सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले ढिलो गर्नुहुनेछैन

यहोवाले ढिलो गर्नुहुनेछैन

यहोवाले ढिलो गर्नुहुनेछैन

“त्यो [दर्शन] पूरा हुनु ढीलो भए तापनि त्यसको बाटो हेर्दै बस्‌, किनभने त्यो निश्‍चय पूरा हुनेछ, त्यसले ढीलो गर्नेछैन।”—हबकूक २:३.

१. यहोवाका जनहरूले कस्तो संकल्प देखाएका छन्‌ र यसले तिनीहरूलाई के गर्न उत्प्रेरित गरेको छ?

 “म मेरो पहरामानै उभिरहनेछु।” यो, परमेश्‍वरका अगमवक्‍ता हबकूकको संकल्प थियो। (हबकूक २:१) यस २० औं शताब्दीमा यहोवाका जनहरूले पनि यस्तै संकल्प देखाएका छन्‌। त्यसकारण तिनीहरूले सेप्टेम्बर १९२२ मा सम्पन्‍न ऐतिहासिक अधिवेशनमा गरिएको यस आह्वानको प्रतिक्रिया जनाएका छन्‌: “यो सबैभन्दा महत्त्वपूर्ण क्षण हो। किनकि, हाम्रो राजाले शासन गर्न थालिसक्नुभएको छ! अनि तपाईंहरू उहाँको प्रचार-प्रसार गर्ने माध्यम हुनुहुन्छ। त्यसकारण, राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌।”

२. प्रथम विश्‍वयुद्धपछि सनसनीपूर्ण कार्यमा पुनर्स्थापित भइसकेपछि अभिषिक्‍त मसीहीहरूले के घोषणा गर्नसक्थे?

प्रथम विश्‍वयुद्धपछि यहोवाले विश्‍वासी अभिषिक्‍त जनहरूलाई सनसनीपूर्ण कामको निम्ति पुनर्स्थापित गर्नुभयो। फलतः हबकूकले जस्तै तिनीहरू प्रत्येकले यस्तो घोषणा गर्न सके: “[म] किल्लामा रहनेछु, र म हेर्दै रहन्छु कि उहाँ मलाई के भन्‍नुहुन्छ।” “हेर्दै” र “पहरा” भन्‍ने हिब्रू शब्दहरू थुप्रै भविष्यवाणीहरूमा बारम्बार प्रयोग गरिएका छन्‌।

“त्यसले ढिलो गर्नेछैन”

३. हामी किन जागा रहनैपर्छ?

आज चेताउनी दिने काम गर्दा येशूले भन्‍नुभएको सबैभन्दा ठूलो भविष्यवाणीका यी अन्तिम शब्दहरू पालन गर्न यहोवाका साक्षीहरू सचेत हुनुपर्छ। उहाँले यसो भन्‍नुभयो: “जागा रहो, किनकि घरको मालिक बेलुकी, कि आधा रातमा, कि भाले बास्ता, कि बिहान, कहिले आउने हो सो तिमीहरू जान्दैनौ। नत्रता अचानक आउँदा तिनले तिमीहरूलाई निदाइरहेका भेट्टाउलान्‌। औ जे म तिमीहरूलाई भन्दछु, त्यो म सबैलाई भन्दछु, ‘जागा रहो।’ ” (मर्कूस १३:३५-३७) हबकूकजस्तै र येशूका शब्दहरूअनुरूप हामी पनि जागा रहनुपर्छ!

४. सा.यु.पू. ६२८ मा हबकूकको अवस्था जस्तो थियो, त्यस्तै हाम्रो पनि कसरी भएको छ?

