कपडा रङ्गाउने पहिले र अहिले
कपडा रङ्गाउने पहिले र अहिले
बेलाइतका ब्यूँझनुहोस्! लेखक
हाम्रा भावनाहरूमा रङले कस्तो असर पार्छ भनेर के तपाईंले कहिल्यै याद गर्नुभएको छ? त्यसैले त इतिहासलाई केलाउँदा मानिसहरूले रङ्गाउने प्रक्रियाद्वारा कपडाहरूमा विभिन्न रङ लगाउने गरेको पाउँछौं।
लुगाफाटा, कपडा वा अन्य सरसामान किन्दा रङ खुइलिएको वा रङ उडेको हामी चाहँदैनौं। नखुइलिने रङ कसरी बनाउँछन् अनि रङ्गाउने प्रविधि कसरी विकास भयो भनी जान्न हामी उत्तरी इङ्गल्यान्डको ब्राडफर्डस्थित एस डी सी कलर म्युजियम घुम्न गयौं। a त्यहाँ हामीले विगतमा रङ बनाउन प्रयोग गरिएका केही अनौठा सामग्रीहरू देख्यौं।
विगतमा प्रयोग भएका रङहरू
उन्नाइसौं शताब्दीको पछिल्लो भागसम्म कपडाहरू रङ्गाउने अधिकांश सामग्री वनस्पति, कीरा र सिपीजस्ता प्राकृतिक चीजबाट प्राप्त हुन्थ्यो। उदाहरणका लागि, वोडको बोटबाट निलो रङ (१), वेल्डको बोटबाट पहेंलो रङ (२), र मजीठोको बोटबाट रातो रङ निकालिन्थ्यो। लगवुड रूखबाट कालो रङ र आर्चिल नाउँको लेउबाट निलो-निलो प्याजी-प्याजी रङ बनाइन्थ्यो। म्युरेक्स शंखेकीराबाट एकदमै महँगो खाले बैजनी रङ निकालिन्थ्यो। यसलाई टाइरीयन अर्थात् टायरको बैजनी वा शाही रङ भनिन्थ्यो (३)। रोमी सम्राट्को पोशाक रङ्गाउन यही रङ प्रयोग गरिन्थ्यो।
रोमी सम्राट्को समयभन्दा धेरैअघिदेखि नै गन्यमान्य तथा धनीहरूले प्राकृतिक वस्तुले रङ्गाएको कपडा लगाउँथे। (एस्तर ८:१५) उदाहरणका लागि, पोथी कर्मिस कीराबाट रातो रङ निकालिन्थ्यो (४)। प्राचीन समयमा इस्राएलको मन्दिरको बासस्थान र प्रधान पूजाहारीको पोशाकको लागि यही उज्यालो रातो रङ प्रयोग गरिएको हुनुपर्छ।—प्रस्थान २८:५; ३६:८.
रङ्गाउने प्रक्रिया
रङ्गाउने भनेको रङको झोलमा ऊन वा कपडा डुबाउनु मात्र होइन तर जटिल काम हो भनेर कलर म्युजियममा राखिएका कुराहरूले देखाउँछ। प्रायजसो रङ्गाउने प्रक्रियाको एउटा चरणमा मोर्डन्टको प्रयोग गर्नुपर्छ जसले गर्दा कपडामा रङ मजाले बस्छ। मोर्डन्टले गर्दा रङ कपडामा टाँसिन्छ र पानीमा घुल्दैन। मोर्डन्टको रूपमा थुप्रै रसायन प्रयोग गरिन्छ र कुनै-कुनै भने अलि खतरनाक हुन्छन्।
रङ्गाउन चलाइने कुनै-कुनै प्रक्रिया असाध्यै गनाउँछ। जस्तै, टर्की रेड भनेर चिनिने उज्यालो रातो रङ बनाउनको लागि लामो अनि जटिल प्रक्रिया अपनाउनुपर्थ्यो र यो प्रक्रिया साह्रै गनाउँथ्यो। घामले नबिगार्ने, धुँदा वा
ब्लिच गर्दा नखुइलिने चहकिलो रातो रङले सुती कपडा रङ्गाउन पनि यही प्रक्रिया अपनाइन्थ्यो। पहिला-पहिला यो प्रक्रिया अपनाउँदा ३८ वटा चरण पार गर्नुपर्थ्यो र झन्डै चार महिना लाग्थ्यो! म्युजियममा राखिएका सबैभन्दा सुन्दर कपडाहरूमध्ये यही टर्की रेडले रङ्गाइएकाहरू पनि थिए (५)।कृत्रिम रङको सुरुवात
