सृष्टि या संयोग?
सूर्यको प्रकाश सोस्ने पखेटा
मानिसहरू जैविक इन्धनमा निर्भर छन् र यो निर्भरता कम गर्न वैज्ञानिकहरू सौर्य शक्ति भण्डार गर्ने उपकरणहरूको क्षमता बढाउने प्रयासमा छन्। एक जना वैज्ञानिक यसो भन्छन्: “सायद यो समस्याको समाधान हाम्रै आँखा अगाडि छ।”
विचार गर्नुहोस्: जाडो मौसममा पुतलीहरू आफूलाई न्यानो राख्न घाममा पखेटा फिजाउँछन्। स्वालोटेल भनिने जातको पुतलीलाई विचार गर्नुहोस्। यस जातका केही पुतलीहरूको पखेटामा सूर्यको प्रकाश सोस्ने र जम्मा गर्ने क्षमता हुन्छ। यी पुतलीहरूले यसो गर्न सक्नुको कारण यिनीहरूको रङ्ग कालो हुने भएकोले मात्र होइन। बरु यिनीहरूको पखेटालाई ढाक्ने सूक्ष्म पत्रहरूको आकारले गर्दा पनि हो। यी पत्रहरूमा मौरीको चाकामा जस्तै स-साना प्वालहरू हुन्छन्। यी प्वालहरूलाई छुट्याउने त्रिभुज आकारको भागले सूर्यको प्रकाशलाई प्वालभित्र छिराउने काम गर्छ। यस्तो अचम्मलाग्दो आकारले गर्दा पुतलीले निकै छरितो ढङ्गमा सूर्यको प्रकाशलाई सोसेर जम्मा गर्न सक्छ, जसले गर्दा पुतलीको पखेटा गाढा कालो रङ्गको हुन्छ र पुतलीलाई न्यानो हुन्छ।
विज्ञानसम्बन्धी एउटा अखबार साइन्स डेली यसो भन्छ: “पुतलीको पखेटा प्रकृतिमा पाइने सबैभन्दा कमलो कुराहरूमध्ये एउटा हो। तैपनि यसले अनुसन्धानकर्ताहरूलाई पानी र सूर्यको प्रकाशबाट उत्पादन गरिने हाइड्रोजन ग्याँसको मात्रा दोब्बर बनाउनको लागि एउटा नयाँ प्रविधि विकास गर्न प्रेरणा दिएको छ। हाइड्रोजन ग्याँसलाई स्वच्छ उर्जा मानिन्छ।” साथै वैज्ञानिकहरू पुतलीको पखेटाको नक्कल गरेर प्रकाशको मदतले काम गर्ने यन्त्रहरू (अप्टिकल इन्स्ट्रुमेन्ट्स) बनाउन र सूर्यको किरणबाट बिजुली उत्पादन गर्न लागिपरेका छन्।
तपाईंलाई कस्तो लाग्छ? सूर्यको प्रकाश सोस्ने क्षमता भएको पुतलीको पखेटा विकासवादको उपज हो या सृष्टि? (g14-E 08)