सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मन बहलाउन जाऔं भान्वाटु

मन बहलाउन जाऔं भान्वाटु

मन बहलाउन जाऔं भान्वाटु

न्यु क्यालेडोनियाका ब्यूँझनुहोस्‌! लेखक

के तपाईं तनावग्रस्त महसुस गरिरहनुभएको छ? कतै जान चाहनुहुन्छ कि? यसो हो भने घमाइलो उष्ण प्रदेशीय टापुमा मजाले आराम गरेको दृश्‍य कल्पना गर्नुहोस्‌। नीलो-नीलो/हरियो-हरियो रङको कन्चन पानीमा पौडी खेलेको, हराभरा रेन फरेस्टमा टहलेको वा विविध जनजातीय समूहका मानिसहरूसित घुलमिल गरेको दृश्‍य सम्झनुहोस्‌। यस्तो सुन्दर ठाउँ पृथ्वीमा अहिले पनि छ र? अवश्‍य छ! तर कहाँ? एकदमै टाढा पर्ने भान्वाटुका टापुहरूमा।

भान्वाटु टापु, अस्ट्रेलिया र फिजीको बीचमा पर्छ। प्रशान्त महासागरको दक्षिण-पश्‍चिमतिर रहेका ८० वटा जति सा-साना टापुहरूको समूह Y आकारको देखिन्छ र यो नै भान्वाटु हो। भूगर्भशास्त्रीहरूको भनाइअनुसार ठूलठूला टेक्टोनिक पत्रहरू हलचल हुँदा आपसमा ठोक्किएर विशाल पहाडहरू बने जसको अधिकांश भाग पानीमुनि छ। यीमध्ये सबैभन्दा अग्लो पहाडका चुचुराहरू समुद्री सतहभन्दा माथि निक्लँदा ठाडो भीर पाखा भएको भान्वाटु टापु बन्‍न पुग्यो। आज, भौगर्भिक भूचालले गर्दा साना भूकम्पहरू गइरहन्छन्‌ र यसले गर्दा नौवटा सक्रिय ज्वालामुखी बनेका छन्‌। आँटिला पर्यटकहरूले पग्लिएको लावा नजिकैबाट हेर्न सक्छन्‌।

यी टापुहरूमा हराभरा रेन फरेस्टहरू धेरै छन्‌। बडेमाका बरको रूख पनि यहाँ थुप्रै छन्‌ र यसका टुप्पोका हाँगाहरू निकै टाढासम्म फैलिएका र पातहरू झुप्प परेका हुन्छन्‌। यहाँ १५० भन्दा बढी किसिमका सुनगाभा र २५० प्रकारका उन्यूको बाक्लो झाङहरू छन्‌। रंगीचंगी माछा र मुगा भएको कन्चन पानीको चारैतिर सुन्दर समुद्री किनार र चुच्चो परेका भीरहरू छन्‌। वातावरणलाई कुनै हानि नुपुऱ्‍याई यात्रा गर्ने इको-टुरिस्टहरू संसारको टाढा टाढा ठाउँबाट यहाँ आउने गर्छन्‌। यहाँ आएर एपी टापुमा सुन्दर र चन्चले डुगोंग सँगसँगै पौडी खेल्छन्‌। a

नरभक्षी र कार्गो कल्ट

युरोपेली अन्वेषकहरूले सन्‌ १६०६ मा पहिलो चोटि भान्वाटु टापुमा पाइला टेके। b यी टापुका बासिन्दाहरू साह्रै जंगली स्वभावका थिए अनि यहाँ नरभक्षी प्रचलन व्यापक थियो। त्यतिबेला यो ठाउँ सुगन्धित श्रीखण्डको जंगलले डम्मै ढाकिएको थियो। श्रीखण्ड एसियामा अत्यन्तै अनमोल मानिन्छ। निकै पैसा कमाउन सकिने सम्भावना देखेपछि युरोपेली व्यापारीहरूले सिलसिलेवार ढंगमा वन फँडानी गर्न थाले। त्यसपछि तिनीहरूले स्थानीयबासीहरूलाई अपहरण गर्न थाले जसलाई ब्लाकबर्डिङ भनिन्छ।

