सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दुष्ट कतिञ्जेल रहनेछ?

दुष्ट कतिञ्जेल रहनेछ?

दुष्ट कतिञ्जेल रहनेछ?

“धर्मी मानिसलाई दुष्टले निल्दा तपाईं [यहोवा] किन चूप्प लाग्नुहुन्छ?”—हबकूक १:१३.

१. पृथ्वी कहिले यहोवाको महिमाको ज्ञानले भरिपूर्ण हुनेछ?

 परमेश्‍वरले दुष्टलाई के कहिल्यै नाश गर्नु होला? गर्नुहुन्छ भने कहिले? पृथ्वीभर मानिसहरू यस्ता प्रश्‍न सोधिरहेका छन्‌। हामी यसको जवाफ कहाँ पाउनसक्छौं? परमेश्‍वरको तोकिएको समयको लागि ईश्‍वरप्रेरित भविष्यसूचक वचनमा। यहोवाले छिट्टै सबै दुष्टहरूमाथि न्यायदण्ड ल्याउनुहुनेछ भनी त्यो वचनले हामीलाई आश्‍वस्त गराउँछ। अनि त्यसपछि मात्र “समुद्र पानीले ढाकिएझैं पृथ्वी परमप्रभुको महिमाको शानले भरिपूर्ण हुनेछ।” यो भविष्यवाणी परमेश्‍वरको पवित्र वचनको हबकूक २:१४ मा पाइन्छ।

२. हबकूकको पुस्तकमा परमेश्‍वरले दिनुहुने कुन तीनवटा ईश्‍वरीय न्यायदण्डहरू समावेश छन्‌?

सा.यु.पू. ६२८ मा लेखिएको हबकूकको किताबमा यहोवाले घोषणा गर्नुभएका तीनवटा न्यायदण्डहरू समावेश छन्‌। यीमध्ये दुइटा न्यायदण्डहरू पूरा भइसके। पहिलो थियो, मनमानी गर्ने पुरातन यहूदा राष्ट्रलाई यहोवाले दिनुभएको न्यायदण्ड। अनि दोस्रो? त्योचाहिं दमनकारी बेबिलोनमाथि यहोवाले ल्याउनुभएको न्यायदण्ड। त्यसोभए, यी ईश्‍वरीय न्यायदण्डहरूमध्ये तेस्रो पनि पक्कै पूरा हुनेछ भनेर विश्‍वस्त हुने हामीसित हर कारण छ। वास्तवमा यो चाँडै पूरा हुनेछ भनेर हामी आशा गर्नसक्छौं। यी आखिरी दिनमा धर्मात्माहरूका खातिर परमेश्‍वरले सबै दुष्ट मानिसहरूलाई नाश गर्नुहुनेछ। तिनीहरूमध्ये अन्तिमचाहिंले द्रुत गतिले नजिकिंदै गएको “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लड़ाइँ[मा]” आखिरी श्‍वास फेर्नेछ।—प्रकाश १६:१४, १६.

३. हाम्रो समयमा दुष्टहरूमाथि के आउनेछ भन्‍ने पक्का छ?

परमेश्‍वरको महा दिनमा हुने त्यो युद्ध झन्‌ झन्‌ नजिकिंदै छ। अनि हाम्रो समयमा दुष्टहरूमाथि आउने ईश्‍वरीय न्यायदण्ड यहूदा र बेबिलोनमाथि यहोवाले ल्याउनुभएको न्यायदण्ड जत्तिकै पक्का छ। लौ त, अब हामी सबै आफूलाई हबकूकको पालाको यहूदामा बसिरहेको कल्पना गरौं। त्यहाँ के हुँदैछ?

गोलमाल

४. हबकूक स्तब्ध पार्ने कस्तो समाचार सुन्छन्‌?

