परिवारका लागि | छोराछोरी हुर्काउने
अश्लील मेसेज पठाउनेबारे किशोरावस्थाका छोराछोरीसित कसरी कुरा गर्ने?
चुनौती
आजभोलि किशोरकिशोरीले अश्लील मेसेज पठाउने गर्छन् भनेर तपाईंले सुन्नुभएको छ होला। तपाईं सोच्नुहोला, ‘मेरा छोराछोरीले पनि यस्तो गर्लान् र?’
तपाईं यस विषयमा आफ्नो छोराछोरीसित कुरा गर्न चाहनुहुन्छ। तर कसरी कुरा सुरु गर्ने? योभन्दा पहिला, आज किन कोही-कोही किशोरकिशोरी अश्लील मेसेज पठाउने गर्छन् र यो विषयमा तपाईंले किन चिन्ता लिनुपर्छ, विचार गरौं। *
चुनौतीका कारण
-
केही किशोरकिशोरी आफूले मन पराएको व्यक्तिलाई आफूतिर आकर्षित गर्न कामुक सन्देशहरू पठाउने गर्छन्।
-
कुनै-कुनै अवस्थामा चाहिं केटाले एकदमै कर गरेकोले केटीले आफ्नो कामुक तस्बिर पठाउँछिन्।
-
अरू कतिपय अवस्थामा भने कुनै केटाले रमाइलोको लागि केटीको त्यस्तो तस्बिर सबैलाई पठाइदिन्छ वा सम्बन्ध टुटेकोमा बदला लिन पनि त्यसो गर्छ।
कारण जेसुकै होस्, मोबाइल फोन बोक्ने किशोरकिशोरी अनेक समस्यामा फस्न सक्छन्। साइबर-सुरक्षा (अङ्ग्रेजी) भन्ने किताबमा यसो भनिएको छ, “एउटा मेसेज अथवा फोटोले जिन्दगी बर्बाद गर्न सक्छ।”
इन्टरनेटमा एकचोटि फोटो राखेपछि त्यसमा आफ्नो केही अधिकार हुँदैन भनेर थुप्रै मानिसले बुझेका हुँदैनन्। अमेरिकी सङ्घीय जाँच ब्यूरो-बाट (एफ बी आइ) प्रकाशित रिपोर्टअनुसार, एक १८ वर्षीया केटीले “ब्वाइफ्रेन्डलाई मोबाइलबाट पठाएको आफ्नो नाङ्गो तस्बिर स्कूलका थुप्रै केटाकेटीलाई पनि पठाइदिएको कुरा थाह पाएपछि आत्महत्या गरिन्। त्यो तस्बिर अझै अरूलाई पनि पठाइएकोले त्यस केटीले स्कूलमा हुनसम्मको दुर्व्यवहार खप्नुपरेको आशङ्का गरिन्छ।”
अश्लील मेसेजको कारण कानुनी समस्या पनि आउन सक्छ। उदाहरणको लागि, कुनै-कुनै ठाउँमा कामुक तस्बिरहरू पठाउने नाबालिगमाथि बाल अश्लीलताको अभियोग लगाइएको छ र तिनीहरूको नाम यौन अपराधीको सूचीमा राखिएको छ। साथै मोबाइल फोन तपाईं आमाबाबुको नाममा छ वा तपाईंले छोराछोरीलाई अश्लील मेसेज पठाउन रोक्नुभएन भने कानुनले तपाईंलाई पनि जिम्मेवार ठहऱ्याउन सक्छ।
तपाईं के गर्न सक्नुहुन्छ?
स्पष्ट नियम तोक्नुहोस्। हो, आफ्नो किशोरावस्थाको छोरा वा छोरीले मोबाइल के-कस्तो कुराको लागि प्रयोग गर्छ भनेर एक-एक कुरा हेरिरहन सम्भव छैन। तर तपाईंले तोक्नुभएको नियमका साथै त्यो तोडेमा कस्तो नतिजा भोग्नुपर्छ भनेर तिनले राम्ररी बुझेका छन् कि छैनन्, पक्का गर्नुहोस्। अनि यो कुरा पनि नबिर्सनुहोस्, तपाईं आमाबाबु भएकोले आफ्नो किशोर छोरा वा छोरीले मोबाइल के-कस्तो कुराको लागि प्रयोग गर्दैछ भनेर थाह पाउनु तपाईंको अधिकारको कुरा हो।—बाइबल सिद्धान्त: एफिसी ६:१.
