सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अरूलाई आदर गर्ने—मसीहीको अपरिहार्य गुण

अरूलाई आदर गर्ने—मसीहीको अपरिहार्य गुण

अरूलाई आदर गर्ने—मसीहीको अपरिहार्य गुण

आदर गर्नुमा सम्मानयोग्य व्यक्‍तिलाई दिनुपर्ने विशेष ध्यान वा मान दिनु अनि तिनी, तिनका योग्यता, उपलब्धि, कार्य, पद वा अख्तियारको कदर र श्रद्धा गर्नु समावेश छ। बाइबल लेखिएको मौलिक भाषामा आदरसित सम्बन्धित शब्दहरूले पनि अरूलाई सम्मान गर्नु वा स्वास्थ्यकर भय राख्नु भन्‍ने बुझाउँछन्‌। अरूलाई आदर गर्नु भनेको मसीही दायित्व हो भनेर धर्मशास्त्रले स्पष्टसित बताउँछ। तर कसको आदर गर्ने?

यहोवालाई आदर गर्ने

यहोवा परमेश्‍वर सृष्टिकर्ता हुनुभएकोले उहाँले सृष्टि गर्नुभएको सबै बुद्धिमान्‌ प्राणीहरूले उहाँलाई सबैभन्दा बढी अनि गहिरो आदर गर्न योग्यको हुनुहुन्छ। (प्रकाश ४:११) यसो गर्न सबैले विश्‍वासी भई उहाँको आज्ञा पालन गर्नुपर्छ र त्यो आज्ञाकारिता उहाँप्रतिको प्रेम अनि उहाँले हाम्रो निम्ति गर्नुभएका कुराहरूको मूल्यांकनमा आधारित हुनुपर्छ। (१ यूहन्‍ना ५:३) यहोवाले इस्राएल राष्ट्रलाई यस्तो प्रश्‍न गर्नुभयो: “यदि म बाबु हो भने मेरो मान खोइ? यदि म मालिक हो भने मेरो डर खोइ?” यसले प्रस्ट पारेअनुसार यहोवालाई आदरपूर्ण सम्मान गर्नुमा उहाँलाई प्रसन्‍न तुल्याउने ईश्‍वरीय तथा श्रद्धेय भय पनि समावेश छ।—मलाकी १:६.

मुख्य पूजाहारी एलीका छोराहरू होप्नी र पीनहासले त्यस्तो ईश्‍वरीय भय देखाउनबाट चुके। आफ्ना महान्‌ गुरु यहोवाको व्यवस्था अनादर गरेर उहाँलाई उपासनाको वेदीमा चढाइएको बलिदानको असल थोक तिनीहरूले आफ्नो निम्ति राखे। सृष्टिकर्ताको कुरा आफ्नो निम्ति लिनेले पवित्र कुराहरूको अनादर गर्छ। अनि एलीले चाहिं आफ्ना छोराहरूको उक्‍त कार्यप्रति कडा कारबाही नगरेर यहोवालाई भन्दा तिनीहरूलाई बढी आदर गरे। यहोवालाई दिनुपर्ने आदर नदिनाले एलीको परिवारले भयानक परिणामहरू भोग्नुपऱ्‍यो।—१ शमूएल २:१२-१७, २७-२९; ४:११, १८-२१.

विश्‍वासी भई आज्ञा पालन गरेर अनि श्रद्धेय भय राखेर यहोवा परमेश्‍वरलाई आदर गर्नुमा आफ्ना धनसम्पत्तिले आदर गर्नु पनि समावेश छ। हितोपदेश ३:९ मा यस्तो लेखिएको पाउँछौं: “आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर गर्‌।” यहोवाको उपासनालाई अघि बढाउन आफ्नो समय, शक्‍ति र भौतिक कुराहरू प्रयोग गर्न सकिन्छ।

परमेश्‍वरका पुरातन तथा वर्तमान प्रतिनिधिहरूलाई आदर गर्ने

यहोवाका प्रवक्‍ताहरूको हैसियतमा अगमवक्‍ताहरू आदर पाउने योग्यका थिए। तर इस्राएलीहरूले तिनीहरूलाई आदर गर्नुको सट्टा अक्सर मौखिक र शारीरिक दुर्व्यवहार गर्थे। तिनीहरूलाई मार्नसमेत पछि परेनन्‌। यहोवाका प्रतिनिधिहरूलाई इस्राएलीहरूले यत्तिसम्म अनादर गरे कि उहाँको पुत्रको हत्यासमेत गरे। येशूले यसो भन्‍नुभएको थियो: “पुत्रको आदर नगर्नेले उसलाई पठाउने पिताको पनि आदर गर्दैन।” (यूहन्‍ना ५:२३) तिनीहरूले असाध्यै अनादर गरेको हुँदा यहोवाले सा.यु. ७० मा अविश्‍वासी यरूशलेममाथि न्याय कार्यान्वयन गर्नुभयो।—मर्कूस १२:१-९.