छतमा बसिरहेका अगमवक्‍ता हबकूक साँझको शीतल हावाको आनन्द उठाउँदैछन्‌। तिनी छेऊ एउटा वाद्ययन्त्र छ। (हबकूक १:१; ३:१९, पुछारमा) तर हबकूकले एउटा सन्देश सुन्छन्‌। त्यो सुनेर तिनी स्तब्ध हुन्छन्‌। यहूदाका राजा यहोयाकिमले ऊरियालाई मारेछन्‌ र त्यस अगमवक्‍ताको लाशलाई साधारण मानिसहरूको चिहानमा त्यसै फ्याँकिदिएछन्‌। (यर्मिया २६:२३) हो, ऊरियाले यहोवामाथि आफ्नो भरोसा कायम राख्न सकेनन्‌ बरु उल्टो डराएर मिस्रतिर भागे। यद्यपि, यहोयाकिमले यो कार्य यहोवाको सम्मान गर्ने हेतुले गरेका थिएनन्‌ भनी हबकूकलाई थाह थियो। यो, उक्‍त राजाले ईश्‍वरीय व्यवस्थाहरूप्रति देखाएको अत्यधिक हेलचेक्य्राइँ र यहोवाको सेवा गर्ने यर्मिया तथा अन्य व्यक्‍तिहरूप्रतिको घृणाबाट प्रस्ट देखिन्छ।

५. यहूदाको आध्यात्मिक अवस्था कस्तो छ र यसप्रति हबकूक कस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌?

हबकूक नजिकैका घरहरूको छानाबाट धुपौरोको धुँवा निस्केको देख्छन्‌। तर ती मानिसहरूले ती धुपौरोहरू यहोवाको उपासना गर्न बालेका होइनन्‌। तिनीहरू यहूदाका दुष्ट राजा यहोयाकिमले आड दिएको झूटो धार्मिक क्रियाकलापमा व्यस्त छन्‌। कत्रो घोर अपमान! हबकूकका आँखा रसाउँछन्‌ र तिनी यस्तो बिन्ती गर्छन्‌: “हे परमप्रभु, कहिलेसम्म तपाईं मेरो दोहाई सुन्‍नुहुन्‍न? उपद्रवको कारणले गर्दा म तपाईंमा पुकारा गर्दछु, औ तपाईं उद्धार गर्नुहुन्‍न। तपाईं मलाई किन अधर्म हेर्न लाउनुहुन्छ? र विपत्ति हेरिरहनुहुन्छ? नाश र उपद्रव मेरै सामने भइरहेको छ। झगड़ा र विवाद बढ़दै जाँदैछन्‌। यसैकारण व्यवस्था ढीला हुँदैजाँदैछ, र न्याय कहिल्यै हुँदैन। दुष्टहरूले धर्मीहरूलाई घेर्छन्‌, यसैकारण न्यायको दुरुपयोग हुन्छ।”—हबकूक १:२-४.

६. यहूदामा व्यवस्था र न्यायको अवस्था कस्तो भयो?

हो, जताततै हिंसा अनि उपद्रव मच्चिरहेको छ। हबकूक जहाँ जहाँ हेर्छन्‌, त्यहीं त्यहीं समस्या, झगडा अनि विवाद देख्छन्‌। ‘व्यवस्था ढीला भइसकेको छ।’ अनि न्याय? त्यो त ‘हुनै छाडिसकेको छ।’ न्यायले कतै सफलता पाउन सकेको छैन। बरु, निर्दोषलाई जोगाउन तयार पारिएको न्याय व्यवस्थामा जालझेल गरेर “दुष्टहरूले धर्मीहरूलाई घेर्छन्‌।” वास्तवमा, “न्यायको दुरुपयोग” भइरहेको छ। न्याय भ्रष्ट भइसकेको छ। कस्तो दुःखलाग्दो अवस्था!

७. हबकूक के गर्न दृढ हुन्छन्‌?

