सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

लगनशील प्रयासद्वारा सफलता

लगनशील प्रयासद्वारा सफलता

लगनशील प्रयासद्वारा सफलता

अचेल लगनशील प्रयास गर्नेहरू विरलै भेटिन्छ। लगनशील हुनुभन्दा ठीक ठाउँमा ठीक समयमा कामकुरा गऱ्‍यो भने सफलता पाउन सकिन्छ भनेर विश्‍वास गर्ने थुप्रै मानिसहरू छन्‌। तिनीहरूको कुरा कसले पो काट्‌न सक्छ र? हुन पनि, एक चिम्टी प्रयास अनि अलिक धेरै पैसा खर्च गर्नुभयो भने प्रायजसो सबै थोक प्राप्त गर्न सक्नुहुन्छ भन्‍ने अनेकौं नाराहरू समाचार माध्यमद्वारा अचेल प्रचारप्रसार हुने गर्दछन्‌। रातारात सफल भएका अनि स्नातक गर्ने बित्तिकै सफल व्यापारी भएका व्यक्‍तिहरूका अनेकन्‌ कथाहरू घरीघरी अखबारहरूमा प्रकाशित हुन्छन्‌।

स्तम्भकार लेनार्ड पिट्‌स अफसोस व्यक्‍त गर्छन्‌: “मनको लड्डु घीउसँग खान पल्केको हाम्रो समाजमा ठूलो अनि महान्‌ व्यक्‍ति हुनु साह्रै सजिलो देखिन्छ। . . . खूबी जानेको छ, योग्यता छ वा भाग्यले साथ दिएको छ भने जो पनि सफल हुनसक्छ जस्तो पो लाग्छ।”

लगनशील हुनु भनेको के हो?

लगनशील हुनु भनेको ‘कुनै उद्देश्‍य वा अवस्थादेखि पर नहट्‌नु अथवा विघ्नबाधा वा अवरोधहरूको बावजूद आफ्नो काममा लागिरहनु’ हो। यसले अटल भएर रहनु कठिनाइसामु हरेस नखाई जुझिरहनु भन्‍ने बोध गराउँछ। बाइबलले यो गुणको महत्त्वमाथि प्रकाश पार्छ। उदाहरणका लागि, परमेश्‍वरको वचन हामीलाई यस्तो सल्लाह दिन्छ: “पहिले उहाँको राज्य . . . खोजी गर,” “घच्घच्याओ, त तिमीहरूको निम्ति खोलिनेछ,” “प्रार्थनामा अटूटसँग लागिरहो” अनि “जुन असल छ, त्यसैमा लागिरहो।”—मत्ती ६:३३; लूका ११:९; रोमी १२:१२; १ थिस्सलोनिकी ५:२१.

लगनशील हुनुको एउटा महत्त्वपूर्ण भाग हो, अवाञ्छनीय अवरोधहरूको सामना गर्नु। हितोपदेश २४:१६ भन्छ: “धर्मी मानिस सातपल्ट लोट्यो भने पनि फेरि उठ्‌छ, तर बदमाश चाहिं दुर्दिनलेनै गिर्नेछ।” लगनशील व्यक्‍ति जस्तोसुकै कठिनाइ वा असफलताको सामना गर्नुपर्दा ‘भाग्नुको’ सट्टा ‘उठ्‌छ,’ ‘हिम्मत गर्छ’ अनि फेरि कोसिस गर्छ।

तथापि, थुप्रै मानिसहरू जीवनमा आइपर्ने कठिनाइ र असफलताहरूको सामना गर्न पहिल्यै तयार हुँदैनन्‌। लगनशील हुने संकल्प विकास नगरेकोले तिनीहरू सजिलै हरेस खान्छन्‌। लेखक मोर्ली केलाघन भन्छन्‌: “थुप्रै मानिसहरू असफल हुँदा आफैलाई हानि गर्ने कामकुरा गर्छन्‌। तिनीहरू बिलौना गर्छन्‌, सबैलाई दोष दिन्छन्‌, खिन्‍न महसुस गर्छन्‌ अनि . . . फेरि प्रयास नै गर्दैनन्‌।”

