सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंसित “ख्रीष्टको मन” छ?

के तपाईंसित “ख्रीष्टको मन” छ?

के तपाईंसित “ख्रीष्टको मन” छ?

“धीरज र शान्तिका परमेश्‍वरले तिमीहरूलाई ख्रीष्ट येशूको अनुसार आपसमा एउटै मन दिऊन्‌।”– रोमी १५:५.

१. मसीहीजगत्‌का थुप्रै चित्रहरूमा येशूको कस्तो चित्रण गरिएको छ र यसरी येशूको चित्रण गर्नु किन न्यायसंगत देखिंदैन?

 उहाँ हाँस्नुभएको त कहिल्यै पनि देखिएन।” पुरातन रोमी अधिकृतले लेखेको भनी झूटो दाबी गरिएको लेखोटमा यसरी येशूको वर्णन गरिएको छ। बितेको ११ औं शताब्दीदेखि आजसम्म त्यही अवस्था रहेको यो लेखोटले थुप्रै चित्रकारहरूलाई प्रभाव पारेको देखिन्छ। a थुप्रै चित्रहरूमा येशूलाई कहिल्यै नमुस्कुराउनु हुने, दुःखी देखाइएको छ। तर सुसमाचारका पुस्तकहरूले मिजासिलो, गहिरो भावसहितको दयालु व्यक्‍ति भनी वर्णन गरेको येशूको यस्तो चित्रण न्यायसंगत देखिंदैन।

२. हामीले “येशूको अनुसार आपसमा एउटै मन” कसरी खेती गर्नसक्छौं र यसले हामीलाई के गर्न सुसज्जित पार्नेछ?

स्पष्टतः वास्तविक येशूलाई चिन्‍न उहाँ यस पृथ्वीमा हुनुहुँदा कस्तो प्रकारको व्यक्‍ति हुनुहुन्थ्यो त्यसबारे सही ज्ञान हासिल गरेर हामीले आफ्नो मन अनि हृदयमा सही कुरा भर्नुपर्छ। त्यसैकारण आउनुहोस्‌, “ख्रीष्टको मन” अर्थात्‌ उहाँका भावना, सोचाइ तथा तर्कहरूबारे अन्तरदृष्टि पाउन सुसमाचारका पुस्तकहरूमा दिइएका केही विवरणहरू जाँचौं। (१ कोरिन्थी २:१६) साथै “येशूको अनुसार आपसमा एउटै मन” पनि कसरी खेती गर्नसक्नेछौं, त्यो पनि विचार गरौं। (रोमी १५:५) किनकि यसो गऱ्‍यौं भने हामी आफ्नो जीवन बिताउँदा अनि साथै अरूसित व्यवहार गर्दा उहाँले हाम्रोनिम्ति राखिदिनुभएको नमुना पछ्याउनसक्नेछौं।—यूहन्‍ना १३:१५.

नहिचकिचाई नजिक जान सकिने

३, ४. (क) मर्कूस १०:१३-१६ मा लिपिबद्ध विवरणको कस्तो पृष्ठभूमि थियो? (ख) चेलाहरूले साना केटाकेटीहरूलाई उहाँ नजिक आउन नदिंदा येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो?

मानिसहरू येशूतर्फ आकर्षित हुन्थे। थुप्रै अवसरहरूमा भिन्‍नाभिन्‍नै उमेर र पृष्ठभूमिका मानिसहरूले उहाँसित मन लागेको बेला नहिचकिचाई कुरा गरे। मर्कूस १०:१३-१६ मा लिपिबद्ध घटनालाई विचार गर्नुहोस्‌। यो घटना येशूको सेवकाईको अन्ततिर र त्यो पनि अत्यन्त पीडादायी मृत्युको सामना गर्न अन्तिम पटक यरूशलेम जानुभएको बेलाको हो।—मर्कूस १०:३२-३४.

कल्पना गर्नुहोस्‌। येशूले आशिष्‌ देऊन्‌ भनी मानिसहरूले आफ्ना छोराछोरी र शिशुहरूसमेत ल्याउन थाले। b तथापि, चेलाहरूले ती बच्चाहरूलाई येशूकहाँ जानदेखि रोक्न खोजे। सायद तिनीहरूले यस्तो निर्णायक घडीमा बच्चाहरूले अलमल गरेको येशू चाहनुहुन्‍न होला भन्ठाने। तर तिनीहरूको अनुमान गलत थियो। चेलाहरूले त्यसरी बच्चाहरूलाई रोक्न खोजेको येशू मन पराउनुहुन्‍न। येशू बच्चाहरूलाई आफू नजिक बोलाउनुहुन्छ र भन्‍नुहुन्छ: “साना केटाकेटीहरूलाई मकहाँ आउनदेओ, तिनीहरूलाई नरोक।” (मर्कूस १०:१४) त्यसपछि उहाँले जे गर्नुभयो त्यसमा साँच्चै कोमल र मायालु भाव प्रकट हुन्छ। विवरण भन्छ: “उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरू माथि आफ्नो हात राखेर आशीर्वाद दिनुभयो।” (मर्कूस १०:१६) येशूले बच्चाहरूलाई आफ्नो न्यानो अंगालोमा लिनुहुँदा स्पष्टतः तिनीहरूलाई अप्ठ्यारो लागेन।