हबकूक एकछिन रोकिएर परिस्थिति विचार गर्छन्‌। के अब हार खाने त? अहँ! त्यसो होइन। परमेश्‍वरका विश्‍वासी सेवकहरूले भोगेका सबै सतावटहरू पुनः विचार गरिसकेपछि यी विश्‍वासी पुरुष यहोवाको अगमवक्‍ताको रूपमा स्थिर अनि अटल भई आफ्नो दृढतालाई अझ सुदृढ बनाउँछन्‌। हबकूकले निरन्तर परमेश्‍वरको सन्देश घोषणा गरी नै रहनेछन्‌, चाहे ज्यानै किन नजाओस्‌।

यहोवा पत्याउनै नसकिने “काम” गर्नुहुन्छ

८, ९. यहोवाले विश्‍वासै गर्न नसकिने त्यस्तो के “काम” गर्न लाग्नुभएको छ?

दर्शनमा हबकूक परमेश्‍वरको अनादर गर्ने झूटो धर्म मान्‍ने व्यक्‍तिहरूलाई देख्छन्‌। यहोवा तिनीहरूलाई के भन्‍नुहुन्छ सुन्‍नुहोस्‌: “अन्यजातिलाई हेर्‌, देखेर छक्क पर्‌।” परमेश्‍वरले यी दुष्टहरूलाई किन यसरी सम्बोधन गर्नुभएको होला भनेर हबकूक पक्कै पनि छक्क पर्छन्‌। त्यसपछि यहोवाले तिनीहरूलाई यसो भनिरहनुभएको पनि तिनी सुन्छन्‌: “छक्क पर्‌, किनभने म तिमीहरूका दिनमा यस्तो काम गर्छु, जो तिमीहरूलाई भने पनि तिमीहरूले विश्‍वास गर्नेछैनौ।” (हबकूक १:५) तर ‘तिनीहरूले विश्‍वासै गर्न नसक्ने त्यस्तो काम’ के होला?

हबकूक १:६-११ मा लिपिबद्ध परमेश्‍वरले भन्‍नुभएका अरू कुरा सुन्‍न हबकूक कान ठाडो पार्छन्‌। यो यहोवाको सन्देश हो—अनि कुनै पनि झूटो देव वा निर्जीव मूर्तिहरूले यसलाई पूरा हुनदेखि रोक्नसक्दैन: “हेर्‌, म कल्दीहरूलाई खड़ा गर्नेछु, जो निष्ठूर र फूर्तिलो जाति छ, जो अर्काको बासस्थान अधिकार गर्नलाई पृथ्वीको पल्लो छेउसम्म बढ़ेर जान्छ। तिनीहरू डरलाग्दा र भयानक छन्‌। आफ्ना न्याय र गौरवको कारण तिनीहरू आफै हुन्छन्‌। तिनीहरूका घोड़ाहरू पनि चितुवाभन्दा चाँड़ो कुद्‌ने हुन्छन्‌, र बेलुकी निस्कने ब्वाँसाहरूभन्दा डरलाग्दा छन्‌। तिनीहरूका घोड़सवारहरू घमण्डसाथ अगि बढ़छन्‌। हो, तिनीहरूका घोड़सवारहरू टाढ़ादेखि आउँछन्‌। तिनीहरू सिकारमाथि वेग हानेर आउने चीलझैं वेग हान्छन्‌। तिनीहरू सबका सब उपद्रव गर्नलाई आउँछन्‌ र तिनीहरूको अगिअगि आतंक फिंजिन्छ। तिनीहरूले कैदीहरूलाई बालुवा जत्तिकै जम्मा गर्छन्‌। तिनीहरूले राजाहरूलाई हँसीमा उड़ाउँछन्‌ र शासकहरू तिनीहरूको तमाशा बन्दछन्‌। सबै बलिया किल्लाहरूलाई देखेर तिनीहरू हाँस्नेछन्‌, किनकि माटोको ढिस्कुरो बनाएरनै तिनीहरूले ती लिनेछन्‌। तब तिनीहरू बतासझैं हानिएर आउनेछन्‌ र अगि बढ़नेछन्‌। दोषी मानिसहरू जसको सामर्थ्य नै तिनीहरूको देवता हो।”

१०. यहोवाले कसलाई खडा गर्नुहुँदै थियो?

