सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाधाहरूको सामना गर्न तयार हुनुहोस्‌

बाधाहरूको सामना गर्न तयार हुनुहोस्‌

बाधाहरूको सामना गर्न तयार हुनुहोस्‌

“हाम्रो बच्चा जन्मिएपछि मैले चुरोट पिउन छोड्‌ने निर्णय गरेँ। त्यसैले घरमा ‘नो स्मोकिङ’ साइन पनि झुन्ड्याए। तर त्यसको एक घण्टा पनि नबित्दै निकोटिनको सुनामीले मलाई छोप्यो र मैले चुरोट सल्काएँ।”​—जापानका योसिमित्सु

कसैले पनि रातारात चुरोट छोड्‌न सक्दैन भनेर योसिमित्सुको उदाहरणले देखाउँछ। विभिन्‍न अध्ययनअनुसार चुरोट छोड्‌न कोसिस गर्ने मानिसहरू फेरि त्यही लतमा फस्छन्‌। त्यसैले चुरोट छोड्‌न प्रयास गर्दै हुनुहुन्छ भने आउन सक्ने बाधा अड्‌चनहरूको सामना गर्न तयार हुनुभयो भने तपाईँ सफल हुन सक्नुहुन्छ। केही बाधाहरू यसप्रकार छन्‌:

निकोटिनको तलतल: तपाईँले अन्तिम चुरोटको ठुटो निभाएको तीन दिन बित्न नपाउँदै तपाईँलाई निकोटिनको तलतलले सताउन थाल्छ। तर खुसीको कुरो, त्यसको दुई हप्तापछि कम हुँदै जान्छ। “यस बीचमा कहिलेकाहीँ चुरोट पिउने इच्छा छालजस्तै उर्लेर आउँछ” भनेर भूतपूर्व अमली बताउँछन्‌। चुरोट छोडेको वर्षौँपछि पनि अचानक चुरोट पिउने तलतल लाग्न सक्छ। तर त्यसो भन्दैमा चुरोट नसल्काइहाल्नुहोस्‌। पाँच/छ मिनेट कुर्नुहोस्‌ तपाईँको त्यस्तो तलतल आफै हराएर जान्छ।

चुरोट छोड्‌ने बित्तिकै देखापर्ने अरू लक्षणहरू: चुरोट छोड्‌ने मानिसलाई सुरुमा झपझप निद्रा लाग्ने, कुनै कुरामा ध्यान दिन गाह्रो हुने, शरीरको तौल बढ्‌ने, शरीर दुख्ने, चिलाउने, विनाकारण पसिना आउने, खोकी लाग्ने, चिढ्‌चिढ्‌ हुने, झडङ्‌ङ रिसाउने अनि डिप्रेसनसमेत हुन सक्छ। तर प्रायजसो लक्षणहरू चारदेखि छ हप्तामा हराएर जान्छ।

यस्तो निर्णायक घडीमा तपाईँले केही व्यावहारिक कदम चाल्न सक्नुहुन्छ। जस्तै:

● मज्जाले सुत्नुहोस्‌।

● प्रशस्त पानी वा जुस पिउनुहोस्‌। स्वस्थकर खाना खानुहोस्‌।

● हल्काफुल्का व्यायाम गर्नुहोस्‌।

● कुनै सुन्दर ठाउँमा उभिरहेको कल्पना गर्दै लामो सास लिनुहोस्‌।

ट्रिगर गर्ने तत्व: केही गतिविधि वा भावनाले चुरोटको तलतली जगाउन सक्छ। उदाहरणको लागि, पहिला चिया वा अन्य पेयपदार्थ पिउँदा चुरोट पनि पिउनुहुन्थ्यो भने अहिले चिया पिउँदा तपाईँलाई चुरोटको तलतली लाग्न सक्छ। त्यसैले चुरोट छोड्‌ने प्रयास गर्दै हुनुहुन्छ भने स्वाद लिईलिई चिया पिउने नगर्नुहोस्‌। समय बित्दै गएपछि चुरोटको तलतली महसुस नगरीकनै चियाको चुस्कीको मजा लिन सक्नुहुन्छ।