५. मर्कूस १०:१३-१६ को विवरणले येशू कस्तो प्रकारको व्यक्‍ति हुनुहुन्छ भनेर बताउँछ?

यो छोटो विवरणले येशूको व्यक्‍तित्वबारे धेरै कुरा बताउँछ। उहाँसित नहिचकिचाई कुरा गर्न सकिन्थ्यो भन्‍ने कुरा पनि याद गर्नुहोस्‌। स्वर्गमा उच्च स्थान पाउनुभएको भए तापनि असिद्ध मानवहरू सामु उहाँले ठूलाबडाको जस्तो हैकम जमाउनु भएन न त तिनीहरूलाई होच्याउनुभयो। (यूहन्‍ना १७:५) बच्चाहरूले समेत उहाँसित सजिलो महसुस गर्नु के अर्थपूर्ण छैन र? कहिल्यै नमुस्कुराउने वा नहाँस्ने कठोर र नीरस मानिससित तिनीहरू पक्कै आकर्षित हुनेथिएनन्‌! हर उमेरका मानिसहरू येशूसित नहिचकिचाई नजिकिए किनकि तिनीहरूलाई उहाँ मिजासिलो, अरूको ख्याल गर्ने र अरूलाई कहिल्यै नहोच्याउने व्यक्‍ति हुनुहुन्छ भनेर थाह थियो।

६. प्राचीनहरूले अरूलाई आफूसित अझ खुलस्त हुने गरी नजिकिन कसरी मदत गर्नसक्छन्‌?

यस विवरणलाई ध्यानमा राख्दै हामी आफैलाई सोध्नसक्छौं, ‘के मसित ख्रीष्टको मन छ? के मानिसहरू नहिचकिचाई मेरो नजिक आउन मान्छन्‌?’ वर्तमान कठिन समयमा परमेश्‍वरका भेडाहरूलाई यस्तै नहिचकिचाई कुरा गर्न गोठालो चाहिन्छ। ती तिनीहरूका निम्ति “बतासबाट लुक्ने ठाउँ” समान छन्‌। (यशैया ३२:१, २; २ तिमोथी ३:१) प्राचीनहरू हो, तपाईंहरूले भाइहरूलाई हार्दिक चासो देखाउनसक्नुभयो र तिनीहरूका लागि आफूलाई अर्पण गर्नसक्नुभयो भने तिनीहरूले तपाईं तिनीहरूको ख्याल गर्नुहुँदो रहेछ भनेर बुझ्नेछन्‌। यो तिनीहरूले तपाईंको मुहारमा देख्नसक्छन्‌, तपाईंको बोलीमा सुन्‍नसक्छन्‌ र तपाईंको व्यवहारमा देख्नसक्छन्‌। यस्तो साँचो न्यानोपन र चासोले भरोसाको यस्तो वातावरण सृजना गर्छ जहाँ केटाकेटीलगायत सबै व्यक्‍तिहरू नहिचकिचाई तपाईं नजिक आउँछन्‌। एउटी मसीही बहिनी एक जना प्राचीनसित किन खुलेर कुरा गर्नसक्ने भइन्‌ त्यसबारे यसो भन्छिन्‌: “उहाँले मसित कोमल अनि कृपालु हुँदै कुरा गर्नुहुन्छ। अन्यथा, म एक शब्द पनि बोल्ने थिइनँ होला। उहाँ मलाई ढुक्क महसुस गराउनुहुन्थ्यो।”

अरूको ख्याल गर्ने

७. (क) अरूको ख्याल राख्नुहुन्छ भनेर येशूले कसरी देखाउनुभयो? (ख) येशूले एक जना अन्धाको दृष्टि किन बिस्तारै निको पारिदिनुभएको हुनसक्छ?