यो एकदमै दुःखलाग्दो कुरा हो। पिट्‌स भन्छन्‌, “परीक्षाहरू आइपर्नुको पनि कारण छ भनेर हामी चटक्क बिर्सन्छौं, दुःखकष्टद्वारा पनि केही मूल्यवान्‌ कुरा पाइन्छ।” त्यो के हो? तिनी भन्छन्‌: “असफलता हात लाग्दैमा न सबै कुरा सधैंको निम्ति बिग्रन्छ नता एक पटक हार खानु पर्दैमा सधैंभरि नै हार खाइन्छ। असफलताबाट धेरै कुराहरू सिक्न सकिन्छ। त्यसले जीवनमा आइपर्ने कुराको सामना गर्न तयार बनाउँछ।” त्यसैकारण बाइबलले सरल शब्दहरूमा यसो भन्छ: “मेहनतको फल मीठो हुन्छ।”—हितोपदेश १४:२३.

निस्सन्देह, लोटेर फेरि उठ्‌नु सधैं सजिलो हुँदैन। कहिलेकाहीं चुनौतीहरू आइपर्छन्‌ अनि जति नै कोसिस गरे तापनि ती चुनैतीहरू सामना गर्न सकिंदैन जस्तो लाग्नसक्छ। हाम्रा लक्ष्यहरू पूरा हुनुको सट्टा झन्‌ झनै आकाशको फलजस्तो हुँदै गएको महसुस हुनसक्छ। हतास खानसक्छौं, असहाय महसुस गर्नसक्छौं अनि निरुत्साहित र खिन्‍नसमेत हुनसक्छौं। (हितोपदेश २४:१०) तरै पनि बाइबल हामीलाई यस्तो प्रोत्साहन दिन्छ: “भलाइ गर्नामा हरेस नखाऔं, किनभने, यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं।”—गलाती ६:९.

लगनशील भई प्रयास गर्न हामीलाई केले मदत गर्नसक्छ?

आफ्नो कामकुरामा लगनशील हुने पहिलो कदम हो, फलदायी अनि सजिलै हासिल गर्न सकिने लक्ष्यहरू तय गर्नु। प्रेरित पावलले पक्कै पनि यो कुरा बुझेका थिए। तिनले कोरिन्थीहरूलाई भने: “म यसरी दगुर्छु, बेताकसित होइन, म यसरी मुक्का लड़दछु, केवल हावामा हान्‍ने जस्तो होइन।” दौड सकिने रेखा नाघ्न सम्पूर्ण ध्यान लगाएर दौडिने धावकले जस्तै आफ्ना प्रयासहरू सफल बनाउन स्पष्ट लक्ष्य राख्नुपर्छ भनी पावललाई थाह थियो। तिनले यस्तो आग्रह गरे: “के तिमीहरूलाई थाह छैन दौड़मा दगुर्नेहरू सबै दगुर्छन्‌, पुरस्कार एउटैले मात्र पाउँछ? त्यसरीनै दगुर, र पुरस्कार पाओ।” (१ कोरिन्थी ९:२४, २६) हामी कसरी यसो गर्नसक्छौं?

हितोपदेश १४:१५ भन्छ, “समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ।” (नयाँ संशोधित संस्करण) हामी कतातिर लम्किरहेका छौं अनि कहाँ काँटछाँट गर्नु आवश्‍यक छ भन्‍ने प्रश्‍न गर्दै आफ्नो कामकुरा पुनर्विचार गर्नु बुद्धिमानी हुन्छ। हामी के गर्न चाहन्छौं र किन, स्पष्ट हुनुपर्छ। हामीले आफ्नो अन्तिम लक्ष्यलाई मनमा ठप्प राख्यौं भने थाकेर जाने त्यति सम्भावना हुँदैन। “तेरो आँखाले तेरो अगि सीधा हेरोस्‌” भनेर प्रेरित भएका हितोपदेश आग्रह गर्छ। यसो गर्नाले हाम्रो ‘मार्ग सुरक्षित रहनसक्छ।’—हितोपदेश ४:२५, २६.

