सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा मेरो शरणस्थान र बल हुनुहुन्छ

यहोवा मेरो शरणस्थान र बल हुनुहुन्छ

जीवनी

यहोवा मेरो शरणस्थान र बल हुनुहुन्छ

मार्सेल फिल्टोको वृत्तान्तमा आधारित

“त्यससित बिहे गऱ्‍यौ भने तिमी जेल जानुपर्छ।” मैले विवाह गर्न लागेकी स्त्रीलाई मानिसहरूले यसो भने। आउनुहोस्‌, तिनीहरूले यसो भन्‍नुको कारण म तपाईंहरूलाई बताउँछु।

मेरो जन्म १९२७ मा भएको हो। त्यतिखेर क्यानाडाको क्युबेक प्रान्तमा क्याथोलिक धर्मको निकै प्रभाव थियो। त्यसको लगभग चार वर्षपछि यहोवाका साक्षीहरूको पूर्ण-समय सेविका सेसिल ड्यूफुर, मोन्ट्रेल शहरस्थित हाम्रो घरमा आउन थालिन्‌। तिनलाई हाम्रा छिमेकीहरूले अक्सर धम्काउँथे। भनौं भने, बाइबल सन्देश प्रचार गरेकोमा तिनलाई अनेकौं पटक पक्राउ गरेर दुर्व्यवहार गरिएको थियो। तसर्थ, येशूका यी शब्दहरू सत्य रहेछन्‌ भनेर हामीले तुरुन्तै बुझिहाल्यौं: “मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ।”—मत्ती २४:९.

त्यतिखेर क्यानाडामा बसेका फ्रान्सेली परिवारले क्याथोलिक धर्म छोड्‌नु सोच्नै नसकिने कुरा थियो। हुन त मेरो मुमाबुबाले बप्तिस्मा लिन पाउनुभएन तर क्याथोलिक धर्मको शिक्षा बाइबलअनुरूप छैन भनेर बुझ्न उहाँहरूलाई धेरै समय लागेन। यसकारण, उहाँहरूले हामी आठ जना छोराछोरीलाई साक्षीहरूद्वारा प्रकाशित साहित्य पढ्‌न प्रोत्साहन दिनुका साथै हामीहरूमध्ये बाइबल सत्यमा अडान लिनेहरूलाई सहयोग पनि गर्नुभयो।

कठिन समयमा अडान लिंदै

सन्‌ १९४२ मा स्कूलमा छँदादेखि नै मैले बाइबल अध्ययनमा चासो राख्न थालें। तिनीहरू प्रारम्भिक मसीहीहरूको उदाहरण अनुकरण गर्ने र युद्धमा भाग नलिने भएकाले त्यतिखेर क्यानाडामा यहोवाका साक्षीहरूका क्रियाकलापहरूमा प्रतिबन्ध लगाइएको थियो। (यशैया २:४; मत्ती २६:५२) त्यसबेला मच्चिरहेको विश्‍वयुद्धमा हतियार उठाउन इन्कार गरेकाले मेरो जेठा दाइ रोलाँलाई श्रम शिविरमा राखियो।

त्यसैताक बुबाले मलाई अडोल्फ हिट्‌लरको सैनिक अभियानलाई समर्थन नगर्ने जर्मन साक्षीहरूले भोग्नु परेको दुःखकष्टबारे वर्णन गरिएको एउटा फ्रान्सेली पुस्तक दिनुभयो। a यस्ता निडर अनि साहसी व्यक्‍तिहरूबीच हुन म पनि उत्प्रेरित भएँ अनि निजी घरमा सञ्चालन हुने यहोवाका साक्षीहरूका सभाहरू धाउन थालें। केही समयपछि मैले प्रचारकार्यमा भाग लिने निमन्त्रणा पाएँ। पक्राउमा परेर झ्यालखानामा थुनिने सम्भावना छ भनेर जान्दा जान्दै पनि मैले यो निमन्त्रणा स्वीकारें।

प्रार्थनापूर्वक साहस बटुलेर मैले पहिलो घरको ढोका ढकढकाएँ। एउटी दयालु महिला बाहिर निस्किन्‌। तिनलाई आफ्नो परिचय दिएपछि मैले २ तिमोथी ३:१६ का यी शब्दहरू पढेर सुनाएँ: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र . . . उपयोगी हुन्छ।”

मैले सोधें, “के तपाईं बाइबलबारे अझ बढी सिक्न चाहनुहुन्छ?”

