सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के गर्भ निरोधको उपाय अपनाउनु गलत हो?

के गर्भ निरोधको उपाय अपनाउनु गलत हो?

बाइबल के भन्छ

के गर्भ निरोधको उपाय अपनाउनु गलत हो?

तपाईंलाई कस्तो लाग्छ? के विवाहित दम्पतीले गर्भ निरोधको उपाय अपनाउनु गलत हो? आफ्नो धार्मिक विश्‍वासको आधारमा जवाफ फरक-फरक होला। क्याथोलिक चर्चको शिक्षाअनुसार सन्तान जन्माउने प्रक्रियालाई रोक्ने जुनसुकै कार्य “सरासर गलत हो।” क्याथोलिक धर्मको शिक्षाअनुसार श्रीमान्‌-श्रीमतीले प्रत्येक चोटि यौनसम्बन्ध राख्दा गर्भधारण हुने सम्भावनालाई सधैं खुला राख्नुपर्छ। यसकारण क्याथोलिक चर्चले गर्भ निरोधको प्रयोगलाई “परमेश्‍वरको नैतिक स्तर विरुद्ध” ठहर गर्छ।

धेरै जनालाई यस्तो दृष्टिकोण स्वीकार्न गाह्रो लाग्छ। यस विषयमा पिट्‌सवर्ग पोस्ट-ग्याजेट-मा प्रकाशित लेखमा यसो भनिएको थियो: “संयुक्‍त राज्य अमेरिकाका क्याथोलिकहरूमध्ये तीन चौथाइको विचारमा चर्चले कृत्रिम गर्भ निरोधका उपायहरू प्रयोग गर्न दिनुपर्छ। . . . अनि लाखौंले चर्चको निषेधाज्ञा दिनहुँ उल्लंघन गर्छन्‌।” तीनवटी छोरीकी आमा, लिन्डा गर्भ निरोधको उपाय प्रयोग गरेको कुरा स्वीकार्न कुनै संकोच नमानी यसो भन्छिन्‌: “मेरो अन्तस्करणको सोर सुन्‍ने हो भने, मैले पाप गरें जस्तो लाग्दैन।”

यस विषयमा परमेश्‍वरको वचन के भन्छ?

जीवन अनमोल छ

परमेश्‍वरले बच्चाको जीवनलाई अनमोल ठान्‍नुहुन्छ, चाहे त्यो गर्भधारणको प्रारम्भिक चरणमै किन नहोस्‌। प्रेरणा पाएर इस्राएलका राजा दाऊदले यस्तो लेखे: “तपाईंले मलाई मेरी आमाको गर्भैमा रच्नुभयो। . . . मेरो रचना नभई तपाईंका आँखाले मलाई देखेका थिए, . . . र मेरा सबै अङ्‌ग जो दिन दिन बनिंदै आएका थिए, ती नबनिंदै तपाईंका पुस्तकमा ती लेखिएका थिए।” (भजन १३९:१३, १६) गर्भधारण हुने बित्तिकै नयाँ जीवनको सुरुवात हुन्छ। अनि मोशाको व्यवस्थाअनुसार हेर्ने हो भने गर्भमा भएको बच्चालाई हानि पुऱ्‍याउने व्यक्‍तिसमेत दोषी ठहरिन्थ्यो। प्रस्थान २१:२२, २३ मा स्पष्टसित बताइएअनुसार दुई जना पुरुष आपसमा झगडा गर्दा गर्भवती स्त्री वा उनको गर्भमा भएको शिशुलाई घातक चोट लाग्यो भने यो मामिला नियुक्‍त न्यायकर्ताहरूले फैसला गर्नुपर्थ्यो। तिनीहरूले दुर्घटना हुँदाखेरिको परिस्थिति अनि जानाजानी भएको हो वा होइन जस्ता कुराहरू विचार गर्थे तर यसको सजाय “प्राणको सट्टा प्राण” अर्थात्‌ जीवनको साटो जीवन हुन सक्थ्यो।

यो सिद्धान्त गर्भ निरोधका उपायहरूको प्रयोगसित सम्बन्धित छ किनभने कुनै-कुनै उपायले गर्भपतन गराउँछ। जीवनप्रति आदर देखाउनुपर्छ भनी परमेश्‍वरले दिनुभएको सिद्धान्तसित गर्भपतन गराउने खालका गर्भ निरोधका उपायहरू मेल खाँदैनन्‌। तर गर्भ निरोधका प्रायजसो उपाय गर्भपतन गराउने किसिमका हुँदैनन्‌। यस्ता उपायहरूको प्रयोग नि?