तपाईँले चुरोट छोडेको वर्षौँ भइसकेपछि पनि चिया पिउँदा चुरोटको तलतली रहिरहन सक्छ। तोर्बेन भन्छन्‌: “मैले चुरोट पिउन छोडेको १९ वर्ष भइसक्यो तैपनि कफी पिउने बेला मलाई चुरोटको याद आउँछ।” तैपनि सामान्यतया भन्‍नुपर्दा तपाईँ पहिला चुरोट पिउँदा जे-जे गर्नुहुन्थ्यो ती कुराहरूले समय बित्दै गएपछि चुरोट पिउने तलतली जगाउने सम्भावना कम हुँदै जान्छ।

तर रक्सीको सन्दर्भमा यो कुरा लागू हुँदैन। चुरोट छोड्‌ने प्रयास गर्दै हुनुहुन्छ भने रक्सी पनि छोड्‌नुपर्छ र रक्सी पाइने ठाउँमा पाइला समेत टेक्नु हुँदैन। किनभने रक्सी पिउन थालेपछि धेरैजसो मानिसहरू चुरोटको कुलतमा फेरि फस्छन्‌। किन?

● रक्सीको थोरै मात्राले पनि निकोटिनबाट पाइने आनन्दलाई बढाइदिन सक्छ।

● साथीभाइसित बसेर रक्सी पिउन थाल्दा अक्सर मानिसहरू चुरोट पिएकै हुन्छन्‌।

● मादक पेय पदार्थले सोच्ने क्षमता र निःसङ्‌कोचको भावनालाई पनि कमजोर बनाउँछ। बाइबलले त्यसै यसो भनेको होइन: “मद्यले सही काम गर्ने इच्छालाई कमजोर बनाउँछ।”—होसे ४:११.

साथीसङ्‌गत: कोसँग सङ्‌गत गर्दै हुनुहुन्छ होसियार हुनुहोस्‌। चुरोट पिउने वा तपाईँलाई चुरोट पिउन दबाब दिनेहरूसित ज्यादै घुलमिल नगर्नुहोस्‌। साथै तपाईँलाई चुरोट पिउन छोड्‌न हौसला नदिनेहरू अथवा तपाईँलाई जिस्क्याउनेहरूको छेउमै नपर्नुहोस्‌।

भावना: एउटा अध्ययनले देखाएअनुसार दुई तिहाइ मानिसहरू तनावमा परेको बेला वा रिस उठेको बेला फेरि चुरोट तान्‍न सुरु गरेको पाइएको छ। यदि तपाईँको मनमा उत्पन्‍न हुने कुनै भावनाले गर्दा चुरोट पिउन मन लाग्यो भने त्यतिबेला पानी पिउनुहोस्‌, चुइङगम चपाउनुहोस्‌ अथवा कतै टहल्न निस्कनुहोस्‌। नकारात्मक कुराहरू मनमा खेल्न नदिनुहोस्‌। परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌ अथवा बाइबलका केही पानाहरू पढ्‌नुहोस्‌।—भजन १९:१४.

बहानाहरू नखोज्नुहोस्‌

म एक सर्को मात्र तान्छु।

वास्तविकता: तपाईँले तान्‍ने एक सर्कोले निकोटिनका भोका स्नायुहरूलाई ५० प्रतिशतसम्म मात्र तृप्त पार्छ, त्यो पनि तीन घण्टासम्म मात्र। त्यसैले एक सर्को तान्‍ने व्यक्‍तिलाई पूरै एक खिल्ली चुरोट सिध्याउन कतिबेर पनि लाग्दैन।

चुरोट तान्दा म तनाव कम भएको महसुस गर्छु।

वास्तविकता: अध्ययनहरूले देखाएअनुसार निकोटिनले तनाव गराउने हार्मोनहरू बढाउँछ। वास्तवमा तपाईँले चुरोटको सर्को तान्दा तनाव कम भएको होइन तर तलतली मेटिएकोले क्षणभरको लागि हल्का महसुस भएको मात्र हो।

