सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यो संसार कतातिर लम्कँदैछ?

यो संसार कतातिर लम्कँदैछ?

यो संसार कतातिर लम्कँदैछ?

अहिले भइरहेको नैतिक पतनबारे बाइबलले धेरैअघि नै यसरी बताइसकेको थियो: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, . . . आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, . . . निष्ठूर, असल नरूचाउने, विश्‍वासघाती, उत्ताउला, दिमागी, परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने, भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने हुनेछन्‌।”—२ तिमोथी ३:१-५.

बाइबलको यो भविष्यवाणीले वर्तमान संसारको सही वर्णन गर्छ भनी तपाईं सहमत हुनुहुन्छ होला। तर यो झन्डै २,००० वर्षअघि लेखिएको थियो! उक्‍त भविष्यवाणीको सुरुमै यसो भनिएको छ: “आखिरी दिनमा।” “आखिरी दिनमा” भन्‍ने यस अभिव्यक्‍तिको अर्थ के हो?

केको “आखिरी दिन”?

हालै प्रकाशित निष्कपटताको आखिरी दिन—युद्धमा होमिएको अमेरिका, १९१७-१९१८ (द लास्ट डेज अफ इनोसेन्स—अमेरिका एट वार, १९१७-१९१८) पुस्तकको प्राक्कथनमा “आखिरी दिन” भनेको नैतिक पतन अत्यन्तै तीव्र गतिमा भएको खास समयावधि हो भनेर स्पष्ट बताइएको छ।

सो प्राक्कथनमै यसो भनिएको छ, “सन्‌ १९१४ मा यस देशमा परिवर्तनहरू यति तीव्र गतिले भए कि त्यस्तो पहिला कहिल्यै भएको थिएन।” साँच्चै, सन्‌ १९१४ मा सारा संसार युद्धमा मुछियो र यस्तो पहिला कहिल्यै भएको थिएन। उक्‍त पुस्तक यसो भन्छ: “यो युद्धमा एउटा सेनाको विरुद्धमा अर्को सेना मात्र नभई सम्पूर्ण राष्ट्र नै एकअर्काको विरुद्धमा उत्रिएका थिए।” यो युद्ध, बाइबलले “आखिरी दिन” भनेको समयावधिको सुरुमै भयो भनेर अब हामी थाह पाउनेछौं।

यस संसारको अन्त हुनुअघि “आखिरी दिन” हुनेछ भनेर बाइबलले सिकाउँछ। प्राचीन समयमा एउटा संसार विनाश भएको थियो भनी बाइबल यसरी बताउँछ: “त्यस समयको संसार जलमय भएर नष्ट भएको थियो।” त्यो कुन समय थियो अनि त्यतिबेला नाश भएको संसार के थियो? यो संसार प्राचीन समयमा नूहको पालाको “अभक्‍तहरूको संसार” थियो। त्यसरी नै, अहिलेको संसार पनि नाश हुनेछ। तर परमेश्‍वरको सेवा गर्ने मानिसहरू त्यतिबेला नूह र तिनको परिवार बचेझैं बच्नेछन्‌।—२ पत्रुस २:५; ३:६; उत्पत्ति ७:२१-२४; १ यूहन्‍ना २:१७.

अन्तबारे येशूले के भन्‍नुभयो?

‘जलप्रलय आएर सबलाई स्वात्तै लगेको नूहको दिनबारे’ येशू ख्रीष्टले बताउनुभएको थियो। जलप्रलय आउनुअघि अर्थात्‌ त्यतिबेलाको संसार नाश हुनुअघिको अवस्थालाई उहाँले “जगत्‌को अन्त” भन्‍नुभएको समयमा हुने अवस्थासित तुलना गर्नुभयो। (मत्ती २४:३, ३७-३९) अर्को बाइबल अनुवादले “युगको अन्त” भनेको छ।—नयाँ संशोधित संस्करण।

संसारको अन्त हुनुअघि पृथ्वीको अवस्था कस्तो हुनेछ भनी येशूले पहिल्यै बताइसक्नुभएको थियो। लडाइँको विषयमा उहाँले यसो भन्‍नुभयो: “जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ।” इतिहासकारहरूले बताएअनुसार सन्‌ १९१४ देखि यस्ता घटनाहरू हुन थाले। अगाडि उल्लेख गरिएको पुस्तकको प्राक्कथनमा भनिएझैं सन्‌ १९१४ मा “एउटा सेनाको विरुद्धमा अर्को सेना मात्र नभई सम्पूर्ण राष्ट्र नै एकअर्काको विरुद्धमा उत्रिएका थिए।”

