सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उद्धार गर्नुहुने परमेश्‍वरमा रमाहट

उद्धार गर्नुहुने परमेश्‍वरमा रमाहट

उद्धार गर्नुहुने परमेश्‍वरमा रमाहट

“म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्‍वरमा रमाउनेछु।”—हबकूक ३:१८.

१. सा.यु.पू. ५३९ मा बेबिलोनको पतनअघि दानियलले कस्तो दर्शन देखे?

 सामान्य युग पूर्व ५३९ मा बेबिलोनको पतन हुनुभन्दा एक दशकअघि वृद्ध दानियलले एउटा रोमाञ्चकारी दर्शन देखे। यसले यहोवाका शत्रुहरू अनि उहाँको अभिषिक्‍त राजा येशू ख्रीष्टबीच हुने चरमोत्कर्षक युद्धसम्म पुऱ्‍याउने घटनाहरूको भविष्यवाणी गऱ्‍यो। दानियलको प्रतिक्रिया कस्तो थियो? तिनले भने: “म, . . . अति थकित भएँ र . . . दर्शनको कारण म व्याकुल भएँ।”—दानियल ८:२७.

२. दानियलले दर्शनमा कस्तो द्वन्द्व देखे र यो नजिकै आइपुगेको छ भन्‍ने जान्‍न पाएर तपाईंलाई कस्तो लाग्यो?

अनि हामी नि? समयको दौडमा हामी निकै अघि पुगिसक्यौं! दानियलले देखेको द्वन्द्व अर्थात्‌ परमेश्‍वरको आरमागेडोनको युद्ध असाध्यै नजिक छ भनेर थाह पाउँदा हामी कस्तो प्रतिक्रिया व्यक्‍त गर्छौं? हबकूकको दर्शनमा पर्दाफास गरिएको दुष्टता अति व्याप्त भएकोले परमेश्‍वरको शत्रुहरूको विनाश अवश्‍य हुनेछ भनी थाह पाएपछि हामी कस्तो जवाफ दिन्छौं? स्पष्ट छ, हाम्रा भावनाहरू पनि हबकूकको यस भविष्यसूचक वचनको तेस्रो अध्यायमा वर्णन गरिएझैं हुनेछ।

हबकूक यहोवाको दयाका लागि प्रार्थना गर्छन्‌

३. हबकूकले कसको तर्फबाट प्रार्थना गर्दै थिए र तिनका शब्दहरूले हामीलाई कसरी असर गर्नसक्छ?

हबकूक अध्याय ३ एउटा प्रार्थना हो। पद १ अनुसार यो शोकगीत अर्थात्‌ विलापको गीत हो। अगमवक्‍ताको यो प्रार्थना मानौं आफ्नै निम्ति गरिएको जस्तै देखिन्छ। तथापि, हबकूक परमेश्‍वरको छानिएको जातिको तर्फबाट बोल्दै थिए। आज, तिनको प्रार्थनाले परमेश्‍वरको राज्यप्रचार कार्यमा भाग लिने परमेश्‍वरका जनहरूका लागि ठूलो अर्थ राख्छ। यसैलाई ध्यानमा राख्दै हबकूक अध्याय ३ पढ्‌दा त्यसका शब्दहरूले हामीलाई अनिष्टकारी सूचना मात्र दिने होइन आनन्दित हुने कारण पनि दिन्छ। हबकूकको प्रार्थना वा शोकगीतले हामीलाई हाम्रो उद्धार गर्नुहुने परमेश्‍वर यहोवामा आनन्दित हुने सशक्‍त कारण दिन्छ।

४. हबकूक किन डराए र परमेश्‍वरको शक्‍तिको कस्तो प्रयोग हुनेछ भनी हामी ढुक्क हुनसक्छौं?