१० सर्वशक्‍तिमान्‌ले दिनुभएको कस्तो सशक्‍त भविष्यसूचक चेताउनी! यहोवा बेबिलोनको निर्दयी जाति अर्थात्‌ कल्दीहरूलाई खडा गर्नुहुँदैछ। अनि ‘पृथ्वीको पल्लो छेउसम्म जाँदा’ तिनीहरूले थुप्रैलाई हराएर कब्जा गर्नेछन्‌। कत्ति डरलाग्दो! कल्दीहरूको दल “डरलाग्दा र भयानक” छन्‌। तिनीहरू अरट्ठो नियमहरू बनाउँछन्‌। अनि ‘आफ्नो न्याय आफै गर्छन्‌।’

११. यहूदा विरुद्ध आउने बेबिलोनी शक्‍तिबारे तपाईं कसरी वर्णन गर्नुहुन्छ?

११ बेबिलोनका घोडाहरू चितुवाहरूभन्दा पनि बेतोडले कुद्‌छन्‌। तिनीहरूका घोडसवारहरू रातमा सिकार गर्न हिंड्‌ने भोका ब्वाँसाहरूभन्दा पनि हिंस्रक छन्‌। तिनीहरूका ‘घोडसवारहरू घमण्डसाथ’ अघि बढ्‌न उत्सुक छन्‌। टाढा बेबिलोनदेखि तिनीहरू यहूदातर्फ हानिंदै आइरहेका छन्‌। स्वादिलो सिकारलाई झम्टन वेगसित हानिएर आउने चीलजस्तै यी कल्दीहरूले तुरुन्तै आफ्नो सिकारलाई झम्टिनेछन्‌। तर के यहूदामाथि केही मुठीभर कल्दीहरूको सेनाले आक्रमण गर्न लागेको हो? पटक्कै होइन्‌! “तिनीहरू सबका सब उपद्रव गर्नलाई” विशाल सेना लिएर आउँदैछन्‌। उत्सुकताले गर्दा चम्किएको मुहारसहित तिनीहरू पश्‍चिमतिर यहूदा र यरूशलेमतर्फ पूर्वको बेतोड बतासझैं हानिंदैछन्‌। बेबिलोनी सेनाले यत्ति धेरैलाई कैदी बनाउँछ कि ‘तिनीहरू बालुवा जत्तिकै जम्मा हुन्छन्‌।’

१२. बेबिलोनीहरूको मनोवृत्ति कस्तो छ अनि यी भयानक शत्रुहरू कसरी “दोषी” ठहरिन्छन्‌?

१२ कल्दी सेनाले राजाहरूलाई हाँसोमा उडाउँछन्‌ र शासकहरूको खिल्ली उडाउँछन्‌ किनकि कल्दीहरूको क्रूरताअघि तिनीहरूको केही सीप लाग्दैन। बेबिलोनीहरू ‘सबै बलिया किल्लाहरूलाई देखेर हाँस्नेछन्‌,’ किनकि किल्लाहरूलाई ढाल्ने ढिस्को बनाउन तिनीहरू ‘माटो थुपार्छन्‌।’ यहोवाले तोक्नुभएको समयमा यी भयानक शत्रुहरू “बतासझैं हानिएर आउनेछन्‌।” तर यहूदा र यरूशलेममाथि हमला गरेर परमेश्‍वरका जनहरूलाई घात पुऱ्‍याएकोले तिनीहरू “दोषी” ठहरिनेछन्‌। तहसनहस गरेर विजयी भएपछि कल्दी सेनापतिले यसरी घमण्ड गर्नेछ: ‘हाम्रो सामर्थ्य नै हामीहरूको देवता हो।’ तर तिनीहरूलाई वास्तविकता के थाह!