“चाहन्छु नि,” भनेर ती महिलाले जवाफ दिइन्‌।

तसर्थ, बाइबलबारे मलाईभन्दा राम्रो ज्ञान भएको मेरो साथीलाई लिएर आउँछु भनें अनि अर्को हप्ता साथीसित तिनीकहाँ गएँ। यो पहिलो अनुभवपछि म झनै विश्‍वस्त भएँ अनि हामी केवल आफ्नै बलको भरमा सेवकाई पूरा गर्न सक्दैनौं रहेछ भनेर बुझें। प्रेरित पावलले भनेजस्तै यहोवाको मदत पाएर हामी यो काम गर्नसक्छौं। निस्सन्देह, “असामान्य शक्‍ति हामीबाट होइन तर परमेश्‍वरको हो” भनेर बुझ्नु आवश्‍यक छ।—२ कोरिन्थी ४:७, NW.

त्यसपछि त प्रचारकार्य गर्नु र पक्राउ पर्नु तथा झ्यालखानामा थुनिनु मेरो जीवनको भाग नै भयो। त्यसैले मेरी भावी दुलहीलाई “त्यससित बिहे गऱ्‍यौ भने तिमी जेल जानुपर्छ” भन्‍नु कुनै अनौठो कुरो थिएन! तर यस्ता अनुभवहरू त्यति असहनीय लागेनन्‌। साधारणतया, जेलमा एक रात बिताएपछि सँगी साक्षीले हामीलाई जमानतमा छुटाउँथे।

महत्त्वपूर्ण निर्णयहरू

अप्रिल १९४३ मा मैले यहोवालाई आफ्नो जीवन समर्पण गरें र पानीको बप्तिस्माद्वारा आफ्नो समर्पणलाई जनसमक्ष प्रकट गरें। त्यसपछि अगस्त १९४४ मा क्यानाडाको नजिकै पर्ने सं.रा.अ.-स्थित बफलो, न्यू योर्कमा जीवनमा पहिलो चोटि ठूलो अधिवेशनमा उपस्थित भएँ। त्यस अधिवेशनमा २५,००० जना उपस्थित भएका थिए र उक्‍त कार्यक्रमले मलाई त्यतिखेर यहोवाका साक्षीहरूको पूर्ण-समय सेवक अर्थात्‌ अग्रगामीको काम गर्न उत्प्रेरित गऱ्‍यो। क्यानाडामा यहोवाका साक्षीहरूको क्रियाकलापमाथि लगाइएको प्रतिबन्ध मे १९४५ देखि हटाइयो अनि अर्को महिनादेखि मैले अग्रगामी गर्न थालें।

तथापि, सेवकाईमा जति बढी भाग लिन थालें उति झ्यालखानामा थुनिएँ। एकताक लामो समयसम्म विश्‍वासी भई सेवा गर्ने यहोवाका सेवक म्याक मिलर र मलाई सानो कोठामा थुनियो। सिमेन्टको भुइँमा थ्याच्च बसेर हामीले कुराकानी गऱ्‍यौं। त्यो प्रोत्साहनदायी आध्यात्मिक कुराकानीले मलाई एकदमै बलियो बनायो। तर केही समयपछि मेरो मनमा एउटा प्रश्‍न खडा भयो, ‘हामी दुईबीच गलतफहमीको कारण बोलचाल नभएको भए के हुन्थ्यो होला?’ यस प्रिय भाइसित जेलमा समय बिताउँदा मैले जीवनमा एउटा उत्कृष्ट पाठ सिकें। त्यो हो, हामीलाई हाम्रा भाइबहिनीहरू चाहिन्छ, त्यसकारण एकअर्काप्रति क्षमाशील र दयावान्‌ हुनुपर्छ। नत्र ता प्रेरित पावलले लेखेझैं: “एउटाले अर्कोलाई टोक्ने र निल्ने गर्छौ भनेता, होशियार बस, एकबाट अर्को भस्म हुनु नपरोस्‌।”—गलाती ५:१५.