येशू अरूको ख्याल गर्नुहुन्थ्यो। उहाँ अरूको भावनाहरूप्रति सचेत हुनुहुन्थ्यो। कष्टमा परेकाहरूलाई देख्दा मात्र पनि उहाँको मन त्यो हदसम्म छुन्थ्यो कि उहाँ तिनीहरूको त्यो कष्टलाई हटाउन अघि सर्नुहुन्थ्यो। (मत्ती १४:१४) उहाँ अरूको सीमितता र आवश्‍यकताहरूको पनि ख्याल गर्नुहुन्थ्यो। (यूहन्‍ना १६:१२) एक पटक मानिसहरूले एक जना अन्धालाई येशूसामु ल्याएर त्यसलाई निको पारिदिऊन्‌ भनेर आग्रह गरे। येशूले त्यस मानिसको दृष्टि फर्काइदिनुभयो, तर बिस्तारै। सुरुमा त त्यो मानिसले अरू मानिसहरूलाई त्यति ठिम्याउन सकेन अर्थात्‌ उसले मानिसहरू “रूखहरू जस्तै, हिंड़िरहेका” देख्यो। त्यसपछि येशूले उसको दृष्टि पूर्णतया फर्काइदिनुभयो। उहाँले त्यो मानिसलाई किन बिस्तारै निको पार्नुभयो? निष्पटट्‌ अन्धकारमा बस्ने बानी भइसकेको मानिसलाई एक्कासी घामको ज्योति र यो जटिल संसार हेर्न लगाउँदा ऊ तिरमिराउनसक्ने भएकोले त्यसो नहोस्‌ भनेर येशूले बिस्तारै बिस्तारै दृष्टि निको पारिदिनुभएको हुनसक्छ।—मर्कूस ८:२२-२६.

८, ९. (क) डिकापोलिस प्रान्तमा छिर्ने बित्तिकै येशू र उहाँका चेलाहरूलाई के भयो? (ख) येशूले बहिरो मानिसलाई कसरी निको पार्नुभयो, वर्णन गर्नुहोस्‌।

सा.यु. ३२ को निस्तार चाडपछि भएको घटनालाई पनि विचार गर्नुहोस्‌। येशू र उहाँका चेलाहरू गालील समुद्रको पूर्वतिर डिकापोलिस प्रान्तमा जानुभयो। केही बेरमै ठूलो भीडले उहाँहरूलाई भेट्टाइहाल्यो र रोगी, अशक्‍तहरूलाई येशूकहाँ ल्याए अनि उहाँले तिनीहरू सबैलाई निको पारिदिनुभयो। (मत्ती १५:२९, ३०) चाखलाग्दो कुरा के हो भने, येशूले तीमध्ये एक जना मानिसलाई विशेष ध्यान दिनुभयो। सुसमाचारका लेखक मर्कूसले मात्र यो घटना लिपिबद्ध गरेका छन्‌।—मर्कूस ७:३१-३५.

त्यो मानिस बहिरो र भकभके थियो। येशूले यो मानिसको हिचकिचाहट वा शर्मको भावना देख्नुभएको हुनसक्छ। त्यसपछि येशूले अलिक अनौठो काम गर्नुभयो। उहाँले त्यस मानिसलाई भीडबाट अलि पर एकान्तमा लानुभयो। अनि येशूले आफूले के गर्न लाग्नुभएको हो इसारा गरेर त्यस मानिसलाई थाह दिनुभयो। उहाँले “आफ्ना औंला त्यसका कानमा लगाउनुभयो, र थुकेर त्यसको जिब्रो छुनुभयो।” (मर्कूस ७:३३) त्यसपछि येशूले माथि स्वर्गतिर हेर्नुभयो र प्रार्थनापूर्वक लामो सास फेर्नुभयो। यो सांकेतिक भाषाले “म जे गर्न लागिरहेको छु त्यो परमेश्‍वरको शक्‍तिले हो” भनी त्यस मानिसलाई बुझाइरहेको थियो। अन्तमा, येशूले भन्‍नुभयो: “खोलिजा।” (मर्कूस ७:३४) त्यतिखेरै त्यो मानिसले सुन्‍नसक्यो र राम्ररी बोल्नसक्यो।

१०, ११. हामीले मण्डलीमा अनि परिवारमा कसरी अरूको भावनाको ख्याल राख्नसक्छौं?

१० येशूले अरू व्यक्‍तिहरूको कत्ति ख्याल गर्नुहुँदो रहेछ! उहाँ तिनीहरूका भावनाहरूप्रति संवेदनशील हुनुहुन्थ्यो र उहाँ अरूको भावनालाई ठेस नपुऱ्‍याई काम गर्नुहुन्थ्यो। मसीही भएको नाताले यस सम्बन्धमा हामीले येशूको मन खेती गर्नुपर्छ, प्रदर्शन गर्नुपर्छ। बाइबल हामीलाई यस्तो सल्लाह दिन्छ: “तिमीहरू सबै एक मनका, सहानुभूति देखाउने, भातृ-प्रेम गर्ने, कोमल हृदयका, नम्र मनका” होओ। (१ पत्रुस ३:८) यसले हामीलाई अरूको भावनाको ख्याल राख्दै कामकुरा गर्नुपर्ने आवश्‍यकता बोध गराउँछ।

