सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिवारको नियम स्पष्टसित तोक्नुहोस्‌ अनि लागू गरिहाल्नुहोस्‌

परिवारको नियम स्पष्टसित तोक्नुहोस्‌ अनि लागू गरिहाल्नुहोस्‌

परिवारको नियम स्पष्टसित तोक्नुहोस्‌ अनि लागू गरिहाल्नुहोस्‌

यसो गर्नु किन महत्त्वपूर्ण छ? अमेरिकाको जर्जिया विश्‍वविद्यालयका समाजशास्त्री रनल्ड सिमन्स्‌ यसो भन्छन्‌: “नियमहरू स्पष्टसित बुझेका र नियम तोडेपछि के हुन्छ भनेर बुझेका छोराछोरी विभिन्‍न परिस्थितिको सामना गर्न बढी सक्षम हुन्छन्‌। नियम स्पष्ट नभएका र सजायबारे पनि नबुझेका केटाकेटी आफ्नै कुरामा मात्र ध्यान दिने, स्वार्थी र दुःखी हुन्छन्‌। यस्ता केटाकेटीले आफूलाई मात्र होइन, अरूलाई पनि दुःख दिन्छन्‌, कसैलाई शान्ति हुँदैन।” परमेश्‍वरको वचनले सरल शब्दमा यसो भन्छ: “छोरालाई प्रेम गर्नेले त्यसलाई बाल्यवस्थादेखिनै अनुशासनमा राख्छ।”—हितोपदेश १३:२४.

यसो गर्न किन गाह्रो हुन्छ? आफ्ना छोराछोरीको लागि व्यावहारिक सीमा तोक्न र ती लागू गर्न समय चाहिन्छ, प्रयास गर्नुपर्छ र धैर्य गर्नुपर्छ। आमाबाबुले तोकेको सीमालाई उल्लंघन गर्ने छोराछोरीको स्वाभाविक झुकाव हुन्छ। छोराछोरीले यस्तो प्रतिरोध साँच्चै गर्छन्‌ भनेर दुइटी छोरी हुर्काइरहेका माइक र सोन्याले राम्रोसित बुझेका छन्‌। तिनीहरू यसो भन्छन्‌: “छोराछोरी भनेको आफ्नै सोचाइ, चाहना र पाप गर्ने जन्मजात झुकाव भएका साना मान्छेहरू हुन्‌।” यी आमाबाबु आफ्ना छोरीहरूलाई असाध्यै माया गर्छन्‌। तर यो पनि मानि लिन्छन्‌: “कहिलेकाहीं बच्चाहरू अति जिद्दी र स्वार्थी हुन्छन्‌।”

कस्तो मदत पाउन सक्नुहुन्छ? यहोवाले इस्राएल राष्ट्रसित कस्तो व्यवहार गर्नुभयो, त्यो अनुकरण गर्नुहोस्‌। आफ्ना जनहरूप्रति प्रेम देखाउनुभएको एउटा तरिका हो, तिनीहरूले कुन-कुन नियम पालन गरेको चाहनुहुन्छ भनेर उहाँले स्पष्टसित बताइदिनुभयो। (प्रस्थान २०:२-१७) ती नियमहरू उल्लंघन गर्दा कस्तो परिणाम भोग्नुपर्नेछ भनेर पनि स्पष्टसित भन्‍नुभयो।—प्रस्थान २२:१-९.

त्यसकारण, तपाईंका छोराछोरीले कुन-कुन नियम पालन गर्नै पर्छ जस्तो लाग्छ, त्यसलाई लेखेरै राख्नुभए कसो होला? कोही-कोही आमाबाबु यस्तो सूची धेरै लामो नबनाई पाँचवटा जति मात्र नियममा सीमित गर्न सुझाव दिन्छन्‌। राम्ररी सोचविचार गरेर तय गरिएका थोरै नियमहरू लागू गर्न सजिलो हुन्छ र छोराछोरीलाई ती सम्झन पनि सजिलो हुन्छ। ती नियम उल्लंघन गरेमा कस्तो सजाय भोग्नुपर्नेछ, त्यो पनि नियमसँगै लेख्नुहोस्‌। तपाईंले तोक्नुभएका सजायहरू व्यावहारिक हुनुपर्छ र ती लागू गर्न तपाईं इच्छुक हुनुपर्छ। ती नियमहरूबारे नियमित तवरमा छलफल गर्नुहोस्‌। यसरी छोराछोरीबाट मात्र होइन तर आमा र बुबाबाट पनि के आशा गरिन्छ, त्यो सबैले थाह पाउनुपर्छ।

नियम तोडेको खण्डमा तुरुन्तै सजाय दिइहाल्नुहोस्‌। तर यसो गर्दा शान्त, दृढ हुनुहोस्‌ अनि कहिले गर्ने, कहिले नगर्ने मनखुसी नगर्नुहोस्‌। यो कुरा नबिर्सनुहोस्‌: रिस उठेको छ भने, पहिला आफ्नो रिस मर्न दिनुहोस्‌ अनि त्यसपछि मात्र अनुशासन दिनुहोस्‌। (हितोपदेश २९:२२) तथापि, पछि गरौंला भन्दै सजाय दिन ढिला नगर्नुहोस्‌। एक चोटिलाई भैहाल्यो भनेर आफ्नो नियमलाई फितलो नबनाउनुहोस्‌। यसो गर्नुभयो भने छोराछोरीले ती नियमहरूलाई त्यति गम्भीरतापूर्वक लिनुपर्दैन भन्ठान्‍नेछन्‌। बाइबल पनि यसै भन्छ: “खराब कामको दण्ड तुरुन्तै नपाएकोलेनै मानिसले यति साहससित खराब काम गर्दछ।”—उपदेशक ८:११.

आफ्ना छोराछोरीको भलाइ हुने गरी तपाईं अरू कुन-कुन तरिकामा आफ्नो अधिकार चलाउन सक्नुहुन्छ? (g 8/07)

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

“तिमीहरूको वचन चाहिं, ‘हो भने, हो’ ‘होइन भने, होइन’ होस्‌।”—मत्ती ५:३७