बेबिलोन शक्‍तिशाली विश्‍वशक्‍ति हुनुअघिनै हबकूकले सा.यु.पू. ६२८ तिर यो पुस्तक लेखिसकेको हुनुपर्छ। यहोवाले धर्मत्यागी यरूशलेममाथि गर्नुहुने न्यायबारे निकै वर्षअघिदेखि घोषणा गरिदैं आएको थियो। यद्यपि, न्याय कार्यान्वयन हुने समयबारे भने स्पष्टसित बताइएको थिएन। उक्‍त न्याय लगभग २१ वर्षपछि हुनेछ र यहोवाले बेबिलोनलाई चलाउनुभएर न्याय गर्नुहुनेछ भनेर कसलाई पो थाह थियो र? त्यसै गरी, आज हामीलाई पनि यस रीतिरिवाजको अन्त हुने ‘दिन र घड़ी’ थाह छैन। तर येशूले हामीलाई यसरी पूर्व चेताउनी दिनुभएको छ: “तिमीहरू पनि तयार रहो किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउँछ।”—मत्ती २४:३६, ४४.

५. हबकूक २:२, ३ मा लिपिबद्ध परमेश्‍वरका शब्दहरूमा विशेष गरी के कुरा प्रोत्साहनदायी छ?

राम्रै कारणका लागि यहोवाले अगमवक्‍तालाई यस्तो प्रोत्साहनदायी काम दिनुभयो: “तैंले यो दर्शन पाटीहरूमा प्रष्ट गरी लेख्‌, र पढ़नेले त्यो छर्लङै पढ़नसकोस्‌। त्यो दर्शन ठहराएको समयमा पूरा हुनेछ, त्यो पूरा हुने बेला चाँड़ै आउँदैछ, त्यसले धोका दिंदैन। त्यो पूरा हुनु ढीलो भए तापनि त्यसको बाटो हेर्दै बस्‌, किनभने त्यो निश्‍चय पूरा हुनेछ, त्यसले ढीलो गर्नेछैन।” (हबकूक २:२, ३) आज पृथ्वीभर दुष्टता र हिंसा व्याप्त छ र यसले हामी “परमप्रभुको महा र भयंकर दिन[को]” संघारमै छौं भनेर औंल्याउँछ। (योएल २:३१) निस्सन्देह, यहोवाले दिनुभएका यी आश्‍वासनदायी शब्दहरू साँच्चै प्रोत्साहनदायी छन्‌: “त्यसले ढीलो गर्नेछैन”!

६. आउँदै गरेको न्यायको दिनमा हामी कसरी जोगिनसक्नेछौं?

त्यसोभए, आउँदै गरेको न्यायको दिनमा हामी कसरी बच्नसक्छौं? यहोवाले धर्मी र अधर्मीबीच यस्तो भिन्‍नता छुट्ट्याउनु भएर जवाफ दिनुहुन्छ: “हेर्‌, त्यसको मन घमण्डले फूलिएको छ, त्यो आफै सोझो छैन। तर धर्मी चाहिं आफ्नो विश्‍वासद्वारा जिउँछ।” (हबकूक २:४) घमण्डी तथा लोभी शासक र अन्य मानिसहरूले विशेष गरी दुइटा विश्‍वयुद्ध अनि जातीय रक्‍तपातहरूद्वारा लाखौं निर्दोष व्यक्‍तिहरूको रगत बगाएर आधुनिक इतिहासका पृष्ठहरू रंगाएका छन्‌। यसको विपरीत, परमेश्‍वरका शान्तिप्रिय अभिषिक्‍त दासहरूले विश्‍वासी भएर धैर्य धारण गरेका छन्‌। तिनीहरू “सत्य पालन गर्ने धार्मिक जाति” हुन्‌। यस राष्ट्रले आफ्नो सँगी अर्थात्‌ “अरू भेडा” सँगीसँगसँगै यो सल्लाह पालन गर्छ: “परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु परमेश्‍वर सनातनको चटान हुनुहुन्छ।”—यशैया २६:२-४; यूहन्‍ना १०:१६.

७. पावलले जुन तरिकाले हबकूक २:४ प्रयोग गरे, त्यसअनुसार हामीले के गर्नैपर्छ?