सेप्टेम्बर १९४५ मा मलाई क्यानाडास्थित टोरोन्टो वाच टावर सोसाइटीको शाखा कार्यालयमा सेवा गर्न बोलाइयो। शाखा कार्यालयलाई हामी बेथेल भन्थ्यौं। त्यहाँको आध्यात्मिक कार्यक्रमले प्रोत्साहन दिनुका साथै विश्‍वासलाई बलियो बनायो। वर्ष दिनपछि मलाई शाखा कार्यालयदेखि लगभग ४० किलोमिटर टाढाको बेथेल फार्ममा काम गर्न खटाइयो। तरुनी एन वलिनेकसित स्ट्रबेरी टिप्दा मैले उनको शारीरिक सुन्दरता मात्र होइन तर यहोवाप्रति प्रेम र जोस पनि देखें। हाम्रो सम्बन्ध सुमधुर हुँदै गयो र जनवरी १९४७ मा हामी वैवाहिक बन्धनमा बाँधियौं।

त्यसपछि डेढ वर्षसम्म लन्डन, ओन्टारियोमा अग्रगामीको काम गऱ्‍यौं अनि त्यसपछि केप ब्रेटन टापुमा, जहाँ हामीले एउटा मण्डली स्थापना गर्न मदत गऱ्‍यौं। त्यसपछि १९४९ मा वाचटावर बाइबल स्कूल अफ गिलियडको १४ औं कक्षामा हामीलाई बोलाइयो। उक्‍त स्कूलमा हामीले मिसनरी हुने तालिम पायौं।

क्युबेकमा मिसनरी कार्य

यसअघिका गिलियड कक्षाका क्यानेडियाली स्नातकहरूलाई क्युबेकमा प्रचारकार्य गर्न खटाइएको थियो। सन्‌ १९५० देखि हामीले १४ औं कक्षाका अरू २५ जनासहित तिनीहरूसित सेवा गर्न थाल्यौं। मिसनरी क्रियाकलापमा वृद्धि भएकोले रोमन क्याथोलिक चर्चका नेताहरूले हाम्रो विरोधमा अचाक्ली सतावट र हिंसात्मक हूलदंगा मच्चाउन थाले।

मिसनरीको पहिलो कार्यभार लिएर रुन शहरमा पुगेको दुई दिनपछि एनलाई पक्राउ गरेर प्रहरीको मोटरमा हालियो। उनको लागि यो एकदमै नौलो अनुभव थियो किनकि उनी क्यानाडाको म्यानटोबा प्रान्तको सानो गाउँमा हुर्केकी थिइन्‌। उनले प्रहरीलाई आक्कलझुक्कल मात्र देखेकी थिइन्‌। अतः उनी डराउनु अनि यो कुरा सम्झनु स्वाभाविकै हो, “त्यससित बिहे गऱ्‍यौ भने तिमी जेल जानुपर्छ।” तथापि, मोटर हाँक्नुअघि प्रहरीले मलाई पनि देखे अनि एन भएकै मोटरमा हुले। आश्‍चर्य मान्दै उनले भनिन्‌, “ओहो, तपाईंलाई देखेर मेरो मनै ढुक्क भयो!” तर उनी आत्तिइनन्‌ र “येशूबारे प्रचार गर्दा प्रेरितहरूलाई पनि यस्तै त भएको थियो नि” भन्दै मनमनै सोचिन्‌। (प्रेरित ४:१-३; ५:१७, १८) पछि त्यही दिन हामीलाई जमानतमा छुटाइयो।