मसीही मण्डलीमा शिक्षकजस्ता विशेष जिम्मेवारी पाएकाहरू सँगी विश्‍वासीहरूको मदत र आदरका योग्य थिए। (हिब्रू १३:७, १७) प्रेरित पावलले तिमोथीलाई लेख्दा ती निरीक्षकहरू “दोहोरो आदरका योग्य” थिए भने। यसमा तिनीहरूले मण्डलीको खातिर गरेको कडा परिश्रमको लागि स्वैच्छापूर्वक आर्थिक सहयोग दिनुसमेत समावेश हुन्छ। (१ तिमोथी ५:१७, १८) तथापि, सबै मसीहीहरू सँगी विश्‍वासीहरूको आदरका योग्य छन्‌। पावलले अझ यस्तो सल्लाह पनि दिए: “मानमा एउटाले अर्कोको बढ़ता कदर गर।” (रोमी १२:१०) हरेक मसीहीलाई आफ्ना कमजोरीहरू सँगी विश्‍वासीहरूलाई भन्दा राम्ररी थाह हुन्छ। त्यसकारण, हर समय अरूलाई महत्त्वपूर्ण ठान्दै र आदर गर्दै तिनीहरूलाई आफूभन्दा श्रेष्ठ ठान्‍नु उपयुक्‍त छ।—फिलिप्पी २:१-४.

परिवारका सदस्यहरू एकअर्कालाई आदर गर्छन्‌

पत्नीले आफ्नो पति परिवारको शिर हुन्‌ भन्‍ने सम्झँदै तिनको स्वास्थ्यकर भय राख्नुपर्छ अथवा गहिरो आदर गर्नुपर्छ। (एफिसी ५:३३) उक्‍त कुरा परमेश्‍वरको प्रबन्धमा मानिसलाई दिइएको प्रभुत्वसित मेल खान्छ। स्त्री नभई पुरुषलाई पहिला सृष्टि गरिएको थियो र तिनी “परमेश्‍वरको रूप र शोभा” हुन्‌। (१ कोरिन्थी ११:७-९; १ तिमोथी २:११-१३) आफ्नो पतिलाई गहिरो आदर गर्ने स्त्रीको उल्लेखनीय उदाहरण सारा थिइन्‌। तिनले आफ्नो भित्री हृदयबाट आदर गरेकी थिइन्‌ किनकि अरूलाई सुनाउनको लागि मात्र नभई साराले “मनमनै” आफ्नो पतिलाई “प्रभु” भन्थिन्‌।—१ पत्रुस ३:१, २, ५, ६; उत्पत्ति १८:१२.

अर्कोतिर, पतिहरूलाई यस्तो आग्रह गरिएको छ: “त्यसैगरी जीवनको अनुग्रहको सजिया हकदारसमेत भएकोले निर्बल पात्रलाई जस्तो [आफ्नी पत्नीलाई] आदर दिई बुद्धिमानीसाथ तिम्रा पत्नीसँग बस।” (१ पत्रुस ३:७) तसर्थ, आत्मा-अभिषिक्‍त मसीही पतिहरूले आफ्नो पत्नी पनि येशूमा आफूसँगसँगै सजिया हकदार हुन्‌ र तिनीहरूको बल पुरुषहरूको भन्दा कम हुन्छ भनेर बुझ्दै तिनीहरूसित आदरणीय ढंगमा व्यवहार गर्नुपर्छ।—गलाती ३:२८.

छोराछोरीको सन्दर्भमा आमाबाबु परमेश्‍वरका प्रतिनिधिहरू भएकाले तिनीहरूलाई तालिम, अनुशासन र निर्देशन दिनु आमाबाबुको हक हो। त्यसैकारण, आमाबाबु सम्मान अथवा आदरका योग्य छन्‌। (एफिसी ६:१-३) यसको अर्थ सानो छँदा मात्र आमाबाबुको आज्ञा पालन गर्ने अनि आदर गर्ने होइन तर आवश्‍यक परेको खण्डमा पछि तिनीहरूको मायालु रेखदेख पनि गर्नुपर्छ। मसीही मण्डलीमा बूढा-पाका र खाँचोमा परेका आमाबाबुलाई पालन-पोषण गरेर आदर नगर्ने मानिस विश्‍वास नगर्नेहरूभन्दा पनि खराब मानिन्छ। (१ तिमोथी ५:८) प्रेरित पावलले तिमोथीलाई भनेझैं आर्थिक सहयोग दिन सक्ने छोरा-छोरी अथवा नाति-नातिनीहरू भएका विधवाहरूलाई रेखदेख गर्ने भार मण्डलीले लिनु आवश्‍यक थिएन।—१ तिमोथी ५:४.