यहोवाका जनहरूलाई निम्न शब्दहरू भन्दा प्रेरित पावलले हिब्रू मसीहीहरूलाई लेखेको पत्रमा हबकूक २:४ उद्धरण गरे: “परमेश्‍वरको इच्छा पालन गरेर प्रतिज्ञाको फल पाइने भएको हुनाले तिमीहरूलाई धीरजको आवश्‍यकता छ। किनकि अब एकै छिनमा, आउनुहुने जो हो, सो आउन्यै हुनेछ, र बियाँलो गर्नुहुनेछैन। तर मेरो धार्मिक जनचाहिं विश्‍वासबाट बाँच्नेछ, औ यदि उनी पछि हट्‌छ भनेता मेरो मन उनीसित खुश रहनेछैन।” (हिब्रू १०:३६-३८) अहिले यो समय शिथिल हुने वा शैतानको संसारका भौतिकवादी तथा सुखविलासी तौरतरिकाहरूले गर्दा अलमलिने समय होइन। यसकारण, “एकै छिन” नबितुञ्जेल हामीले के गर्नैपर्छ? पावलजस्तै हामी यहोवाको पवित्र राष्ट्रका जनहरू पनि “अगाड़िका कुराहरूतिर लम्केर” अनन्त जीवनको ‘पुरस्कारको निम्ति निशानातिर बढ्‌नैपर्छ।’ (फिलिप्पी ३:१३, १४) अनि येशूले जस्तै हामी पनि ‘हाम्रो सामने राखिदिएको आनन्दको निम्ति’ धीरजी हुनैपर्छ।—हिब्रू १२:२.

८. हबकूक २:५ को “मानिस” को हो र त्यो किन सफल हुनेछैन?

अर्कोतिर, हबकूक २:५ ले यहोवाका दासहरू विपरीत आफ्नो “लालसा चाहिं पातालझैं कहिल्यै नअघाउने” बनाए तापनि लक्ष्यमा पुग्न नसक्ने “अहंकारी मानिस[बारे]” बताउँछ। “पेट . . . कहिल्यै नभरिने” त्यो मानिस को हो? त्यो “मानिस” हबकूकको समयको लोभी बेबिलोनजस्तै आज आफ्नो मुलुक बिस्तार गर्न युद्ध चर्काउने फासिस्ट, नाजी, कम्युनिस्ट अथवा प्रजातान्त्रिक भनौंदा राजनैतिक शक्‍तिहरूले बनेको छ। त्यसले निर्दोषहरूको प्राणले शिओल अर्थात्‌ चिहान भर्छ। तर शैतानको संसारको त्यस छली “मानिस” जो आफूलाई ठूलो ठान्छ त्यसले ‘सारा जातिहरूहरूलाई आफूकहाँ तान्‍न’ सक्नेछैन। यहोवा परमेश्‍वरले मात्र सम्पूर्ण मानिसजातिलाई एकतामा ल्याउनसक्नुहुन्छ र उहाँले मसीही राज्यद्वारा त्यो काम गर्नुहुनेछ।—मत्ती ६:९, १०.

पाँचवटा अचम्मलाग्दो धिक्कारहरूमध्ये पहिलो

९, १०. (क) हबकूक मार्फत यहोवा के घोषणा गर्नुहुन्छ? (ख) अधर्मको धनको सन्दर्भमा भन्‍ने हो भने आज अवस्था कस्तो छ?

आफ्नो अगमवक्‍ता हबकूकद्वारा यहोवाले धिक्कारका पाँचवटा श्रृंखला घोषणा गर्नुहुन्छ। यी धिक्कारहरू, परमेश्‍वरका विश्‍वासी उपासकहरूद्वारा पृथ्वी आबाद गराउनका लागि कार्यान्वयन गरिनै पर्ने न्यायहरू हुन्‌। सोझो हृदय भएका यस्ता मानिसहरू यहोवाले भन्‍नुभए जस्तै ‘उखान बनाउँछन्‌।’ हामी हबकूक २:६ मा यसो लेखिएको पाउँछौं: “अर्काको धन खोसेर धनी हुनेलाई धिक्कार! त्यसले कहिलेसम्म त्यसो गर्छ? धिक्कार त्यसलाई! जसले बन्धकका मालहरूले घर भर्छ!”

