सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नेदरल्याण्ड्‌समा सबै प्रकारका मानिसहरूलाई सहायता गर्दै

नेदरल्याण्ड्‌समा सबै प्रकारका मानिसहरूलाई सहायता गर्दै

राज्य उद्‌घोषकहरूको रिपोर्ट

नेदरल्याण्ड्‌समा सबै प्रकारका मानिसहरूलाई सहायता गर्दै

अब्राहामसँग असाधारण विश्‍वास थियो। प्रेरित पावलले यसो भने, “बोलावट भएपछि” अब्राहामले परमेश्‍वरको आज्ञा पालन गरेर “कता जाने हो, सो नजानीकनै . . . निस्केर गए।” आफ्नो सम्पूर्ण परिवारसित बसाइँ सरेपछि आफ्नो जीवनको बाँकी सय वर्षसम्म अब्राहाम “अर्काको देशमा जस्तो गरी त्यही प्रतिज्ञाका हकदारहरू भएर” बसे।—हिब्रू ११:८,९.

त्यस्तै गरी, आज यहोवाका थुप्रै साक्षीहरूले बढी आवश्‍यकता भएको ठाउँमा सेवा गर्न अर्को देशमा बसाइँ सर्ने चुनौती स्वीकारेका छन्‌। अरू कतिपयले चाहिं आफ्नो देशमा आएर बसोबास गर्ने विदेशीहरूलाई साक्षी दिन विभिन्‍न भाषाहरू सिकेका छन्‌। निम्न उदाहरणहरूले देखाएअनुसार डेढ करोड मानिसहरूमध्ये १० लाख अरू मुलुकहरूबाट आएका मानिसहरू बसोबास गर्ने नेदरल्याण्ड्‌समा यस्तो राम्रो जोशले गर्दा “एउटा ठूलो र अभिप्राय पूरा गर्ने ढोका खुला” भएको छ।—१ कोरिन्थी १६:९.

□ बारम, मध्यपूर्व देशबाट आएका पूर्व कुम्फू प्रशिक्षक हुन्‌। तिनले एउटा बाइबल र केही वाच टावर प्रकाशनहरू प्राप्त गरे। त्यसको महिना दिनभित्रै सत्य यही हो भनेर बारमले बुझे। तिनी र तिनकी पत्नीसित अध्ययन सुरु भयो। तर एउटा समस्या खडा भयो। त्यो हो, तिनीहरूको बाइबल शिक्षकले तिनीहरूको भाषा बुझ्दैनथे। तिनीहरूले “हात र खुट्टा” प्रयोग गर्दै इशारा गरेर कुराकानी गरेको तिनीहरू सम्झन्छन्‌। समयको दौडान, बारम र तिनकी पत्नीले आफ्नो मातृभाषा बोल्ने मण्डली पत्ता लगाए। त्यसपछि तिनीहरूले चाँडचाँडो प्रगति गरे। अहिले बारम बप्तिस्माप्राप्त साक्षी भएका छन्‌।

□ डच अग्रगामी दम्पतिले विशाल बजारअघि उभिरहेका एक इन्डोनेसियाली पुरुषसित कुरा गरे। ती दम्पतिले आफ्नै भाषामा बोलेको सुन्दा उक्‍त पुरुष दंग परे। त्यसपछि तिनलाई तिनकै घरमा भेट्‌ने प्रबन्ध मिलाइयो। तिनले २० वर्षभन्दा बढी समयसम्म रूसमा बसोबास गरेका रहेछन्‌ र त्यसै समयको दौडान तिनी स्त्रीरोग विशेषज्ञ भइसकेका रहेछन्‌। तिनी आफू नास्तिक भएको दाबी गर्थे। तर हरेक पटक सुत्केरीलाई बच्चा जन्माउन मदत गर्दा तिनी छक्क पर्दै भन्थे, “ओहो! मानिसको शरीर कत्ति परिपूर्ण! कस्तो अचम्म!” तिनी बाइबल अध्ययन गर्न राजी भए र मानिसजातिको चासो राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ भनेर विश्‍वास गर्नसके। (१ पत्रुस ५:६, ७) अहिले तिनी बप्तिस्माप्राप्त प्रकाशक भएका छन्‌ र आमस्टरड्यामको इन्डोनेसियाली मण्डलीमा सेवा गरिरहेका छन्‌।

□ विश्‍वका सबैभन्दा ठूला बन्दरगाहहरूमध्ये रोटर्ड्यामको एउटा बन्दरगाहमा दिनहुँ जहाज चढ्‌न आउने विभिन्‍न भाषाका मानिसहरूलाई प्रचार गर्न अग्रगामीहरूको एक झुण्ड सिपालु भएका छन्‌। जोसिला प्रचारकहरूको यस झुण्डको कामले गर्दा एक जना कप्तान, नौसैनिक अफिसर र पूर्व अंगरक्षकलगायत थुप्रै नाविकहरूले सच्चाइ स्वीकारे। अहिले तिनीहरूले पनि विश्‍वभरि परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन मदत गरिरहेका छन्‌।—मत्ती २४:१४.

विश्‍वका अन्य भागहरूमा जस्तै नेदरल्याण्ड्‌समा पनि यहोवाका साक्षीहरू हरेक जाति, कुल, भाषाका मानिसहरूलाई अनन्तको सुसमाचार घोषणा गर्ने काममा भाग लिन दृढ संकल्पित छन्‌।—प्रकाश १४:६.