सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एक्कासी नैतिक पतन हुँदा

एक्कासी नैतिक पतन हुँदा

एक्कासी नैतिक पतन हुँदा

तपाईंको विचारमा एक्कासी नैतिक पतन कहिलेदेखि हुन थाल्यो? तपाईंको आफ्नै जीवनकालमा अथवा तपाईंभन्दा जेठा नातेदार वा साथीभाइको समयमा? कसै-कसैको विचारमा सन्‌ १९१४ मा सुरु भएको पहिलो विश्‍वयुद्धपछि पहिला कहिल्यै नभएको नैतिक पतनको युग सुरु भयो। सन्‌ १९१४ को पुस्ता (द जेनरेसन अफ नाइन्टिन फोर्टिन) भन्‍ने किताबका लेखक साथै इतिहासका प्राध्यापक रबर्ट भोलले यसो भने: “युद्धको मारबाट गुज्रिएका व्यक्‍तिहरूले सन्‌ १९१४ अगस्तमा एउटा संसारको अन्त्य भएर नयाँ संसारको सुरुवात भयो भनेर पत्याउनै सकेनन्‌।”

“जताततै, खस्कन थालिसकेको सामाजिक व्यवहार झनै भताभुङ्‌ग भयो” भनी इतिहासकार नर्मन क्यान्टर बताउँछन्‌। “राजनीतिज्ञ तथा सेनापतिहरूले आफ्नो जिम्मामा सुम्पिएका लाखौं मानिसहरूलाई पशुसरह युद्धमा होमिसकेको हुँदा धर्मको कुन चाहिं नियम वा नीतिले मानिसहरूलाई एकअर्कासित क्रूर जङ्‌गली जनावरसरह व्यवहार नगर्न उत्प्रेरित गर्न सक्थ्यो र? . . . पहिलो विश्‍वयुद्धमा [१९१४-१९१८] भएको भयङ्‌कर नरसंहारले मानिसको जीवनलाई मूल्यहीन बनायो।”

विस्तृत वर्णन गरिएको इतिहासको रूपरेखा (द आउटलाइन अफ हिस्ट्रि) भन्‍ने पुस्तकमा अंग्रेज इतिहासकार एच. जी. वेल्सले बताएअनुसार क्रम-विकासको सिद्धान्तलाई स्वीकारेपछि “वास्तवमा नैतिक पतन सुरु भयो।” किन? कसै-कसैको धारणा थियो, मानिस केवल पशुहरूभन्दा अलि उत्कृष्ट मात्रै हो। वेल्स, जो क्रम-विकासमा विश्‍वास गर्थे तिनले सन्‌ १९२० मा यस्तो लेखे: “तिनीहरूको विचारमा भारतमा पाइने एक प्रकारको जङ्‌गली कुकुरजस्तै मानिस पनि सामाजिक प्राणी हो . . . त्यसकारण ठूलाबडा र बलियाले सानालाई हेप्नु, तर्साउनु स्वाभाविकै थियो।”

क्यान्टरले भनेझैं पहिलो विश्‍वयुद्धले नैतिकताप्रति मानिसको दृष्टिकोण पूरै परिवर्तन गरिदियो। तिनले यसो भने: “पुरानो पुस्तालाई सबै कुरामा चटक्कै बेवास्ता गरियो—चाहे त्यो राजनीति, लवाइ र यौनसम्बन्धी नैतिक धारणाको सम्बन्धमा नै किन नहोस्‌।” चर्चले क्रम-विकासको सिद्धान्त स्वीकार्नुका साथै युद्धरत पक्षहरूलाई समर्थन गरेर बाइबलका शिक्षाहरूलाई भ्रष्ट बनायो र यसले पनि नैतिक पतनमा निकै योगदान पुऱ्‍यायो। बेलाइती ब्रिगेडियर जनरल फ्रांक क्रोजरले यस्तो लेखे: “सबैभन्दा रक्‍तपिपासु मसीही चर्चहरू नै हुन्‌ र हामीले यसलाई चलाउनसम्म चलायौं।”

