सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मलाई किन सधैं एक्लो पार्छन्‌?

मलाई किन सधैं एक्लो पार्छन्‌?

युवाहरू सोध्छन्‌ ...

मलाई किन सधैं एक्लो पार्छन्‌?

“हप्ताको अन्तमा छुट्टी हुँदा, मबाहेक सारा संसारै रमाइलो गरिरहेको छ जस्तो लाग्छ।”—रिनी।

“सबै साथीहरू सँगै रमाइलो गर्छन्‌ तर मलाई भने एक्लै पार्छन्‌!”—जेरेमी।

रमाइलो दिन छ अनि तपाईंका सबै साथीहरू घुम्न गएका छन्‌। तपाईंको अरू केही काम थिएन तैपनि उनीहरूले तपाईंलाई एक वचन सोध्दासमेत सोधेनन्‌। फेरि पनि उनीहरूले तपाईंलाई नै एक्लो पारे!

आफूलाई नबोलाएकोमा नमजा लाग्नु त छँदैछ तर यसको कारण मनमा आउने विभिन्‍न तर्कवितर्कहरूले झनै पिरोल्न सक्छ। तपाईं मनमनै यस्तो सोच्नुहोला: ‘ममा नै केही कमजोरी होला। नत्र भने किन सबै जना मबाट परपरै रहन खोज्छन्‌ त?’

किन चित्त दुख्छ

कुनै एउटा समूहको भाग हुन चाहनु र त्यस समूहका सदस्यहरूमाझ स्वीकार्य हुन खोज्नु स्वाभाविक हो। सामाजिक प्राणी भएको हुनाले अरूसितको घुलमिलबाट हामी धेरै लाभ उठाउँछौं। हव्वालाई सृष्टि गर्नुअघि यहोवाले आदमको विषयमा यसो भन्‍नुभयो: “मानिस एक्लो रहन असल छैन।” (उत्पत्ति २:१८) हो, मान्छेलाई मान्छे नै चाहिन्छ। हामी यसरी नै बनिएका छौं। त्यसैले अरूले एक्लो पार्दा असाध्यै चित्त दुख्छ।

तपाईंलाई साथीहरूले पटक-पटक एक्लो पार्छन्‌ वा तपाईं उनीहरूको साथी हुन लायककै हुनुहुन्‍न भन्‍ने भाव उत्पन्‍न गराउँछन्‌ भने अवस्था झनै निराशाजनक हुन सक्छ। मेरी नाउँकी युवती भन्छिन्‌, “केही युवायुवतीहरू अग्रगामीजस्तो राम्रो काम गर्छन्‌ तर त्यसो नगर्नेहरूलाई आफ्नो साथी बनाउनसमेत लायकको ठान्दैनन्‌।” अरूले तपाईंलाई तिनीहरूको समूहमा सामेल नगर्दा तपाईं अपहेलित र एक्लो महसुस गर्नुहुन्छ।

हूलमै बस्दा पनि कहिलेकाहीं तपाईंलाई एक्लो महसुस हुन सक्छ। निकोल भन्छिन्‌, “कस्तो नमिल्ने कुरा गरेको जस्तो लाग्ला, तर जमघटहरूमा समेत म असाध्यै एक्लो महसुस गर्थें। मेरो विचारमा आफ्नो चारैतिर मान्छे नै मान्छे भए तापनि कसैसित पनि घनिष्ठ महसुस नभएकोले त्यस्तो भएको हुन सक्छ।” कोही-कोहीले मसीही सम्मेलन वा अधिवेशनहरूमा समेत एक्लो महसुस गर्छन्‌। मेगन भन्छिन्‌, “सबैले सबैलाई चिन्छन्‌ जस्तो लाग्छ तर मलाई कसैले चिन्दैन!” मारिया नाउँकी युवतीलाई पनि यस्तै लाग्छ। तिनी भन्छिन्‌, “मलाई साथी नै साथीले घेरिएर पनि कोही साथी नभए जस्तो लाग्छ।”

