सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

सन्‌ २००५ मा संसारभरि २८ ठूलठूला युद्ध र ११ सशस्त्र द्वन्द्व भए। — भाइटल साइन्ज्‌ २००६-२००७, वर्ल्डवच इन्स्टिच्युट। (g 4/07)

“ब्लग साइट्‌स” हेर्दा वेबक्याम चलाउने नेदरल्याण्डस्‌का १२ देखि २० वर्षबीचका इन्टरनेट प्रयोगकर्ताहरूमध्ये “४० प्रतिशत केटा र ५७ प्रतिशत केटीलाई वेबक्यामको अगाडि आफ्नो लुगा फुकाल्न वा कुनै यौनकार्य गरेर देखाउन भनिएको थियो।”— रट्‌जर्स निस्सो ग्रोप, नेदरल्याण्डस्‌। (g 4/07)

“आधुनिक प्रविधिले गर्दा हाल अमेरिकीहरूले हप्ताभरि काममा बिताउनुपर्ने समय सय वर्षअघिको तुलनामा ३८ प्रतिशतले घटेको छ। तर पनि काममा जान आउन धेरै समय लाग्ने, राम्रो जागिर पाउनको लागि थप शिक्षा लिनुपर्ने र घरधन्दामा धेरै समय बिताउनुपर्ने हुँदा कामदारहरूसित फुर्सतको समय एकदमै थोरै मात्र छ।”— फोर्ब्स्‌, अमेरिका। (g 5/07)

वैज्ञानिक स्टिभन हकिंगले सबैको लागि इन्टरनेटमा यो प्रश्‍न राखे: “राजनैतिक, आर्थिक र वातावरणको दृष्टिकोणले गञ्जागोलपूर्ण यस संसारमा आगामी १०० वर्षसम्म मानिसजाति टिक्न सक्ला?” एक महिनापछि तिनी आफैले यसरी मानिलिए: “मलाई थाह छैन। त्यसैकारण त मैले यो प्रश्‍न सोधेको। मानिसहरूले यस विषयमा सोचून्‌ अनि अहिले सामना गर्न परिरहेका खतराहरूबारे सजग होऊन्‌ भनेर नै सोधेको हुँ।”— द गार्जियन, बेलाइत। (g 6/07)

मानसिक बिरामीहरूको लागि खेतको काम गर्नु फाइदाजनक हुन्छ

हालै १४ मुलुकका १०० भन्दा बढी विशेषज्ञहरू नर्वेको स्टाभांगरमा भेला भएका थिए। कारण के थियो? खेतीपाती, शिक्षा तथा स्वास्थ्य सेवा एकसाथ प्रदान गर्ने अवधारणा जसलाई ग्रीन केयर भनिन्छ, त्यसबारे सिक्नको लागि। नर्वेको राष्ट्रिय प्रसारण कम्पनीअनुसार वर्षौंदेखि मानसिक बिरामी भएका कोही-कोहीले खेतको काम गर्न थालेपछि उपचार केन्द्रमा बसिरहनु परेन। खेतको काम “दिमाग र शरीरको लागि स्वास्थ्यकर” हुन्छ। नर्वेमा पहिलादेखि खेतीपाती गर्दै आएका ६०० भन्दा बढी फार्महरू ग्रीन केयरसित मिलेर काम गर्छन्‌ र यसबापत थप आम्दानी हुन्छ। (g 4/07)

चीनमा स्वच्छ पानीको हाहाकार

चीनमा “पानीको प्रदूषण र स्वच्छ पानीको अभावले” गर्दा ठूलो संकट भइरहेको छ। प्रायजसो सहरमा फोहोर पानी प्रशोधन केन्द्रहरू त छन्‌ तर ती चलाउने खर्च भने छैन। द वल स्ट्रीट जर्नल भन्‍ने पत्रिका यस्तो रिपोर्ट गर्छ: “कलकारखाना र निजी घरहरूबाट निस्केको फोहोरले गर्दा यहाँका प्रायजसो नदी, ताल र नहरहरू प्रदूषित भएका छन्‌ र खेतबाट निस्केको विषादी पनि पानीमै मिसिएको छ।” त्यही पत्रिका अझ यसो भन्छ: “लगभग ३० करोड मानिसले स्वच्छ पिउने पानी पाएका छैनन्‌।” अवस्था “दयनीय” र खस्कँदो छ। (g 5/07)

“तपाईंहरू यहोवाका साक्षीहरू हो?”

गत वर्ष इटालेली टापु एल्बाको समुद्रीतटमा बिदा मनाइरहेका पर्यटकहरूसित जवान क्याथोलिकहरू कुरा गर्न आए। यी जवानहरूले मासा मारिटिमा-प्योम्बिनो इलाकाको विशपको आग्रहमा त्यसो गरेका थिए। उक्‍त विशपले तिनीहरूलाई भनेका थिए, तिनीहरू क्रिस्चियन बन्‍न र क्रिस्चियन नै रहिरहन चाहन्छन्‌ भने आफ्नो विश्‍वासबारे अरूलाई बताउनुपर्छ। यसरी कुरा गर्न आउँदा पर्यटकहरू छक्क परे। एल टेम्पो भन्‍ने अखबारअनुसार यी युवाहरूलाई प्रायजसोले यसो भने: “तपाईंहरू यहोवाका साक्षीहरू हो?” (g 5/07)

यौन गतिविधि र संगीतबीचको सम्बन्ध

“यौनसित सम्बन्धित छाडा बोल भएका” संगीत सुन्‍ने किशोरकिशोरीहरूले “अन्य गीत रुचाउनेहरूले भन्दा चाँडो यौनसम्बन्ध राख्ने” सम्भावना हुन्छ भनी एसोसिएटेड प्रेसको रिपोर्ट बताउँछ। यौनबारे त्यति खुलेर नबताउने र स्थायी प्रकारको सम्बन्धबारे चर्चा गर्ने गीतहरूले भन्दा “केटालाई ‘अत्यन्तै कामुक’ र केटीलाई यौन उपभोगको वस्तुको रूपमा चित्रण गर्ने अनि यौनको विषयमा खुलेर बताउने गीतहरूले कम उमेरमै यौनसम्बन्ध राख्न उक्साउँछ” भनी उक्‍त रिपोर्ट बताउँछ। साथै, यसो भन्यो: “आमाबाबु, शिक्षक अनि किशोरकिशोरीहरू आफै पनि गीतको बोल कस्तो छ भनेर बढी होसियार हुनुपर्छ।” (g 5/07)