“जागा रहो”
“जागा रहो”
“जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्, सो तिमीहरूले जान्दैनौ।”—मत्ती २४:४२.
१. यहोवाको सेवामा वर्षौं बिताइसकेका सेवकहरूलाई आफूले थुप्रै वर्षदेखि गरेको समर्पित सेवा कस्तो लागेको छ? एउटा उदाहरण उल्लेख गर्नुहोस्।
यहोवाको सेवा गरेर वर्षौं बिताइसकेका थुप्रै सेवकहरूले युवावस्थामै सच्चाइ सिकेका थिए। बहुमूल्य मोती भेट्टाउने र त्यो किन्न आफ्नो सारा सम्पत्ति बेच्ने व्यापारीले जस्तै यी उत्सुक बाइबल विद्यार्थीहरूले आफूलाई इन्कार गरे अनि आफ्नो जीवन यहोवालाई समर्पण गरे। (मत्ती १३:४५, ४६; मर्कूस ८:३४) पृथ्वीमा परमेश्वरको उद्देश्य पूरा हुन आफूले आशा गरेभन्दा धेरै समय लागेको देख्दा तिनीहरूलाई कस्तो लाग्यो होला? तिनीहरू पछुताएका छैनन्! यहोवाको सेवामा झन्डै ६० वर्ष बिताइसकेपछि यसो भन्ने भाइ ए. एच. म्याकमिलनसित तिनीहरू सहमत छन्: “आफ्नो विश्वासमा लागिरहन म पहिलेभन्दा अझ कटिबद्ध भएको छु। मेरो जीवन पहिलेभन्दा झन् अर्थपूर्ण भएको महसुस गरेको छु। अनि यसले मलाई निर्धक्क भई भविष्यको सामना गर्न अझै मदत गरिरहेको छ।”
२. (क) आफ्ना अनुयायीहरूलाई येशूले कस्तो सामयिक सल्लाह दिनुभयो? (ख) यस लेखमा हामी कुन प्रश्नहरू छलफल गर्नेछौं?
२ अनि तपाईंलाई चाहिं कस्तो लाग्छ नि? तपाईंको उमेर जतिसुकै होस्, येशूका यी शब्दहरू विचार गर्नुहोस्: “जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्, सो तिमीहरूले जान्दैनौ।” (मत्ती २४:४२) त्यो सरल वाक्यमा गहन सत्य लुकेको छ। यस दुष्ट रीतिरिवाजमाथि प्रभुले कहिले न्याय गर्नुहुन्छ हामीलाई थाह छैन र थाह पाउनु आवश्यक पनि छैन। तर उहाँ आउनुहुँदा हामीले पछुतो गर्नु नपर्ने जीवन बिताइरहेको हुनुपर्छ। यस सम्बन्धमा, हामीलाई जागा रहन मदत गर्ने कस्ता उदाहरणहरू बाइबलमा पाउँछौं? यस आवश्यकतालाई येशूले कसरी उदाहरणद्वारा प्रस्ट्याउनुभयो? अनि आज हामी यस अभक्त संसारको आखिरी दिनमा बाँचिरहेका छौं भन्ने के प्रमाण छ?
चेताउनीमूलक उदाहरण
३. आज थुप्रै मानिसहरू कसरी नूहको समयका मानिसहरू जस्तै छन्?
३ धेरै अर्थमा, आजका स्त्री तथा पुरुषहरू नूहको समयका मानिसहरूजस्तै छन्। त्यतिखेर पृथ्वी उपद्रवले भरिएको थियो र मानिसको हृदयको जुनसुकै झुकाउ “निरन्तर खराबै मात्र” थियो। (उत्पत्ति ६:५) अधिकांश व्यक्तिहरू दैनिक जीवनका फिक्रीहरूमा चुर्लुम्म डुबेका थिए। यद्यपि, महाप्रलय ल्याउनअघि यहोवाले ती मानिसहरूलाई पश्चात्ताप गर्ने मौका दिनुभयो। उहाँले नूहलाई प्रचार गर्ने आदेश दिनुभयो र नूहले सायद ४० वा ५० अथवा त्योभन्दा बढी समयसम्म “धर्मका प्रचारक[को]” रूपमा सेवा गरेर उक्त आज्ञा पालन गरे। (२ पत्रुस २:५) तथापि, मानिसहरूले नूहको चेताउनीलाई बेवास्ता गरे। तिनीहरू जागा रहेनन्। त्यसकारण, अन्तमा नूह र तिनको परिवार मात्र यहोवाको न्यायदण्डबाट जोगिए।—मत्ती २४:३७-३९.