आशा गर्ने बलियो आधार

१३. हबकूकको मनमा आशा अनि भरोसाको किरण कसरी देखा पर्न थाल्छ?

१३ यहोवाको उद्देश्‍यबारे झन्‌ झन्‌ बुझ्दै जाँदा हबकूकको मनमा आशाको किरण देखा पर्न थाल्छ। पूर्णतया ढुक्क हुँदै तिनी यहोवाको प्रशंसा गर्छन्‌। हबकूक १:१२ अनुसार तिनी यसो भन्छन्‌: “हे परमप्रभु मेरा परमेश्‍वर, हे मेरा पवित्र परमप्रभु, के तपाईं सनातनदेखिनै हुनुहुन्‍न र?” हो, वास्तवमा यहोवा परमेश्‍वर “अनादिदेखि अनन्तसम्म” सदासर्वदै हुनुहुन्छ।—भजन ९०:१, २.

१४. यहूदाका धर्मत्यागीहरू कस्तो मार्गमा चले?

१४ आफूले परमेश्‍वरबाट पाएको दर्शनलाई विचार गरेर त्यसले दिएको अन्तरदृष्टिमा रमाउँदै अगमवक्‍ता अझै भन्छन्‌: “हे परमप्रभु, तपाईंले तिनीहरूलाई न्यायको निम्ति नियुक्‍त गर्नुभयो। हे चटान, ताड़ना दिनको निम्ति तपाईंले तिनीहरूलाई खटाउनुभयो।” परमेश्‍वरले यहूदाका धर्मत्यागीहरू विरुद्ध न्याय सुनाउनुभयो र तिनीहरू यहोवाबाट ताडना पाउन लागिरहेका छन्‌, कडिकडाइसाथ शुद्ध हुनलागिरहेका छन्‌। तिनीहरूले उहाँलाई आफ्नो चटान, वास्तविक किल्ला, शरणस्थान अनि मुक्‍तिको स्रोतको रूपमा लिएका छन्‌। (भजन ६२:७, ९४:२२; ९५:१) तैपनि, यहूदाका धर्मत्यागी नेताहरू यहोवाको नजिक आउँदैनन्‌ र तिनीहरू यहोवाका निर्दोष उपासकहरूको निरन्तर शोषण गरिरहन्छन्‌।

१५. कुन अर्थमा यहोवाको “दृष्टि यति शुद्ध छ कि दुष्ट कुरा हेर्नसक्नुहुन्‍न”?

१५ यस्तो अवस्था देखेर यहोवाका अगमवक्‍ता साह्रै व्याकुल हुन्छन्‌। अतः तिनी भन्छन्‌: “तपाईं जसको दृष्टि यति शुद्ध छ कि दुष्ट कुरा हेर्नसक्नुहुन्‍न, औ दुष्टकर्म देखेर चूप्प रहनसक्नुहुन्‍न।” (हबकूक १:१३) हो, यहोवाको “दृष्टि यति शुद्ध छ कि दुष्ट कुरा हेर्नसक्नुहुन्‍न,” अर्थात्‌ गल्तीलाई सहेर बसिरहनुहुन्‍न।

१६. हबकूक १:१३-१७ लाई तपाईं सारांशमा कसरी भन्‍नुहुन्छ?

१६ त्यसकारण, हबकूकको मनमा थुप्रै सोचनीय प्रश्‍नहरू उब्जन्छन्‌। तिनी सोध्छन्‌: “छल गर्ने मानिसहरूलाई किन तपाईं हेरिरहनुहुन्छ, औ धर्मी मानिसलाई दुष्टले निल्दा तपाईं किन चूप्प लाग्नुहुन्छ? तपाईंले मानिसहरूलाई समुद्रका माछा र शासक विनाका घस्रने जन्तुहरूतुल्य बनाउनुभयो। मानिसले ती सबैलाई बल्छीले उठाइलान्छ, र तिनलाई जालमा पक्रन्छ, र महाजालमा थुपार्छ। यसकारण त्यो रमाउँछ र खुशी हुन्छ। यसैकारण त्यसले आफ्नो जालको निम्ति बलि चढ़ाउँछ, र महाजालको निम्ति धूप बाल्छ, किनभने तीद्वारै त्यो सुख–चैनमा बस्छ र त्यसको भोजन स्वादिष्ट हुन्छ। के यसैकारण त्यसले आफ्नो जाल रित्याउँदै रहोस्‌, र निरन्तर जाति जातिहरूलाई निर्दयतापूर्वक मार्दै रहोस्‌?”—हबकूक १:१३-१७.