यस टापुका रैथानेहरूलाई सामोआ, फिजी र अस्ट्रेलियाका ऊखु तथा कपासका खेतहरूमा काम गर्न भर्ती गरिन्थ्यो। कागजमा हेर्ने हो भने, कामदारहरू आफ्नै खुसीले तीन वर्षसम्म काम गर्न राजी भएको देखिन्थ्यो। तर वास्तवमा प्रायजसोलाई अपहरण गरिएको हुन्थ्यो। यो व्यापार अत्यन्तै फस्टाएको बेला, सन्‌ १८०० दशकको अन्ततिर भान्वाटुका कुनै-कुनै टापुका जम्माजम्मी पुरुषमध्ये आधीभन्दा बढी विदेशमा काम गर्थे। धेरैजसो कहिल्यै घर फर्केनन्‌। यी टापुहरूका झन्डै १०,००० मानिस अस्ट्रेलियामै मरे। यीमध्ये अधिकांश रोगको सिकार भए।

युरोपका रोगहरूले पनि भान्वाटु टापुका थुप्रैको ज्यान लियो। यी टापुका मानिसहरूसित दादुरा, हैजा, बिफर र अन्य रोगहरूको प्रतिरोध गर्ने क्षमता एकदमै कम अथवा छँदै थिएन भने पनि हुन्छ। एउटा पुस्तक यसो भन्छ: “साधारण रुघाखोकीले मात्रै पनि सारा जनसंख्या सखाप पार्न सक्थ्यो।”

सन्‌ १८३९ मा मसीहीजगत्‌का मिसनरीहरू भान्वाटु आइपुगे र तिनीहरू पुगे लगत्तै भोजनको लागि बोलाइयो। तर भनिन्छ, भोजन खानु त कता हो कता, तिनीहरू नै भोजनको लागि सिकार भए! तिनीहरूपछिका थुप्रैले पनि यस्तै दुर्दशा भोग्नुपऱ्‍यो। तर समय बित्दै जाँदा यहाँका टापुहरूमा प्रोटेस्टेन्ट र क्याथोलिक चर्चहरूले राम्रो जरा गाड्‌न थाले। आज भान्वाटुका ८० प्रतिशतभन्दा बढी बासिन्दाहरू कुनै न कुनै चर्चको सदस्य भएका छन्‌। तैपनि “यहाँका धेरैजसो बासिन्दाहरू अझै पनि गाउँका धामी-झाँक्रीलाई मान्छन्‌। यिनीहरूसित नयाँ प्रेमीलाई आकर्षित गर्ने, सुँगुर मोटोघाटो बनाउने वा शत्रुलाई मार्ने जादुको ढुंगाहरू हुन्छ भनेर विश्‍वास गर्छन्‌।”

संसारमा अहिलेसम्म रहिरहेको कार्गो कल्ट पनि भान्वाटुमै छ। दोस्रो विश्‍वयुद्धको बेला प्रशान्त महासागरीय रणभूमिसम्म पुग्न पाँच लाखभन्दा बढी अमेरिकी सिपाहीहरू भान्वाटुको बाटो भएर गएका थिए। यी सिपाहीहरूले ल्याएको प्रशस्त धनमाल अर्थात्‌ “कार्गो” देखेर यी टापुका बासिन्दाहरू छक्कै परे। युद्ध सिद्धिएपछि अमेरिकीहरू आफ्नो गुन्टा कसेर फर्किहाले। लाखौं डलर बराबरको सबै मालसामान समुद्रमा फ्याँकेर गए। फर्केर गएका ती व्यक्‍तिहरूलाई फेरि लोभ्याउन कार्गो कल्ट भनिने धार्मिक समूहहरूले जहाज अवतरण गराउन बन्दरगाह र धावन मार्ग बनाउनुका साथै नक्कली सैनिक हातहतियार प्रयोग गरेर कवाज खेल्थे। अहिले पनि टाना टापुका सयौं गाउँलेहरू जोन फ्रमलाई प्रार्थना गर्छन्‌। जोन फ्रम “भूतरूपी अमेरिकी मसीह हुन्‌” र एक दिन प्रशस्त धनमाल लिएर त्यस टापुमा फर्कनेछन्‌ भनी त्यहाँका मानिसहरू विश्‍वास गर्छन्‌।