शासक र मण्डली बाहिरकाहरूलाई आदर गर्ने

उच्च सरकारी पदमा भएका मानिसहरूलाई पनि सम्मान वा आदर गर्नुपर्छ। मसीहीहरूले कसैको कृपा पाउनको लागि नभई परमेश्‍वरको इच्छा गर्दै यस्तो आदर गर्छन्‌। व्यक्‍तिगत तवरमा ती मानिसहरू भ्रष्ट हुनसक्छन्‌। (प्रेरित २४:२४-२७ तुलना गर्नुहोस्‌।) तर तिनीहरूले सँभालिरहेको जिम्मेवारी पदको लागि आदर गरिन्छ। (रोमी १३:१, २, ७; १ पत्रुस २:१३, १४) त्यस्तै गरी, दासहरूले आफ्ना मालिकहरूले अह्राएको काम आदरसाथ गरेर अनि परमेश्‍वरको नाउँमा कलंक लाग्ने काम नगरेर तिनीहरूलाई सबै आदरको योग्य ठान्‍नुपर्ने थियो।—१ तिमोथी ६:१.

कुनै मानिसले मसीहीलाई आफ्नो आशाको कारण सोध्दा तिनले “नम्रता र डरसँग” जवाफ दिन्छन्‌। बेइज्जतीपूर्ण ढंगमा प्रश्‍न सोधिएको भए तापनि मसीहीले झोक्किएर, रिसाएर वा नमीठो ढंगमा नभई विनम्र ढंगमा जवाफ दिन्छन्‌। मानिसहरूको डरले गर्दा होइन तर मसीहीहरूले यहोवा परमेश्‍वर र प्रभु येशू ख्रीष्टको उपस्थितिमा जस्तै तिनीहरूलाई गहिरो आदर गर्छन्‌।—१ पत्रुस ३:१४, १५.

आदर देखाउँदा इनामहरू पाइन्छ

ईश्‍वरीय आदर देखाउनेहरूलाई सम्मान र मूल्यांकन गर्दै यहोवाले मानिसहरूलाई आशिष्‌ र इनाम दिनुभएर तिनीहरूको कदर गर्नुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ: “मलाई आदर गर्नेलाई म आदर गर्नेछु।” (१ शमूएल २:३०) राजा दाऊदले विश्‍वासी भई यहोवाको सेवा गरे अनि साँचो उपासनाको लागि आफ्ना बहुमूल्य थोकहरू प्रयोग गर्नुका साथै आफ्नो जीवन र बलले उहाँको साँच्चै सम्मान गरे। यहोवाले दाऊदको विश्‍वासी जीवनपद्धतिको आदर गर्नुभयो र तिनीसित राज्यको करार बाँध्नुभएर तिनलाई इनाम दिनुभयो।—२ शमूएल ७:१-१६.

मसीही मण्डलीमा भएका परमेश्‍वरका प्रतिनिधिहरूलाई आदर गर्नेहरूले मायालु गोठालाहरूको रेखदेखबाट लाभ उठाउँछन्‌ र ती निरीक्षकहरूले ‘आनन्दसाथ’ तिनीहरूको ‘लेखा’ दिनेछन्‌ भनेर ढुक्क हुन्छन्‌। (हिब्रू १३:१७) खाँचोमा परेका विधवाहरूले विश्‍वासी भई यहोवाको सेवा गरेकोले मण्डलीमा तिनीहरूलाई सम्मान गरिन्छ र आवश्‍यक परेको खण्डमा तिनीहरूलाई आर्थिक सहयोग दिइन्छ। (१ तिमोथी ५:३, ९, १०) एकअर्कालाई आदर गर्ने पति पत्नीले आनन्दायी र फलदायी वैवाहिक जीवनको आनन्द उठाउँछन्‌ अनि आदर गर्ने छोराछोरीले परमेश्‍वर र मानिसको अनुग्रह पाउँछन्‌। (लूका २:५१, ५२) अख्तियारवालाहरू र विरोधीहरूलाई समेत आदर गर्दा मसीहीको अन्तस्करण सफा हुनुका साथै यहोवाको नाउँको आदर हुन्छ। सबैभन्दा मुख्य कुरा, आफ्नो महान्‌ सृष्टिकर्ताको इच्छा र उद्देश्‍यको गहिरो आदर गर्नेहरूले सिद्ध अवस्थामा सधैंभरि यहोवाको सेवा गर्ने प्रतीक्षा गर्छन्‌।