कहिल्यै एक्लो महसुस नगर्ने व्यक्‍ति कोही पनि हुँदैन; यहाँसम्म कि नाउँ चलेका र आनन्दित जस्ता देखिने व्यक्‍तिहरू समेत। बाइबलको एउटा हितोपदेश यसो भन्छ: “मुखमा हाँसो भए पनि मनमा पीर होला।” (हितोपदेश १४:१३) तपाईं लामो समयसम्म र असाध्यै एक्लो महसुस गर्नुहुन्छ भने चाहिं यसले नराम्रो असर पार्न सक्छ। बाइबल भन्छ: “दुःखित हृदयले आत्मालाई चूर्ण पार्छ।” अर्को अनुवादमा यस पदलाई यसरी लेखिएको छ: “हृदयको पीरले आत्मालाई आघात पुऱ्‍याउँछ।” (हितोपदेश १५:१३, NRV) एक्लो भएको कारण तपाईंले पनि यस्तै महसुस गर्नुभएको छ भने के गर्न सक्नुहुन्छ?

एक्लोपन हटाउने

एक्लोपन हटाउन यी तरिकाहरू अपनाउने कोसिस गर्नुहोस्‌:

आफ्ना राम्रा गुणहरूमा ध्यान दिनुहोस्‌। (२ कोरिन्थी ११:६) आफैलाई सोध्नुहोस्‌, ‘ममा कस्ता राम्रा कुराहरू छन्‌?’ आफूसित भएका दक्षता वा राम्रा गुणहरूबारे विचार गर्नुहोस्‌ र तल लेख्नुहोस्‌।

․․․․․․․․․․

एक्लो महसुस हुँदा, माथि उल्लेख गरिएजस्ता आफूमा भएका राम्रा गुणहरू सम्झनुहोस्‌। हुन त हो, तपाईंमा कमजोरीहरू छन्‌ र त्यसलाई सुधार्न तपाईंले प्रयास गर्नुपर्छ। तैपनि आफ्ना कमीकमजोरीहरूको कारण हतास नहुनुहोस्‌। तपाईं उन्‍नति गर्ने क्रममा हुनुहुन्छ भनेर सम्झनुहोस्‌। सब कुरा ठीकठाक नहुन सक्छ तर केही न केही भने पक्कै राम्रो अवस्थामा छ। तिनै कुराहरूमा ध्यान दिनुहोस्‌!

फरासिलो हुनुहोस्‌। (२ कोरिन्थी ६:११-१३) अरूलाई भेट्‌न आफै अग्रसर हुनुहोस्‌। हुन त हो, यसो गर्न गाह्रो हुन सक्छ। “एकैचोटि समूहसित बोल्न डर लाग्न सक्छ तर त्यस समूहको एक जनासित हाइ-हेलो गर्नुभयो भने तपाईं तुरुन्तै त्यस समूहको सदस्य हुनुहुन्छ” भनी १९ वर्षीया लिज बताउँछिन्‌। (“कुराकानी थाल्ने उपाय” शीर्षकको पेटी हेर्नुहोस्‌।) आफूलाई अरूले एक्लो पारे भन्‍नुअघि कतै तपाईं आफैले पनि अरूलाई एक्लो पारिरहनुभएको छ कि, विचार गर्नुहोस्‌। जस्तै: बूढाबूढीहरू। कोरी नाउँकी किशोरी सम्झिन्छिन्‌, “म १०/११ वर्षको छँदा, मेरो एक जना बूढी साथी हुनुहुन्थ्यो। हाम्रो उमेर निकै फरक भए तापनि हामी असाध्यै घनिष्ठ थियौं।”

तपाईंले अझ राम्ररी चिनजान गर्न चाहनुभएको तपाईंको मण्डलीको आफूभन्दा ठूलो दुई जनाको नाउँ लेख्नुहोस्‌।

․․․․․․․․․․

अर्को चोटि सभामा जाँदा, माथिका दुई जनामध्ये एक जनासित भेटेर कुरा गरे कसो होला? आफैले कुराकानी सुरु गर्नुहोस्‌। तिनलाई कसरी बाइबलप्रति चासो जाग्यो भनेर सोध्नुहोस्‌। तपाईं “भाइ-बन्धुहरूलाई” जति धेरै भेटघाट गर्नुहुन्छ, अरूले एक्लो पारेको र आफू एक्लो भएको भाव त्यति नै कम हुँदै जान्छ।—१ पत्रुस २:१७.