सांस्कृतिक विविधता

यस टापुको भाषा र रीतिथितिमा पाइने विविधता अचम्मैलाग्दो छ। एउटा गाइडबुक यसो भन्छ: “जनसंख्याको तुलनामा भान्वाटु जत्तिको धेरै भाषा भएको देश संसारमा अरू कुनै छैन।” यी प्रायद्वीपहरूमा कम्तीमा १०५ वटा भाषा र अनगिन्ती उप-भाषाहरू बोलिन्छन्‌। यहाँको बोलीचालीको भाषा बिस्लामा लगायत अंग्रेजी र फ्रान्सेली भाषाले पनि राष्ट्रिय मान्यता पाएका छन्‌।

तर यी टापुहरूमा एउटा कुरा भने समान पाइन्छ। त्यो हो: जीवनको हरेक पक्षलाई यहाँको रीतिथितिले असर गरेको छ। पेन्टिकोस्ट टापुमा पहिलेदेखि मनाइँदै आएको उर्वरतासम्बन्धी रीतिले गर्दा संसारभरि नै बन्जी जम्पिङको लहड चल्यो। हरेक वर्ष तरुल खन्‍ने समयमा २० देखि ३० मिटर अग्लो काठे टावरबाट लोग्नेमानिस तथा केटाहरू हाम्फाल्छन्‌। यसरी हाम्फाल्दा तिनीहरूको खुट्टामा बाँधिएका लहराले गर्दा मात्र तिनीहरू बच्न सक्छन्‌। यसरी हाम्फाल्नेहरूले हल्कासित टाउकोले भुइँ छुँदा आगामी सालको बालीको लागि भूमि “उर्वर” बनाउन सक्छन्‌ भन्‍ने विश्‍वास छ।

मालेकुला टापुको केही गाउँका बासिन्दाहरूले बाहिरका मानिसहरूसित सम्पर्क गर्न थालेको हालै मात्र हो। यहाँ बिग नाम्बास्‌ र स्मल नाम्बास्‌ भनिने जातिहरू बसोबास गर्छन्‌। प्राप्त प्रमाणअनुसार, पहिलेका अति क्रूर यी नरभक्षीहरूले अन्तिम चोटि मान्छे खाएको चाहिं सन्‌ १९७४ मा हो। साथै, पुरुष सन्तानको टाउको लाम्चो परेको “आकर्षक” बनाउन टाउको बेस्सरी बेरिदिने चलन पनि वर्षौंअघि हरायो। अहिले यी नाम्बास्‌ जाति असाध्यै मित्रैला छन्‌ र आफ्नो सांस्कृतिक सम्पदाबारे आगन्तुकहरूलाई कथा सुनाउन पाउँदा रमाइलो मान्छन्‌।

प्रमोदवनमा मानिसहरू

धेरैजसो मानिसहरू छोटो बिदा मनाउन भान्वाटु आउने गर्छन्‌। तर यहोवाका साक्षीहरू भने लगभग ७० वर्षअघि मानिसहरूलाई आध्यात्मिक मदत दिन भान्वाटु आएका थिए। “पृथ्वीको अन्तसम्म” अर्थात्‌ यस्तो टाढा ठाउँमा पनि यहोवाका साक्षीहरूको प्रयासले राम्रो फल फलाएको छ। (प्रेरित १:८) (“पहिले काभाको दुर्व्यसनी, अहिले क्रिश्‍चियन” भन्‍ने पेटी हेर्नुहोस्‌) सन्‌ २००६ मा भान्वाटुका साक्षीहरूको पाँचवटा मण्डलीले पृथ्वीमा चाँडै स्थापना हुने सुन्दर प्रमोदवनबारे बाइबलको सन्देश सुनाउन ८०,००० भन्दा बढी घण्टा खर्च गऱ्‍यो। (यशैया ६५:१७-२५) खुसीको कुरा, भविष्यमा स्थापना हुने त्यस प्रमोदवनले आधुनिक जीवनको तनाव र चिन्ताबाट सदाको लागि छुटकारा दिनेछ।—प्रकाश २१:४. (g 9/07)