हबकूकको समयमा यहूदाको अवस्था निकै नराम्रो थियो भनेर यसअघिका दुइटा लेखहरूबाट थाह पाइसक्यौं। तर परमेश्‍वरले यस्तो अवस्थालाई कायमै रहन दिनुहुने थिएन। यहोवाले बिगतमा जस्तै केही कदम चाल्नु हुनेथियो। तसर्थ, हबकूक अगमवक्‍ता यसरी चिच्याउनु स्वाभाविकै देखिन्छ: “हे परमप्रभु, मैले तपाईंको कीर्ति सुनें र म डराएँ।” तिनले के भन्‍न खोजिरहेका थिए? लाल समुद्र, उजाडस्थान तथा यरीहोमा गर्नुभएका उदेकलाग्दा कार्यहरू ‘यहोवाको कीर्ति’ हुन्‌। हबकूकलाई यी कार्यहरू राम्ररी थाह थियो र ती कार्यहरूले गर्दा तिनी डराए किनकि यहोवाले शत्रुहरूमाथि आफ्नो अथाह शक्‍ति फेरि प्रयोग गर्नुहुनेछ भनी तिनलाई राम्ररी थाह थियो। आज मानिसजातिको दुष्टता देख्दा यहोवाले पुरातन समयमा जस्तै फेरि केही गर्नुहुनेछ भनी हामी बुझ्छौं। के यसले गर्दा हामी डराउँछौं? पक्कै डराउँछौं! तथापि, हामी हबकूकले जस्तै प्रार्थना गर्छौं: “हे परमप्रभु, यस समयमानै आफ्नो कामलाई फेरि नयाँ तुल्याउनुहोस्‌, यस समयमानै त्यो प्रकट गर्नुहोस्‌, क्रोधमा पनि दयाको सम्झना होस्‌।” (हबकूक ३:२) आफ्नो “समयमानै” परमेश्‍वरले आफ्नो चमत्कारी शक्‍ति प्रयोग गरून्‌। अनि त्यतिखेर उहाँले उहाँलाई प्रेम गर्नेहरूलाई सम्झून्‌!

यहोवा यात्रामा !

५. “परमेश्‍वर तेमानबाट” कसरी ‘आउनुहुन्छ’ र आरमागेडोनबारे यसले के संकेत गर्छ?

दयाको निम्ति हामीले गरेको प्रार्थना यहोवाले सुन्‍नुहुँदा के हुनेछ? हामी यसको जवाफ हबकूक ३:३, ४ मा पाउँछौं। सर्वप्रथम अगमवक्‍ता भन्छन्‌: “परमेश्‍वर तेमानबाट आउनुभयो, पवित्र परमप्रभु पारान पर्वतबाट।” मोशाको समयमा तेमान र पारान उजाडस्थान हुँदै कनानतिर जाने इस्राएलीहरूको बाटोमा पर्थ्यो। इस्राएल राष्ट्रको ठूलो जमात पैदल यात्रामा निस्कँदा यहोवा आफै पनि तिनीहरूसित हिंडिरहनुभएको जस्तै लाग्थ्यो र उहाँलाई कुनै पनि कुराले रोक्न सक्दैनथ्यो। आफ्नो मृत्यु हुनु केही समयअघि मोशाले भने: “परमप्रभु सीनैबाट आउनुभयो औ सेईरबाट हामीकहाँ उदय हुनुभयो। उहाँ पारान डाँड़ाबाट चम्कनुभयो औ लाखौं [स्वर्गदूतहरू] पवित्र जनबाट आउनुभयो।” (व्यवस्था ३३:२) आरमागेडोनमा आफ्नो शत्रुहरू विरुद्ध उठ्‌नुहुँदा यहोवाको यस्तै शक्‍ति प्रकट हुनेछ जसको कसैले विरोध गर्न सक्नेछैन।

६. परमेश्‍वरको महिमाको अतिरिक्‍त बुद्धिमान्‌ मसीहीहरूले के देख्छन्‌?

हबकूक यसो पनि भन्छन्‌: “[यहोवाको] महिमाले स्वर्ग ढाक्यो, औ पृथ्वी उहाँको प्रशंसाले भरियो। उहाँको प्रकाश ज्योतिझैं थियो, उहाँको हातबाट किरणहरू चम्की निस्के, औ उहाँको शक्‍ति त्यहाँ लुकेको थियो।” कत्रो रौनक! हो, यहोवा परमेश्‍वरलाई हेरेर मानिस जीवित रहन सक्दैन। (प्रस्थान ३३:२०) तथापि, परमेश्‍वरको विश्‍वासी दासहरूको सम्बन्धमा भन्‍ने हो भने, उहाँको रौनक विचार गर्दा तिनीहरूको हृदयको आँखा तिरमिराउँछ। (एफिसी १:१८) अनि बुद्धिमान्‌ मसीहीहरूले यहोवाको महिमाको अतिरिक्‍त अर्को कुरा पनि देख्छन्‌। हबकूक ३:४ अन्तमा यसो भन्छ: “उहाँको प्रकाश ज्योतिझैं थियो, उहाँको हातबाट किरणहरू चम्की निस्के, औ उहाँको शक्‍ति त्यहाँ लुकेको थियो।” हो, यहोवा बल अनि शक्‍तिको दायाँ हात प्रयोग गर्न तयार हुनु भएको हामीले देख्छौं।