४. कुन अर्थमा नूहको सेवकाईलाई सफल मान्न सकिन्छ र तपाईंको प्रचार कार्यबारे पनि किन त्यसै भन्न सकिन्छ?
४ के नूहले सेवकाईमा सफलता पाए? जलप्रलयबाट बच्ने सीमित संख्याको आधारमा निर्णय नगर्नुहोस्। वास्तवमा, मानिसहरूले त्यतिबेला जस्तोसुकै प्रतिक्रिया देखाए तापनि नूहको प्रचारकार्यले आफ्नो उद्देश्य पूरा गऱ्यो। किन? किनभने त्यसले मानिसहरूलाई मन पर्छ भने यहोवाको सेवा गर्न छनौट गर्ने प्रशस्त मौका दियो। तपाईंको प्रचार इलाकाबारे के भन्न सकिन्छ? सकारात्मक प्रतिक्रिया अत्यन्त थोरै भए तापनि तपाईंले निकै सफलता प्राप्त गरिरहनुभएको छ। किन? किनभने प्रचारकार्यद्वारा तपाईं यहोवाको चेताउनी घोषणा गर्दै हुनुहुन्छ र येशूले आफ्ना अनुयायीहरूलाई दिनुभएको आदेश पूरा गर्नुहुँदैछ।—मत्ती २४:१४; २८:१९, २०.
परमेश्वरका अगमवक्ताहरूलाई बेवास्ता गर्दा
५. (क) हबकूकको समयमा यहूदामा कस्तो अवस्था व्याप्त थियो र मानिसहरूले तिनको भविष्यसूचक चेताउनी सुनेर कस्तो प्रतिक्रिया देखाए? (ख) यहोवाका अगमवक्ताहरूसित यहूदाका मानिसहरूले कस्तो दुर्व्यवहार गरे?
५ जलप्रलय भएको शतकौंपछि यहूदा राज्यले गम्भीर समस्याको सामना गर्नुपऱ्यो। मूर्तिपूजा, अन्याय, थिचोमिचो र हत्या त सामान्य घटना हुनथाल्यो। यहोवाले हबकूक अगमवक्तालाई खडा गर्नुभयो र पश्चात्ताप नगरेमा कल्दी वा बेबिलोनीहरूको हातबाट विनाश हुनुपर्ने चेताउनी दिनुभयो। (हबकूक १:५-७) तर मानिसहरूले सुन्न चाहेनन्। तिनीहरूले सायद यस्तो तर्क गरे होलान्: ‘सयौं वर्षअघि यशैया अगमवक्ताले पनि यस्तै चेताउनी दिएका थिए। खै त, के भयो र?’ (यशैया ३९:६, ७) यहूदाका थुप्रै हर्ताकर्ताहरूले यो सन्देशप्रति भावशून्यता मात्र व्यक्त गरेनन् सन्देशवाहकहरूसित समेत दुर्व्यवहार गरे। एकपटक त तिनीहरूले यर्मिया अगमवक्तालाई मार्न खोजे। अहीकामले हस्तक्षेप नगरेका भए तिनीहरू सफल पनि हुन्थे होलान्। तर त्यसपछि अर्को भविष्यसूचक सन्देश सुन्नुपर्दा क्रोधित भएका राजा यहोयाकीमले ऊरियाह अगमवक्तालाई मार्न लगाए।—यर्मिया २६ :२१-२४.
६. यहोवाले हबकूकलाई कसरी सुदृढ पार्नुभयो?