[फुटनोटहरू]

a डुगोंग, घाँसपात मात्र खाने र सीलजस्तो देखिने समुद्री स्तनपायी हो। यसको लम्बाई ११ फिटसम्म र वजन ४०० किलोग्रामभन्दा बढी हुन सक्छ।

b सन्‌ १९८० मा स्वतन्त्र हुनुअघि भान्वाटुलाई न्यु हेब्राइड्‌स भनिन्थ्यो।

[पृष्ठ १७-मा भएको पेटी/चित्र]

सुखी टापुहरू सन्‌ २००६ मा, विश्‍वको हाप्पी प्लानेट इन्डेक्सको नम्बर एकमा भान्वाटु थियो। यो इन्डेक्स बेलाइतका बुद्धिजीवीहरूको समूह, न्यु इकोनोमिक्स फाउन्डेसनले निकालेको हो। यसले १७८ वटा देशको राष्ट्रिय तवरमा सुखको अनुभूति, लामो जीवन र वातावरणीय असरजस्ता कुराहरूको आधारमा तथ्याङ्‌क तयार पारेको थियो। “[भान्वाटुको] नाउँ सबैभन्दा अगाडि थियो किनभने यहाँका मानिसहरू खुसी छन्‌, झन्डै ७० वर्ष बाँच्छन्‌ अनि पृथ्वीलाई नराम्रो असर पार्ने कुनै काम गर्दैनन्‌” भनी भान्वाटु डेली पोस्ट अखबार बताउँछ।

[चित्र]

परम्परागत पहिरन

[स्रोत]

© Kirklandphotos.com

[पृष्ठ १७-मा भएको पेटी/चित्र]

पहिले काभाको दुर्व्यसनी, अहिले यहोवाको साक्षी

विल्ली, पेन्टिकोस्ट टापुका स्थानीय बासिन्दा हुन्‌। जवान छँदादेखिनै तिनी काभा असाध्यै पिउने गर्थे। यो, काभा बोटको जरा धूलोपीठो पारेर बनाइएको कडा र लट्ठ्याउने पेयपदार्थ हो। रातैपिच्छे तिनी काभा बारबाट धरमराउँदै घर फर्कन्थे। तिनको ऋण पनि बढ्‌दै गयो। प्रायजसो तिनी हिंस्रक भएर आफ्नी श्रीमती इडालाई पिट्‌थे। सँगै काम गर्ने एक जना साथी, जो यहोवाका साक्षी थिए उनले विल्लीलाई बाइबल अध्ययन गर्न प्रोत्साहन दिए। विल्ली राजी भए। सुरुमा त इडाले अध्ययनप्रति विरोध जनाएकी थिइन्‌। तर आफ्नो श्रीमान्‌को बानीबेहोरा सुध्रिएको देखेपछि उनको मन बदलियो र उनी पनि अध्ययन गर्न थालिन्‌। तिनीहरू दुवैले राम्रो आध्यात्मिक प्रगति गरे। समय बित्दै गएपछि विल्लीले आफ्नो दुर्व्यसन चटक्कै छोड्‌न सके। तिनी र इडाले सन्‌ १९९९ मा यहोवाका साक्षीको रूपमा बप्तिस्मा लिए।

[पृष्ठ १५-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

न्यु जील्याण्ड

अस्ट्रेलिया

प्रशान्त महासागर

फिजी

[पृष्ठ १६-मा भएको चित्र]

उर्वरतासम्बन्धी रीतिको एकदमै डरलाग्दो प्रचलनमा सहभागी भएर फाल हाल्नेहरू

[स्रोत]

© Kirklandphotos.com

[पृष्ठ १५-मा भएको चित्रको स्रोत]

© Kirklandphotos.com

[पृष्ठ १५-मा भएको चित्रको स्रोत]

© Kirklandphotos.com

[पृष्ठ १६-मा भएको चित्रको स्रोत]

© Kirklandphotos.com