७. परमेश्‍वरको विद्रोह गर्नेहरूका लागि उहाँको विजय यात्राको अर्थ के हो?

परमेश्‍वरको विजय यात्राको अर्थ उहाँको विद्रोह गर्नेहरूको विनाश हो। हबकूक ३:५ यसो भन्छ: “उहाँको अगि रूढ़ी फैलिंदै गयो, औ महामारी पछि पछि लाग्यो।” सा.यु.पू. १४७३ मा इस्राएलीहरू प्रतिज्ञा गरिएको देशको सीमा क्षेत्रमा पुग्नै लागेको बेला तिनीहरूमध्ये थुप्रैले यौन अनैतिकता र मूर्तिपूजामा लागेर विद्रोह गरे। फलतः, परमेश्‍वरले पठाउनुभएको रूढीले गर्दा २०,००० भन्दा बढी मानिसहरू मरे। (गन्ती २५:१-९) निकट भविष्यमा “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लड़ाइँ[मा]” निस्कनुहुँदा यहोवाले आफ्ना विद्रोहीहरूलाई तिनीहरूको आ-आफ्नो पापको यस्तै दण्ड दिनुहुनेछ। कोही कोही त साँच्चै महामारीको सिकार भएरै मर्नेछन्‌।—प्रकाश १६:१४, १६.

८. हबकूक ३:६ अनुसार परमेश्‍वरका शत्रुहरूका लागि के साँचेर राखिएको छ?

अब यहोवाको सेनाको सक्रिय गतिविधिबारे अगमवक्‍ताको सजिव वर्णन सुन्‍नुहोस्‌। हबकूक ३:६ मा हामी यस्तो पढ्‌छौं: “खड़ा भएर उहाँले [यहोवा परमेश्‍वरले] पृथ्वीलाई नाप्नुभयो, उहाँले हेर्नुभयो, र जाति जातिहरूलाई तितर–बितर पार्नुभयो, र सनातनका पर्वतहरू छरपस्ट भए, ती अनन्तका डाँड़ाहरू नुहे। उहाँको चाल अनादिकोझैं थियो।” सबैभन्दा पहिला, यहोवा रणभूमि निरीक्षण गर्ने रथीजस्तै ‘खडा हुनुहुन्छ।’ उहाँका शत्रुहरू डरले थरथर हुन्छन्‌। तिनीहरू आफ्नो विपक्षीलाई देख्छन्‌ अनि स्तब्ध हुन्छन्‌ र डरले थरथर काम्छन्‌। “पृथ्वीका सब जातिहरू विलाप गर्ने” समय आउनेछ भनी येशूले भविष्यवाणी गर्नुभएको थियो। (मत्ती २४:३०) यहोवाको विरुद्ध कोही खडा हुनसक्दैन भनी तिनीहरूले थाह पाउँदा धेरै ढिलो भइसकेको हुनेछ। “सनातनका पर्वतहरू” र “अनन्तका डाँड़ाहरू” जस्तै स्थिर देखिएका मानव संगठनहरू धराशायी हुनेछन्‌। त्यसपछि परमेश्‍वरको “चाल अनादिकोझैं” हुनेछ।

९, १०. हबकूक ३:७-११ ले हामीलाई कुन कुन कुरा स्मरण गराउँछ?