६ ईश्वरीय प्रेरणा पाएर यहूदाको ७० वर्षसम्म हुने विनाशको भविष्यवाणी गर्ने हबकूकको सन्देश पनि यर्मियाको जत्तिकै सशक्त तथा अलोकप्रिय थियो। (यर्मिया २५:८-११) त्यसकारण, हामी हबकूक यसरी व्याकुल हुनुको कारण बुझ्नसक्छौं: “हे परमप्रभु, कहिलेसम्म तपाईं मेरो दोहाई सुन्नुहुन्न? उपद्रवको कारणले गर्दा म तपाईंमा पुकारा गर्दछु, औ तपाईं उद्धार गर्नुहुन्न।” (हबकूक १:२) यहोवाले यी दयालु वचनहरूद्वारा हबकूकको विश्वासलाई दह्रो पार्नुभयो: “त्यो दर्शन ठहराएको समयमा पूरा हुनेछ, त्यो पूरा हुने बेला चाँड़ै आउँदैछ, त्यसले धोका दिंदैन। त्यो पूरा हुनु ढीलो भए तापनि त्यसको बाटो हेर्दै बस्, किनभने त्यो निश्चय पूरा हुनेछ, त्यसले ढीलो गर्नेछैन।” (हबकूक २:३) अतः, अन्याय तथा शोषण अन्त गर्ने यहोवाको “ठहराएको समय” थियो। ढिलो भएजस्तो देखिए तापनि हबकूक निरुत्साही हुने र सुस्ताउने आवश्यक थिएन। बरु, हरेक दिन सतर्क रहँदै “त्यसको बाटो हेर्दै” बस्नुपर्थ्यो। यहोवाको दिनले ढिलो गर्ने थिएन!
७. सा.यु. प्रथम शताब्दीमा यरूशलेम शहरलाई विनाशको निम्ति फेरि किन छुट्ट्याइयो?
७ यहोवाले हबकूकसित कुरा गर्नुभएको करिब २० वर्षपछि यहूदाको राजधानी यरूशलेम विनाश भयो। पछि यरूशलेम पुनर्स्थापित भयो र हबकूकलाई व्याकुल बनाएका थुप्रै गल्तीहरू सुधारियो। तथापि, सा.यु. प्रथम शताब्दीमा अविश्वासी शहरबासीहरूको कारण उक्त शहर विनाशको निम्ति फेरि छुट्ट्याइयो। तथापि, दयालु हुनुहुँदै यहोवाले सोझो हृदय भएकाहरूलाई जोगाउने प्रबन्ध मिलाउनुभयो। यस पटक उहाँले महान् अगमवक्ता अर्थात् येशू ख्रीष्टलाई सन्देश घोषणा गर्न लगाउनुभयो। सा.यु. ३३ मा येशूले आफ्ना अनुयायीहरूलाई भन्नुभयो: “जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब त्यसको विनाश नजीकै आइपुगेछ भनेर जान। तब यहूदियामा हुनेहरू डाँड़ाहरूतिर भागून्। औ शहरभित्र हुनेहरू निस्किजाऊन्, र गाउँमा हुनेहरू त्यहाँभित्र नपसून्।”—लूका २१:२०, २१.
८. (क) येशूको मृत्युपछि समयको दौडान केही मसीहीहरूलाई के भएको हुनसक्छ? (ख) यरूशलेमबारे येशूले गर्नुभएको भविष्यवाणी कसरी पूरा भयो?
८ वर्षौंको दौडान यरूशलेमका केही मसीहीहरूले येशूको भविष्यवाणी कहिले पूरा हुने होला भनेर सोच्दै बसे होलान्। आखिर, यसैको खातिर कसै कसैले निसंकोच गरेका त्यागहरू विचार गर्नुहोस् त। जागा रहने दृढ निश्चय गरेर तिनीहरूले फाइदाजनक व्यापार गर्ने प्रस्तावलाई अस्वीकार गरेका थिए होलान्। समय बित्दै जाँदा के तिनीहरू थकित भएनन् होला? येशूका शब्दहरू आफूलाई होइन तर पछि आउने सन्ततिहरूका लागि हुन् भन्ने तर्क गर्दै के तिनीहरूले यसलाई समयको बरबादी ठाने? सा.यु. ६६ मा रोमी सेनाले यरूशलेमलाई घेरा हाल्दा येशूको भविष्यवाणी सुरु भयो। जागा रहनेहरूले उक्त चिह्न चिने, शहरबाट भागे र यरूशलेमको विनाशबाट जोगिए।
जागा रहनुपर्ने आवश्यकता बुझाउन उखानको प्रयोग
९, १०. (क) बिहे गरेर फर्कन लागेका मालिकलाई पर्खिरहेका दासहरूबारे येशूले दिनुभएको उखानको सार बताउनुहोस्। (ख) मालिकलाई पर्खन दासहरूलाई किन गाह्रो भएको हुनसक्छ? (ग) धीरजी हुनु दासहरूको निम्ति किन लाभदायी थियो?