१० यहाँ अधर्मद्वारा धन कमाउनु उचित होइन भनेर जोड दिइएको छ। वर्तमान संसारमा धनी मानिसहरू झन्‌ झन्‌ धनी हुँदैछन्‌ भने गरिबहरू झन्‌ झन्‌ गरिबीको चपेटामा पर्दैछन्‌। लागू पदार्थ बेचबिखन गर्ने अनि ठगाहाहरू प्रशस्त धन कमाउँछन्‌ भने थुप्रै साधारण मानिसहरू भोकभोकै मर्छन्‌। भनिन्छ, विश्‍वको एक चौथाइ जनसंख्या गरिबीको रेखामुनि बाँचिरहेका छन्‌। थुप्रै देशहरूमा मानिसहरूको जीवनस्तर एकदमै दुःखलाग्दो छ। पृथ्वीमा धार्मिकताको तृष्णा गर्नेहरू यसो भन्दै कराउँछन्‌: यस्तो दुष्टता “कहिलेसम्म” बढिरहनेछ! यद्यपि, दुष्टताको अन्त हुनै लागेको छ! दर्शनले निस्सन्देह “ढीलो गर्नेछैन”।

११. रक्‍तपातबारे हबकूक के भन्छन्‌ र आज पृथ्वी रक्‍तदोषले असाध्यै भरिएको छ भनी किन भन्‍नसक्छौं?

११ दुष्ट मानिसलाई अगमवक्‍ता यसो भन्छन्‌: “तैंले धेरै जातिहरूलाई लूटेको छस्‌, यसकारण बाँचेका मानिसहरूले तँलाई लूटनेछन्‌, मानिसहरूका हत्या औ देश र शहरहरू र तिनमा रहने सबैमाथि गरेको जुलुमको कारणले गर्दा हो।” (हबकूक २:८) अहिले संसार असाध्यै रक्‍तदोषले भरिएको छ! येशूले स्पष्टसित यसो भन्‍नुभयो: “तरवार लिनेहरू सबै जना तरवारैले नष्ट हुनेछन्‌।” (मत्ती २६:५२) यद्यपि, यस २० औं शताब्दीमा मात्र रक्‍तदोषी राष्ट्र र जातीय समूहहरूले लाखौं मानिसहरूको ज्यान लिइसकेका छन्‌। यस्तो रक्‍तपात गर्नेहरूलाई धिक्कार!

दोस्रो धिक्कार

१२. हबकूकले रेकर्ड गरेको दोस्रो धिक्कार के हो र नीच कमाइ केही फाइदाको हुनेछैन भनी हामी किन पक्का हुनसक्छौं?

१२ हबकूक २:९-११ मा लिपिबद्ध दोस्रो धिक्कार “विपत्तिदेखि बाँच्नलाई आफ्नो गौंड़ा अल्गोमा बनाऊँ भनेर अधर्मको धन” बटुल्नेहरूमाथि आइपर्नेछ! नीच कमाइ केही फाइदाको हुनेछैन किनकि भजनरचयिता स्पष्टसित यसो भन्छन्‌: “कोही धनी भयो र त्यसको घरको गौरव बढ्यो भनेर तिमी नडराऊ। किनकि त्यो मर्दा त्यसले साथमा केही पनि लैजानेछैन त्यसको गौरव त्यसको पछिपछि चिहानमा जानेछैन।” (भजन ४९:१६, १७) त्यसकारण, पावलको यो बुद्धिमानी सल्लाह उल्लेखनीय छ: “यस वर्त्तमान संसारका धनीहरूलाई कड़ा आज्ञा देऊ, कि तिनीहरू घमण्डी नहोऊन्‌, र अनिश्‍चित सम्पत्तिमा होइन, तर हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुने, परमेश्‍वरमाथिनै आशा राखून्‌।”—१ तिमोथी ६:१७.

१३. हामीले किन परमेश्‍वरको चेताउनी निरन्तर घोषणा गरिरहनुपर्छ?

१३ आज परमेश्‍वरको न्यायको सन्देश सुनाउनु कत्ति महत्त्वपूर्ण छ! “परमप्रभुको नाउँमा आउने राजा” भन्दै येशूको प्रशंसा गरिरहेको भीडलाई फरिसीहरूले रोक्दा उहाँले यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने ढुंगाहरू कराउनेछन्‌।” (लूका १९:३८, ४०) त्यस्तै गरी, आज परमेश्‍वरका जनहरूले यस संसारको दुष्टता पर्दाफास नगरेका भए ‘भित्तादेखि ढुंगाले दोहाइ दिनेथ्यो।’ (हबकूक २:११) त्यसैले साहसी भई निरन्तर परमेश्‍वरको चेताउनी दिन नछाडौं!