यहोवा आफ्ना दुस्मनहरूसित ‘क्रोधित’ हुनुभएको छ। तर उहाँले आफ्नो महायुद्धको दिनमा कस्ता हतियारहरू प्रयोग गर्नुहुनेछ? अगमवक्‍ताले त्यसबारे वर्णन गरेको कुरा सुन्‍नुहोस्‌: “तपाईंले आफ्नो धनु निकाल्नुभयो, कुलहरूसँग गरेको शपथ, तपाईंको वचन, पक्का थियो। तपाईंले पृथ्वीलाई नदीहरूले चिर्नुभयो। पर्वतहरू तपाईंलाई देखेर डराए। समुद्रमा आँधी–बेह्री चले, अथाह समुद्रले आफ्नो सोर उचाल्यो, र आफ्नो हात उँभोतिर उठायो। तपाईंका काँड़हरू वेगसित जाँदा, तिनको ज्योतिको कारणले गर्दा, र तपाईंका चम्कने भालाको चमकको कारणले गर्दा, सूर्य र चन्द्र आफ्नो आफ्नै ठाउँमा टक्क अड़िए।”—हबकूक ३:७ -११.

१० यहोशूको समयमा यहोवाले सूर्य अनि चन्द्रलाई स्थिर गराउनुभएर उदेकको शक्‍ति प्रदर्शन गर्नुभयो। (यहोशू १०:१२-१४) यहोवाले आरमागेडोनमा यस्तै शक्‍ति प्रयोग गर्नुहुनेछ भनी हबकूकको अगमवाणीले हामीलाई स्मरण गराउँछ। सा.यु.पू. १५१३ मा फिरऊनका सेनालाई लाल समुद्रमा डुबाउनु भएर नाश गर्नुहुँदा यहोवाले पृथ्वीका अथाह समुद्रमाथि आफ्नो प्रभुत्व प्रकट गर्नुभयो। चालीस वर्षपछि बाढीले उर्लेको यर्दन नदीले प्रतिज्ञा गरिएको देशमाथि विजयी हुन निस्केका इस्राएलीहरूलाई रोक्न सकेन। (यहोशू ३:१५-१७) अगमवादिनी डेबोराको समयमा इस्राएलका शत्रु सीसराको रथलाई मुसलधारे वर्षाले बगायो। (न्यायकर्त्ता ५:२१) यी बाढी, मुसलधार वर्षा र अथाह समुद्र आरमागेडोनमा यहोवाको वशमा हुनेछन्‌। गर्जन अनि चट्याङ पनि उहाँको हातमा भाला र काँडझैं हुनेछन्‌।

११. यहोवाले आफ्नो अथाह शक्‍ति प्रकट गर्नुहुँदा के हुनेछ?

११ यहोवाले आफ्नो अथाह शक्‍ति प्रकट गर्नुहुँदा त्यो साँच्चै भयावह हुनेछ। हबकूकका शब्दहरूले रात दिनमा परिणत हुनेछ र दिन सूर्यभन्दा पनि चहकिलो हुनेछ भनेर बताउँछ। आरमागेडोनको यो प्रेरित भविष्यसूचक विवरण वास्तविक होस्‌ वा लाक्षणिक, एउटा कुरा भने पक्का छ—एउटै पनि शत्रु उम्कनेछैन, यहोवा विजयी हुनुहुनेछ।

परमेश्‍वरका जनहरूको मुक्‍ति निश्‍चित छ

१२. परमेश्‍वरले आफ्ना शत्रुहरूलाई के गर्नुहुनेछ तर को को जोगाइनेछन्‌?

१२ यहोवाले कसरी आफ्ना शत्रुहरूको नाश गर्नुहुन्छ त्यसबारे अगमवक्‍ता अझै वर्णन गर्छन्‌। हबकूक ३:१२ मा हामी यस्तो पढ्‌छौं: “क्रोधमा तपाईं पृथ्वीमा हिंड़नुभयो, तपाईंको रीसमा तपाईंले जाति जातिहरूलाई दाइँ गर्नुभयो।” तथापि, यहोवाले जथाभावी नाश गर्नुहुनेछैन। केही मानिसहरू जोगाइनेछन्‌। हबकूक ३:१३ भन्छ: “आफ्नो प्रजाको उद्धारको लागि तपाईं निस्कनुभयो—आफ्नो अभिषिक्‍त जनको उद्धारको निम्ति।” हो, यहोवाले आफ्ना विश्‍वासी अभिषिक्‍त जनहरूलाई जोगाउनुहुनेछ। त्यसपछि झूटा धर्महरूको विश्‍व साम्राज्य महान्‌ बेबिलोनको विनाश पूर्ण हुनेछ। तथापि, आज राष्ट्रहरूले शुद्ध उपासनालाई मेटाउने कोसिस गरिरहेका छन्‌। चाँडै यहोवाका दासहरूमाथि मागोगको गोगले आक्रमण गर्नेछ। (इजकिएल ३८:१–३९:१३; प्रकाश १७:१-५, १६-१८) के यो शैतानी आक्रमण सफल हुनेछ? अहँ, हुनेछैन! दाइँ गर्न अन्‍न कुल्चिमिल्ची गरेजस्तै यहोवाले क्रोधित हुनुभएर आफ्ना शत्रुहरूलाई दाइँ गर्नुहुनेछ। तर आत्मा र सत्यतामा उहाँको उपासना गर्नेहरूलाई उहाँले जोगाउनुहुनेछ।—यूहन्‍ना ४:२४.