त्यही भविष्यवाणीमा येशूले यसो पनि भन्‍नुभयो: “ठाउँ ठाउँमा अनिकाल र भैंचालो हुनेछ। तर यी सब ता कष्टका शुरु हुन्‌।” अरू थुप्रै कुराको सँगसँगै ‘अधर्म बढ्‌नेछ’ भनेर पनि उहाँले बताउनुभयो। (मत्ती २४:७-१४) साँच्चै, यी घटनाहरू हाम्रो समयमा भइरहेको देखिरहेका छौं। अहिले देखिएको नैतिक पतन यति उग्र छ कि बाइबलको भविष्यवाणी पूरा भइरहेको छ!

यस्तो पतित समयमा हाम्रो जीवन कस्तो हुनुपर्छ? नैतिक पतनबारे प्रेरित पावलले रोमका मसीहीहरूलाई के लेखे, सो विचार गर्नुहोस्‌। मानिसहरूको “नीच [यौन] अभिलाषाको” विषयमा तिनले यसो भने: “स्त्रीहरूले आफ्ना स्वाभाविक व्यवहारलाई अस्वाभाविकमा परिवर्त्तन गरे, र त्यसरीनै स्त्रीतर्फको स्वाभाविक व्यवहार त्यागेर कामुकतामा एक दोस्रोतिर जलेर पुरुषहरूले पुरुषहरूसितै निर्लज्ज काम गरे।”—रोमी १:२६, २७.

मानव समाज नैतिक पतनको दलदलमा झन्‌-झनै धस्सिरहेको बेला “मसीहीहरूको सानो समूहले भने आफ्नो भक्‍ति र भलादमीपनले त्यतिबेलाको सुखविलासी गैर-मसीही समाजलाई झक्‌झकाइरहेको थियो।” यो कुरा विचार गर्दा आफूलाई यी प्रश्‍नहरू सोध्नु बेस हुन्छ: ‘म र मेरा साथीभाइ कस्ता छौं? अनैतिक जीवन बिताउने मानिसहरू जस्तो नभई के हामी नैतिकवान्‌ मानिसहरू भनेर चिनिन्छौं?’—१ पत्रुस ४:३, ४.

हाम्रो संघर्ष

हाम्रो चारैतिर अनैतिकता व्याप्त भए तापनि हामी “निष्खोट र सुधा भएर टेढा र बरालिएको पुस्ताका बीचमा परमेश्‍वरका निर्दोषी सन्तान” हुनुपर्छ भनी बाइबलले सिकाउँछ। यसो गर्न हामीले ‘जीवनको वचन दह्रिलो गरी पक्रिराख्नुपर्छ।’ (फिलिप्पी २:१५, १६, NRV) बाइबलको यस अभिव्यक्‍तिले मसीहीहरू नैतिक भ्रष्टताबाट कसरी जोगिन सक्छन्‌ भन्‍ने मूलभूत तरिका बताउँछ। त्यो हो, परमेश्‍वरको वचनमा दिइएका शिक्षाहरूलाई दह्रिलो गरी पक्रिराख्नुपर्छ र यसमा दिइएका नैतिक स्तर नै उच्चतम जीवनशैली हो भनेर बुझ्नुपर्छ।

“यस संसारको देव” शैतान अर्थात्‌ दियाबलले मानिसहरूलाई आफ्नो पक्षमा ल्याउन निकै प्रयास गरिरहेको छ। (२ कोरिन्थी ४:४) त्यसले “आफैलाई ज्योतिर्मय स्वर्गदूतहरूको भेषमा परिवर्त्तन गर्दछ” भनी बाइबल बताउँछ। त्यसको पछि-पछि लाग्ने त्यसका दासहरूले पनि त्यसै गर्छन्‌। (२ कोरिन्थी ११:१४, १५) तिनीहरू स्वतन्त्रता र मोजमस्ती दिने वचन त दिन्छन्‌ तर बाइबलले भनेझैं “तिनीहरू आफै विनाशका दास” भइरहेका छन्‌।—२ पत्रुस २:१९.

