“पोलिस ब्रेथेन” तिनीहरूलाई किन सताइयो?
“पोलिस ब्रेथेन” तिनीहरूलाई किन सताइयो?
सन् १६३८ मा पोलिस ब्रेथेन नाउँले चिनिने सानो धार्मिक समूह विरुद्ध पोल्याण्डको संसद्ले कडा नियम पारित गऱ्यो। त्यस समूहको चर्च र छापाखाना बन्द गरियो। राकाऊ विश्वविद्यालय बन्द गरियो र त्यहाँ पढाइरहेका प्राध्यापकहरूलाई देश निकाला गरिए।
बीस वर्षपछि संसद्ले अझ कडा नियम पारित गऱ्यो। यस समूहको १०,००० भन्दा बढी सदस्यहरूलाई एक एक गरेर देश छोड्ने आदेश दियो। त्यतिबेला युरोपभरि सबैभन्दा सहिष्णु मानिने देश पोल्याण्डमा कसरी यस्तो नाजुक अवस्था सृजना हुन गयो? पोलिस ब्रेथेनहरूले त्यस्तो क्रूर सजाय योग्य के कार्य गरेका थिए?
यो सबै समस्या सुरु हुनुको कारण, पोल्याण्डको क्याल्भिनिस्ट चर्चमा भएको गम्भीर फाटो थियो। झगडाको मुख्य विषय त्रिएकको सिद्धान्त थियो। चर्च भित्रै सुधारवादी समूहले त्यो सिद्धान्त गैरधर्मशास्त्रीय भनेर अस्वीकार गरे। यसले गर्दा चर्चका नेताहरू रिसाए, परिणामस्वरूप सुधारवादी समूहहरू छुट्टिए।
ती भिन्न मत भएकाहरूलाई क्याल्भिनिस्टहरूले एरियनहरू a भन्न थाले तर यस नयाँ समूहका मानिसहरू भने आफूलाई मसीही वा पोलिस ब्रेथेन भन्न रुचाउँथे। तिनीहरू इटालेली लाइलियस सोसिनस सर्भेटसबाट प्रभावित थिए र तिनका भान्जा फास्टस सोसिनस पोल्याण्डमा गएर यस आन्दोलनमा प्रमुख भूमिका निर्वाह गरे। त्यसैले तिनीहरू सोसिनियन नाउँबाट पनि चिनिन्छन्।
त्यतिबेलाका खानदानी पोलिस, यान सेनियन्स्कीले नयाँ चर्चको वृद्धिको निम्ति “सुनसान, एकान्त” वातावरण तयार पार्न खोजे। पोल्याण्डको राजाद्वारा बकस भएको विशेषाधिकार प्रयोग गरेर सेनियन्स्कीले राकाऊ शहर स्थापना गरे र यो नै पछि सोसिनियनवादीको केन्द्रबिन्दु भयो। सेनियन्स्कीले राकाऊका नागरिकहरूलाई दिएका थुप्रै अधिकारहरूमध्ये एउटा धार्मिक स्वतन्त्रता पनि थियो।
कारीगर, डाक्टर, औषधीवेत्ता, शहरवासी र अन्य विभिन्न सम्प्रदायका मानिसहरू यस नयाँ शहरमा ओइरिन थाले। साथै, पोल्याण्ड, लिथुआनिया, ट्रान्सिल्भेनिया, फ्रान्स र बेलाइतका पादरीहरू समेत आए। तथापि, सबै नयाँ आउने व्यक्तिहरू सोसिनियन विश्वासमा सहमत थिएनन्। त्यसैले अर्को तीन वर्ष, १५६९ देखि १५७२ सम्म राकाऊ कहिल्यै टुंगो नलाग्ने सैद्धान्तिक छलफलको थलो बन्न गयो। नतिजा कस्तो भयो?
