सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रक्सीको कुलतबाट मुक्‍त

रक्सीको कुलतबाट मुक्‍त

रक्सीको कुलतबाट मुक्‍त

ठिक्क मात्रामा रक्सी पिउँदा खानाको मज्जा नै बेग्लै हुन्छ अनि यसले रमाइलो समारोहको रौनकता अझ बढाउँछ। तर रक्सीकै कारण कतिपय भने गम्भीर समस्यामा फस्छन्‌। एक जना व्यक्‍तिको निम्न अनुभव विचार गर्नुहोस्‌, जो रक्सीको कुलतमा चुर्लुम्मै डुबेका थिए तर पछि गएर यसको साङ्‌लो चुँडाल्न सफल भए।

हाम्रो घरको तनावग्रस्त वातावरणबारे बताउनुपर्दा अहिले पनि मेरो मन भारी भएर आउँछ। बुबा र आमा दुवैले पिउनुहुन्थ्यो। त्यसपछि बुबाले आमालाई कुट्‌नुहुन्थ्यो। अक्सर, मैले नै उहाँको मुक्का खानुपर्थ्यो। म चार वर्ष जतिको छँदा उहाँहरूले छुट्टिने निर्णय गर्नुभयो। त्यसपछि म मामाघरको हजुरआमासित बस्न थालें।

यो संसारमा मलाई माया गर्ने कोही छैन जस्तो लाग्थ्यो। सात वर्षको छँदादेखि नै म छिंडीमुन्तिरको रक्सी राख्ने भण्डार कोठामा सुटुक्क छिरेर घरमै बनाइएको रक्सी घुटुक्क पार्थें। यसो गर्दा मलाई आफ्नो दुःख केही कम भएजस्तो लाग्थ्यो। म १२ वर्षको छँदा, एक दिन मेरो विषयमा आमा र हजुरआमाको ठूलै चर्काचर्की पऱ्‍यो। आमा रिसले आगो हुनुभयो र पराल सुकाउन चलाउने लामो बिंडसहितको दाँतीले मलाई झटारो हान्‍नुभयो। मैले जसोतसो छलें! मेरो जीवनमा यस्ता खतरनाक मोडहरू कैयौं पटक आइपरे। मेरो शरीरमा लागेका घाउहरू त समय बित्दै जाँदा निको भए तर मनभित्र लागेको घाउ भने हतपती निको हुनेवाला थिएन।

चौध वर्षको उमेरमा पुग्दा त म रातदिन पिइरहेको हुन्थें। पछि १७ वर्षको भएपछि म घर छोडेर भागें। रक्सी पिउँदा म आफूलाई स्वतन्त्र महसुस गर्थें। त्यसपछि म असाध्यै झगडालु हुन्थें र जाँड-रक्सी बेच्ने होटेलमा उधुम मच्चाउँथें। मेरो लागि जीवनको एक मात्र रमाइलो भनेको पिउनु नै थियो। म एकै दिनमा पाँच लिटरसम्म वाइन, दुई-चार बोतल बियर र त्यसमाथि फेरि कडा खालको रक्सी पनि पिउँथें।

पिउने बानीले गर्दा विवाहपछि मेरी श्रीमतीले पनि असाध्यै दुःख पाइन्‌। मनमुटाउ र रिसराग बढ्‌दै गयो अनि म उनलाई र बालबच्चालाई चुट्‌न थाल्थें। यसरी, म जस्तो वातावरणमा हुर्केको थिएँ, मेरो परिवार पनि त्यस्तै हुन पुग्यो। मेरो कमाइजति सबै रक्सीमै सिद्धिन्थ्यो। फर्निचरको नाउँमा हामीसित एउटा खाटसमेत थिएन, त्यसैले म र मेरी श्रीमती भुइँमै रात काट्‌थ्यौं। मेरो लागि बाँच्नुको कुनै उद्देश्‍य थिएन। तैपनि हाम्रो जीवनस्तर सुधार्न भने म केही गर्दिनथें।

एक दिन यहोवाका साक्षीसित मेरो भेट भयो। यत्तिका दुःखकष्ट हुनुको कारण के हो भनेर मैले सोधें र ती साक्षीले मलाई बाइबल खोलेर समस्यामुक्‍त संसारबारे परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा देखाए। यसले गर्दा म साक्षीहरूसित बाइबल अध्ययन गर्न राजी भएँ। बाइबलका शिक्षाहरू जीवनमा लागू गर्दा र आफ्नो पिउने बानी कम गर्दै लैजाँदा हाम्रो पारिवारिक जीवनमा निकै सुधार आयो। यहोवा परमेश्‍वरले स्वीकार्नुहुने तरिकामा उहाँको उपासना गर्ने हो भने रक्सी पिउने मेरो समस्यालाई जित्नै पर्छ भनेर मैले बुझें। तीन महिनाको अथक संघर्षपछि मैले रक्सी पूरै छोड्‌न सकें। छ महिनापछि मैले परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरें अनि बप्तिस्मा लिएँ।

रक्सीको कुलतबाट मुक्‍त भएपछि मैले आफूले लिएको सबै ऋण तिर्न सकें। पछि गएर मैले एउटा घर र कार पनि किन्‍न सकें। अहिले हामी यही कार चढेर मण्डलीका सभाहरूमा जान्छौं र ढोका-ढोकाको प्रचारकार्यमा भाग लिन्छौं। अहिले मेरो आत्म-सम्मान पनि बढेको छ।