उक्‍त घटना घटेको लगभग वर्ष दिनपछि हामीले मोन्ट्रेलमा नयाँ असाइनमेन्ट पायौं। एक चोटि मोन्ट्रेलमा घरघर सेवकाई गर्दै गर्दा मैले तलतिरको सडकमा होहल्ला सुनें र एक हूल मानिसहरूले ढुंगा हान्दै गरेको देखें। एन र उनको साथीलाई जोगाउन जाँदै गर्दा ठिक्क प्रहरी पनि आइपुग्यो। प्रहरीले ती मानिसहरूको हूललाई होइन तर एन र उनको साथीलाई पो पक्रे! झ्यालखानामा हुँदा एनले यस नयाँ साक्षीलाई येशूका निम्न शब्दहरूको वास्तविकता अनुभव गरिरहेका छौं भनेर बताइन्‌: “मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ।”—मत्ती १०:२२.

एकताक क्युबेकमा यहोवाका साक्षीहरू विरुद्ध लगभग १,७०० मुद्दाहरू अनिर्णित अवस्थामा रहेको थियो। साधारणतया, हामीलाई गैरकानुनी वा अनुमतिपत्रबिना साहित्य वितरण गर्दैछौं भन्‍ने आरोप लगाइन्थ्यो। फलस्वरूप, वाच टावर सोसाइटीको कानुनी विभागले क्युबेक सरकार विरुद्ध मुद्दा हाले। वर्षौंसम्म कानुनी संघर्ष गरेपछि यहोवाको मदतद्वारा हामीले क्यानाडाको सर्वोच्च अदालतमा दुइवटा ठूलो विजय हासिल गऱ्‍यौं। डिसेम्बर १९५० मा हाम्रो साहित्य गैरकानुनी हो भन्‍ने आरोपबाट हामी दोषमुक्‍त भयौं भने अक्टोबर १९५३ मा अनुमतिपत्रबिना नै बाइबल साहित्य वितरण गर्न पाउने अधिकार पायौं। यसप्रकार, यहोवा साँच्चै “हाम्रो शरणस्थान र बल हुनुहुन्छ, सकंष्टमा अति सजिलैसँग पाइने सहायक” हुनुहुन्छ भनेर प्रत्यक्ष महसुस गऱ्‍यौं।—भजन ४६:१.

उल्लेखनीय कुरा के छ भने, १९४५ मा मैले क्युबेकमा अग्रगामी गर्न थाल्दा साक्षीहरूको संख्या ३५६ थियो भने अहिले वृद्धि भएर २४,००० भन्दा बढी भइसकेको छ! यहाँ साँच्चै बाइबल भविष्यवाणीले भनेझैं भएको छ: “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ, औ मामिलामा तेरो विरुद्धमा उठ्‌ने जोसुकैलाई पनि तैंले हराउनेछस्‌।”—यशैया ५४:१७.

फ्रान्समा हाम्रो काम

सेप्टेम्बर १९५९ मा एन र मलाई फ्रान्सको पेरिसस्थित बेथेलमा सेवा गर्न बोलाइयो र मलाई छापाखानामा रेखदेख गर्न खटाइयो। जनवरी १९६० मा हामी त्यहाँ पुग्नुअघिसम्म व्यापारिक कम्पनीले मुद्रणकार्य गर्थ्यो। त्यतिखेर फ्रान्समा प्रहरीधरहरा प्रतिबन्धित थियो। तसर्थ, हामी महिनैपिच्छे ६४ पृष्ठे सानो पुस्तिकाको रुपमा पत्रिका छाप्थ्यौं। यस सानो पुस्तिकालाई यहोवाका साक्षीहरूको आन्तरिक पत्रिका भनिन्थ्यो र यसमा त्यस महिना मण्डलीमा अध्ययन गर्नुपर्ने लेखहरू हुन्थ्यो। सन्‌ १९६० देखि १९६७ सम्म फ्रान्समा प्रचारकार्यमा भाग लिनेहरूको संख्या १५,४३९ बाट वृद्धि भएर २६,२५० पुग्यो।