विभाजित घर
उग्र विचारधारा राख्ने र नरम विचार राख्ने मानिसहरूबीच बेमेलको कारण सोसिनियन अभियानै विभाजित भयो। तथापि, तिनीहरूको यो मतभेदको बावजूद तिनीहरूको समानतामा भएको विश्वास भिन्न प्रकारको थियो। तिनीहरूले त्रिएक स्वीकारेनन्। शिशु बप्तिस्मा गरेनन्। साधारणतया तिनीहरूले हातहतियार उठाएनन् र सरकारी b नरक सास्ती दिने ठाउँ हो भन्ने कुरा पनि तिनीहरूले मानी लिएनन्। यसरी तिनीहरूले कतिपय लोकप्रिय धार्मिक परम्पराहरू तिरस्कार गरे।
ओहदाहरू पनि स्वीकारेनन्।क्याल्भिनिस्ट तथा क्याथोलिक चर्च दुवैले यस समूह विरुद्ध भीषण सतावट दिए तापनि सोसिनियन पादरीहरूले सिग्समन्ड द्वितीय अगस्तस र स्तिफन बाथोरीजस्ता पोलिस राजाहरूले प्रवर्धन गरेको धार्मिक सहिष्णुताको फाइदा उठाउँदै आफ्ना विचारहरू सिकाउन थाले।
बड्नीको उल्लेखनीय कार्य
त्यतिबेला व्यापक रूपमा चलाइएको बाइबलको क्याल्भिनिस्ट अनुवाद थुप्रै पाठकहरूका लागि उपयुक्त थिएन। त्यो अनुवाद मूल भाषाबाट नभई ल्याटिन भल्गेट र समकालीन फ्रान्सिसी अनुवादबाट गरिएको थियो। “सुन्दर लेखनशैलीको नाउँमा विश्वासीलोपन र सत्यताको वास्तै गरिएन” भनी एक जना अधिकारी बताउँछन्। थुप्रै गल्तीहरू भए। त्यसैकारण प्रख्यात शास्त्रविद् शिमोन बड्नीलाई अनुवाद सच्याउन बोलाइयो। पुरानोलाई सच्याउनुभन्दा अर्कै एउटा नयाँ अनुवाद गर्नु सजिलो हुनेछ भन्ने लागेर बड्नीले १५६७ तिर अनुवाद कार्य थाले।
अनुवाद गर्दा बड्नीले हरेक शब्द र त्यसको राम्रो वर्णविन्यास गरे र पोल्याण्डमा यत्तिको अरू कसैले पनि गरेको थिएन। हिब्रू पद अनुवाद गर्न गाह्रो हुँदा तिनले किनाराका टिप्पणीमा शाब्दिक अनुवाद गरे। आवश्यक परेको खण्डमा तिनी नयाँ शब्दहरू बनाउँथे र त्यतिबेलाको दिनचर्याका सरल पोलिस शब्दहरू चलाउने कोसिस गरे। तिनको उद्देश्य पाठकलाई बाइबलको भरपर्दो र सही अनुवाद दिनु थियो।
बड्नीले सम्पूर्ण बाइबलको अनुवाद १५७२ मा प्रकाशित गरे। तथापि, प्रकाशकहरूले युनानी धर्मशास्त्रको अनुवादमा केही हेरफेरहरू गरे। तैपनि हरेस नखाई बड्नी संशोधित संस्करण निकाल्न जुटे र यो काम दुई वर्षपछि पूरा भयो। बड्नीले गरेको युनानी धर्मशास्त्रको यो उत्कृष्ट अनुवाद पोल्याण्डमा पहिला गरिएका अनुवादहरूभन्दा निकै राम्रो थियो। यसबाहेक, तिनले थुप्रै ठाउँमा ईश्वरीय नाउँ, यहोवा पनि पुनः प्रयोग गरे।
सोह्रौं शताब्दीको अन्त र १७ औं शताब्दीको पहिलो तीन दशकमा यस अभियानको प्रमुख शहर, राकाऊ धार्मिक तथा बौद्धिक केन्द्रबिन्दु भयो। पोलिस ब्रेथेनका नेता तथा लेखकहरूले त्यहींबाट पर्चा तथा अन्य कार्यहरू प्रकाशित गरे।