९ जागा रहनुपर्ने आवश्यकतालाई बुझाउन येशूले आफ्ना चेलाहरूलाई बिहे गरेर फर्कन लागेका आफ्ना मालिकलाई पर्खने दासहरूसित तुलना गर्नुभयो। तिनीहरूलाई उहाँ कुन रात फर्कनुहुन्छ भनेर थाह थियो तर रातको पहिलो? दोस्रो? वा तेस्रो? कुन पहरमा कतिखेर फर्कनुहुन्छ भनेर थाह थिएन। येशूले भन्नुभयो: “यदि [मालिक] रातको दोस्रो पहर र तेस्रो पहरमा आएर पनि तिनीहरूलाई जागै भेट्टाए भने, ती नोकरहरू धन्यका हुन्।” (लूका १२:३५-३८) यी दासहरू कत्ति उत्सुक थिए होलान् कल्पना गर्नुहोस् त। खित्रिक्क आवाज आउँदासमेत ‘मालिक आइपुग्नु भएको हो कि’ भनेर तिनीहरू पक्कै पनि औधी उत्सुक भएका हुनुपर्छ।
१० मालिक रातको दोस्रो पहरमा अर्थात् नौ बजेदेखि मध्य रातसम्ममा आएको भए? बिहानदेखि कडा परिश्रम गर्ने दासहरूलगायत जम्मै दासहरू तिनलाई स्वागत गर्न तयार हुने थिए वा मस्त निद्रामा हुन्थे? मालिक रातको तेस्रो पहर अर्थात् मध्य रातदेखि बिहान तीन बजेसम्ममा फर्के भने नि? के केही दासहरू निरुत्साही भएर मालिक आउन ढिलो गरेको देखेर ठुस्किने थिए? a यद्यपि, मालिक आउँदा जागा भइरहनेहरू मात्र धन्यका कहलिने थिए। तिनीहरूमाथि हितोपदेश १३:१२ पक्कै पनि लागू हुन्छ: “आशा साकार नहुँदा मन मर्छ, तर इच्छा पूर्ण हुनुनै जीवनको सहारा हो।”
११. हामीलाई जागा रहन प्रार्थनाले कसरी मदत गर्छ?
११ ढिलो भएजस्तो देखिएको समयमा येशूका अनुयायीहरूलाई जागा रहन के ले मदत गर्ने थियो? पक्राउ पर्नुभन्दा केही बेरअघि गेतसमनीको बगैंचामा येशूले आफ्ना तीन प्रेरितहरूलाई यसो भन्नुभयो: “जागा रह, र प्रार्थना गर, र परीक्षामा नपर।” (मत्ती २६:४१) यस अवसरमा उपस्थित पत्रुसले वर्षौंपछि सँगी मसीहीहरूलाई यस्तै सल्लाह दिए। तिनले लेखे: “सबै कुराको अन्त नजीकै आएको छ। यसकारण शुद्ध मनको भएर प्रार्थनामा सचेत रहो।” (१ पत्रुस ४:७) स्पष्ट छ, खुरन्धार प्रार्थना हाम्रो मसीही गतिविधिको अभिन्न अंग हुनुपर्छ। वास्तवमा, हामीले यहोवासित हामीलाई निरन्तर जागा रहन मदत गर्नुहोस् भनेर बिन्ती गर्नु आवश्यक छ।—रोमी १२:१२; १ थिस्सलोनिकी ५:१७.
१२. लख काट्नु र बाटो हेर्दै बस्नुबीच के भिन्नता छ?