अन्ततः प्रायजसो मिसनरीहरूलाई अरू ठाउँहरूमा खटाइयो। कसैलाई फ्रान्सेली भाषा बोल्ने अफ्रिकी देशहरूमा खटाइयो भने कसैलाई क्युबेकमा। एनको स्वास्थ्य ठीक नभएकोले शल्यक्रिया गर्नुपर्ने भयो। त्यसैले हामी क्युबेक नै फर्क्यौं। तीन वर्षसम्म औषधोपचार गरेपछि एनको स्वास्थ्य सुधार भयो। त्यतिखेर मलाई क्षेत्रीय कार्यमा खटाइएको थियो र मैले आध्यात्मिक प्रोत्साहन दिन हप्तैपिच्छे विभिन्‍न मण्डलीमा भ्रमण गर्नुपर्थ्यो।

अफ्रिकामा मिसनरी कार्य

केही वर्षपश्‍चात्‌ १९८१ मा अहिले प्रजातान्त्रिक गणतन्त्र कंगो नाउँले चिनिने जाइरमा मिसनरी सेवा गर्ने नयाँ असाइनमेन्ट पाउँदा हामी अत्यन्तै खुसी भयौं। त्यहाँका मानिसहरू गरिब थिए अनि तिनीहरूले निकै दुःखकष्ट भोगेका थिए। हामी त्यहाँ पुग्दा २५,७५३ जना साक्षीहरू थिए तर अहिले वृद्धि भएर १,१३,००० भन्दा बढी भएको छ अनि १९९९ मा येशूको मृत्युको स्मरणार्थ उत्सवमा ४,४६,३६२ उपस्थित भए!

सन्‌ १९८४ मा नयाँ शाखा कार्यालय निर्माण गर्न हामीले सरकारबाट लगभग ५०० एकड जमिन पायौं। त्यसपछि, डिसेम्बर १९८५ मा राजधानी शहर किन्शाशामा अन्तरराष्ट्रिय अधिवेशन सम्पन्‍न भयो। विश्‍वका विभिन्‍न भागबाट आएका ३२,००० प्रतिनिधिहरू यस अधिवेशनमा उपस्थित थिए। तत्पश्‍चात्‌, पादरीहरूद्वारा उक्साइएको विरोधले गर्दा जाइरमा हाम्रो काममा खलल पुग्यो। मार्च १२, १९८६ मा जाइरका यहोवाका साक्षीहरूको संगठन गैरकानुनी हो भन्‍ने घोषणा गरिएको पत्र जिम्मेवार भाइहरूले प्राप्त गरे। हाम्रो सम्पूर्ण क्रियाकलापमा प्रतिबन्ध लगाइएको घोषणा गरिएको उक्‍त पत्रमा जाइरका तात्कालिन राष्ट्रपति मोबुटु सेसे सेकोले हस्ताक्षर गरेका थिए जसको अहिले मृत्यु भइसक्यो।

हाम्रो क्रियाकलापमा अकस्मात प्रतिबन्ध लगाइएकोले गर्दा हामीले बाइबलको यो सल्लाह व्यवहारमा उतार्नुपऱ्‍यो: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ।” (हितोपदेश २२:३) किन्शाशामा हाम्रा प्रकाशनहरू मुद्रण गर्न देशबाहिरबाट कागज, मसी, फिल्म, प्रिन्टिङ प्लेट र रासायनिक पदार्थहरू भित्र्याउने तरिका हामीले पत्ता लगायौं। हामीले प्रकाशनहरू वितरण गर्न आफ्नै प्रणाली पनि विकास गऱ्‍यौं। यो प्रणालीलाई व्यवस्थित पार्दा सरकारी हुलाक सेवाभन्दा पनि राम्रो साबित भयो!

