सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

धूम्रपान छोड्‌न मनोबल चाहिन्छ

धूम्रपान छोड्‌न मनोबल चाहिन्छ

धूम्रपान छोड्‌न मनोबल चाहिन्छ

“धूम्रपान छोड्‌न सफल भएका व्यक्‍तिहरूमा देखिएको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको तिनीहरूको प्रतिबद्धता हो।—“स्टप स्मोकिङ नाऊ!”

सजिलो भाषामा भन्‍नुपर्दा यदि तपाईँ चुरोट छोड्‌न चाहनुहुन्छ भने कम्तीमा तपाईँसित चुरोट छोड्‌ने बलियो चाहना हुनुपर्छ। त्यसोभए तपाईँ आफ्नो मनोबल कसरी बढाउन सक्नुहुन्छ? चुरोट छोड्‌दा तपाईँलाई के-के फाइदा हुन्छ विचार गर्नुहोस्‌!

तपाईँ फजुल खर्च जोगाउन सक्नुहुन्छ। दिनको एक बट्टा चुरोट खाने बानी परेको मानिसलाई वर्षमा आफ्नो हजारौँ रुपैयाँ खर्च भइरहेको पत्तै नहुन सक्छ। “मैले चुरोट पिएर कत्ति पैसा धुवाँमा उडाइदिए कहिल्यै चालै पाइनँ,” नेपालकी ज्ञानु भन्छिन्‌।

तपाईँ पहिला भन्दा झन्‌ आनन्दित हुन सक्नुहुन्छ। दक्षिण अफ्रिकाकी रेजिना भन्छिन्‌, “मैले चुरोट छोडेपछि नयाँ जीवन पाएँ।” तपाईँले चुरोट पिउन छोडेपछि तपाईँको जिब्रोले पहिला भन्दा धेरै स्वाद लिन सक्छ, तपाईँको नाकले अझ धेरै बास्ना लिन सक्छ। अनि तपाईँले अझ फुर्तिलो महसुस गर्नुका साथै तपाईँको रूपरङ्‌ग पनि अझ निखारिन्छ।

तपाईँको स्वास्थ्यमा सुधार आउँछ। “धूम्रपान छोड्‌ने जुनसुकै उमेरका स्त्री वा पुरुषले आफ्नो स्वास्थ्यमा तत्कालै ठूलो सुधार आएको महसुस गर्छन्‌।”​—दि यु.एस. सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन।

तपाईँको आत्मविश्‍वास बढ्‌छ। “म चुरोटको दास बन्‍न चाहन्‍नथेँ त्यसैले मैले चुरोट पिउन छोडेँ। म आफ्नो शरीरको मालिक आफै बन्‍न चाहन्थेँ।” डेनमार्कका हेनिङ भन्छन्‌।

तपाईँको परिवार र साथीहरूलाई पनि फाइदा हुन्छ। तपाईँले खाएको चुरोटको धुवाँले वरपरका मानिसहरूको स्वास्थ्यमा असर गर्छ। अरूले खाएको चुरोटको धुवाँले गर्दा वर्षेनी हजारौँ मानिसहरूले फोक्सोको क्यान्सर र मुटु रोगको कारण ज्यान गुमाउनु परेको अध्ययनले देखाएको छ।—अमेरिकन क्यान्सर सोसाइटी।

तपाईँलाई जीवन दिनुहुने सृष्टिकर्तालाई खुसी लाग्छ। “हे प्रियहरू हो, ... तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पारौँ।” (२ कोरिन्थी ७:१) “आफ्नो शरीरलाई . . . पवित्र अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्‍वरलाई अर्पण गर।”—रोमी १२:१.

“शरीरलाई अशुद्ध पार्ने कुराहरूलाई परमेश्‍वर घृणा गर्नुहुन्छ भनेर थाह पाए पछि मेलै चुरोट छोड्‌ने निर्णय गरेँ।” स्पेनकी सिल्भिया भन्छिन्‌।

तर चुरोट छोड्‌न मनोबल भएर मात्र पुग्दैन। हामीलाई आफ्नो परिवार र साथीभाइको पनि मदत चाहिन सक्छ। तिनीहरूले तपाईँलाई कसरी मदत गर्न सक्छन्‌?