१३. हबकूक ३:१३ कसरी पूरा हुनेछ?

१३ ती दुष्टहरूको सम्पूर्ण विनाश यसरी पूर्ववाणी गरिएको छ: “आफ्नो प्रजाको उद्धारको लागि, आफ्ना अभिषिक्‍त जनलाई बचाउनका निम्ति तपाईं [यहोवा] निस्कनुभयो। दुष्टताको देशको नेतालाई तपाईंले धूलोपीठो पार्नुभयो, त्यसलाई टाउकोदेखि खुट्टैसम्म नाङ्‌गो पार्नुभयो।” (हबकूक ३:१३, नयाँ संशोधित संस्करण) शैतान अर्थात्‌ दियाबलको प्रभावमा फलेफुलेको दुष्ट रीतिरिवाज नै यो “देश” हो। त्यो चक्नाचूर पारिनेछ। त्यसको “नेता” अर्थात्‌ परमेश्‍वर विरोधी नेताहरू किचिमिचि पारिनेछन्‌। सम्पूर्ण संरचनालाई जगसम्मै ध्वंस पारिनेछ। त्यसको कुनै अस्तित्व रहनेछैन। कस्तो उदेकलाग्दो राहत!

१४-१६. हबकूक ३:१४, १५ अनुसार यहोवाका जनहरू र तिनीहरूका शत्रुहरूलाई के हुनेछ?

१४ आरमागेडोनमा यहोवाका “अभिषिक्‍त जनलाई” नाश गर्न खोज्नेहरू गोलमालमा पारिनेछ। हबकूक ३:१४, १५ (नयाँ संशोधित संस्करण) अनुसार अगमवक्‍ता परमेश्‍वरसित यसरी कुरा गर्छन्‌: “लुकिरहेका दुःखितहरूलाई निलौंला भन्‍ने इच्छा लिएर त्यसका योद्धाहरू आँधीझैं हामीलाई तितरबितर पार्नलाई आए, तब तपाईंले त्यसकै भालाले त्यसको शिर छेड्‌नुभयो। तपाईंले ठूला पानीहरूलाई मन्थन गर्दै समुद्रलाई आफ्ना घोडाहरूले कुल्चनुभयो।”

१५ हबकूकले “योद्धाहरू आँधीझैं . . . तितरबितर पार्नलाई आए” भनेर यहोवाका अभिषिक्‍त दासहरूबारे कुरा गरिरहेका हुन्‌। बाटोमा ढुकेर बसिरहेका लुटेराहरूले जस्तै राष्ट्रहरू यहोवाका उपासकहरूलाई नाश गर्न उफ्रँदै आउनेछन्‌। परमेश्‍वर र उहाँका जनहरूका यी शत्रुहरू पक्कै सफलता पाइनेछ भन्ठानेर रमाउँदै आउनेछन्‌। विश्‍वासी मसीहीहरू “दुःखितहरू” जस्तै कमजोर देखा पर्नेछन्‌। तर परमेश्‍वरको विद्रोह गर्ने शक्‍तिहरूले आक्रमण गर्दा यहोवाले तिनीहरूका हातहतियार तिनीहरूकै विरुद्ध प्रयोग गर्नुहुनेछ। तिनीहरूले आ-आफ्ना हातहतियार वा “भाला” आफ्नै योद्धाहरू विरुद्ध प्रयोग गर्नेछन्‌।