तेस्रो धिक्कार र रक्‍तदोषको विवाद

१४. कस्तो रक्‍तदोषको निम्ति संसारका धर्महरू जवाफदेही छन्‌?

१४ हबकूक मार्फत घोषणा गरिएको तेस्रो धिक्कारले रक्‍तदोषबारे बताउँछ। हबकूक २:१२ यसो भन्छ: “धिक्कार त्यसलाई, जसले रक्‍तपातले नगर निर्माण गर्दछ, औ अधर्ममा शहर स्थापित गर्दछ!” यस रीतिरिवाजमा अधार्मिकता र रक्‍तपात अक्सर सँगसँगै हुने गर्छ। विशेष गरी, विश्‍वका धर्महरूले इतिहासको सबैभन्दा विभत्स रक्‍तपातहरू मच्चाएका छन्‌। मसीही भनौंदा र मुसलमानहरूबीच दुश्‍मनी ल्याउने धार्मिक युद्ध, स्पेन र ल्याटिन अमेरिकामा भएको क्याथोलिक इनक्विजिशन, युरोपमा प्रोटेस्टेन्ट र क्याथोलिकहरूबीच तीस वर्षसम्म चलेको युद्ध अनि यस शताब्दीमा मसीहीजगत्‌कै राज्यबाट सुरु भएका यीभन्दा पनि बढी रक्‍तपातपूर्ण दुई विश्‍वयुद्धको मात्र उल्लेख गर्नु पनि यथेष्ट छ।

१५. (क) चर्चको समर्थन र सम्मतिमा थुप्रै राष्ट्रहरूले के गरिरहेका छन्‌? (ख) के संयुक्‍त राष्ट्रले यस संसारको हातहतियारमा रोक लगाउनसक्छ?

१५ दोस्रो विश्‍वयुद्धको सबैभन्दा कहालीलाग्दो पक्ष, लाखौं यहूदी र युरोपका निर्दोष मानिसहरूको ज्यान लिने नाजी विध्वंश थियो। लाखौं मानिसहरूलाई नाजी मृत्यु कक्षमा पठाउनदेखि रोक्न नसकेको कुरा रोमन क्याथोलिक धर्मतन्त्रले भर्खरै फ्रान्समा स्वीकारे। यद्यपि, चर्चको समर्थन र सम्मतिमा अझै पनि थुप्रै राष्ट्रहरू रक्‍तपात गर्न कम्मर कसिरहेका छन्‌। रूसी अर्थोडक्स चर्चबारे टाइम पत्रिकाले (अन्तरराष्ट्रिय संस्करण) हालै यसो भन्यो: “एकताका असोचनिय मानिएको क्षेत्रमा पनि पुनर्स्थापित चर्चको निकै प्रभाव पर्न थालेको छ: त्यो हो, रूसी सैन्यशक्‍ति। . . . लडाकु विमान र ब्यारेकहरूलाई आशिष्‌ दिनु त आजकाल नित्यक्रम नै भइसकेको छ। यहाँसम्म कि चर्चले नोभेम्बरमा मस्कोको डानिलोफ्स्की मोनास्ट्रीमा रूसी आणविक अस्त्रलाई पवित्र पारे।” के संयुक्‍त राष्ट्रले यस संसारलाई युद्धका पैशाचिक हातहतियारहरू जम्मा गर्नदेखि रोक्नसक्छ? पटक्कै सक्दैन! लन्डन, बेलाइतको गार्डियन अखबारअनुसार एक नोबेल शान्ति पुरस्कार विजेताले यस्तो टिप्पणी गरे: “साह्रै विचलित बनाउने कुरा त के हो भने, संयुक्‍त राष्ट्र संघ सुरक्षा परिषद्‌का पाँच स्थायी सदस्यहरू नै विश्‍वमा सबैभन्दा बढी हातहतियार बेचबिखन गर्ने राष्ट्रहरू हुन्‌।”

१६. यहोवाले युद्ध पिपासु राष्ट्रहरूलाई के गर्नुहुनेछ?