कहिलेकाहीं साथीभाइसितको जमघटमा उनीहरू मलाई पनि रक्सी पिउन आग्रह गर्छन्‌। यसको कुलतबाट छुटकारा पाउन मलाई कत्ति गाह्रो परेको थियो अनि मैले एकै चोटि मात्र पिउँदा पनि फेरि पहिलेकै बानी बस्न सक्छ भनेर उनीहरूमध्ये धेरैलाई थाह छैन। अहिले पनि मलाई रक्सीको तलतल लाग्छ। कसैले रक्सी पिउन आग्रह गर्दा नाइँ भन्‍न व्यग्र प्रार्थना र दृढ कटिबद्धताको खाँचो पर्छ। मलाई तिर्खा लाग्दा सकेसम्म अलिकता पनि रक्सी नमिसाइएको पेय पदार्थहरू मात्र पिउने गर्छु। दस वर्ष भयो, मेरो मुखमा एक थोपा पनि रक्सी परेको छैन।

मानिसको लागि असम्भव काम यहोवाले गर्न सक्नुहुन्छ। रक्सीको कुलतबाट म कहिल्यै मुक्‍त हुन सक्दिनँ होला जस्तो मलाई लाग्थ्यो तर यसबाट उम्कन उहाँले मलाई मदत दिनुभएको छ! बाल्यकालमा भोगेका तीता अनुभवहरूको झझल्कोले मलाई अझै पनि सताइरहन्छ अनि अहिले पनि मलाई निराशाको बादलले छोप्न खोज्छ। अर्को तर्फ, मैले परमेश्‍वरसित राम्रो सम्बन्ध गाँस्न सकेको छु, सच्चा मित्रहरू भएको मण्डली पाएको छु अनि मेरो जस्तै विश्‍वास भएको सुखी परिवार बसाल्न सकेको छु। रक्सीको कुलतविरुद्ध मैले गरिरहेको संघर्षमा मेरी श्रीमती र छोराछोरीले दिलोज्यानले सहयोग गर्छन्‌। मेरी श्रीमती यसो भन्छिन्‌: “पहिले मेरो जीवनमा दुःखसिवाय अरू केही थिएन। अहिले म यहोवाप्रति असाध्यै धन्यवादी छु किनकि मैले श्रीमान्‌ र दुई जना छोराछोरीसहितको सुखी परिवार पाएकी छु।”—सौजन्यस्वरूप प्राप्त। (g 5/07)

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सनहरू]

चौध वर्षको उमेरमा पुग्दा त म रातदिन पिइरहेको हुन्थें

[पृष्ठ १२-मा भएको पेटी]

मानिसको लागि असम्भव काम यहोवाले गर्न सक्नुहुन्छ

[पृष्ठ १२-मा भएको पेटी/चित्र]

रक्सीबारे बाइबलको धारणा

◼ रक्सीको प्रयोगलाई बाइबलले निषेध गर्दैन। परमेश्‍वरले “मानिसको मन खुश गराउनलाई दाखमद्य” प्रबन्ध गरिदिनुभएको हो भनेर बताउँदै बाइबलले यसलाई उहाँले मानिसजातिलाई दिनुभएको उपहारसित तुलना गर्छ। (भजन १०४:१४, १५) बाइबलले दाखलाई सम्पन्‍नता र सुरक्षाको प्रतीकको रूपमा चलाउँछ। (मीका ४:४) येशूले पनि पहिलो पटक चमत्कार गर्नुहुँदा एउटा विवाह भोजमा पानीलाई दाखमद्यमा परिणत गर्नुभएको थियो। (यूहन्‍ना २:७-९) अनि तिमोथी “घरिघरि बिरामी भएको” सुन्दा प्रेरित पावलले तिनलाई “अलि अलि दाखमद्य पिउने” सल्लाह दिए।—१ तिमोथी ५:२३.

◼ रक्सीको अचाक्ली प्रयोगलाई भने बाइबलले निषेध गर्छ:

“मतवालाहरू . . . परमेश्‍वरको राज्यको हकदार हुनेछैन।”—१ कोरिन्थी ६:९-११.

“दाख-मद्यले नमात्तिओ, जसमा कामोद्दीपन हुन्छ।” —एफिसी ५:१८.

“कष्ट कसको हो? अनुताप कसको हो? झगडा कसको हो? औ फिक्री कसको हो? कारणै विना कसलाई चोट लाग्छ? कसको आँखा राता-राता हुन्छन्‌? तिनीहरूकै, जो अबेरसम्म दाखमद्य पिइरहन्छ, तिनीहरूकै, जो सधैं नयाँ मसाला हालेको दाखमद्य चाखिरहन्छन्‌। कचौरामा खन्याउँदा फिंज उठ्‌ने कडा रातो दाखमद्य स्वाट्टै नपार्‌। किनभने अन्तमा त्यसले साँपलेझैं डस्छ, र कोब्रा साँपलेझैं ठुँग्छ। तब तेरो आँखाले अचम्म-अचम्मका कुराहरू देख्छ, तेरो विचार-शक्‍ति तेरो बोली लरबरिन्छ।”—हितोपदेश २३:२९-३३.

सँगैको लेखमा बताइएझैं रक्सीको कुलतको समस्या भएका कतिपयले थोपै मुखमा नहाल्ने बुद्धिमानी निर्णय गरेका छन्‌।—मत्ती ५:२९.