आफ्ना छोराछोरीको भावना बुझेको कुरा देखाउनुहोस्
६
आफ्ना छोराछोरीको भावना बुझेको कुरा देखाउनुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ? छोराछोरीको लागि सबैभन्दा महत्त्वपूर्ण व्यक्ति भनेको उनीहरूका आमाबाबु हुन्। आफूलाई कस्तो लागिरहेको छ भनेर आमाबाबुले बुझेको छोराछोरी चाहन्छन् र आमाबाबुले यसरी थाह पाउनु एकदमै महत्त्वपूर्ण छ। छोराछोरीले आफ्ना भावना व्यक्त गर्दा कहिल्यै सहमत नहुने आमाबाबुको बानी बसिसकेको छ भने छोराछोरीले मनको कुरा खुलेर व्यक्त गर्ने सम्भावना कम हुन्छ। साथै, कुनै कुरा महसुस गर्ने र सोच्ने आफ्नो क्षमतामाथि नै छोराछोरीको भरोसा गुम्न सक्छ।
यसो गर्न किन गाह्रो हुन्छ? आफ्नो सोचाइ र भावनालाई निकै बढाइचढाइ गरेर भन्ने झुकाव केटाकेटीको हुन्छ। हुन त हो, छोराछोरीले भन्ने कुनै-कुनै कुराले आमाबाबुलाई चिन्तित बनाउन सक्छ। जस्तै, निराश भएको बच्चाले “मलाई त मर्नै मन लाग्यो” भन्न सक्छ। a यस्तो बेला आमाबाबुलाई झट्टै यसो भनिहालूँ जस्तो लाग्न सक्छ: “त्यस्तो मूर्ख कुरा नगर!” बच्चाले व्यक्त गर्ने यस्तो नकारात्मक कुरा वा भावनालाई मानिलिंदा छोराछोरीको नकारात्मक भावनामा सहमत भएसरह हुनेछ जस्तो आमाबाबुलाई लाग्न सक्छ।
कस्तो मदत पाउन सक्नुहुन्छ? “सुन्नलाई छिट्टो, बोल्नलाई ढीलो र रिसाउनलाई धीमा होस्” भन्ने बाइबलको सल्लाह लागू गर्नुहोस्। (याकूब १:१९) याद गर्नुहोस्, आफ्ना थुप्रै विश्वासी दासहरूले महसुस गरेका नकारात्मक भावनालाई यहोवा परमेश्वरले मानि लिनुभयो र ती विवरण बाइबलमा लिपिबद्ध छन्। (उत्पत्ति २७:४६; भजन ७३:१२, १३) जस्तै, अय्यूबले असह्य परीक्षाहरू भोग्नुपर्दा तिनले बरु मर्न पाए पनि हुन्थ्यो भने।—अय्यूब १४:१३.
हुन त, अय्यूबका कतिपय सोचाइ र भावनालाई सच्याउनु परेको थियो। अय्यूबका भावनाहरूलाई इन्कार गर्नु वा तिनलाई कुरा गर्नदेखि रोक्नुको सट्टा यहोवाले अय्यूबलाई तिनको मनको कुरा पोख्न दिएर अय्यूबको कदर गर्नुभयो। यहोवाले पछि मात्र मायालु ढंगमा अय्यूबलाई सच्याउनुभयो। एक जना मसीही बुबा यसो भन्छन्: “यहोवाले मलाई मेरो मनको कुरा उहाँलाई पोख्न दिनुभएको छ। त्यसकारण मैले पनि मेरा छोराछोरीलाई उनीहरूको सकारात्मक र नकारात्मक दुवै किसिमका भावनाहरू मलाई पोख्न दिनुपर्छ जस्तो लाग्छ।”
अर्को चोटि आफ्नो बच्चालाई “त्यस्तो मूर्ख कुरा नगर!” वा “जे पायो त्यो प्याच्च नभन है” भनेर हकारिहाल्नुअघि येशूको यो प्रख्यात नियम सम्झनुहोस्: “जसो मानिसहरूले तिमीहरूसित गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसित त्यसै गर।” (लूका ६:३१) उदाहरणका लागि, कल्पना गर्नुहोस्, काम गर्ने ठाउँमा कसैले तपाईंप्रति कठोर व्यवहार गऱ्यो वा हुन सक्छ तपाईंको आफ्नै गल्तीले गर्दा कुनै कुरा तपाईंले आशा गरेजस्तो भएन। आफूले भोग्नुपरेको नैराश्य तपाईंको घनिष्ठ मित्रलाई बताउनुभयो र अबउसो काममा जान सक्दिनँ होला भनेर दुखेसो पोख्नुभयो। यस्तो अवस्थामा तपाईं आफ्नो साथीबाट के आशा गर्नुहुन्छ? साथीले ‘मलाई त्यस्तो त लाग्दैन’ भनेको र कुरा राम्रोसँग नसुनिकनै ‘गल्ती त तिम्रै हो नि’ भनेको चाहनुहुन्छ कि? अथवा तपाईंको साथीले यसो भनेको चाहनुहुन्छ: “ओहो! तिमीलाई त साह्रै अप्ठ्यारो पो भएछ। गाह्रो भयो होला, हगि?”
सल्लाह दिने व्यक्तिले साँच्चै आफ्नो कुरा बुझेको र आफूले भोगिरहेको समस्या बुझेको महसुस गर्छन् भने, केटाकेटी होस् या वयस्क, सल्लाह स्वीकार्न सजिलो हुन्छ। परमेश्वरको वचन यसो भन्छ: “ज्ञानी मानिसको मनले त्यसको बोली सम्हाल्छ, र त्यसको मुखले बोलेको कुराले बुद्धि बढाउँछ।”—हितोपदेश १६:२३.
तपाईंले दिने सल्लाह हल्कासित लिइनेछैन भनेर तपाईं कसरी पक्का गर्न सक्नुहुन्छ? (g 8/07)
[फुटनोट]
a मर्न चाहन्छु भन्ने जस्ता कुरा छोराछोरीले गर्न थाल्दा, त्यसलाई हल्कासित नलिनुहोस्।
[पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]
“राम्ररी सुन्न अघिनै प्रश्नको जवाफ दिनु मूर्खता र शिष्टता हो।”—हितोपदेश १८:१३