बाइबलमा कतै पनि मसीहीहरूलाई सन्तान जन्माउनू भन्‍ने आज्ञा दिइएको छैन। परमेश्‍वरले प्रथम मानव दम्पती र नूहको परिवारलाई यसो भन्‍नुभएको थियो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै . . . जाओ।” तर मसीहीहरूलाई भने यस्तो आज्ञा दिइएको थिएन। (उत्पत्ति १:२८; ९:१) यसकारण छोराछोरी जन्माउने कि नजन्माउने, जन्माउने हो भने कति जना जन्माउने अनि कहिले जन्माउने जस्ता कुराहरू विवाहित दम्पतीहरूले आफै निर्णय गर्न सक्छन्‌। बाइबलले पनि गर्भ निरोधलाई निषेध गरेको छैन। यसर्थ, बाइबलको दृष्टिकोणबाट भन्‍ने हो भने, गर्भपतन नहुने किसिमको गर्भ निरोधका उपाय पतिपत्नीले प्रयोग गर्ने निर्णय गरोस्‌ या नगरोस्‌, यो तिनीहरूको व्यक्‍तिगत छनौट हो। त्यसोभए क्याथोलिक चर्चले गर्भ निरोधको प्रयोगलाई गलत ठहराउनुको कारण के हो?

मानिसको बुद्धि र परमेश्‍वरको बुद्धिबीचको भिन्‍नता

एउटा क्याथोलिक विश्‍वकोषअनुसार इस्वी संवत्‌ दोस्रो शताब्दीमा मसीही भनौंदाहरूले पहिलो चोटि स्टोइक नियम स्वीकार गरे जसअनुसार विवाहित दम्पतीबीच यौनसम्बन्धको एक मात्र वैध उद्देश्‍य सन्तान जन्माउनु हो। यस्तो धारणा बाइबलमा नभई मानव दर्शनमा आधारित थियो। यो परमेश्‍वरको बुद्धिमा नभई मानिसको बुद्धिमा आधारित थियो। शताब्दीयौंसम्म यही दर्शन रहिरह्‍यो अनि कतिपय क्याथोलिक धर्मविद्‌हरूले यसलाई बढाइचढाइ गरे। a यस्तो शिक्षाको परिणामस्वरूप, केवल आनन्दको लागि यौनसम्बन्ध राख्नु पापपूर्ण हो अनि फलतः सन्तान जन्माउने सम्भावनालाई रोक्ने यौनसम्बन्ध अनैतिक हो भन्‍ने धारणा विकास भयो। तर बाइबलले यस्तो सिकाउँदैन।

बाइबलको पुस्तक हितोपदेशले पति र पत्नीबीचको उचित यौनसम्बन्धबाट प्राप्त हुने आनन्दलाई कवितामय ढंगमा यसरी वर्णन गरेको छ: “आफ्नै कुण्डको पानी र आफ्नै खोलाबाट बगेको पानी पी। . . . तेरो फोहोरा, तेरो युवावस्थाकी पत्नी आशीर्वादी होस्‌। त्यहीसित तँ सुखी हो। मायालु मृग, राम्री हरिणीझैं त्यो तेरो साथी होस्‌, त्यसकै वक्षमा तँ सन्तुष्ट बन्‌, तँ सधैं त्यसकै प्रेममा डुबिरह।”—हितोपदेश ५:१५, १८, १९.

पति र पत्नीबीचको यौनसम्बन्ध परमेश्‍वरले दिनुभएको वरदान हो। तर यसको एउटै मात्र उद्देश्‍य सन्तान जन्माउनु होइन। यौनसम्बन्धले पति र पत्नीलाई एकअर्काप्रतिको कोमल-माया र स्नेह व्यक्‍त गर्ने मौका पनि दिन्छ। यसकारण दम्पतीले गर्भ निरोधको कुनै उपाय चलाएर गर्भधारण हुन दिंदैनन्‌ भने यो तिनीहरूको व्यक्‍तिगत निर्णय हो र यसबारे अरूले टीकाटिप्पणी गर्नु उचित हुँदैन।—रोमी १४:४, १०-१३. (g 9/07)

[फुटनोट]

a न्यु क्याथोलिक इन्साइक्लोपीडिया-ले बताएअनुसार “गर्भ निरोधको विरुद्धमा पोपले सबैलाई लागू हुने गरी नियम पारित गरेको पहिलो चोटि” १३ औं शताब्दीमा ग्रेगोरी नवौंले हो।

के तपाईंले सोच्नुभएको छ?

◼ के पति र पत्नीबीचको यौनसम्बन्ध पापपूर्ण हो?—हितोपदेश ५:१५, १८, १९.

◼ गर्भ निरोधको उपाय अपनाउँदा मसीहीहरूले कुन कुरा विचार गर्नुपर्छ?—प्रस्थान २१:२२, २३.

◼ गर्भ निरोधको उपाय चलाउने विवाहित दम्पतीहरूप्रति अरूले कस्तो दृष्टिकोण राख्नुपर्छ?—रोमी १४:४, १०-१३.

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

परमेश्‍वरले प्रथम मानव दम्पती र नूहको परिवारलाई यसो भन्‍नुभएको थियो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै . . . जाओ।” तर मसीहीहरूलाई भने यस्तो आज्ञा दिइएको थिएन