आफूभन्दा ठूलो मान्छेलाई मनको कुरा बताउनुहोस्‌। (हितोपदेश १७:१७) आफ्नो पीर आमाबाबु वा अरू ठूलो मान्छेसित बाँड्‌दा एकाकीपन कम हुन सक्छ। एउटी १६ वर्षीया केटीले यस्तै अनुभव गरेकी छिन्‌। पहिला-पहिला त तिनी एक्लो परेकोमा असाध्यै चिन्तित हुन्थिन्‌। तिनी भन्छिन्‌, “मलाई किन एक्लो पारेको होला भनेर घरिघरि सोचिरहन्थें। तर पछि ममीसित कुरा गर्थें र यस्तो अवस्थामा के गर्ने भनेर उहाँले मलाई सल्लाह दिनुहुन्थ्यो। यसरी कुरा गर्दा साँच्चै मदत पाइँदो रहेछ!”

लामो समयसम्म एक्लो महसुस गरेको कारण अरू कसैसित कुरा गर्नुपर्ने आवश्‍यकता देख्नुभयो भने तपाईं कसलाई भेट्‌नुहुन्छ?

․․․․․․․․․․

अरूको विषयमा सोच्नुहोस्‌। (१ कोरिन्थी १०:२४) बाइबल भन्छ, हामीले “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान” दिनुपर्छ। (फिलिप्पी २:४) हो, एक्लो महसुस हुँदा तुरुन्तै निराश वा दुःखी भइन्छ। तथापि, निराशाको दलदलमा भासिएर बस्नुभन्दा खाँचोमा परेको कसैको लागि केही गरे कसो होला? यसरी तपाईंले मित्रताको नयाँ गाँठो कस्न सक्नुहुन्छ!

तपाईंको परिवार वा मण्डलीका कसैलाई कुनै तरिकामा तपाईंको साथ वा मदत चाहिएको छ कि विचार गर्नुहोस्‌। उसको नाउँ तल लेख्नुहोस्‌ र उसलाई तपाईं कसरी मदत गर्न सक्नुहुन्छ त्यो पनि लेख्नुहोस्‌।

․․․․․․․․․․

आफ्नोबारे मात्र सोच्न छोडेर अरूबारे सोच्दा र उनीहरूको लागि केही काम गर्दा तपाईंसित एक्लो महसुस गर्ने समय नै हुँदैन। यसले गर्दा तपाईं आफ्नो सोचाइ र व्यवहारमा अझ सकारात्मक हुनुहुन्छ अनि तपाईंलाई साथी बनाउन अरू अझ अग्रसर हुनेछन्‌। हितोपदेश ११:२५ भन्छ, “उदार मानिसको उन्‍नति हुन्छ, अरूलाई सहायता गर्नेले सहायता पाउँछ।”

होसियारीपूर्वक छान्‍नुहोस्‌। (हितोपदेश १३:२०) तपाईंलाई अप्ठ्यारोमा पार्ने तीन थुप्रो साथी भनौदाहरूभन्दा तपाईंको ख्याल राख्ने एक जना साँचो साथी बेस हो। (१ कोरिन्थी १५:३३) बाइबलमा बताइएको बालक शमूएललाई विचार गर्नुहोस्‌। बासस्थानमा तिनले एक्लो महसुस गरे होलान्‌। होप्नी र पीनहास तिनीसितै काम गर्थे तर तिनीहरू प्रधान पूजाहारीकै छोराहरू भए तापनि तिनीहरूको खराब कामले गर्दा साथी बनाउन योग्यका थिएनन्‌। तिनीहरूकै तालमा चल्न खोजेको भए शमूएलको लागि आध्यात्मिक तवरमा घातक साबित हुनेथियो। तर शमूएल यस्तो भएको चाहँदैनथे! बाइबल भन्छ: “तर बालक शमूएल बढ्‌दै जाँदा परमप्रभु र मानिसहरूका प्रशंसाका पात्र भए।” (१ शमूएल २:२६) कस्ता मानिसहरूको? होप्नी र पीनहासको त पक्कै होइन किनकि शमूएलको राम्रो काम देखेर उनीहरू त तिनीबाट टाढ-टाढै रहन खोजेका हुन सक्छन्‌। बरु, शमूएलका प्रशंसायोग्य गुणहरूका कारण तिनी परमेश्‍वरको स्तर अनुरूप चल्नेहरूको प्रियपात्र भए। तपाईंलाई चाहिने साथीहरू पनि त यहोवालाई प्रेम गर्नेहरू नै हुन्‌ नि, होइन र?