१७. (क) यहूदा र यरूशलेममाथि आक्रमण गर्दा बेबिलोनीहरूले कसरी यहोवाको उद्देश्‍य पूरा गरे? (ख) यहोवाले हबकूकलाई के प्रकट गर्नुहुनेछ?

१७ यहूदा र त्यसको राजधानी यरूशलेममाथि आक्रमण गर्दा बेबिलोनीहरूले आफ्नै इच्छाअनुसार मनपरी गर्नेछन्‌। यहोवाले तिनीहरूलाई आफ्नो माध्यम बनाएर अविश्‍वासी मानिसहरूको न्याय गर्दै हुनुहुन्छ भनेर तिनीहरूलाई थाहै छैन। तथापि, आफ्नो न्याय कार्यान्वयन गर्न त्यस्तो दुष्ट बेबिलोनीहरूलाई परमेश्‍वरले प्रयोग गर्नुभएको कारण बुझ्न हबकूकलाई गाह्रो पर्छ, र त्यसो हुनु स्वाभाविकै हो। यी क्रूर कल्दीहरू यहोवाका उपासकहरू होइनन्‌। तिनीहरू मानिसहरूलाई समातेर वशमा पार्नुपर्ने ‘माछा र घस्रने जन्तुहरू’ ठान्छन्‌। तर पनि हबकूक निकै बेर अलमल्लमा पर्दैनन्‌। बेबिलोनीहरूले पनि आफ्नो लोभले भरिएको लुटपिट र निरंकुश रक्‍तपातको कारण दण्ड नपाई बस्नेछैनन्‌ भनेर यहोवाले छिट्टै आफ्ना अगमवक्‍तालाई प्रकट गर्नुहुनेछ।—हबकूक २:८.

यहोवाले भन्‍नुहुने अरू कुरा सुन्‍न तयार

१८. हबकूक २:१ मा प्रकट गरिएको हबकूकको मनोवृत्तिबाट हामी के सिक्नसक्छौं?

१८ तथापि, अहिले हबकूक यहोवाले तिनलाई भन्‍नुहुने अरू कुराहरू सुन्‍न पर्खिरहेका छन्‌। अगमवक्‍ता यस्तो संकल्प गर्छन्‌: “म मेरो पहरामानै उभिरहनेछु, औ किल्लामा रहनेछु, र म हेर्दै रहन्छु कि उहाँ मलाई के भन्‍नुहुन्छ, र मैले आफ्नो बिन्तीको विषयमा के भन्‍नुपर्ने हो।” (हबकूक २:१) अगमवक्‍ताको रूपमा तिनी मार्फत परमेश्‍वरले भन्‍नुहुने कुरा सुन्‍न हबकूक असाध्यै उत्सुक छन्‌। यहोवा खराबीलाई सहनुहुन्‍न भन्‍ने विश्‍वास तिनीसित भएकोले दुष्टता रहिरहेकोमा तिनी छक्क त पर्छन्‌ तर आफ्नो सोचाइ छाँटकाँट गर्न तिनी इच्छुक छन्‌। हामीले चाहिं के गर्नुपर्ला? कुनै कुनै दुष्ट कुराहरू किन सहिरहनुभएको होला भनेर हामीले बुझ्न नसके तापनि यहोवा परमेश्‍वरको धार्मिकतामाथिको हाम्रो भरोसाले हामीलाई सन्तुलन कायम गर्न र उहाँमा भर पर्न मदत गर्नुपर्ने हो।—भजन ४२:५, ११.