१६ के यहोवाले युद्ध पिपासु राष्ट्रहरूको न्याय गर्नुहुनेछ? हबकूक २:१३ यस्तो जवाफ दिन्छ: “हेर्‌, के यो सेनाहरूका परमप्रभुतर्फबाट होइन, कि देश देशका जातिले गरेको परिश्रम आगोको निम्ति मात्र हुँदछ, औ जाति जातिहरू व्यर्थको काममा आफै थकित हुँदछन्‌?” “सेनाहरूका परमप्रभु”! हो, युद्ध मनपराउने मानिस र राष्ट्रहरूको अन्त गर्नको लागि यहोवासित स्वर्गमा स्वर्गदूतहरूको पल्टन छ!

१७. यहोवाले हिंस्रक राष्ट्रहरूको न्याय गर्नुभएपछि यस पृथ्वीमा कुन हदसम्म यहोवाको ज्ञान फैलिनेछ?

१७ यहोवाले ती हिंस्रक राष्ट्रहरूको न्याय गर्नुभएपछि के हुनेछ? हबकूक २:१४ यस्तो जवाफ दिन्छ: “समुद्र पानीले ढाकिएझैं पृथ्वी परमप्रभुको महिमाको शानले भरिपूर्ण हुनेछ।” कस्तो अद्‌भुत प्रत्याशा! आरमागेडोनमा यहोवाको सार्वभौमिकता सधैंको लागि उच्च पारिनेछ। (प्रकाश १६:१६) उहाँ हामीलाई हामी बस्ने यस पृथ्वी अर्थात्‌ ‘आफ्नो चरणको स्थानलाई शोभायमान’ बनाउनुहुनेछ भनी आश्‍वासन दिनुहुन्छ। (यशैया ६०:१३) सम्पूर्ण मानिसजातिलाई परमेश्‍वरको जीवनशैली सिकाइनेछ। फलतः समुद्र पानीले भरिएझैं यो पृथ्वी यहोवाको महिमित उद्देश्‍यसम्बन्धी ज्ञानले भरिनेछ।

चौथो र पाँचौं धिक्कार

१८. हबकूक मार्फत घोषणा गरिएको चौथो धिक्कार के हो र आज संसारको नैतिक अवस्थाले कसरी त्यसलाई प्रतिबिम्बित गरिरहेको छ?

१८ चौथो धिक्कारलाई हबकूक २:१५ मा यसरी वर्णन गरिएको छ: “धिक्कार त्यसलाई, जसले आफ्नो छिमेकीको नग्नता हेर्नलाई तिनीहरूलाई आफ्नो रीसको कचौराबाट पियाउँछ र मताउँछ।” यसले वर्तमान संसारको छाडा अर्थात्‌ पथभ्रष्ट अवस्थालाई संकेत गर्छ। नैतिकतालाई गम्भीरतासाथ नलिने धार्मिक गुटहरूले समेत अनैतिकतालाई समर्थन गरेकोले संसारको नैतिकता असाध्यै खस्केको छ। एड्‌स अनि अन्य यौनजन्य रोगले विश्‍वभरि उत्पात मच्चाइरहेको छ। “यहोवाको महिमा” प्रतिबिम्बित गर्नुको सट्टा मपाईं भाव भएको आजको पुस्ता पतित हुँदै परमेश्‍वरको न्यायतर्फ लम्किरहेछ। ‘गौरवको सट्टा अपमानले भरिएको’ हुनाले यस छाडा संसारले यहोवाको रिसको कचौराबाट पिउनेछ, जसले यहोवाको इच्छा चित्रण गर्छ। ‘त्यसको गौरव लाजमा परिवर्त्तन हुनेछ।’—हबकूक २:१६.

१९. हबकूकले घोषणा गरेको पाँचौं धिक्कारको सुरुमा के भनिएको छ र आज संसारमा यी शब्दहरू किन अर्थपूर्ण छन्‌?