नैतिकतासम्बन्धी स्तर तिरस्कार गरियो

पहिलो विश्‍वयुद्धपछिको दशक जब मानिसहरू सुखविलास र संवृद्धिमा चुर्लुम्मै डुबे, तब पुराना मूल्य-मान्यता र नैतिकतालाई एकातिर पन्छाएर जे गरे पनि हुन्छ भन्‍ने मनोवृत्ति विकास हुन थाल्यो। इतिहासकार फ्रेडरिक लुइस एलन यस्तो टिप्पणी गर्छन्‌: “पहिलो विश्‍वयुद्धपछिको दस वर्षलाई अशिष्टताको दशक भन्‍न एकदमै सुहाउँछ। . . . पुरानो परिपाटीसँगसँगै सन्तुष्ट र अर्थपूर्ण जीवन बनाउने नैतिक मूल्य पनि हरायो तर त्यसको ठाउँ लिने मूल्य-मान्यता सजिलै भेट्टाइएन।”

सन्‌ १९३० दशकको महामन्दीले थुप्रैलाई गरिबीतिर धकेलेको हुँदा नैतिकताको महत्त्व थुप्रैले बुझे अनि अलि गम्भीर भए। तर त्यस दशकको अन्ततिर संसार फेरि अर्को युद्धमा होमिसकेको थियो। यो दोस्रो विश्‍वयुद्ध पहिलोभन्दा भयानक साबित भयो। राष्ट्रहरू विनाशकारी हतियार बनाउन लागिपरेर महामन्दीको असरलाई निकै हदसम्म कम गर्न सफल भए तापनि मानिसले कल्पनासमेत नगरेको त्रासमय वातावरण छायो। युद्धको अन्तसम्ममा सयौं सहरहरू विनाश भए। जापानको दुइटा सहर ध्वस्त भयो र एउटा सहर ध्वस्त पार्न एउटा अणु बम पर्याप्त थियो! क्रूर यातना शिविरमा लाखौंले ज्यान गुमाए। द्वन्द्वको कारण जम्माजम्मी पाँच करोड पुरुष, स्त्री तथा केटाकेटीको ज्यान गयो।

दोस्रो विश्‍वयुद्धको भयावह अवस्थामा मानिसहरूले परम्परागत मूल्य-मान्यताहरू अनुसरण गर्नुको सट्टा आफ्नो आचरणको स्तर आफैले तोक्ने परिपाटी सुरु गरे। लभ, सेक्स एण्ड वार—चेन्जिङ भाल्युज, १९३९-४५ पुस्तकले यस्तो टिप्पणी गऱ्‍यो: “युद्धको बेला यौन क्रियाकलापमा कुनै रोकटोक नभएजस्तो देखियो किनभने रणभूमिमा आफूखुसी गर्न जेजस्तो छुट दिइएको थियो त्यसले आमनागरिकको घरपरिवारमा पनि असर गर्न थाल्यो। . . . युद्धले गर्दा सृजना भएको अवस्था र उत्तेजनाले नैतिक स्वतन्त्रता प्रदान गऱ्‍यो र आमनागरिकले पनि मानिसको जीवन युद्धभूमिमा जत्तिकै कुनै मोल नभएको सस्तो वस्तु ठान्‍न थाले।”

कुनै पनि बेला मृत्यु हुन सक्ने खतरा सधैं भएको हुँदा जतिसुकै क्षणिक नै किन नहोस्‌, मानिसहरूले भावनात्मक सम्बन्धको तिर्सना गर्न थाले। ती युद्धका वर्षहरूमा देखिएको स्वच्छन्द यौन व्यवहारको पक्ष लिंदै एउटी बेलायती गृहिणीले यसो भनिन्‌: “हामी वास्तवमा अनैतिक भएका होइनौं तर के गर्ने, युद्ध चर्किरहेको थियो।” एक अमेरिकी सिपाहीले यसरी मानिलिए: “धेरैजसो मानिसको स्तरअनुसार हामी अनैतिक थियौं तर हामी जवान थियौं अनि भोलि नै मर्न सक्थ्यौं।”