निश्‍चित लक्ष्यहरू तय गरेपछि चाल्नुपर्ने अर्को कदम हो, ती लक्ष्यहरू कसरी प्राप्त गर्ने भनेर विश्‍लेषण गर्नु। येशूले प्रश्‍न गर्नुभयो: “तिमीहरूमध्ये कसले एउटा धरहरा बनाउने इच्छा गर्दा त्यो सिध्याउने . . . खर्च आफूसँग छ कि छैन भनी पहिले बसेर हिसाब गर्दैन?” (लूका १४:२८) यही सिद्धान्तअनुरूप एक मानसिक स्वास्थ्य विशेषज्ञ यसो भन्छन्‌: “मैले सफल मानिसहरूमा देखेको एउटा कुरा हो, तिनीहरूले आफ्नो जीवनमा हुने कुरा र त्यसको असरबीचको सम्बन्ध राम्ररी बुझेका हुन्छन्‌। केही प्राप्त गर्नु छ भने आवश्‍यक सबै कदम चाल्नुपर्छ भनेर सफल मानिसहरूले बुझेका हुन्छन्‌।” आफूले चाहेको कुरा प्राप्त गर्न चाल्नुपर्ने सबै कदमहरू राम्ररी बुझेको छ भने ध्यान केन्द्रित गर्न सजिलो हुन्छ। साथै अवरोधहरूको सामना गर्नुपर्दा लोट्‌नुको साटो सबै कुरालाई पुनः समेटेर सुरु गर्न गाह्रो हुँदैन। ओर्भिल र विल्भर राइटको सफलताको आधार पनि यस्तै विश्‍लेषण थियो।

तसर्थ, अवरोधहरू आइपर्दा सकारात्मक दृष्टिकोण राख्ने अनि त्यसबाट केही सिक्ने यथासक्य प्रयास गर्नुहोस्‌। परिस्थितिलाई केलाउनुहोस्‌, कहाँ गल्ती भयो विचार गर्नुहोस्‌ अनि गल्ती वा कमजोरीहरू सच्याउनुहोस्‌। अरूसित कुराकानी गर्न पनि सकिन्छ किनकि “असल योजनाको रहस्य होशियारी हो।” (हितोपदेश २०:१८) यसरी जति जति तपाईं प्रयास गर्दै जानुहुन्छ उति नै बढी दक्ष र निपुण हुँदै जानुहुनेछ अनि अन्ततः सफलता हासिल गर्नुहुनेछ।

लगनशील हुनुको तेस्रो आवश्‍यक पक्ष हो, निरन्तर लागिरहनु। प्रेरित पावल हामीलाई यस्तो आग्रह गर्छन्‌: “केवल जहाँसम्म हामी पुगिसकेका छौं, त्यहीबमोजिम हामी चलौं।” (फिलिप्पी ३:१६) एक जना प्रशिक्षकअनुसार, “संयमी भएर निरन्तर लागिरहनाले समयमा राम्रो फल पाइन्छ।” यो कुरा इसपको कछुवा र खरायोको नीति कथाबाट पनि प्रस्ट हुन्छ। खरायोभन्दा कता हो कता ढिलो हिंड्‌ने भए तापनि कछुवाले दौड जित्यो। किन? किनकि कछुवा अनुशासित भएर निरन्तर दौडिरह्‍यो। बीच बाटैमा दौडन छाड्‌नुको सट्टा आफूले सक्ने गतिमा ऊ दौड्यो अनि अन्तिम लक्ष्यसम्म नपुगुञ्जेल दौडिरह्‍यो। व्यवस्थित भएर लगातार अघि बढिरहने व्यक्‍तिले उन्‍नति गर्दै जान्छ। फलतः तिनको उत्साह बढ्‌दैजान्छ अनि बीचैमा दौड छाड्‌ने त्यति सम्भावना हुँदैन। हो, आफ्नो लक्ष्यमा पुग्ने गरी ‘दौडिनुहोस्‌।’