१६ तर अझ धेरै कुरा हुन बाँकी नै छ। आफ्ना दुस्मनहरूको पूर्ण विनाश गर्न यहोवाले दैविक आत्मिक शक्‍ति प्रयोग गर्नुहुनेछ। येशू ख्रीष्टको अधीनमा भएका स्वर्गीय सेनाहरूका “घोडाहरू” सहित अघि बढ्‌दै उहाँले “समुद्र” अनि “ठूला पानीहरू” अर्थात्‌ उर्लिएको शत्रु मानवजातिमाथि विजय हासिल गर्नुहुनेछ। (प्रकाश १९:११-२१) त्यसपछि यस पृथ्वीबाट दुष्टहरूलाई हटाइनेछ। ईश्‍वरीय शक्‍ति अनि न्यायको कस्तो सशक्‍त प्रदर्शन!

यहोवाको दिन आउँदैछ!

१७. (क) हामीसित किन हबकूकका शब्दहरू पूरा हुनेछन्‌ भन्‍ने भरोसा छ? (ख) यहोवाको महा दिन पर्खंदा हामी कसरी हबकूकजस्तै हुनसक्छौं?

१७ हबकूकका शब्दहरू चाँडै पूरा हुनेछन्‌ भनेर हामी पक्का हुनसक्छौं। त्यसले ढिलो गर्नेछैन। यो अग्रिम जानकारी पाउनुभएकोमा तपाईंलाई कस्तो लाग्यो? हबकूकले ईश्‍वरीय उत्प्रेरणा पाएर नै ती लेखेका हुन्‌ भनी नबिर्सनुहोस्‌। यहोवाले काम गर्नुहुनेछ र उहाँले काम गर्नुहुँदा यस पृथ्वीमा विध्वंस मच्चिनेछ। त्यसकारण, अगमवक्‍ताले यस्तो लेखेकोमा छक्क पर्नुपर्दैन: “मैले सुनें र मेरो मुटु काम्नलाग्यो, त्यो सोर सुन्दा मेरो ओठ थरथर काम्यो, मेरा हड्डीहरू भित्रभत्रै मक्किए, र म मेरै थलामा कामें। हामीलाई आक्रमण गर्ने जातिमाथि आउने विपत्तिको दिनको निम्ति म चूपचाप पर्खी रहनेछु।” (हबकूक ३:१६) हबकूक असाध्यै विचलित भए जुन स्वाभाविक हो। तर के तिनको विश्‍वास ढलपल भयो? कदापि भएन! तिनी चुपचाप यहोवाको महा दिन पर्खन राजी थिए। (२ पत्रुस ३:११, १२) हाम्रो मनोवृत्ति पनि के यस्तै छैन र? पक्कै छ! हबकूकको भविष्यवाणी पूरा हुनेछ भन्‍ने पूर्ण विश्‍वास हामीले राखेका छौं। तथापि, त्यतिञ्जेल हामी धीरजी भई पर्खनेछौं।

१८. कठिन परिस्थित आउँछ नै भनेर थाह भए तापनि हबकूकको मनोवृत्ति कस्तो थियो?

१८ युद्धमा विजयी हुनेहरूले युद्धले गरेको क्षति भोग्नुपर्छ। अनिकाल पर्नसक्छ। धनसम्पत्तिको विनाश हुनसक्छन्‌। जीवनस्तर खस्कनसक्छ। हामीलाई पनि त्यस्तै भयो भने कस्तो प्रतिक्रिया देखाउनेछौं? हबकूकको मनोवृत्ति उदाहरणीय थियो किनकि तिनले यसो भने: “चाहे नेभाराको रूखमा फूल नफूलोस्‌, औ दाखको बोटमा फल नफलोस्‌, चाहे भद्राक्षको रूखमा फल नलागोस्‌, औ खेतले अन्‍न नउब्जाओस्‌, खोरमा भेड़ा–बाख्रा नष्ट भए पनि गोठमा गाई–वस्तुहरू रहेन भने पनि, म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्‍वरमा रमाउनेछु।” (हबकूक ३:१७, १८) हबकूकले व्यवहारिक भएर कठिन परिस्थिति वा अनिकालको सामना गर्नुपर्ला भन्ठाने। तैपनि, तिनले आफ्नो मुक्‍तिको स्रोत यहोवामाथिको आफ्नो आनन्द गुमाएनन्‌।

१९. थुप्रै मसीहीहरूले कस्तो समस्या भोग्नुपरेको छ तर यहोवालाई जीवनमा प्रथम स्थान दिंदा के हुन्छ भनी पक्का हुनसक्छौं?