आफूले देखेका विभत्स दृश्‍यहरूले गर्दा युद्धबाट बचेका थुप्रैले पीडा भोगिरहे। त्यतिबेला बाल्यावस्थामा रहेका लगायत अरू थुप्रै ती दुःखदायी घटनाहरू फेरि भइरहेको छ जस्तो लागेर आज पनि झस्किन्छन्‌। थुप्रैले आफ्नो विश्‍वास अनि त्यसको सँगसँगै नैतिक चेतना पनि गुमाए। सही र गलतको स्तर निर्धारण गर्ने कुनै पनि अख्तियारप्रति आदर नभएको हुँदा कुनै पनि कुरा पूर्णतया सही वा गलत हुँदैन, ती परिस्थिति वा अन्य कुरामा निर्भर हुन्छन्‌ भन्‍ने सोचाइ मानिसहरूले राख्न थाले।

नयाँ सामाजिक मूल्य-मान्यता

दोस्रो विश्‍वयुद्धपछि मानव यौन व्यवहारबारे अध्ययन गरेर लेखहरू छापियो। सन्‌ १९४० को दशकमा अमेरिकामा गरिएको यस्तै एउटा अध्ययन किन्से रिपोर्ट थियो र यो ८०० पानाभन्दा लामो थियो। फलस्वरूप, धेरै मानिसहरूले पहिला साधारणतया कुरा नगर्ने यौनसम्बन्धी विषयहरूमा खुलेर कुरा गर्न थाले। समलिंगी सम्बन्ध तथा अन्य विकृत यौन व्यवहारबारे उक्‍त रिपोर्टमा दिइएको तथ्याङ्‌क अलि बढाइचढाइ गरिएको भए तापनि युद्धपछि नैतिकतामा अत्यन्तै गिरावट आएको कुरा भने प्रस्ट भयो।

केही समयको लागि समाजमा स्वीकार्य व्यवहार कायम गर्ने प्रयास गरियो। जस्तै: रेडियो, चलचित्र र टिभीमा अनैतिक विषयवस्तु सेन्सर गरियो। तर त्यो धेरै समयसम्म रहेन। अमेरिकाको शिक्षा विभागका भूतपूर्व सचिव विलियम बेनेटले यसो भने: “सन्‌ १९६० को दशक पुगुन्जेलसम्म अमेरिकामा नैतिकता द्रूत गतिमा ओरालो लाग्न थालिसकेको थियो।” अनि अरू थुप्रै देशमा यस्तै भइरहेको थियो। सन्‌ १९६० को दशकमा तेज रफ्तारले नैतिक पतन हुनुको कारण के थियो?

त्यही दशकमा महिला मुक्‍ति आन्दोलन र यौनप्रति नयाँ दृष्टिकोण राख्ने कथित नयाँ नैतिकता भन्‍ने अभियान सँगसँगै सुरु भयो। साथै, प्रभावकारी जन्म निरोधक चक्कीहरू उत्पादन भयो। गर्भधारण होला भन्‍ने चिन्ता नगरी यौनसम्बन्धको आनन्द लिन सम्भव भएपछि “स्वच्छन्द यौनसम्बन्ध” वा “दुवै पक्षले एकअर्काप्रति कुनै जिम्मेवारी वहन गर्न नपर्ने यौनसम्बन्ध” सामान्य हुन थाल्यो।

साथै, प्रेस, चलचित्र र टेलिभिजनले नैतिक स्तर खुकुलो पारिदियो। संयुक्‍त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्‌का भूतपूर्व प्रमुख जबेग्नेभ ब्राजिन्स्कीले टेलिभिजनमा देखाइने विषयवस्तुको मूल्य-मान्यताबारे यसो भने: “यसले आत्म-सन्तुष्टिको गुनगान गर्छ, एकदमै हिंस्रक र क्रूर कुरालाई सामान्यजस्तो देखाउँछ अनि यौन छाडापन उक्साउँछ।”

सन्‌ १९७० को दशकतिर भी सी आर लोकप्रिय हुन थालिसकेको थियो। मानिसहरूले आफ्नै घरमा बसेर अनैतिक र यौनबारे सुस्पष्ट ढंगमा चित्रण गरिएका दृश्‍यहरू हेर्न सके जबकि तिनीहरू सिनेमाघरमा गएर यस्ता कुराहरू कहिल्यै हेर्नेथिएनन्‌। हालै भने, इन्टरनेटले गर्दा कम्प्युटर हुने संसारको जुनसुकै ठाउँका मानिसले पनि अत्यन्तै निन्दनीय स्तरको अश्‍लील कुराहरू सजिलै हेर्न सक्छन्‌।

यसका विभिन्‍न असरहरू विचार गर्दा स्थिति भयावह छ। अमेरिकाको एउटा जेलका सुरक्षागार्डले हालै यसो भने: “दस वर्षअघि झ्यालखानामा ल्याइने केटाकेटीहरूलाई के सही र के गलत भनेर बुझाउन सक्थें। तर अहिलेका केटाकेटीलाई के सही, के गलत भनेर बुझाउनै सकिंदैन।”

भरपर्दो डोऱ्‍याइ कहाँ पाइन्छ?