हजारौं साक्षीहरूलाई पक्रियो अनि थुप्रैलाई निर्ममतासाथ सताइयो। यद्यपि, एक दुई जनाले बाहेक सबैले सतावट सहे अनि विश्‍वासी रहे। मलाई पनि पक्राउ गरियो अनि जेलमा भाइहरूले भोगिरहेको दारुण अवस्था देखें। गुप्त प्रहरी तथा अधिकृतहरूले हरेक तरिकामा हामीलाई थुप्रै पटक सताए तर यहोवाले सधैं हामीलाई बचाउनुभयो।—२ कोरिन्थी ४:८.

हामीले एक जना व्यापारीको गोदाममा लगभग ३,००० बाकस साहित्य लुकाएका थियौं। तर पछि उक्‍त व्यापारीको एक जना कर्मचारीले ती साहित्यबारे गुप्त प्रहरीलाई जानकारी दिएकोले तिनलाई पक्राउ गरियो। तिनीहरू झ्यालखानातर्फ जाँदै गर्दा संयोगवश मेरो गाडीसित तिनीहरूको जम्काभेट भयो। त्यस व्यापारीले मलाई देखाउँदै गोदाममा साहित्य राख्न लगाउने मै हुँ भनेर प्रहरीहरूलाई बताए। प्रहरीहरूले मेरो गाडी रोकेर त्यस व्यक्‍तिको गोदाममा गैरकानुनी साहित्य राखेको आरोप लगाए र ती साहित्यबारे सोधपुछ गर्नथाले।

“तपाईंहरूसित त्यो पुस्तक छ?” मैले सोधें।

तिनीहरूले भने, “छ।”

मैले भनें, “के म हेर्नसक्छु?”

तिनीहरूले एउटा पुस्तक लिएर मलाई दिए। मैले पुस्तक पल्टाएर तिनीहरूलाई भित्री पृष्ठमा यसो लेखिएको देखाएँ: “वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा संयुक्‍त राज्य अमेरिकामा प्रकाशित।”

तिनीहरूलाई सम्झाउँदै भनें, “तपाईंहरूको साथमा भएको चीज अमेरिकाको सम्पत्ति हो, जाइरको होइन। सरकारले जाइरमा यहोवाका साक्षीहरूको संगठनको कानुनी संस्थामाथि प्रतिबन्ध लगाएको छ, संयुक्‍त राज्यको वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीमा होइन। तसर्थ, यी प्रकाशनहरूलाई जे गर्नुहुन्छ, होस पुऱ्‍याएर गर्नुहोस्‌।”

तिनीहरूले मलाई आफ्नो बाटो लाग्न दिए किनकि तिनीहरूसित मलाई पक्राउ गर्ने अदालती आदेश थिएन। त्यही रात दुइवटा ट्रकहरू लिएर त्यस गोदाममा गयौं र सबै साहित्य निकाल्यौं। भोलिपल्ट गोदाममा केही पनि नभेट्टाउँदा अधिकृतहरू साह्रै मुरमुरिए। तब तिनीहरूले मलाई खोज्न थाले किनकि अहिलेचाहिं तिनीहरूसित मलाई पक्राउ गर्ने अदालती आदेश थियो। आखिर, तिनीहरूले मलाई भेट्टाइ छाडे। तिनीहरूको गाडी नभएकोले आफ्नै गाडी चढेर झ्यालखाना गएँ! तिनीहरूले मेरो गाडी कब्जा गर्नुअघि फर्काएर घर लानको लागि मसित एक जना साक्षी पनि झ्यालखाना गए।

