सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पैसाप्रति कस्तो दृष्टिकोण राख्नु बुद्धिमानी हो?

पैसाप्रति कस्तो दृष्टिकोण राख्नु बुद्धिमानी हो?

बाइबल के भन्छ

पैसाप्रति कस्तो दृष्टिकोण राख्नु बुद्धिमानी हो?

बाइबल भन्छ, “रुपियाँपैसा एउटा आश्रय हो।” (उपदेशक ७:१२, NRV) गाँस, बास र कपास जुटाउन पैसा नभई नहुने भएकोले यसले गरिबीको कारण भोग्नुपर्ने कठिनाइबाट आश्रय दिन्छ। वास्तवमा, पैसाले किन्‍न नसक्ने भौतिक सरसाधन केही पनि छैन भन्दा कुनै फरक नपर्ला। त्यसैले त “सबै गराउने रूपियाँ-पैसानै हो” भनी उपदेशक १०:१९ बताउँछ।

परमेश्‍वरको वचनले हामीलाई आफ्नो र आफ्नो परिवारको पालन-पोषण गर्नको लागि कडा परिश्रम गर्न प्रोत्साहन दिन्छ। (१ तिमोथी ५:८) इमानदार भई दस नङ्‌ग्रा खियाउँदा सन्तुष्टि, गर्व र सुरक्षाको अनुभूति हुन्छ।—उपदेशक ३:१२, १३.

साथै, कडा परिश्रम गर्दा हामी उदार भई अरूलाई आर्थिक मदत दिन सक्छौं। येशूले भन्‍नुभयो: “लिनुभन्दा दिनु अझ असल हो” अर्थात्‌ लिनुमा भन्दा दिनुमा अझ आनन्द छ। (प्रेरित २०:३५) खाँचोमा परेकाहरू र त्यसमा पनि विशेष गरी सँगी मसीहीहरूलाई मदत गर्दा वा हामीले माया गर्ने कसैलाई उपहार किनेर दिंदा यस्तो आनन्द प्राप्त हुन्छ।—२ कोरिन्थी ९:७; १ तिमोथी ६:१७-१९.

येशूले आफ्ना अनुयायीहरूलाई कहिलेकाहीं मात्र उदार हुन होइन तर उदारतासाथ दिने बानी नै बसाल्न अर्थात्‌ यसलाई आफ्नो जीवनपद्धति बनाउन प्रोत्साहन दिनुभयो। उहाँले भन्‍नुभयो, ‘दिने गर।’ (लूका ६:३८) परमेश्‍वरको राज्यसम्बन्धी गतिविधि अघि बढाउनको लागि दिने सन्दर्भमा पनि यही सिद्धान्त लागू हुन्छ। (हितोपदेश ३:९) वास्तवमा, यस्तो उदारता देखाउँदा हामीले यहोवा र उहाँको पुत्रलाई ‘मित्र बनाउन’ सक्छौं।—लूका १६:९.

‘रूपियाँ-पैसालाई प्रेम’ गर्नदेखि सजग हुनुहोस्‌

स्वार्थीहरूले विरलै मात्र अरूलाई दिन्छन्‌ र दिइहाले भने पनि कुनै स्वार्थ राखेर दिन्छन्‌। पैसालाई प्रेम गरेको कारण तिनीहरू दिन हतपती अघि सर्दैनन्‌ र दिंदाखेरि आशा गरेअनुसारको आनन्द पाउन सक्दैनन्‌। “रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै-कुनै विश्‍वासबाट कुमार्गमा तर्केका हुन्छन्‌, र धेरै दुःखले तिनीहरूका हृदय छेडेका हुन्छन्‌” भनी १ तिमोथी ६:१० बताउँछ। पैसाको प्रेमले किन यत्तिका असन्तुष्टि र पीडा दिन्छ?

एउटा कारण त, लोभी मान्छेलाई जति धन भए पनि पुग्दैन। “जुन मानिसले रूपियाँ-पैसाको लोभ गर्छ त्यसलाई कहिल्यै प्रशस्त हुँदैन” भनी उपदेशक ५:१० बताउँछ। त्यसैले पैसालाई प्रेम गर्नेहरूको हृदय निराशाले ‘छेडिएको’ हुन्छ। साथै, लोभले गर्दा अरूसितको सम्बन्ध बिग्रन्छ, पारिवारिक जीवन सुखी हुँदैन अनि तिनीहरूले राम्ररी आराम गर्न समेत पाउँदैनन्‌। “थोरै खाओस्‌ कि धेरै खाओस्‌ परिश्रम गर्नेको निद्रा मीठो हुन्छ। तर धनीको धन धेरै भएकोले गर्दा त्यसलाई निद्रै लाग्दैन।” (उपदेशक ५:१२) सबैभन्दा महत्त्वपूर्ण कुरा त पैसालाई प्रेम गर्नेहरूले परमेश्‍वरको अनुग्रह पाउन सक्दैनन्‌।—अय्यूब ३१:२४, २८.