संसारका चर्चहरूबाट हामी नैतिक डोऱ्‍याइ पाउन सक्दैनौं। येशू र प्रथम शताब्दीका उहाँका अनुयायीहरूले सही सिद्धान्त अनुसरण गरेका थिए तर चर्चहरूले यसो गर्नुको सट्टा आफूलाई यस संसार र यसका दुष्ट कर्तुतहरूको भागिदार बनाएका छन्‌। एक जना लेखकले यस्तो प्रश्‍न सोधे: “त्यस्तो कुन चाहिं युद्ध भएको थियो जसका दुवै पक्षले ईश्‍वर हाम्रो साथमा हुनुहुन्छ भनेका थिएनन्‌?” परमेश्‍वरले दिनुभएका नैतिक स्तरहरू पालन गर्ने सन्दर्भमा न्यु योर्क सहरका एक जना पादरीले वर्षौंअघि यसो भनेका थिए: “चर्च मात्र एउटा यस्तो संगठन हो जसमा प्रवेश गर्न बसमा चढ्‌दा जत्तिको पनि नीति-नियम चाहिंदैन।”

अहिले संसारमा भइरहेको नैतिक पतनले तुरुन्तै केही गरिहाल्नुपर्ने खाँचो औंल्याउँछ भन्‍ने कुरा स्पष्ट छ। तर के गर्ने? कस्तो परिवर्तन गर्नुपर्छ? कसले गर्न सक्छ अनि कसरी गरिनेछ? (g 4/07)

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सनहरू]

“पहिलो विश्‍वयुद्धमा [१९१४-१९१८] भएको भयङ्‌कर नरसंहारले मानिसको जीवनलाई मूल्यहीन बनायो”

[पृष्ठ ६-मा भएको पेटी]

सद्‌गुण वा मूल्य-मान्यता

कुनै समय सद्‌गुण केलाई भनिन्छ भनेर स्पष्ट थियो। मानिसहरू इमानदार, वफादार र आदरणीय हुन्थे वा त्यसको ठीक उल्टो। अहिले “सद्‌गुण”-को ठाउँ “मूल्य-मान्यता”-ले लिएको छ। तर कुरा त्यति सरल छैन। यस सन्दर्भमा इतिहासकार गट्रुड हिमलफार्ब आफ्नो किताब समाजको नैतिक पतन-मा (द डि-मोरलाइजेसन अफ सोसाइटी) यसो भन्छिन्‌: “सद्‌गुण र मूल्य-मान्यतालाई बराबरीमा राख्न सकिंदैन . . . मूल्य-मान्यताजस्तै सद्‌गुणको स्तर पनि आफैले तोक्न सकिन्छ भन्‍न मिल्दैन।”

उनी यस्तो टिप्पणी गर्छिन्‌: मूल्य-मान्यता भनेको “सोचाइ, धारणा, मनोवृत्ति, भावना, आनीबानी, नीतिनियम, रुचि, पूर्वाग्रह र अनौठो स्वभाव समेत हुन सक्छ—यी कुनै व्यक्‍तिविशेष, समूह वा समाजले कुनै खास समयमा कुनै खास कारणको लागि मान्यता दिने कुराहरू हुन्‌।” अहिलेको स्वतन्त्र समाजमा, मानिसहरूलाई आफ्नो मूल्य-मान्यता आफैले तय गर्नु भनेको सुपरमार्केटमा गएर सरसामान रोज्नु जत्तिकै जायज लाग्छ। तर यस्तो अवस्थामा सद्‌गुण र नैतिकता के होला?

[पृष्ठ ७-मा भएको चित्र]

पतित मनोरञ्जन झन्‌-झनै सजिलै उपलब्ध हुँदैछ