१२ पत्रुसले यसो पनि भनेको याद गर्नुहोस्: “सबै कुराको अन्त नजीकै आएको छ।” तर कति नजिक? मानवजातिमध्ये कसैले कुनै पनि हालतमा निश्चित समय र घडी तोक्नसक्दैन। (मत्ती २४:३६) तर अन्त यत्तिखेर वा उत्तिखेर आउँछ भन्दै लख काट्नु र त्यसको बाटो हेर्दै प्रतीक्षा गरी बस्नुबीच भिन्नता छ। बाइबलले अन्तबारे लख काट्न प्रोत्साहन दिंदैन बरु, त्यसको बाटो हेर्दै बस्नचाहिं प्रोत्साहन दिन्छ। (२ तिमोथी ४:३, ४; तीतस ३:९) अन्तको बाटो हेर्दै बस्ने एउटा तरिका के हो? अन्त नजिकै छ भन्ने प्रमाणलाई उत्कट ध्यान दिएर। त्यसकारण, आउनुहोस्, हामी यस अभक्त संसारको आखिरी दिनमा बाँचिरहेका छौं भन्ने छवटा प्रमाणहरू पुनरावलोकन गरौं।
छवटा मनासिब कारणहरू
१३. दोस्रो तिमोथी अध्याय ३ मा लिपिबद्ध पावलका भविष्यवाणीले हामी “आखिरी दिनमा” छौं भनेर तपाईंलाई कसरी विश्वस्त गराउँछ?
१३ सर्वप्रथम, प्रेरित पावलले “आखिरी दिन[ बारे]” गरेका भविष्यवाणीहरू पूरा भइरहेको हामीले प्रस्टै देखेका छौं। पावलले लेखे: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्वासघाती, उत्ताउला, दिमागी, परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने, भक्तिको भेष चाहिं लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्, यिनीहरूबाट पनि पर बस। तर खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन् झन् खराब हुँदै जानेछन्।” (२ तिमोथी ३:१-५, १३) के हामीले आज यो भविष्यवाणी पूरा भइरहेको देखेका छैनौं र? तथ्य कुरा बेवास्ता गर्नेले मात्र छैन भन्नसक्छ! b
१४. दियाबलको सम्बन्धमा प्रकाश १२:९ आज कसरी पूरा भइरहेको छ र चाँडै त्यसलाई के हुनेछ?
१४ दोस्रो, प्रकाश १२:९ अनुसार शैतान र त्यसका प्रेतहरू स्वर्गबाट निकालिएको परिणामस्वरूप भइरहेका घटनाहरू देखेका छौं। त्यहाँ हामी यसो लेखिएको पाउँछौं: “त्यो अजीङ्गरजस्तै पशु तल फ्याँकियो त्यो वृद्ध साँप, दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने, पृथ्वीतलमा फ्याँकियो, र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।” यसले गर्दा पृथ्वीमा घोर विपत्ति आइपरेको छ। हुन पनि मानिसजातिले विशेष गरी १९१४ देखि थुप्रै विपत्तिहरू भोग्नुपरेको छ। प्रकाशको भविष्यवाणीले दियाबल पृथ्वीतलमा फ्याकिंदा त्यसलाई “आफ्नो अल्प समय थाह” छ भनेर पनि बताएको छ। (प्रकाश १२:१२) यतिखेर शैतानले ठूलो क्रोधसित ख्रीष्टका अभिषिक्त अनुयायीहरूसँग युद्ध गर्छ। (प्रकाश १२:१७) हामीले पक्कै पनि यस आक्रमणको परिणाम आज देखिरहेका छौं। c तथापि, शैतानले “जाति जातिलाई फेरि नठगोस् भनेर” चाँडै त्यसलाई अगाध खाँदमा फालिनेछ।—प्रकाश २०:१-३.
१५. प्रकाश १७:९-११ ले हामी आखिरी दिनमा बाँचिरहेका छौं भनी के प्रमाण दिन्छ?