१९. परमेश्‍वरले हबकूकलाई भन्‍नुभएबमोजिम पथभ्रष्ट यहूदीहरूलाई के हुने थियो?

१९ हबकूकलाई भन्‍नुभएबमोजिम परमेश्‍वरले बेबिलोनीहरूलाई यहूदामाथि आक्रमण गर्ने अनुमति दिनुभएर पथभ्रष्ट यहूदा राष्ट्रको न्याय गर्नुभयो। सा.यु.पू. ६०७ मा तिनीहरूले यरूशलेम र मन्दिर विनाश गरे, वृद्ध तथा जवानहरूलाई मारे अनि थुप्रैलाई कैद गरे। (२ इतिहास ३६:१७ -२०) बेबिलोनमा निकै वर्षको निर्वासनपछि शेष विश्‍वासी यहूदीहरू स्वदेश फर्के अनि अन्ततः मन्दिर पुनर्निर्माण गरे। त्यसपछि पनि यहूदीहरू यहोवाप्रति फेरि अविश्‍वासी भए। विशेष गरी येशूलाई मसीह मान्‍न इन्कार गरेर।

२०. येशूलाई तिरस्कार गर्ने सम्बन्धमा पावलले हबकूक १:५ कसरी प्रयोग गरे?

२० प्रेरित १३:३८-४१ अनुसार प्रेरित पावलले एन्टिओकका यहूदीहरूलाई येशूलाई तिरस्कार गर्नु अनि त्यसरी उहाँको छुटकाराको बलिदानलाई लत्याउनुको अर्थ के हुनेथियो भनी सम्झाए। युनानी सेप्टुआजिन्ट खण्डबाट हबकूक १:५ उद्धरण गर्दै पावलले चेताउनी दिए: “होशियार रहनुहोस्‌, अगमवक्‍ताहरूका पुस्तकमा भनिएको कुरो तपाईंहरूमाथि आइनलागोस्‌, ‘हे तुच्छ ठान्‍ने हो, छक्क परेर नष्ट भइ जाओ, किनभने तिमीहरूका दिनमा म एउटा काम गर्नेछु, जुन काम कसैले बयान गरिदिएछ भने पनि तिमीहरू केही गरी पत्याउनेछैनौ।’ ” पावलको उक्‍त उद्धरणअनुरूप रोमी सेनाले सा.यु. ७० मा यरूशलेम र त्यसको मन्दिर नाश गर्दा हबकूक १:५ को दोस्रो पूर्ति भयो।

२१. परमेश्‍वरले बेबिलोनीहरूलाई यरूशलेम विनाश गर्न लगाउनुभएर पूरा गर्नुभएको “काम[प्रति]” हबकूकको समयका यहूदीहरूको दृष्टिकोण कस्तो थियो?

२१ हबकूकको समयमा परमेश्‍वरको “काम” अर्थात्‌ उहाँले बेबिलोनीहरूलाई चलाएर यरूशलेम नाश गर्न लाउनुहुनेछ भन्‍ने कुरा यहूदीहरूका लागि असोचनीय थियो। किनकि यरूशलेम यहोवाको उपासनाको केन्द्र थियो र त्यहाँ उहाँका अभिषिक्‍त राजाहरूले राज्य गर्थे। (भजन १३२:११-१८) त्यसकारण पनि त्यसअघि यरूशलेमको पहिले कहिल्यै नाश भएको थिएन। मन्दिर कहिल्यै जलाइएको थिएन। दाऊदको राजघरानालाई कहिल्यै पदच्युत गरिएको थिएन। यहोवाले यस्तो पनि गराउनुहुनेछ भन्‍ने कुरा पूर्णतया असोचनीय थियो। तर हबकूक मार्फत परमेश्‍वरले यी झट्‌का लगाउने घटनाहरू हुनेछन्‌ भन्‍ने सुस्पष्ट चेताउनी दिनुभयो। अनि ती पूरा भए भनी इतिहास साक्षी छ।

हाम्रो समयमा परमेश्‍वरको विश्‍वासै गर्न नसकिने “काम”

२२. हाम्रो समयमा परमेश्‍वरको विश्‍वासै गर्न नसकिने “काम[मा]” के समावेश हुनेछ?