आठ घण्टासम्म केरकार गरेपछि तिनीहरूले मलाई देशनिकाला गर्ने निर्णय गरे। तर तिनीहरूलाई जाइरमा प्रतिबन्ध लगाइएको यहोवाका साक्षीहरूको संगठनका मालसामानहरू तह लगाउन मलाई नियुक्‍त गरिएको सरकारी अनुमतिपत्रको फोटोकपी देखाएँ। फलतः मैले बेथेलमा काम गर्ने अनुमति पाएँ।

प्रतिबन्धको डरको बावजूद जाइरमा चार वर्षसम्म सेवा गरेपछि मलाई अल्सरको कारण पेटभित्र रगत बहने प्राणघातक रोगले समात्यो। उपचारको लागि मलाई दक्षिण अफ्रिका पठाउने निर्णय गरियो। त्यहाँको शाखा कार्यालयले मेरो राम्रो रेखदेख गऱ्‍यो र म निको भएँ। हामीले जाइरमा सेवा गरेको आठ वर्ष साँच्चै अविस्मरणीय र आनन्दमय अनुभव थियो। त्यसपछि १९८९ मा हामी दक्षिण अफ्रिकाको शाखामा खटाइयौं। सन्‌ १९९८ मा हामी स्वदेश फर्क्यौं। त्यस समयदेखि यता हामी क्यानाडाको बेथेलमा सेवा गरिरहेका छौं।

सेवा गर्न पाएकोमा कृतज्ञ

पूर्ण-समय सेवकाईमा बिताएको ५४ वर्ष सम्झिंदा, आफ्नो जवानीको शक्‍ति यहोवाको बहुमूल्य सेवामा सदुपयोग गरेकोमा म अत्यन्तै कृतज्ञ छु। अनेकौं कठिन परिस्थितिहरूको सामना गर्नुपरे तापनि एनले कहिल्यै गुनासो गरिनन्‌। बरु, हाम्रा सबै क्रियाकलापहरूमा पूरापूर सहयोग गरिन्‌। हामी दुवैले थुप्रैलाई यहोवालाई चिन्‍न मदत गर्ने सुअवसर पायौं। तिनीहरूमध्ये केहीले त अहिले पूर्ण-समय सेवकाई गरिरहेका छन्‌। तिनीहरूका केही छोराछोरी र नातिनातिनाहरू समेतले हाम्रा महान्‌ परमेश्‍वर यहोवाको सेवा गरेको देख्न पाउनु एकदमै आनन्दको कुरा हो!

यस संसारले दिनसक्ने कुनै पनि कुरासित यहोवाले हामीलाई दिनुभएको सुअवसर र आशिष्‌हरूको तुलना गर्न सकिंदैन भनेर म विश्‍वस्त छु। हो, हामीले अनेकौं परिक्षाहरू सहनुपऱ्‍यो तर त्यसले यहोवामाथिको हाम्रो विश्‍वास र भरोसा अझ बलियो बनाएको छ। साँच्चै, उहाँ बलको धरहरा, शरणस्थान र संकष्टमा अति सजिलैसित पाइने सहायक साबित हुनुभएको छ।

[फुटनोट]

a यो पुस्तक सर्वप्रथम जर्मन भाषामा क्रोइट्‌स्टसूच गीगन डास क्रिस्टनटूम (मसीहीधर्मविरुद्ध अभियान) नाउँमा प्रकाशित भएको थियो। यो पुस्तक फ्रान्सेली र पोलिशमा अनुवाद गरियो तर अंग्रेजीमा चाहिं गरिएन।

[पृष्ठ २६-मा भएका चित्रहरू]

सन्‌ १९४७ मा हामी दुईसँगै अग्रगामी गर्दै; अहिले एनसित

[पृष्ठ २९-मा भएको चित्र]

हामीले जाइरमा भेटेका मानिसहरू बाइबल सत्य मन पराउँथे