१५ तेस्रो, हामी प्रकाश १७:९-११ मा लिपिबद्ध भविष्यवाणीमा उल्लिखित आठौं तथा अन्तिम “राजा[को]” समयमा बाँचिरहेका छौं। यहाँ प्रेरित यूहन्ना सात विश्व शक्तिलाई चित्रित गर्ने सात राजाहरू—मिस्र, अश्शूर, बेबिलोन, मादी-फारसी, युनान, रोम र एंग्लो-अमेरिकी द्वय विश्व शक्तिहरूको उल्लेख गर्छन्। तिनी “सातमध्येबाट निस्केको” “आठौं[लाई]” पनि देख्छन्। यूहन्नाले दर्शनमा अन्तमा देखेको त्यो आठौं राजाले अहिले संयुक्त राष्ट्र संघको प्रतिनिधित्व गर्छ। यूहन्ना यो आठौं राजा “सत्यानाशमा जानेछ” भन्छन् अनि त्यसपछि देखापर्ने पार्थिव राजाहरूबारे कुनै उल्लेख गरिएको छैन। d
१६. नबूकदनेसरको सपनाको मूर्तिसित सम्बन्धित पूरा भएका तथ्यहरूले हामी आखिरी दिनमा बाँचिरहेका छौं भनी कसरी संकेत गर्छ?
१६ चौथो, हामी नबूकदनेसरले सपनामा देखेको मूर्तिको पाउले संकेत गरिरहेको समयमा बाँचिरहेका छौं। अगमवक्ता दानियलले नबूकदनेसरले सपनामा देखेको मानव आकारको रहस्यमयी विशाल मूर्तिको अर्थ खुलाए। (दानियल २:३६-४३) चार विभिन्न धातुले बनेको टाउकोदेखि (बेबिलोनी साम्राज्य) खुट्टा र औंलाहरू जस्ता अंगहरूले (आज शासन गरिरहेका सरकारहरू) भिन्नाभिन्नै विश्व शक्तिहरूको चित्रण गर्छ। त्यस मूर्तिले प्रतिनिधित्व गरेको सम्पूर्ण विश्व शक्तिहरू देखा परिसके। हामी मूर्तिको पैतालाले चित्रित गर्ने समयमा बाँचिरहेका छौं। त्यसपछि कुन शक्ति आउनेछ, त्यसबारे केही उल्लेख गरिएको छैन। e
१७. हाम्रो राज्य प्रचारकार्यले हामी आखिरी दिनमा बाँचिरहेका छौं भन्ने थप प्रमाण कसरी दिन्छ?
१७ पाँचौं, यस रीतिरिवाजको अन्त हुनुअघि हुनेछ भनी येशूले भन्नुभएको विश्वव्यापी प्रचार कार्य भइरहेको पनि हामीले देखेका छौं। येशूले भन्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) आज यो भविष्यवाणी विस्तृत तवरमा पूरा भइरहेको छ। आजभन्दा पहिले कहिल्यै यस्तो भएको थिएन। हो, पुगी नसकिएका इलाकाहरू नभएका होइनन् र हुनसक्छ यहोवाको तोकिएको समयमा ठूलो अभिप्राय पूरा गर्ने विशाल ढोका खोलिनेछ। (१ कोरिन्थी १६:९) तैपनि, पृथ्वीका प्रत्येक व्यक्तिले व्यक्तिगत तवरमा साक्षी नपाउञ्जेल यहोवाले पर्खिनुहुनेछ भनेर बाइबलले बताएको छैन। बरु, यहोवा सन्तुष्ट नहोउञ्जेल सुसमाचार प्रचार गरिनेछ। त्यसपछि अन्त आउनेछ।—मत्ती १०:२३ तुलना गर्नुहोस्।
१८. महासंकष्ट सुरु हुँदा केही अभिषिक्त जनहरूबारे कुन कुरा सही साबित हुनेछ र त्यसै हुन्छ भनेर कसरी पक्का हुनसकिन्छ?
१८ छैटौं, येशूका साँचो अभिषिक्त चेलाहरूको संख्या धमाधम घट्दै गएको छ, यद्यपि, स्पष्टतया महासंकष्ट सुरु हुँदा तिनीहरूमध्ये कोही कोही पक्कै पनि यस पृथ्वीमा रहिरहनेछन्। अधिकांश शेष जनहरू निकै वृद्ध भइसकेका छन् र वर्षौंको क्रममा साँच्चै अभिषिक्त भएकाहरूको संख्या झन् झन् कम हुँदै गइरहेको छ। तैपनि, महासंकष्टलाई संकेत गर्दै येशूले यसो भन्नुभयो: “ती दिन नघटाइएका भए कोही देहधारी बाँच्नसक्ने थिएन तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्।” (मत्ती २४:२१, २२) स्पष्टतया, त्यसो भए, महासंकष्ट सुरु हुँदा ख्रीष्टका केही “चुनिएकाहरू” यसै पृथ्वीमा रहिरहनेछन्। f
अब के हुन्छ?