तिनीहरूले शिक्षा प्रवर्धन गरे
सन् १६०० तिर राकाऊमा छापाखाना स्थापना भएपछि पोलिस ब्रेथेनको मुद्रण कार्य तीव्र गतिमा अघि बढ्न थाल्यो। त्यो छापाखानाले साना तथा ठूला पुस्तकहरू थुप्रै भाषाहरूमा मुद्रण गर्नसक्थ्यो। मुद्रण कार्यको केन्द्रको रूपमा राकाऊले तुरुन्तै युरोपका अन्य राम्रा छापाखानाहरूसित प्रतिस्पर्धा गर्न थाल्यो। त्यसपछिको ४० वर्षमा त्यहाँ २०० भन्दा बढी प्रकाशनहरू मुद्रण गरिएको अनुमान लगाइएको छ। नजिकैको एक पोलिस ब्रेथेनको कागज उद्योगले साहित्य प्रकाशनको निम्ति उच्चकोटीका कागजहरू आपूर्ति गर्थ्यो।
पोलिस ब्रेथेनले आफ्ना सँगी विश्वासीहरू र अरूलाई शिक्षा दिनुपर्ने खाँचो महसुस गरे। यसैलाई मनमा राख्दै १६०२ मा राकाऊ विश्वविद्यालय स्थापना भयो। पोलिस ब्रेथेनका छोराहरूलगायत क्याथोलिक र प्रोटेस्टेन्ट केटाहरू त्यहाँ पढ्न जान्थे। यो धर्मविज्ञानसम्बन्धी विश्वविद्यालय भए तापनि त्यहाँ धर्मबारे मात्र सिकाइँदैनथ्यो। विदेशी भाषा, नैतिक शिक्षा, अर्थशास्त्र, इतिहास, कानुन, तर्कशास्त्र, प्राकृतिक विज्ञान, हिसाब, चिकित्साशास्त्र र जिम्न्यास्टिक पनि पाठ्यक्रममा थियो। विश्वविद्यालयको ठूलो पुस्तकालय दिनपरदिन बढ्दै गयो र यसरी बढ्नुको एउटा कारण त्यहाँको स्थानीय छापाखाना पनि थियो।
सत्रौं शताब्दीको आगमन सँगसँगै पोलिस ब्रेथेन पनि फस्टाउँदै गएजस्तो देखिन्थ्यो। तर वास्तवमा त्यस्तो भएन।
चर्च तथा राज्यले विरोध गर्छ
पोलिस विज्ञान प्रतिष्ठानका जेब्गनेभ ओग्नोस्की भन्छन्: “१७ औं शताब्दीको तेस्रो दशकको अन्ततिर पोल्याण्डमा एरियनहरूको परिस्थिति बिग्रिन थाल्यो।” यसको कारण क्याथोलिक पादरीहरूको गतिविधि थियो। पोलिस ब्रेथनहरूको बदनाम गर्न पादरीहरूले निन्दा र अपमानलगायत आफूले सकेजति सबै गरे।
पोल्याण्डको बदलिंदो राजनैतिक परिस्थितिको कारण आक्रमण गर्न झन् सजिलो भयो। नयाँ पोलिस राजा सिग्समन्ड तृतीय भासा पोलिस ब्रेथेनका विरोधी थिए। विशेष गरी तिनका उत्तराधिकारी जोन द्वितीय काजमिर भासाले पोलिस ब्रेथेनहरू नामेट गर्ने क्याथोलिक चर्चको प्रयासलाई समर्थन गरे।