अब त धेरै ढिलो भइसक्यो।

वास्तविकता: नकारात्मक सोचाइले इच्छाशक्‍तिलाई कमजोर बनाउँछ। बाइबल यसो भन्छ: “विपत्‌को दिनमा तिमी निराश भयौ भने तिम्रो बल घट्‌नेछ।” (हितोपदेश २४:१०) त्यसैले हरुवा सोचाइलाई पाखा लगाउनुहोस्‌। साँच्चै चुरोट छोड्‌न चाहने अनि यस पत्रिकामा बताइएको व्यावहारिक सुझाव लागू गर्न चाहने जो-कसैले चुरोट छोड्‌न सक्छ।

चुरोट छोड्‌नेबित्तिकै मलाई असाध्यै छटपटी हुन्छ।

वास्तविकता: हो, चुरोट छोड्‌ने बित्तिकै धेरै छटपटी हुन्छ तर केही हप्तामै त्यो कम भएर जान्छ। त्यसैले हार नमान्‍नुहोस्‌, अड्डी कसेर बस्नुहोस्‌। केही महिना वा वर्षपछि चुरोट पिउन मन लाग्यो भने त्यो केही मिनेटमै ठीक भइहाल्छ, यदि तपाईँले चुरोट सल्काउनुभएन भने।

मलाई मानसिक समस्या छ।

वास्तविकता: तपाईँलाई डिप्रेसन वा स्कित्जोफ्रेनियाजस्तो मानसिक समस्या छ भने चुरोट छोड्‌न डाक्टरको मदत माग्नुहोस्‌। तपाईँले चुरोट छोड्‌दा त्यसले पार्न सक्ने असरलाई ध्यानमा राख्दै तिनले तपाईँको उपचार वा औषधीमा केही छाँटकाँट गर्नेछन्‌।

मलाई लामो समयसम्म चुरोट छोड्‌न सक्छु जस्तो लाग्दैन।

वास्तविकता: चुरोट छोड्‌न चाहने प्रायजसो मानिसहरू बीचबीचमा असफल हुन्छन्‌। तपाईँले पनि त्यसैगरि असफल भएर चुरोट सल्काउनुभयो भने हरेस नखानुहोस्‌। फेरि कोसिस गर्नुहोस्‌। एकचोटि असफल भयो भन्दैमा आशा नमार्नुहोस्‌। कोसिस गर्दै नगर्नुचाहिँ असफलता हो। त्यसैले उठ्‌नुहोस्‌ र फेरि कोसिस गर्नुहोस्‌। अन्तमा एक दिन तपाईँ सफल भएरै छोड्‌नुहुनेछ।

छब्बीस-छब्बीस वर्षसम्म धूम्रपान गरेका रोमुआल्डोको अनुभव विचार गर्नुहोस्‌। तिनी यस्तो लेख्छन्‌: “मैले कतिचोटि छोडे अनि कति चोटि फेरि सुरु गरे गनेर साध्य छैन। हरेक चोटि फेरि कुलतमा फस्दा मलाई आफैदेखि दिक्क लाग्थ्यो। तर यहोवासित बलियो सम्बन्ध गाँस्ने मैले निर्णय गरेँ र प्रार्थना गरेर उहाँसित मदत मागेँ। त्यसपछि बल्ल मैले धूम्रपान छोड्‌न सकेँ।” अहिले तिनले धूम्रपान छोडेको ३० वर्षभन्दा बढी भइसक्यो।

अब हामी अन्तिम लेखमा केही व्यावहारिक सुझावहरू विचार गर्नेछौँ। हामीलाई पक्का विश्‍वास छ, यी सुझावहरूले तपाईँलाई धूम्रपान छोड्‌न मदत गर्नेछ।

[पेटी/​चित्र]

जसरी खाए पनि ज्यान लिन्छ

अचेल बजारमा विभिन्‍न सुर्तीजन्य पदार्थ पाइन्छ। आयुर्वेदिक पसलहरूमा समेत सुर्तीबाट बनाइएका औषधीहरू बेचिन्छन्‌। तर सुर्तीबाट बनाइएको जुनसुकै कुरा स्वास्थ्यको लागि हानिकारक छ भनेर विश्‍व स्वास्थ्य सङ्‌घले बताएको छ। सुर्ती सेवन गर्दा लाग्ने विभिन्‍न रोगहरू जस्तै क्यान्सर र मुटुसम्बन्धी रोगहरूले हाम्रो ज्यान लिन सक्छ। धूम्रपान गर्ने आमाले गर्भमा रहेको बच्चाको ज्यानसमेत खतरामा पारिरहेकी हुन्छिन्‌। अचेल बजारमा कस्ता सुर्तीजन्य पदार्थहरू पाइन्छ?