१९, २०. पहिलेको तुलनामा अहिले हामी सतर्क हुन र जागा रहन किन यत्तिबिघ्न जरुरी भएको छ?
१९ हाम्रो भविष्य कस्तो छ? रोमाञ्चकारी समय आउन त बाँकी नै छ। “प्रभुको दिन ता रातमा चोर आएझैं आउनेछ” पावलले चेताउनी दिए। संसारमा बुद्धिजीवी देखिएकाहरूलाई संकेत गर्दै तिनी भन्छन्: “जब मानिसहरूले शान्ति र सुरक्षित भनिरहेका हुन्छन्, तब . . . अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ।” त्यसकारण, पावल आफ्ना पाठकहरूलाई “अरूहरूझैं हामी नसुतौं, तर जागा रहौं र होशियार होऔं” भनी आग्रह गर्छन्। (१ थिस्सलोनिकी ५:२, ३, ६) साँच्चै, शान्ति र सुरक्षाका लागि मानव संस्थाहरूमा भर गर्नेहरूले वास्तविकतालाई इन्कार गरिरहेका छन्। तिनीहरू त मस्त निद्रामा छन्!
२० यस रीतिरिवाजको अन्त अचानक सबैले देख्ने गरी आउनेछ। त्यसैले, यहोवाको दिनको बाटो हेर्दै बसौं। परमेश्वर आफैले हबकूकलाई यसो भन्नुभयो: “त्यसले ढीलो गर्नेछैन”! हो, वास्तवमा आज जत्ति पहिले कहिल्यै यत्तिबिघ्न जागा रहनुपर्ने आवश्यकता परेको थिएन।
[फुटनोटहरू]
a मालिकले दासलाई आफू फर्कने निश्चित समय बताएका थिएनन्। त्यसकारण, तिनी ढिलो, चाँडो जुनसुकै बेला पनि आउनसक्थे र ढिलो हुँदैमा स्पष्टीकरण दिनुपर्ने आवश्यकता थिएन।
b यस भविष्यवाणीबारे थप जानकारी चाहिएमा वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकको अध्याय ११ हेर्नुहोस्।
c थप जानकारीका लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकको पृष्ठ १८०-६ हेर्नुहोस्।
d प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकको पृष्ठ २५१-४ हेर्नुहोस्।
e वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्! पुस्तकको अध्याय ४ हेर्नुहोस्।
f भेडा र बाख्राको उखानअनुसार मानिसको पुत्र महासंकष्ट भइरहेको बेला आफ्नो महिमामा आउनुहुनेछ र न्याय गर्न बस्नुहुनेछ। मानिसहरूले ख्रीष्टका अभिषिक्त भाइहरूलाई समर्थन गरे नगरेको आधारमा उहाँले उनीहरूको न्याय गर्नुहुनेछ। न्याय गर्ने त्यस समयमा ख्रीष्टका जम्मै भाइहरूले पृथ्वी छोडेको निकै भइसकेको हुनेभए, न्याय गर्ने यो आधार नै अर्थहीन हुनेछ।—मत्ती २५:३१-४६.
के तपाईंलाई सम्झना छ?
• कुन कुन धर्मशास्त्रीय उदाहरणहरूले हामीलाई जागा रहन मदत गर्नसक्छन्?
• जागा रहनुपर्ने आवश्यकतालाई येशूले कसरी उखानद्वारा बुझाउनुभयो?
• हामी आखिरी दिनमा बाँचिरहेका छौं भनी कुन छवटा प्रमाणहरूले प्रमाणित गर्छन्?
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ ९-मा भएका चित्रहरू]
ए. एच. म्याकमिलनले यहोवाको सेवामा झन्डै छ दशक बिताए
[पृष्ठ १०-मा भएको चित्र]
येशूले आफ्ना चेलाहरूलाई जागा रहने दासहरूसित तुलना गर्नुभयो