सकारात्मक हुनुहोस्‌। (हितोपदेश १५:१५) कुनै न कुनै मोडमा अनि कुनै न कुनै हदसम्म सबैले एक्लो महसुस गर्छन्‌। यस्तो अवस्थामा कुन कुराले मदत गर्न सक्छ? नकारात्मक पक्षहरूमा मात्र ध्यान दिनुको सट्टा जीवनप्रति सकारात्मक दृष्टिकोण राख्ने प्रयास गर्नुहोस्‌। तपाईं आफ्नो जीवनमा आइपर्ने हरेक परिस्थितिलाई वशमा राख्न त सक्नुहुन्‍न तर त्यसप्रति कस्तो प्रतिक्रिया देखाउनुहुन्छ त्यसलाई भने वशमा राख्न सक्नुहुन्छ भनेर नबिर्सनुहोस्‌।

एक्लो महसुस हुँदा, परिस्थितिलाई परिवर्तन गर्न कोसिस गर्नुहोस्‌ तर त्यसो गर्न सक्नुहुन्‍न भने आफ्नो दृष्टिकोणलाई भए पनि परिवर्तन गर्न सकारात्मक कदम चाल्नुहोस्‌। तपाईं कसरी बनिनुभएको छ भन्‍ने कुरा यहोवालाई थाह छ, त्यसैले उहाँलाई तपाईंका आवश्‍यकताहरूका साथै त्यसलाई पूरा गर्ने सबैभन्दा उत्तम तरिका पनि थाह छ भनेर कहिल्यै नबिर्सनुहोस्‌। लामो समयसम्म एक्लो महसुस भइरह्‍यो भने त्यसबारे यहोवालाई प्रार्थना गर्नुहोस्‌। उहाँले तपाईंलाई “सह्‍माल्नुहुनेछ” भनेर ढुक्क हुनुहोस्‌।—भजन ५५:२२. (g 7/07)

“युवाहरू सोध्छन्‌ . . . ” भन्‍ने शृङ्‌खलाका अन्य लेखहरू www.watchtower.org/ype वेबसाइटमा हेर्न सक्नुहुन्छ।

एकछिन सोच्नुहोस्‌

◼ अरूले एक्लो पारेको महसुस भयो भने म कस्तो सकारात्मक कदम चाल्न सक्छु?

◼ नकारात्मक सोचाइको भेलमा चुर्लुम्म डुब्नुको सट्टा आफूप्रति सन्तुलित दृष्टिकोण राख्न मलाई बाइबलका कुन-कुन पदहरूले मदत गर्नेछ?

[पृष्ठ १४-मा भएको पेटी/चित्र]

कुराकानी थाल्ने उपाय

मुसुक्क हाँस्नुहोस्‌। तपाईंको मीठो मुस्कानले गर्दा अरू तपाईंसित कुरा गर्न अघि सर्नेछन्‌।

परिचय दिनुहोस्‌। आफ्नो नाउँ र ठेगाना बताउनुहोस्‌।

प्रश्‍न सोध्नुहोस्‌। व्यक्‍तिगत कुराहरू खोतल्न खोजेकोजस्तो भान नपर्ने गरी उसको पृष्ठभूमिबारे उपयुक्‍त प्रश्‍नहरू सोध्नुहोस्‌।

सुन्‍नुहोस्‌। अब के भन्‍ने होला भनेर चिन्तित नहुनुहोस्‌। पहिला, उसको कुरा सुन्‍नुहोस्‌। तपाईंले सोध्नुपर्ने प्रश्‍न वा तपाईंले भन्‍नुपर्ने कुरा आफसेआफ आउनेछ।

ढुक्क हुनुहोस्‌! कुराकानी गर्दा नयाँ मित्रता गाँस्न सकिन्छ। त्यसैले मजाले कुरा गर्नुहोस्‌!