राकाऊका केही विद्यार्थीहरूले क्रूसलाई जानाजानी अपवित्र बनायो भन्ने आरोपले परिस्थिति झन् चर्कियो। पोलिस ब्रेथेनहरूको केन्द्रविन्दु खत्तम पार्न यो घटना एउटा बलियो आधार भयो। राकाऊ विश्वविद्यालयका प्रमुखलाई संसदीय अदालतमा बोलाइयो र तिनलाई राकाऊ विश्वविद्यालय र यसको छापाखानाप्रति समर्थन जनाएर ‘दुष्टता फैलाएको’ अभियोग लगाइयो। पोलिस ब्रेथेनहरूलाई राजद्रोही, छाडा पर्वहरू मनाएको र अनैतिक जीवन बिताएको अभियोग लगाइयो। संसद्ले राकाऊ विश्वविद्यालय र छापाखाना बन्द गर्ने अनि पोलिस ब्रेथेनहरूको चर्च भत्काउने निर्णय गऱ्यो। यी अनुयायीहरूलाई शहर छोड्ने आदेश दिइयो। विश्वविद्यालयका प्राध्यापकहरूलाई चाहिं मृत्युदण्डको सजाय अन्तर्गत देश निकाला गरियो। कोही कोही पोलिस ब्रेथनहरूले सिलेसिया र स्लोभाकिया जस्ता ठाउँहरूमा शरण लिए।
सन् १६५८ मा संसद्ले पोलिस ब्रेथेनहरूले आफ्नो सम्पत्ति बेचेर तीन वर्षभित्र देश छोड्नुपर्ने आदेश जारी गऱ्यो। पछि अन्तिम म्याद घटाएर दुई वर्ष गरियो। यसपश्चात् तिनीहरूको विश्वासअनुरूप चल्ने जो कोहीलाई मृत्युदण्ड दिइने थियो।
केही सोसिनियनहरू नेदरल्याण्डसमा बसोबास गर्न थाले र त्यहाँ तिनीहरूले आफ्नो मुद्रण कार्य चालु गरे। ट्रान्सिल्भेनियामा १८ औं शताब्दीको सुरुतिरसम्म एउटा मण्डली थियो। हप्ताको तीन चोटिसम्म सञ्चालन हुने सभाहरूमा तिनीहरू भजन गाउँथे, प्रवचन सुन्थे, आफ्नो शिक्षाको समर्थनमा धार्मिक शिक्षाहरू पढेर सुनाइन्थ्यो। मण्डलीको पवित्रता कायम राख्न सँगी विश्वासीहरूलाई सच्याइन्थ्यो, ताडना दिइन्थ्यो र आवश्यक भएमा बहिष्कार पनि गरिन्थ्यो।
पोलिस ब्रेथेनहरू परमेश्वरको वचनका विद्यार्थी थिए। तिनीहरूले केही बहुमूल्य सत्यहरू पत्ता लगाए र त्यसबारे अरूलाई बताउन पटक्कै हिचकिचाएनन्। तर अन्ततः तिनीहरू युरोपभरि छरिए र आपसी एकता कायम राख्न झन् झनै गाह्रो भयो। समयमा पोलिस ब्रेथेनहरू हराए।
[फुटनोटहरू]
a एरियनहरू (सा.यु. २५०-३३६) एलेक्जान्ड्राका पादरी थिए जसले येशू, पिताभन्दा तल्लो दर्जाको हुनुहुन्छ भन्ने तर्क गरे। नाइसीया परिषद्ले सा.यु. ३२५ मा तिनको विचारधारालाई अस्वीकार गऱ्यो।—जून २२, १९८९ ब्यूँझनुहोस्!, पृष्ठ २७ हेर्नुहोस्।
b ब्यूँझनुहोस्!, नोभेम्बर २२, १९८८, पृष्ठ १९ मा “सोसिनियनहरू—तिनीहरूले किन त्रिएक अस्वीकार गरे?” हेर्नुहोस्।
[पृष्ठ २३-मा भएको चित्र]
सोसियन पादरीको घर
[पृष्ठ २३-मा भएका चित्रहरू]
माथि: हाल राकाऊ; दायाँतिर “एरियनवाद”-सम्बन्धी सबै अवशेष हटाउन १६५० मा स्थापना गरिएको आश्रम; तल: क्याथोलिक पादरीले पोलिस ब्रेथेनसित झगडा उक्साउन यो ठाउँमा क्रूस राखे
[पृष्ठ २१-मा भएको चित्रको स्रोत]
Title card of Biblia nieświeska by Szymon Budny, 1572