किशोर छोराछोरीलाई समस्या बुझ्न मदत गर्नुहोस्। तपाईं यसो भन्न सक्नुहुन्छ: “कस्तो मेसेजलाई अश्लील भन्नेबारे मानिसहरूको विचारधारा एउटै छैन। तिम्रो विचारमा कस्तो मेसेजलाई अश्लील वा छाडा भन्न सकिन्छ?” “कस्तो फोटोचाहिं पठाउनु हुँदैन?” “कुनै-कुनै ठाउँको कानुनअनुसार कोही नाबालिगले अर्को नाबालिगको नाङ्गो तस्बिर पठाउँछ भने तिनलाई दोषी ठहऱ्याइन्छ। तिमीलाई पनि यो साँच्चै त्यस्तो गम्भीर कुरा हो जस्तो लाग्छ?” “अश्लील मेसेज पठाउनु किन गलत हो?” आफ्नो छोरा वा छोरीको कुरा ध्यान दिएर सुन्नुहोस् र मेसेज पठाउनुअघि सयचोटि सोच्न तिनीहरूलाई मदत गर्नुहोस्।—बाइबल सिद्धान्त: हिब्रू ५:१४.
मेसेज पठाउनुअघि सयचोटि सोच्नुहोस्
उदाहरण दिनुहोस्। तपाईंले आफ्नी छोरीलाई यसो भन्न सक्नुहुन्छ: ‘मानिलिऊ, एक जना केटाले एउटी केटीलाई अश्लील मेसेज पठाउन कर गरिरहेको छ। तिनले के गर्नुपर्छ? रिसाउला भनेर त्यो केटाको कुरा मान्ने? अश्लील मेसेज पठाउन नमाने पनि जिस्किनचाहिं नछोड्ने? सम्बन्ध तोड्ने? अथवा कोही ठूलो मान्छेलाई भन्ने?’ आफ्नी छोरीलाई यो विषय राम्ररी बुझ्न मदत गर्नुहोस्। तपाईंले आफ्नो छोरासँग तर्क गर्न पनि यस्तै तरिका अपनाउन सक्नुहुन्छ।—बाइबल सिद्धान्त: गलाती ६:७.
असल मानिस बन्नुपर्छ भनेर तर्क गर्न मदत गर्नुहोस्। यस्ता प्रश्नहरू सोध्नुहोस्, ‘असल नाम कमाउनु तिम्रो लागि कत्तिको महत्त्वपूर्ण छ? तिमी कस्तो मानिस भनेर चिनिन चाहन्छौ? अरू कसैको अनुचित तस्बिर पठाएर तिनको बेइज्जत गर्नु तिमीलाई कस्तो लाग्छ? सही कुराको लागि अडान लिंदा तिमी कस्तो महसुस गर्छौ?’ किशोर छोराछोरीलाई “अन्तस्करण सफा” राख्न मदत गर्नुहोस्।—१ पत्रुस ३:१६.
आफैले राम्रो उदाहरण बसाल्नुहोस्। परमेश्वरबाट आउने बुद्धि पवित्र हुन्छ र त्यसले ढोंग गर्दैन भनेर बाइबल बताउँछ। (याकूब ३:१७) तपाईंको कामकुरामा के यी कुरा झल्किन्छ? साइबर-सुरक्षा भन्ने किताब यसो भन्छ: “अवैध अथवा घिनलाग्दो ठानिने वेब साइटहरू अथवा तस्बिरहरू नहेरेर हामी आफैले राम्रो उदाहरण बसाल्नुपर्छ।” (g13-E 11)
^ अनु. 5 अश्लील मेसेज पठाउनु भनेको मोबाइलमार्फत कामुक सन्देश, तस्बिर अथवा भिडियो पठाउनु हो। यसलाई आजभोलि ‘सेक्सटिङ’ पनि भनिन्छ। थप जानकारीको लागि jw.org/ne मा “युवा जनहरूका प्रश्न—सेक्सटिङबारे मैले के कुरा थाह पाउनुपर्छ?” भन्ने लेख पढ्नुहोस्।—बाइबलको शिक्षा > किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्।