२२ के यहोवाले आज हाम्रो समयमा पनि विश्‍वासै गर्न नसकिने “काम” गर्न लाग्नुभएको छ? ढुक्क हुनुहोस्‌, शंकालुहरूलाई जति नै विश्‍वास गर्न गाह्रो परे तापनि उहाँले अवश्‍य त्यसै गर्नुहुनेछ। यसपटक, यहोवाको अविश्‍वसनीय काम हुनेछ, मसीहीजगत्‌को विनाश। पुरातन यहूदालेजस्तै यसले पनि परमेश्‍वरको उपासना गरेको दाबी गर्छ तर त्यो पूर्णतया भ्रष्ट भएको छ। मसीहीजगत्‌को धार्मिक रीतिरिवाजको नामोनिसानसमेत यहोवाले मेटाइदिनुहुनेछ। तत्पश्‍चात्‌ झूटो धर्मको विश्‍व साम्राज्य, “महान्‌ बेबिलोनको” हालत पनि यस्तै हुनेछ।—प्रकाश १८:१-२४.

२३. परमेश्‍वरको आत्माले हबकूकलाई के गर्न प्रेरित गऱ्‍यो?

२३ सा.यु.पू. ६०७ मा यरूशलेमको नाश हुनुअघि यहोवाले हबकूकलाई थुप्रै काम अह्राउनुभयो। आफ्नो अगमवक्‍तालाई अझ केही भन्‍न बाँकी थियो कि? भनौं भने, यहोवाले तिनलाई यस्तो कुरा भन्‍न लाग्नुभएको थियो, जुन कुरा सुनेर तिनी आफ्नो बाजा बजाउँदै यहोवालाई प्रार्थना गरेर गीत गाउन उत्प्रेरित हुनेथिए। तथापि, त्यसअघि परमेश्‍वरको आत्माले हबकूक अगमवक्‍तालाई अचम्मलाग्दो धिक्कारहरू भन्‍न उत्प्रेरित गर्नेथियो। हामी पक्कै पनि परमेश्‍वरको तोकिएको समयको लागि यस्ता भविष्यसूचक वचनहरूको गहिरो अर्थ के होला भनेर त्यसबारे थप अन्तरदृष्टि प्राप्त गर्न चाहन्छौं। त्यसकारण आउनुहोस्‌, हबकूकको भविष्यवाणीमा अझै ध्यान देऔं।

के तपाईंलाई सम्झना छ?

• हबकूकको समयमा यहूदाको अवस्था कस्तो थियो?

• हबकूकको समयमा विश्‍वासै गर्न नसकिने कस्तो “काम” यहोवाले गर्नुभयो?

• हबकूकले आशा गर्ने कस्तो आधार पाए?

• हाम्रो समयमा परमेश्‍वरले विश्‍वासै गर्न नसकिने कस्तो “काम” गर्नुहुनेछ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

परमेश्‍वरले दुष्टता किन रहिरहन दिनुभयो भनी हबकूक छक्क परे। के तपाईं पनि छक्क पर्नुहुन्छ?

[पृष्ठ १०-मा भएको चित्र]

यहूदाले बेबिलोनीहरूको हातबाट विनाश भोग्नुपर्छ भनी हबकूकले भविष्यवाणी गरे

[पृष्ठ १०-मा भएको चित्र]

सा.यु.पू. ६०७ मा नाश भएको यरूशलेमको भग्नावशेष