मैले जताततै अन्याय देखें
यो कुरा उत्तरी आयरल्याण्डको हो। मेरो जन्म सन् १९६५ मा एउटा गरिब परिवारमा भएको थियो। म हुर्केबढेको प्रान्त डेरीमा त्यतिबेला क्याथोलिक र प्रोटेस्टेन्टहरूबीच झगडा चर्किरहेको थियो। यो झगडा ३० वर्षभन्दा धेरै समयसम्म चल्यो। यस राजनैतिक र धार्मिक झगडालाई ‘ट्रबल्स’ भनिन्छ। शक्तिमा रहेका बहुसङ्ख्यक प्रोटेस्टेन्टहरूको हातबाट पक्षपात भोग्नुपरेको अल्पसङ्ख्यक क्याथोलिकहरूको गुनासो थियो। क्याथोलिकहरूका अनुसार प्रोटेस्टेन्टहरूले चुनाव, प्रहरी सेवा, रोजगारी र आवास व्यवस्थापनमा धाँधली गरिरहेका थिए।
मैले आफू वरपर अन्याय र भेदभाव मात्र देखें। मैले कति पिटाइ खाएँ, मलाई गाडीबाट जबरजस्ती निकालेर कति चोटि बन्दुक तेर्स्याइयो वा प्रहरी अथवा सेनाले कति केरकार र खानतलासी गरे, त्यसको त गणना नै छैन। मेरो केही गल्ती नै नभए तापनि विनाकारण दुःख दिइरहेका छन् जस्तो मलाई लाग्यो। मैले यस्तो सोचें, ‘या त मैले आफ्नो जीवन यस्तै हो भनेर स्वीकार्नुपर्छ वा यसविरुद्ध लड्नुपर्छ।’
मैले सन् १९७२ मा ‘ब्लडी सन्डे’ भनिने विरोध जुलुसमा भाग लिएँ। यो जुलुस बेलायती सेनाद्वारा मारिएका १४ जना मानिसहरूको सम्झनामा निकालिन्थ्यो। साथै सन् १९८१ मा गणतन्त्रको समर्थन गर्दै आफ्नो ज्यानै जाने गरी अनशन बसेका कैदीहरूको
सम्झनामा गरिने भोक हडतालमा पनि म सहभागी भएँ। निषेध गरिएको झन्डा ठाउँ-ठाउँमा झुन्ड्याउने र जताततै बेलायतविरुद्ध नाराहरू कोर्ने गर्थें। क्याथोलिकहरूको हत्या र तिनीहरूविरुद्ध अत्याचार जस्ता घटनाहरू त भई नै रहन्थ्यो। त्यसैले विरोध गर्ने कारणहरू प्रशस्तै हुन्थे। शान्तिपूर्ण जुलुस पनि अक्सर हुलदङ्गामा परिणत हुन्थ्यो।विश्वविद्यालयमा पढ्दै गर्दा वातावरण बचाउ अभियानमा लागेका विद्यार्थीहरूसितै म लाग्न थालें। पछि म लन्डनमा बसाइँ सरे। त्यहाँ गरिबहरूको हितलाई भन्दा धनीहरूको हितलाई महत्त्व दिने सरकारी नीतिविरुद्ध निकालिएको समाजवादी जुलुसहरूमा भाग लिएँ। ट्रेड युनियनले तलब कटौतीको विरोधमा गरेको हडतालमा म सहभागी भएँ। सन् १९९० मा कर ऐनविरुद्ध निकालिएको जुलुसमा पनि गएँ। त्यतिबेला प्रदर्शनकारीहरूले ट्राफल्गर स्क्वेयरमा ठूलो क्षति पुऱ्याएका थिए।
अन्ततः म निराश भएँ। आन्दोलनकारीहरू लक्ष्यहरू हासिल गर्नुको सट्टा घृणाको आगोमा घिउ थप्ने काम मात्र गर्थे।
राम्रै मनसाय भएका मानिसले पनि अन्याय र भेदभाव हटाउन सक्दैन
यसैताका एक जना साथीले मेरो परिचय यहोवाका साक्षीहरूसित गराइदिए। परमेश्वरले हाम्रा दुःखकष्टहरू बेवास्ता गर्नुहुन्न र मानिसहरूले पुऱ्याएका सबै हानिलाई सच्याउनुहुनेछ भनेर तिनीहरूले मलाई बाइबलबाटै सिकाए। (यशैया ६५:१७; प्रकाश २१:३, ४) राम्रै मनसाय भएका मानिसले पनि अन्याय र भेदभाव हटाउन सक्दैन। हामीलाई परमेश्वरको निर्देशन त चाहिन्छ नै, तर त्यसका साथै संसारका समस्याहरू पछाडि भएका दुष्ट स्वर्गदूतहरूलाई जित्न हामीलाई उहाँको शक्ति पनि चाहिन्छ।—यर्मिया १०:२३; एफिसी ६:१२.
मैले अन्यायविरुद्ध जति सङ्घर्ष गरें त्यो त अहिले मलाई डुब्न लागेको जहाजमा कुर्सीहरू मिलाउनुसरह थियो जस्तो लाग्छ। अन्याय भन्ने कुराको पृथ्वीमा नामोनिसान रहने छैन र सबै मानिसहरू समान हुने समय आउनेछ भन्ने कुरा सिक्न पाउँदा ढुक्क महसुस हुन्छ।
बाइबलले यहोवा “इन्साफ प्रेम” गर्नुहुने परमेश्वर हुनुहुन्छ भनी सिकाउँछ। (भजन ३७:२८) मानव सरकारले ल्याउन नसकेको न्याय उहाँले ल्याउनुहुनेछ भन्ने कुरामा विश्वस्त हुन सक्ने एउटा कारण यही हो। (दानियल २:४४) अझै सिक्न चाहनुहुन्छ भने तपाईंको इलाकामा भएका यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस् वा हाम्रो वेब साइट www.pr418.com/ne हेर्नुहोस्। (g13-E 07)