परिवारका लागि | छोराछोरी हुर्काउने
किशोरावस्थाका छोराछोरीलाई कसरी अनुशासन दिने?
चुनौती
तपाईंले राती नौ बजेपछि मोबाइल चलाउन नपाउने नियम बनाउनुभएको छ। तर यही हप्ता मात्र छोरीले दुई-दुई चोटि मध्यरातमा मेसेज पठाइरहेको तपाईंले भेट्टाइसक्नुभयो। तपाईंले छोरालाई राती १० बजेभित्र घर आइसक्नुपर्छ भन्नुभएको छ। तर हिजो राती पनि तिनी ११ बजेपछि मात्र घर फर्के।
तपाईंको किशोरावस्थाका छोराछोरी सुध्रन सक्छन्। तर त्योभन्दा पहिला तिनले अटेर गर्नुको कारण के हो तपाईंले बुझ्नुपर्छ। एउटा खुसीको कुरा, तिनले ठाडै तपाईंको विरोध गरेजस्तो देखिए तापनि समस्या वास्तवमा त्यति गम्भीर नहुन सक्छ।
चुनौतीका कारण
अस्पष्ट नियम। कोही-कोही किशोरकिशोरीले कुन हदसम्म नियम तोड्न सकिन्छ भनेर हेर्न खोज्छन्। उदाहरणको लागि, आमाबाबुले किशोरावस्थाका छोराछोरीलाई ‘यसो गऱ्यो भने यस्तो नतिजा भोग्नुपर्छ है’ भनेका छन् भने आमाबाबुले भनेअनुसार गर्छन् कि गर्दैनन् भनेर हेर्न तिनीहरूले जानाजानी नियम उल्लङ्घन गर्छन्। के तिनीहरूलाई सुधार्नै नसकिने विद्रोही भन्न मिल्छ? अहँ मिल्दैन। छोराछोरीले नियम तोड्दा आमाबाबुले कहिले अनुशासन दिने कहिले नदिने गरेमा वा छोराछोरीले नियम स्पष्ट बुझेका छैनन् भने तिनीहरूले नियमलाई हल्कासित लिन्छन्।
अरट्ठो। केही आमाबाबुले आफ्ना किशोरावस्थाका छोराछोरीलाई तीन थुप्रो नियम लादेर नियन्त्रणमा राख्ने कोसिस गर्छन्। छोराछोरीले नियम पालन नगर्दा आमाबाबु रिसाउँछन् र अझ धेरै नियम थोपरिदिन्छन्। तर त्यसले समस्या झनै चर्काउँछ। आमाबाबु र किशोरकिशोरीबीच समझदारी (अङ्ग्रेजी) भन्ने किताबमा यसो भनिएको छ, “तपाईं आफ्नो छोराछोरीमाथि जत्ति नियन्त्रण जमाउन खोज्नुहुन्छ त्यत्ति नै उसले त्यसको विरोध गर्छ। यसरी नियन्त्रण जमाउनु भनेको ताजा पाउरोटीमा ढिक्का परेको मख्खन दल्नु जस्तै हो। यसरी मख्खन दल्दा पाउरोटी टुक्रा-टुक्रा मात्र हुन्छ। अनि यसको समाधान अझै बेसरी मख्खन दल्न खोज्नु त पक्कै होइन।”
उचित तरिकामा दिइएको अनुशासन मदतकारी हुन्छ। अनुशासन दिनु र सजाय दिनुबीच भिन्नता छ। “सजाय” भनेको कसैलाई दिइने सास्ती, पीडा हो। तर “अनुशासन” दिनु भनेको मुख्यगरि सिकाउनु
हो। त्यसोभए घरको नियम मान्न तपाईंले छोराछोरीलाई कसरी सिकाउन सक्नुहुन्छ?तपाईं के गर्न सक्नुहुन्छ?
स्पष्ट हुनुहोस्। छोराछोरीले आफूबाट आशा गरिएको कुरा अनि आज्ञाकारी नभएमा कस्तो परिणाम भोग्नुपर्छ भनेर स्पष्टसित थाह पाउनुपर्छ।—बाइबल सिद्धान्त: गलाती ६:७.
सुझाव: घरको नियमहरूको सूची बनाउनुहोस्। अनि आफैलाई सोध्नुहोस्, ‘मैले दसथरि नियम बनाएको छु कि? वा नियम थोरै पो भयो कि? कुनै नियम अब आवश्यक छैन कि? किशोरावस्थाका छोराछोरीले जिम्मेवारीप्रति देखाएको गम्भीरतालाई विचार गर्दै केही नियममा छाँटकाँट गर्नुपर्छ कि?’
भनेअनुसार गर्नुहोस्। गएको हप्ता गल्ती गर्दा चाहिं केही नगर्ने तर त्यही गल्ती यो हप्ता दोहोऱ्याउँदा अनुशासन दिइयो भने किशोरकिशोरीहरू अन्योलमा पर्छन्।—बाइबल सिद्धान्त: मत्ती ५:३७.
सुझाव: “अपराधसित” सम्बन्धित अनुशासन दिने कोसिस गर्नुहोस्। उदाहरणको लागि, घर फर्किसक्नुपर्ने समयबारे नियम तोडेमा त्योभन्दा अझै चाँडो घर फर्कनुपर्ने नियम बनाउँदा “अपराध” र अनुशासन सम्बन्धित हुन्छ।
व्यावहारिक हुनुहोस्। किशोरावस्थाका छोराछोरीले थप स्वतन्त्रता पाउन लायकको व्यवहार देखाएमा लचकदार हुनुहोस्।—बाइबल सिद्धान्त: फिलिप्पी ४:५.
सुझाव: छोराछोरीसँग नियमबारे कुरा गर्नुहोस्। कुनै नियम उल्लङ्घन गर्दा कस्तो अनुशासन दिनु उचित होला भनेर तिनीहरूलाई सोध्नु पनि राम्रो हुन्छ। नियम बनाउँदा आफू पनि सम्मिलित भएको छ भने त्यो पालन गर्न तिनीहरूलाई सजिलो लाग्नेछ।
परिपक्व हुन मदत दिनुहोस्। तपाईंको लक्ष्य भनेको छोराछोरीलाई नियम पालन गर्न लगाउनु मात्र होइन तर तिनीहरूमा सफा अन्तस्करण अर्थात् सही र गलत छुट्याउने क्षमता विकास गर्न मदत गर्नु हो। (“सकारात्मक गुणहरू विकास गर्न मदत गर्नुहोस्” शीर्षकको पेटी हेर्नुहोस्।)—बाइबल सिद्धान्त: १ पत्रुस ३:१६.
सुझाव: मदतको लागि बाइबल पढ्नुहोस्। “अनुशासित र विवेकी जीवन” बिताउन मदत गर्ने सबैभन्दा राम्रो स्रोत बाइबल हो र यसमा पाइने बुद्धिले गर्दा “सोझाहरू विवेकशील बन्नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्।”—हितोपदेश १:१-४, NRV. (g13-E 05)