१९ दुष्टहरू विरुद्ध यहोवाको युद्ध आउनुअघि आज थुप्रैले घोर क्लेशको सामना गरिरहेका छन्‌। येशूले उहाँ राज्य शक्‍तिमा आउनुभएको बेला युद्ध, अनिकाल, भुइँचालो र रोगविमार ‘उहाँको आगमनको चिह्नको’ भाग हुनेछ भनेर अगमवाणी गर्नुभएको थियो। (मत्ती २४:३-१४; लूका २१:१०, ११) येशूका शब्दहरूको पूर्तिअनुरूप हाम्रा थुप्रै सँगी विश्‍वासीहरूले घोर पीडा भोग्नुपरेको र हन्डर खानुपरेको छ। अन्य मसीहीहरूले भविष्यमा यस्तै अवस्थाको सामना गर्नुपर्ला। अनि हामीमध्ये अरू थुप्रैका लागि अन्त आउनअघि हुनसक्छ ‘नेभाराको रूखमा फूल नफुल्ला।’ तथापि, यी कुराहरू किन भइरहेका छन्‌, हामीलाई थाह छ र त्यसले हामीलाई बल दिएको छ। यस बाहेक, हामीसित समर्थन पनि छ। येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।” (मत्ती ६:३३) यसले समस्यारहित जीवनको ग्यारेन्टी त दिंदैन तर यहोवालाई प्रथम स्थान दियौं भने उहाँले हाम्रो हेरचाह गर्नुहुन्छ भनेरचाहिं आश्‍वासन दिन्छ।—भजन ३७:२५.

२०. केही समय समस्याहरू भोग्नु परे तापनि हामी के गर्न कटिबद्ध हुनुपर्छ?

२० हामीले अस्थायी रूपमा जस्तोसुकै समस्या भोग्नु किन नपरोस्‌, यहोवाले हामीलाई बचाउन सक्नुहुन्छ भन्‍ने हाम्रो भरोसालाई कहिल्यै नगुमाऔं। अफ्रिका, पूर्वी युरोप र अन्य स्थानहरूमा हाम्रा भाइबहिनीहरूले कठिन परीक्षाहरू सामना गरेका छन्‌ तर तिनीहरूले ‘यहोवामा रमाहट गरिरहेका छन्‌।’ हामी पनि तिनीहरूले जस्तै रमाहट गरिरहौं। नबिर्सनुहोस्‌, सर्वशक्‍तिमान्‌ प्रभु यहोवा हाम्रो “बल[को]” स्रोत हुनुहुन्छ। (हबकूक ३:१९) उहाँले हामीलाई कहिल्यै निराश तुल्याउनुहुनेछैन। आरमागेडोन पक्कै आउँछ र साथै परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसार पनि। (२ पत्रुस ३:१३) त्यसपछि “समुद्र पानीले ढाकिएझैं पृथ्वी परमप्रभुको महिमाको शानले भरिपूर्ण हुनेछ।” (हबकूक २:१४) त्यो अद्‌भुत समय नआऊञ्जेल हबकूकले बसालेको असल उदाहरणलाई हामी पछ्याइरहौं। सधैं ‘यहोवामा रमाहट गरौं, र हाम्रो उद्धार गर्नुहुने परमेश्‍वरमा रमाऔं।’

के तपाईंलाई सम्झना छ?

• हबकूकको प्रार्थनाले हामीलाई कसरी असर गर्नसक्छ?

• यहोवा कसरी लामो यात्रामा निस्कनुहुन्छ?

• मुक्‍तिबारे हबकूकको अगमवाणीले के भन्छ?

• कुन मनोवृत्तिसहित यहोवाको महा दिनलाई पर्खनुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

परमेश्‍वरले आरमागेडोनमा दुष्टहरूको विनाश गर्न कस्तो शक्‍ति प्रयोग गर्नुहुनेछ के तपाईंलाई थाह छ?