१९ पाँचौं धिक्कारको प्रस्तावनाले खोपेर बनाइएका मूर्तिहरूको उपासना नगर्न कडा चेताउनी दिन्छ। यहोवाले अगमवक्‍ताद्वारा यी सशक्‍त शब्दहरू घोषणा गर्नुभयो: “धिक्कार त्यसलाई, जसले काठलाई भन्छ, ‘जाग्‌’, औ बोल्न नसक्ने ढुंगालाई भन्छ, ‘उठ्‌’! के त्यसले सिकाउनसक्छ? हेर्‌, त्यो ता सुन र चाँदीले मोहोरिएको छ, औ त्यसमा सासनै छैन।” (हबकूक २:१९) आजसम्म पनि मसीहीजगत्‌ अनि गैरमसीही भनौंदाहरू आफ्ना क्रूस, कुमारी मेरी, प्रतिमा तथा मानिस र पशुजस्तो देखिने मूर्तिहरूलाई दण्डवत्‌ गर्छन्‌। यहोवाले न्याय गर्नुहुँदा यीमध्ये कसैले पनि आएर आफ्ना उपासकहरूलाई बचाउन सक्दैन। अनन्तका परमेश्‍वर यहोवाको वैभव र उहाँका जीवित प्राणीहरूको महिमाको छेउमा सुन र चाँदीले बनाइएका ती मूर्तिहरू फिका पर्छन्‌। हामी सधैं उहाँको अनुपम नाउँको महिमा गरिरहौं!

२०. हामीले कस्तो मन्दिरको प्रबन्धमा आनन्दित हुँदै सेवा गर्ने विशेषाधिकार पाएका छौं?

२० हो, हाम्रो यहोवा परमेश्‍वर प्रशंसायोग्य हुनुहुन्छ। उहाँप्रति गहिरो श्रद्धा राख्दै मूर्तिपूजा विरुद्धको यो कडा चेताउनी पालन गरौं। तर सुन्‍नुहोस्‌! यहोवा अझै बोल्नुहुँदैछ: “परमप्रभु ता आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ। सारा पृथ्वी उहाँको सामने चूपचाप रहोस्‌!” (हबकूक २:२०) निस्सन्देह, अगमवक्‍ताले यरूशलेमको मन्दिरबारे सोचिरहेका थिए। तथापि, हामीले त्योभन्दा भव्य आध्यात्मिक मन्दिरमा उपासना गर्ने सुअवसर पाएका छौं, जहाँ येशू ख्रीष्ट प्रधान पूजाहारीको हैसियतमा नियुक्‍त हुनुभएको छ। यस मन्दिरको पार्थिव चोकमा हामी यहोवाको महिमित नाउँलाई दिनुपर्ने आदर चढाउन भेला हुन्छौं, सेवा गर्छौं अनि प्रार्थना गर्छौं। अनि हाम्रो स्वर्गमा हुनुहुने मायालु पिताको हार्दिक उपासना गर्न पाउनु साह्रै आनन्ददायी कुरा हो!

के तपाईंलाई सम्झना छ?

• यहोवाले “त्यसले ढीलो गर्नेछैन” भन्‍नुभएका शब्दहरूप्रति तपाईंको दृष्टिकोण कस्तो छ?

• हबकूक मार्फत घोषणा गरिएका धिक्कारहरूको वर्तमान महत्त्व के छ?

• हामीले किन यहोवाको चेताउनी निरन्तर घोषणा गरिरहनुपर्छ?

• कुन मन्दिरको चोकमा हामीले सेवा गर्ने विशेषाधिकार पाएका छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएका चित्रहरू]

हबकूकलाई जस्तै परमेश्‍वरका वर्तमान दासहरूलाई यहोवाले ढिलो गर्नुहुन्‍न भनी थाह छ

[पृष्ठ १८-मा भएका चित्रहरू]

यहोवालाई उहाँको आध्यात्मिक मन्दिरको चोकमा सेवा गर्न पाउनुभएको विशेषाधिकारको के तपाईं मूल्यांकन गर्नुहुन्छ?

[पृष्ठ १६-मा भएको चित्रको क्रेडिट लाइनहरू]

U.S. Army photo