लाभदायी लक्ष्यहरू छनौट गर्ने

निस्सन्देह, लगनशील प्रयासको फल चाख्न लक्ष्यहरू पनि फलदायी हुनुपर्छ। थुप्रै मानिसहरू आनन्द दिन नसक्ने कुराहरू प्राप्त गर्न दौडधुप गर्छन्‌। तर बाइबल यसो भन्छ: “जसले स्वतंत्रताको सिद्ध व्यवस्थामा ध्यान दिएर हेर्दछ, . . . त्यही मानिसले उसको काममा श्‍याबासी पाउनेछ।” (याकूब १:२५) हो, बाइबलमा भएको परमेश्‍वरको व्यवस्था बुझ्नको निम्ति अध्ययन गर्नु एकदमै फलदायी लक्ष्य हो। किन? किनकि परमेश्‍वरको व्यवस्था सिद्ध र धार्मिक स्तरहरूमा आधारित छ। सृष्टिकर्ता हुनुभएकोले आफ्ना प्राणीहरूका लागि कुन कुरा असल छ भनेर उहाँलाई थाह छ। तसर्थ, परमेश्‍वरका निर्देशनहरू सिक्ने अनि आफ्नो जीवनमा लागू गर्ने प्रयास गऱ्‍यौं भने हामी अवश्‍य आनन्दित हुनेछौं। हितोपदेश ३:५, ६ यस्तो प्रतिज्ञा गर्छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌ . . . आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”

यसबाहेक, परमेश्‍वर र येशूको शिक्षा लिनु भनेको “अनन्त जीवन” हो भनेर येशूले बताउनुभयो। (यूहन्‍ना १७:३) बाइबल भविष्यवाणीअनुसार हामी यस रीतिरिवाजको “आखिरी दिनमा” बाँचिरहेका छौं। (२ तिमोथी ३:१-५; मत्ती २४:३-१३) अब चाँडै परमेश्‍वरको राज्य अर्थात्‌ उहाँको धार्मिक सरकारले पृथ्वीवासीमाथि शासन सुरु गर्नेछ। (दानिएल २:४४; मत्ती ६:१०) यस सरकारले सबै आज्ञाकारी मानिसहरूका लागि अपूर्व शान्ति, समृद्धि र सौहार्दले भरिएको युग सुरु गर्नेछ। (भजन ३७:१०, ११; प्रकाश २१:४) प्रेरित १०:३४ भन्छ, “परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न।” हो, सबैले यसबाट फाइदा उठाउनसक्छन्‌!

बाइबल, ज्ञान र अर्थपूर्ण कुराले भरिएको पुरातन पुस्तक हो। यसलाई बुझ्न समय र प्रयास चाहिन्छ। तर परमेश्‍वरको मदत लिएर यसमा भएको ज्ञान खोज्ने प्रयास गऱ्‍यौं भने, त्यो हाम्रोलागि खुला किताबजस्तै हुनेछ। (हितोपदेश २:४, ५; याकूब १:५) हुन त हो, आफूले सिकेका कुराहरू व्यवहारमा उतार्नु चुनौतीपूर्ण हुनसक्छ। हामीले आफ्ना सोचाइ तथा आनीबानीहरूमा काँटछाँट गर्नुपर्ने हुनसक्छ। असल मनसाय भएका साथीभाइ वा परिवारका सदस्यहरूले समेत हामीले बाइबल अध्ययन गरेकोमा विरोध गर्नसक्छन्‌। तसर्थ, लगनशील भई प्रयास गर्नु आवश्‍यक छ। “धीरजसँग असल काम” गर्नेहरूलाई परमेश्‍वरले अनन्त जीवन दिनुहुनेछ भनी पावल हामीलाई याद दिलाउँछन्‌। (रोमी २:७) यो लक्ष्य हासिल गर्ने मदत दिन यहोवाका साक्षीहरू खुसी हुनेछन्‌।

लगनशील भई परमेश्‍वर र उहाँको इच्छाबारे सिक्नुभयो अनि सिकेका कुराहरू व्यवहारमा उतार्ने प्रयास गर्नुभयो भने तपाईं सफल हुनुहुनेछ भनी निर्धक्क हुनुहोस्‌।—भजन १:१-३.

[पृष्ठ ६-मा भएको चित्र]

लगनशील भई परमेश्‍वर र उहाँको इच्छाबारे सिक्ने प्रयास गर्नुभयो भने तपाईं सफल हुनुहुनेछ

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

Culver Pictures