमिटर लामो छ। यहाँ यसलाई चाहिने जस्तै ठिक्कको हावापानी छ। अरू ठाउँमा पनि बर्गामटको खेती गर्ने प्रयास गरिए तापनि अधिकांश भने रेजियो प्रान्तबाटै प्राप्त हुन्छ। यसबाहेक अर्को एक मात्र ठूलो उत्पादक अफ्रिकाको कोट डे’भ्वा हो।बर्गामटको तेल, पहेंलो-पहेंलो हरियो-हरियो रङको हुन्छ र यो बोक्राबाट निकालिन्छ। यो तेल निकाल्ने पुरानो तरिकाअनुसार फललाई दुई फ्याक पारेर काटिन्थ्यो, गुदी निकालिन्थ्यो अनि बर्गामटको रस स्पंजमा पर्ने गरी बोक्रा निचोरिन्थ्यो। आधा किलो रस निकाल्न १०० किलोजति बर्गामट निचोर्नुपर्थ्यो। अहिले मेसिनद्वारा रस निकालिन्छ, बोक्रालाई पिंधेर रस निकाल्ने मेसिनमा खस्रो पाता वा रोलर हुन्छ।
धेरैलाई थाह नभएको तर व्यापक प्रयोगमा आएको
क्यालाब्रियाबाहेक अरू ठाउँमा यस फलबारे त्यति थाह नहुन सक्छ तर “पारखीहरूको लागि भने बर्गामट अनमोल फल हो।” यसको मीठो बासना अत्तरमा मात्र होइन साबुन, डियोडरेन्ट, टुथपेस्ट र क्रिममा पनि प्रयोग गरिन्छ। मीठो स्वादको लागि आईसक्रिम, चिया, चकलेट, मिठाई, पेय-पदार्थ इत्यादिमा पनि राखिन्छ। छालालाई गाढा रङको बनाउने यसको क्षमताको कारण सन-केयरसम्बन्धी सामानमा पनि यसको प्रयोग गरिन्छ। यसमा एन्टिसेप्टिक र ब्याक्टेरिया मार्ने क्षमता भएको हुँदा शल्यक्रिया, आँखा र छालाको उपचार गर्दा संक्रमण रोक्ने औषधीहरूमा प्रयोग गरिन्छ। बर्गामटको फलमा पाइने एउटा तत्त्व, पेक्टिनमा जमाउने क्षमता भएको हुँदा रगत बग्न बन्द गर्ने र पखाला रोक्ने औषधीमा पनि प्रयोग गरिन्छ।
यससम्बन्धी गहन अध्ययन गर्ने व्यक्तिहरूले छुट्टै बासना दिने र अरू थुप्रै सद्गुण भएको बर्गामट रसको लगभग ३५० जति तत्त्व पत्ता लगाएका छन्। हेर्नुस् त, एउटै फलमा कत्ति धेरै विशेषता!
बाइबल लेखकहरूलाई सम्भवतः बर्गामटबारे थाह थिएन होला। तर सुन्तला जातको यस फलका गुण र यसको सृष्टिकर्ताको बुद्धिमा चासो राख्ने जोकोहीले भजनहारका यी शब्दहरू दोहऱ्याउनेछन्: “परमप्रभुको प्रशंसा गर . . . फल फलाउने रूख।”—भजन १४८:१, ९. (g 6/07)
[Footnotes]
a कसै-कसैलाई घाँसको पराग वा फूलको एलर्जी हुन्छ भने कतिपयलाई अत्तरको। ब्यूँझनुहोस्!-ले कुनै खास उत्पादन प्रयोग गर्न सिफारिस गर्दैन।
[पृष्ठ २५-मा भएको चित्र]
यसको बोक्रा पिंधेर बर्गामटको रस निकालिन्छ
[पृष्ठ २५-मा भएको स्रोत]
© Danilo Donadoni/Marka/age fotostock