यसबारे अलमलमा नपर्नुहोस्‌। परमेश्‍वरले तोक्नुभएको नैतिक स्तर अस्वीकार गर्नेहरूले गम्भीर परिणाम भोग्नेछन्‌। बाइबलका भजनरचयिताले यस्तो लेखे: “दुष्टहरूलाई उद्धार मिल्न गाह्रो छ, किनकि तिनीहरूले [परमेश्‍वरका] नियमहरू खोज्दैनन्‌।” (भजन ११९:१५५; हितोपदेश ५:२२, २३) के यस कुरामा हामीलाई पक्का विश्‍वास छ? छ भने छाडा नैतिकताको प्रचारप्रसारबाट हाम्रो मनलाई जोगाऔं।

तर धेरैले यस्तो मूर्खतापूर्ण तर्क गर्छन्‌: ‘यदि मैले गरेको कुरा गैरकानुनी होइन भने ठिकै छ नि।’ तर त्यसो होइन। स्वर्गमा हुनुहुने पिताले हामीलाई सही नैतिकताबारे मायालु डोऱ्‍याइ दिनुहुन्छ। यी हाम्रो जीवन निरस बनाउन वा प्रतिबन्धै प्रतिबन्धले घेर्नको लागि होइन तर हाम्रै सुरक्षाको लागि हो। उहाँले ‘तपाईंको फाइदाको निम्ति तपाईंलाई सिकाउनुहुन्छ।’ तपाईं दुःखकष्टबाट जोगिओस्‌ अनि सुखी जीवनको मजा लेओस्‌ भन्‍ने चाहनुहुन्छ। बाइबलले सिकाएझैं परमेश्‍वरको सेवा गर्दा “अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा” पाउँछौं। त्यो “साँच्चै जीवन” अर्थात्‌ प्रतिज्ञा गरिएको नयाँ संसारमा अनन्त जीवन हो!—यशैया ४८:१७, १८; १ तिमोथी ४:८; ६:१९.

यसकारण बाइबलका शिक्षाअनुसार जीवन बिताउनेहरूले पाउने फाइदा र बाइबलको शिक्षाअनुसार नचल्नेहरूले अन्तमा भोग्ने पीडालाई विचार गर्नुहोस्‌। परमेश्‍वरको कुरामा ध्यान दिएर उहाँको अनुमोदन पाउनु साँच्चै सर्वोत्तम जीवन हो! साथै, परमेश्‍वर यस्तो प्रतिज्ञा गर्नुहुन्छ, “जसले मेरा वचन सुन्छन्‌ तिनीहरू बेफिक्री रहनेछन्‌। दुर्दिनमा डरैविना तिनीहरू ढुक्क रहनेछन्‌।”—हितोपदेश १:३३.

नैतिकवान्‌ समाज

यो संसार बितेर गएपछि “दुष्ट रहनेछैन” भनी बाइबल सिकाउँछ। साथै, बाइबल यसो पनि भन्छ: “सोझाहरू पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌।” (भजन ३७:१०, ११; हितोपदेश २:२०-२२) यसरी पृथ्वीमा अनैतिकताको कुनै पनि अवशेष रहनेछैन अनि हाम्रो सृष्टिकर्ताले दिनुहुने लाभदायक शिक्षाअनुसार जीवन बिताउन नचाहने कोही पनि हुनेछैन। परमेश्‍वरले सुरुमा मानव जोडीलाई पृथ्वीमा जस्तो सुन्दर बगैंचामा राख्नुभएको थियो, सम्पूर्ण पृथ्वी पनि बिस्तारै त्यस्तै सुन्दर बगैंचामा परिणत हुनेछ।—उत्पत्ति २:७-९.

त्यस्तो सुन्दर सफा पृथ्वीमा जीवन कत्ति रमाइलो होला, कल्पना गर्नुहोस्‌ त! मरिसकेका अरबौं मानिसहरूले पनि त्यस्तो सुन्दर ठाउँमा फेरि जिउने मौका पाउनेछन्‌। परमेश्‍वरले गर्नुभएका यी प्रतिज्ञाहरूमा रमाउनुहोस्‌: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” “[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—भजन ३७:२९; प्रकाश २१:३, ४. (g 4/07)

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सनहरू]

पहिलेको संसार विनाश हुँदा परमेश्‍वरसित डराउने मानिसहरू बचे

[पृष्ठ १०-मा भएको चित्र]

यो संसार विनाश भएपछि सम्पूर्ण पृथ्वी सुन्दर बगैंचा बन्‍नेछ