सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वव्यापी नैतिक पतन

विश्‍वव्यापी नैतिक पतन

विश्‍वव्यापी नैतिक पतन

“जताततै छलछाम भइरहेको छ” भनी डेभिड कालाहानले द चिटिङ कल्चर भन्‍ने हालै प्रकाशित किताबमा लेखे। अमेरिकामा थुप्रै प्रकारका छलछाम लगायत “हाई-स्कूल अनि कलेजका विद्यार्थीहरूले जाँचमा चोर्ने,” संगीत र चलचित्रको “अवैध प्रति निकाल्ने,” “अफिसमा सामान वा समय चोर्ने,” “स्वास्थ्य उपचारको नाउँमा ठूलठूला ठगी गर्ने” र खेलकूदमा स्टेरोइड्‌सको प्रयोग गर्नेजस्ता कार्यहरू भइरहेका छन्‌। तिनी अन्तमा यसो भन्छन्‌: “विभिन्‍न किसिमको नैतिक तथा कानुनी दुराचरण हेर्दा घोर नैतिक पतन भइरहेको देखिन्छ।”

अमेरिकामा सन्‌ २००५ को अगस्ततिर काट्रिना नाउँको समुद्री आँधी आएपछिको अवस्थाबारे द न्यु योर्क टाइम्स-ले यसो भन्यो: “आधुनिक इतिहासलाई केलाउँदा सरकारी तहबाटै यतिबिघ्न ठगी, जालसाजी र हिनामिना पहिला भएको थिएन।” एउटी अमेरिकी सिनेटरले यसो भनिन्‌: “खुलेआम ठगी, त्यतिबिघ्न जालसाजी गर्ने आँट तथा पैसा र स्रोतसाधनको बर्बादी कल्पनै गर्न नसकिने अनुपातमा भएको थियो।”

हुन त, निःस्वार्थ दयामाया देखाउने मानिसहरू अहिले पनि नभएका होइनन्‌। (प्रेरित २७:३; २८:२) तर धेरैले यस्तो प्रश्‍न गरेको सुन्छौं: “यसबाट मैले के पाउँछु? मलाई के फाइदा हुन्छ?” मै खाऊँ, मै लाऊँ भन्‍ने मनोवृत्ति सर्वव्याप्त भएको छ।

विगतलाई हेर्दा, स्वार्थ र निर्लज्ज अनैतिक व्यवहारले गर्दा नै रोमी साम्राज्यजस्ता सभ्यताहरू पतन भएका थिए। अहिले भइरहेका कुराहरू त्योभन्दा पनि भयावह घटना हुने पूर्वसंकेत हो कि? अहिले संसारमा जताततै “अधर्म” बढिरहेको छ। के यो बाइबलले भविष्यवाणी गरेझैं जगत्‌को अन्तमा हुने एउटा चिह्न हो?—मत्ती २४:३-८, १२-१४; २ तिमोथी ३:१-५.

संसारभरि नैतिकता खस्किरहेको छ

सन्‌ २००६, जून २२ को अफ्रिका न्यूज-ले युगाण्डाको एउटा गरिब बस्तीमा भएको “यौन दुर्व्यवहार र अश्‍लील कुराहरूसम्बन्धी कार्यशाला”-बारे यसो भन्यो: “आमाबुबाको लापरवाहीले गर्दा उक्‍त इलाकामा वेश्‍यावृत्ति र लागू पदार्थको दुर्व्यसन बढिरहेको छ।” त्यस पत्रिकाले अझ यसो भन्यो: “कावेम्पे प्रहरी थानाको बालबच्चा तथा पारिवारिक सुरक्षा एकाइका प्रमुख, डाबाङ्‌गी सालोङ्‌गोले बताएअनुसार बाल दुर्व्यवहार र घरेलु हिंसा तीव्र गतिले वृद्धि भइरहेको छ।”

भारतका एक मनोचिकित्सकले बताएअनुसार “परम्परागत मूल्य-मान्यताले गर्दा समाजमा जुन स्थायित्व पहिला थियो, त्यो अहिले बिस्तारै खुकुलो हुँदै गइरहेको छ।” त्यसै देशकी एक चलचित्र निर्देशकले यसो भनिन्‌: “लागू पदार्थको दुर्व्यसनमा भएको वृद्धि र बढ्‌दो यौन स्वच्छन्दताले भारत ‘पाश्‍चात्य विकृतिको दलदलमा’ धस्सिंदै गइरहेको संकेत दिन्छ।”