बिडी: एसिया महादेशको थुप्रै देशमा बिडी लोकप्रिय छ। बिडी सुर्तीको पातलाई हातैले बेरेर बनाइन्छ। साधारण चुरोटमा भन्दा बिडीमा धेरै मात्रामा तार, निकोटिन र कार्बन मोनोअक्साइड हुन्छ।

सिगार: सुर्तीको पातमा वा कागजमा सुर्तीको धुलोलाई कस्सिएर बेरेर सिगार बनाइन्छ। चुरोटमा पाइने सुर्ती एसिडिक हुन्छ भने सिगारमा पाइने सुर्ती अल्कालाइन हुन्छ। त्यसैले सिगार नसल्काइकन मुखमा च्यापेर राख्दा पनि निकोटिन शरीरभित्र जान्छ।

ल्वाङ मिसाइएको चुरोट: यी चुरोटहरूमा ६० प्रतिशत सुर्ती र ४० प्रतिशत ल्वाङ मिसाइएको हुन्छ। इन्डोनेसियमा यस्तो चुरोट निकै लोकप्रिय छ। बिडीमा जस्तै यस्तो चुरोटमा निकोटिन र कार्बन मोनोअक्साइड धेरै हुन्छ।

पाइप: धेरै मानिसहरूलाई चुरोटभन्दा पाइप सुरक्षित छ जस्तो लाग्छ। तर पाइपले पनि चुरोटले जस्तै क्यान्सर र अन्य रोगहरू निम्त्याउँछ।

खैनी, गुट्‌खा: दक्षिणपूर्व एसियामा यस्ता सुर्तीजन्य पदार्थ निकै लोकप्रिय छ। मुखमा च्यापेको सुर्तीबाट निकोटिन शरीरमा प्रवेश गर्छ। खैनी, गुट्‌खा पनि सुर्तीबाट बनाइएका अरू पदार्थहरू जत्तिकै हानिकारक हुन्छ।

हुक्का: सुर्तीको धुवाँ पानी हुँदै मुखसम्म पुग्ने भए तापनि यसले सुर्तीमा पाइने विषाक्‍त पदार्थलाई कम गर्दैन जसले क्यान्सरलगायत थुप्रै रोगहरू निम्त्याउँछ।

[पेटी/​चित्र]

कसैलाई धूम्रपान छोड्‌न मदत गर्दै हुनुहुन्छ भने

सकारात्मक हुनुहोस्‌। कचकच गर्नु वा भाषण छाँट्‌नुभन्दा प्रशंसा गर्नु अनि इनाम दिनु अझ प्रभावकारी हुन्छ। “तिमीले सक्दैनौ भनेर मलाई पहिल्यै थाह थियो” भन्‍नुभन्दा “कोसिस गर्दै गर तिमीले पक्कै सक्छौ” भन्‍ने शब्दहरूले अझ हौसला दिन्छ।

अवस्था बुझ्ने कोसिस गर्नुहोस्‌। चुरोट छोड्‌न प्रयास गरिरहेको व्यक्‍तिले तपाईँमाथी आफ्नो भडास पोख्यो भने उसको अवस्था बुझ्ने कोसिस गर्नुहोस्‌। दयालु हुँदै यस्तै केही भन्‍नुहोस्‌ “तिमीलाई कत्ति गाह्रो भइरहेको छ मलाई थाह छ।” कहिल्यै यसो नभन्‍नुहोस्‌ “चुरोट पिउँदा खेरि नै तिमी ठीक थियौ।”

साथ दिन कहिल्यै नछोड्‌नुहोस्‌। बाइबल यसो भन्छ: “साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।” (हितोपदेश १७:१७) चुरोट छोड्‌न प्रयास गरिरहेको व्यक्‍तिको जुनसुकै बेला मुड परिवर्तन हुन सक्छ। त्यस्तो बेला धीरजी हुनुहोस्‌ र तिनलाई सधैँ माया गरिरहनुहोस्‌।