पैसाकै लागि चोर्ने, न्याय बिगार्ने, वेश्‍यावृत्ति गर्ने, हत्या गर्ने, अरूलाई धोका दिने र झूट बोल्नेजस्ता काम गर्ने व्यक्‍तिहरूको थुप्रै उदाहरण बाइबल र इतिहास दुवैमा पाइन्छ। (यहोशू ७:१, २०-२६; मीका ३:११; मर्कूस १४:१०, ११; यूहन्‍ना १२:६) आफ्नो पार्थिव सेवकाईको दौडान येशूले एक जना “असाध्यै धनी” जवान शासकलाई उहाँको पछि लाग्न निम्तो दिनुभयो। दुःखको कुरा, यस मानिसले यो अनमोल सुअवसरलाई लत्यायो किनकि यो निम्तो स्वीकार्दा उसले आर्थिक क्षति व्यहोर्नुपर्थ्यो। जवाफमा येशूले यसो भन्‍नुभयो: “धन हुनेहरू परमेश्‍वरको राज्यमा कति कठिनसित प्रवेश गर्छन्‌!”—लूका १८:२३, २४.

अहिले “आखिरी दिनमा” मसीहीहरू अझ होसियार हुनुपर्छ किनकि भविष्यवाणी गरिएझैं अधिकांश मानिसहरू “धनका लोभी” छन्‌। (२ तिमोथी ३:१, २) आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सजग साँचो मसीहीहरू अन्धो भएर यस्तो लोभको पछि लाग्दैनन्‌ किनकि तिनीहरूसित पैसाभन्दा निकै उत्तम कुरा छ।

पैसाभन्दा उत्तम कुरा

“रुपियाँपैसा एउटा आश्रय हो” भनी बताउँदा राजा सुलेमानले यसो पनि भने, “बुद्धि पनि एउटा आश्रय हो” किनकि यसले “बुद्धिमान्‌ मानिसको प्राण जोगाइराख्छ।” (उपदेशक ७:१२, NRV) तिनी के भन्‍न खोज्दै थिए? सुलेमान यहाँ परमेश्‍वरको वचनको सही ज्ञान र उहाँप्रतिको स्वास्थ्यकर भयमा आधारित बुद्धिबारे कुरा गर्दै थिए। यस्तो बुद्धि पैसाभन्दा उत्तम छ र यसले जीवनको गोरेटोमा आइपर्ने असंख्य भड्‌खालोहरू र असामयिक मृत्युदेखि समेत जोगाउन सक्छ। शिरपेचले शोभा बढाएझैं, साँचो बुद्धि छ भने अरूबाट सम्मान र आदर पाइन्छ। (हितोपदेश २:१०-२२; ४:५-९) अनि यसले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न मदत गर्ने भएकोले बुद्धिलाई “जीवनको रूख” पनि भनिएको छ।—हितोपदेश ३:१८, NRV.

ज-जसले निष्कपटतासाथ यस्तो बुद्धिको चाह गर्छन्‌ अनि खोजी गर्न इच्छुक पनि छन्‌ उनीहरूले यो सजिलै पाउन सक्छन्‌। “हे मेरो छोरो, यदि . . . तैंले विवेक माग्छस्‌ भने समझशक्‍तिलाई पुकार्‌। यदि तैंले त्यसलाई चाँदीझैं खोजिस्‌ र गाड-धनझैं त्यो खनिस्‌ भने, तैंले परमप्रभुको भय बुझ्नेछस्‌, र परमेश्‍वरको ज्ञान प्राप्त गर्नेछस्‌। किनभने बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ, र ज्ञान र समझ-शक्‍ति उहाँबाटनै आउँछन्‌।”—हितोपदेश २:१-६.

साँचो मसीहीहरूले पैसाभन्दा बुद्धिलाई मूल्यवान्‌ ठान्‍ने भएकोले उनीहरूले केही हदसम्म शान्ति, सुरक्षा र आनन्द महसुस गर्न सकेका छन्‌, जुन कुरा पैसालाई प्रेम गर्नेहरूले पाएका छैनन्‌। हिब्रू १३:५ यसो भन्छ: “रूपियाँ-पैसाको लोभबाट अलग बस। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट रहो। किनकि [परमेश्‍वर] आफैले भन्‍नुभएको छ, ‘म तिमीलाई कुनै रीतिले छोडनेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।’ ” पैसाले यस्तो सुरक्षा दिंदैन। (g 6/07)

के तपाईंले कहिल्यै विचार गर्नुभएको छ?

◼ कुन अर्थमा पैसा एउटा आश्रय हो?—उपदेशक ७:१२.

◼ परमेश्‍वरबाट प्राप्त हुने बुद्धि किन पैसाभन्दा उत्तम हो?—हितोपदेश २:१०-२२; ३:१३-१८.

◼ हामीले किन पैसालाई प्रेम गर्नु हुँदैन?—मर्कूस १०:२३, २५; लूका १८:२३, २४; १ तिमोथी ६:९, १०.