बेइजिङको चाइना सेक्सोलोजी एसोसिएसनका महासचिव हु पेचिङले यसो भने: “हाम्रो समाजमा पहिला के सही र के गलत भन्‍ने चेतना थियो। अहिले आफूलाई मन लागेको कुरा गर्न कुनै रोकटोक छैन।” चाइना टुडे पत्रिकाको एउटा लेखले यसो भन्यो: “विवाह बाहिरको यौनसम्बन्धलाई समाजले स्वीकार्य ठान्‍न थालेको छ।”

“सामान बिकाउन जोकसैले पनि अंग-प्रदर्शन र यौनको उपयोग गरिरहेका छन्‌ जस्तो देखिन्छ” भनी इङ्‌गल्यान्डको योर्कशायर पोस्ट-ले हालै टिप्पणी गऱ्‍यो। “हाम्रा बाबु-बाजेको पालामा कसैले यस्तो व्यवहार गऱ्‍यो भने जनसाधारण आक्रोशित हुन्थे। तर आज भने जताततै अनि जुनसुकै कुरामा पनि सुस्पष्ट यौन दृश्‍य र अश्‍लील कुराहरू छ्यासछ्यास्ती छन्‌ . . . र यसले मुख्य ठाउँ ओगटिसकेको छ।” उक्‍त अखबारले अझ यसो भन्यो: “पहिला-पहिला १८ वर्ष नाघिसकेकाहरूले मात्र हेर्न मिल्छ भनिएका किताब, पत्र-पत्रिका र चलचित्र अहिले सपरिवार बसेर हेर्न मिल्ने भइसकेको छ। अश्‍लील कुराहरूको विरुद्धमा अभियान चलाउनेहरूले बताएअनुसार यस्ता कुराहरू खास गरी केटाकेटीप्रति लक्षित छन्‌।”

द न्यु योर्क टाइम्स म्यागजिन-ले यसो भन्यो: ‘कोही-कोही किशोरकिशोरीलाई यौनसम्बन्धबारे आफ्नो अनुभव खुलस्त बताउनु भनेको स्कूलको क्यान्टिनमा दिउँसोको खाजा के हो भनेर कुरा गर्नु जत्तिकै सामान्य भएको छ।’ आठदेखि १२ वर्षबीचका छोराछोरी हुने आमाबाबुको लागि निर्देशन दिने पत्रिकाले (ट्‌वीन्स न्युज) यस्तो टिप्पणी गऱ्‍यो: “बच्चाको जस्तो केरमेट अक्षरमा एउटी केटीले यस्तो हृदयविदारक सन्देश लेखेकी थिइन्‌: ‘ममीले मलाई केटाहरूसित घुम्न गएर यौनसम्बन्ध राख भन्‍नुहुन्छ। म भर्खर १२ वर्षकी भएँ . . . मलाई मदत गर्नुहोस्‌!’ ”

समयले कोल्टो फेरिसकेको छ! क्यानाडाको टोरन्टो स्टार-ले यस्तो लेख्यो: अलिक पहिला “समलिंगीहरूबीचको खुलेआम सम्बन्धलाई समाजले पचाउँदैन थियो।” ओटावाको कार्ल्टन विश्‍वविद्यालयमा सामाजिक इतिहास विषयकी प्राध्यापक बार्बरा फ्रिमेनले यसो भनिन्‌: “अहिले मानिसहरू ‘निजी जीवन भनेको अत्यन्तै व्यक्‍तिगत कुरा हो। अरू कसैले हस्तक्षेप गरेको चाहँदैनौं’ भनिरहेका छन्‌।”

गत केही दशकमा संसारभरि थुप्रै ठाउँमा द्रूत गतिले नैतिक पतन भएको कुरा स्पष्ट छ। किन यस्ता आमूल परिवर्तनहरू हुँदैछन्‌? तपाईंलाई कस्तो लाग्छ? अनि यसले भविष्यबारे कस्तो संकेत दिन्छ? (g 4/07)