सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलको दृष्टिकोण

परमेश्‍वरबारे सत्य कुरा

परमेश्‍वरबारे सत्य कुरा

परमेश्‍वर कस्तो हुनुहुन्छ?

“परमेश्‍वर अदृश्‍य व्यक्‍ति हुनुहुन्छ।”—यूहन्‍ना ४:२४.

बाइबल के भन्छ?

बाइबलमा परमेश्‍वर अदृश्‍य व्यक्‍ति हुनुहुन्छ भनेर बताइएको छ। (२ कोरिन्थी ३:१७) उहाँ हामीभन्दा सर्वोच्च हुनुहुन्छ र उहाँलाई देख्ने क्षमता हामीसित छैन। पहिलो तिमोथी १:१७ मा उहाँ “युगयुगका महाराजा, अविनाशी, अदृश्‍य” हुनुहुन्छ भनेर बताइएको छ। बाइबलमा यसो पनि भनिएको छ: “कसैले कहिल्यै परमेश्‍वरलाई देखेको छैन।”—१ यूहन्‍ना ४:१२.

सृष्टिकर्ता हामीभन्दा यत्ति उच्च हुनुहुन्छ कि हामी उहाँको स्वरूप कस्तो छ भनेर कल्पना पनि गर्न सक्दैनौं। यशैया ४०:१८ यसो भन्छ, “तिमीहरू परमेश्‍वरको तुलना कससित गर्नेछौ? अथवा केको प्रतिरूपसित उहाँको मिलान गर्नेछौ?” सर्वशक्‍तिमान्‌ परमेश्‍वरको अगाडि अचम्मलाग्दा कुराहरूले भरिएको ब्रह्‍माण्डसमेत फिक्का छ।—यशैया ४०:२२, २६.

तर परमेश्‍वरलाई देख्न सक्ने अनि उहाँसँग सीधै कुरा गर्न सक्ने बौद्धिक प्राणीहरू पनि छन्‌। तिनीहरूले कसरी देख्न सकेका? किनकि तिनीहरू पनि अदृश्‍य व्यक्‍तिहरू हुन्‌ र स्वर्गमा बस्छन्‌। (१ राजा २२:२१; हिब्रू १:७) मानिसभन्दा उच्च व्यक्‍तिहरू अर्थात्‌ स्वर्गदूतहरूबारे येशू ख्रीष्टले यसो भन्‍नुभयो, “[तिनीहरूले] स्वर्गमा बस्नुहुने मेरो बुबाको मुहार सधैं हेरिरहेका हुन्छन्‌।”—मत्ती १८:१०.

के परमेश्‍वर सर्वव्यापी हुनुहुन्छ?

“तिमीहरूले यसरी प्रार्थना गर्नू: ‘हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा।’”—मत्ती ६:९.

बाइबल के भन्छ?

बाइबलले उहाँ कुनै शक्‍तिझैं सर्वव्यापी अर्थात्‌ हरसमय जहाँ पनि हुनुहुन्छ भनेर सिकाउँदैन। बरु मत्ती ६:९ र १८:१० मा येशूले भन्‍नुभएझैं उहाँ एक व्यक्‍ति—“बुबा” हुनुहुन्छ र उहाँको “बासस्थान स्वर्ग” हो।—१ राजा ८:४३.

आफ्नो जीवनको अन्ततिर येशूले यसो भन्‍नुभयो: “म यो संसार छोडेर बुबाकहाँ जाँदैछु।” (यूहन्‍ना १६:२८) येशू मानिसको रूपमा मर्नुभएपछि अदृश्‍य व्यक्‍तिको रूपमा ब्यूँताइनुभयो र उहाँ “परमेश्‍वरसामु देखा पर्नलाई स्वर्गमै पस्नुभयो।”—हिब्रू ९:२४.

परमेश्‍वरबारे यी तथ्य कुराहरू थाह पाउनु जरुरी छ। किन? एउटा कारण त परमेश्‍वर एक व्यक्‍ति हुनुभएकोले हामी उहाँबारे सिक्न सक्छौं र उहाँको नजिक हुन सक्छौं। (याकूब ४:८) अर्को कारण, परमेश्‍वरबारे सत्य कुरा थाह पाउँदा हामी झूटो उपासनादेखि जोगिन्छौं। जस्तै: मूर्तिपूजाबाट। पहिलो यूहन्‍ना ५:२१ यसो भन्छ, “ए साना केटाकेटीहरू हो, मूर्तिहरूदेखि जोगिओ।”

परमेश्‍वरले मानिसलाई कसरी आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो?

“परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वरकै स्वरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।”—उत्पत्ति १:२७.

बाइबल के भन्छ?

हामीसित परमेश्‍वरका गुणहरू जस्तै प्रेम, न्याय र बुद्धि झल्काउन सक्ने क्षमता छ। बाइबलमा यसो पनि भनिएको छ: “प्यारा केटाकेटीहरूझैं परमेश्‍वरको देखासिकी गर्नेहरू होओ।”—एफिसी ५:१, २.

परमेश्‍वरले हामीलाई स्वतन्त्र इच्छासहित सृष्टि गर्नुभयो। त्यसैले हामी असल र खराब छुट्ट्याउन सक्छौं र अरूलाई विभिन्‍न तरिकामा माया देखाउन सक्छौं। (१ कोरिन्थी १३:४-७) साथै विभिन्‍न नयाँ कुराहरू गर्ने, सुन्दर कुराहरू हेरेर आनन्दित हुने र आफू वरपर सृष्टिमा भएका अचम्मका कुराहरू हेरेर चकित हुने क्षमता हामीसित छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त हामी सृष्टिकर्ताबारे र उहाँको इच्छाबारे सिक्ने चाहनासहित सृष्टि गरिएका छौं।—मत्ती ५:३.

बाइबलको सत्य कुराले तपाईंलाई कसरी मदत गर्न सक्छ? परमेश्‍वरबारे हामी जत्ति धेरै सिक्छौं र उहाँको अनुकरण गर्छौं त्यत्ति नै उहाँले चाहनुभएअनुसार जीवन बिताउनेछौं। परिणामस्वरूप जीवनमा अझै आनन्दित हुन सक्छौं। साँचो सन्तुष्टि र मनोशान्ति पनि पाउनेछौं। (यशैया ४८:१७, १८) आफ्ना मनमोहक गुणहरूले मानिसहरूको मन छुनेछ, इमानदार मानिसहरूलाई आफ्नो नजिक ल्याउनेछ र अनन्त जीवनको बाटोमा डोऱ्‍याउनेछ भनेर परमेश्‍वरलाई थाह छ।—यूहन्‍ना ६:४४; १७:३. (g13-E 05)