कृत्रिम वस्तुबाट पहिलो पटक रङ उत्पादन गर्ने श्रेय सन् १८५६ का विलियम हेन्री पर्किनलाई जान्छ। पर्किनले पत्ता लगाएका चहकिलो बैजनी रङबारे म्युजियममा देखाइएको छ। उन्नाइसौं शताब्दीको अन्ततिर अरू थुप्रै चहकिला कृत्रिम रङहरू उत्पादन गरियो। अहिले ८,००० भन्दा बढी किसिमका कृत्रिम रङहरू उत्पादन गरिन्छ (६)। रङ बनाउन अहिलेसम्म प्रयोग भइरहेका प्राकृतिक वस्तुहरू लगवुड र कोकिनल मात्र हुन्।
कलर म्युजियमको कलर एण्ड टेक्सटाइल ग्यालरीमा प्रदर्शन गरिएअनुसार रेयनजस्ता कृत्रिम कपडाको लागि विशेष प्रक्रिया अपनाउनुपर्छ। अहिलेको सबैभन्दा चलनचल्तीको भिस्कोस रेयन व्यापारिक दृष्टिकोणले सन् १९०५ मा पहिलो चोटि बनाइएको थियो। भिस्कोस रेयन र सुती बनाउन प्रयोग गरिने रसायन उस्तै भएको हुँदा त्यतिबेला उपलब्ध प्रायजसो रङ प्रयोग गर्न सकिन्थ्यो। तर अझ आधुनिक किसिमका पोलिस्टर, नाइलन र एक्रिलिकजस्ता कृत्रिम कपडाहरूको लागि विभिन्न नयाँ किसिमका रङहरू बनाउनु पर्ने भयो।
नखुइलिने रङ बनाउने प्रयास
हामी रङ नखुइलिने लुगा वा कपडा किन्न चाहन्छौं। तैपनि प्रायजसो भने घामले वा लुगा धुने पाउडर वा साबुन प्रयोग गरेर पटक-पटक धुँदा खुइलिन्छ। कहिलेकाहीं पसिनाले गर्दा रङ उड्छ वा अरू कपडासँगै धुँदा रङ परिवर्तन हुन सक्छ। रङ खुइलिने वा नखुइलिने कुरा, रङका अणु र कपडाबीच कत्तिको बलियो बन्धन छ, त्यसैमा भर पर्छ। पटक-पटक धुँदा र दाग हटाउने पाउडर वा साबुन प्रयोग गर्दा कपडाबाट रङ उड्न थाल्छ। रङ उत्पादकहरूले आफ्नो उत्पादन जाँच्न घाम, धुलाइ, पाउडर वा साबुनको प्रयोग र पसिनाले कत्तिको असर पार्छ, त्यो विचार गर्छन्।
यस भ्रमणबाट हामीले के-कस्ता सामग्रीबाट कपडा बनाइन्छ, त्यसबारे ध्यान दिन प्रेरणा पायौं। त्यसको साथै, पटक-पटकको धुलाइको बावजुद पनि नखुइलिने पक्का रङ बनाउन के-कस्ता नयाँ-नयाँ तरिका प्रयोग हुँदा रहेछन् भनेर थाह पाउँदा हामी झनै दङ्ग पऱ्यौं। (g 4/07)
[फुटनोट]
a एस डी सी—सोसाइटी अफ डायर्स एण्ड कलरिस्ट्स अर्थात् रङ्गाउनेहरूको समाजले रङसम्बन्धी विज्ञानलाई प्रवर्धन गर्छ।
[पृष्ठ २६-मा भएको चित्रको स्रोत]
Photos 1-4: Courtesy of the Colour Museum, Bradford (www.colour-experience.org)
[पृष्ठ २७-मा भएको चित्रको स्रोतहरु]
Photo 5: Courtesy of the Colour Museum, Bradford (www.colour-experience.org); Photo 6: Clariant International Ltd., Switzerland