११ मण्डलीमा अरूको कदर गर्दै अरूले हामीसित जस्तो व्यवहार गरेको चाहन्छौं त्यस्तै व्यवहार गर्दै अरूको भावनाको ख्याल गर्नसक्छौं। (मत्ती ७:१२) यसमा हामी के भन्छौं र कसरी भन्छौं त्यसमा होसियार हुनु समावेश छ। (कलस्सी ४:६) नबिर्सनुहोस्‌, “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ।” (हितोपदेश १२:१८) अनि परिवारमा नि? एकअर्कालाई साँच्चै माया गर्ने लोग्नेस्वास्नी एकअर्काको भावनाहरूप्रति संवेदनशील हुन्छन्‌। (एफिसी ५:३३) तिनीहरू कठोर शब्दहरू, तीखो आलोचना, व्यंग्यात्मक बोलीको प्रयोगबाट अलग बस्छन्‌। किनकि ती कुराहरूले अरूको भावनामा सजिलै निको नहुने चोट पुऱ्‍याउँछ। बच्चाहरूका पनि भावना हुन्छन्‌ र मायालु आमाबाबुले यसलाई ध्यानमा राख्छन्‌। अनुशासन दिनु आवश्‍यक पर्दा यस्ता आमाबाबुहरूले छोराछोरीको भावनाको कदर गर्दै तिनीहरूलाई अनावश्‍यक शर्म महसुस गर्नदेखि जोगाउँदै अनुशासन दिन्छन्‌। c (कलस्सी ३:२१) यसरी हामीले अरूको ख्याल गर्दा हामीसित ख्रीष्टको मन छ भनी देखाइरहेका हुन्छौं।

अरूलाई भरोसा गर्न इच्छुक

१२. आफ्ना चेलाहरूप्रति येशूको कस्तो सन्तुलित अनि व्यावहारिक दृष्टिकोण थियो?

१२ चेलाहरूप्रति येशूको दृष्टिकोण सन्तुलित अनि व्यावहारिक थियो। तिनीहरू सिद्ध छैनन्‌ भनेर उहाँलाई राम्ररी थाह थियो। आखिर, उहाँ मानिसहरूको हृदय पनि पढ्‌न सक्नुहुन्थ्यो। (यूहन्‍ना २:२४, २५) त्यसो भए तापनि, उहाँले तिनीहरूको असिद्धता मात्रै देख्नुभएन तर तिनीहरूको असल गुणहरू पनि देख्नुभयो। यहोवाले खिंच्नुभएका यी पुरुषहरूमा लुकेका सम्भावनाहरू पनि उहाँले देख्नुभयो। (यूहन्‍ना ६:४४) आफ्ना चेलाहरूप्रतिको येशूको सकारात्मक दृष्टिकोण उहाँले तिनीहरूसित गर्नुभएको व्यवहारमा देखिन्थ्यो। जस्तै उहाँ तिनीहरूमाथि भरोसा गर्न इच्छुक हुनुहुन्थ्यो।

१३. आफ्ना चेलाहरूमाथिको भरोसा येशूले कसरी प्रदर्शन गर्नुभयो?

१३ येशूले यो भरोसा कसरी प्रकट गर्नुभयो? पृथ्वी छोड्‌नुहुँदा उहाँले आफ्ना अभिषिक्‍त चेलाहरूलाई गम्भीर जिम्मेवारी सुम्पनुभयो। उहाँले तिनीहरूलाई विश्‍वव्यापी तवरमा हुने राज्यसम्बन्धी कामकुराको हेरचाह गर्ने जिम्मेवारी सुम्पनुभयो। (मत्ती २५:१४, १५; लूका १२:४२-४४) सेवकाईको दौडान उहाँले सानो-तिनो कुरामा पनि अप्रत्यक्ष तरिकामा तिनीहरूमाथि भरोसा प्रकट गर्नुभयो। भीडलाई खुवाउन चमत्कारी ढंगमा प्रशस्त भोजनको प्रबन्ध गर्नुहुँदा उहाँले खाना बाँड्‌ने जिम्मेवारी चेलाहरूलाई सुम्पनुभयो।—मत्ती १४:१५-२१; १५:३२-३७.

१४. मर्कूस ४:३५-४१ मा दिइएको विवरणलाई सारांशमा तपाईं कसरी वर्णन गर्नुहुन्छ?

१४ मर्कूस ४:३५-४१ को विवरणलाई पनि ध्यान दिनुहोस्‌। येशू र उहाँका चेलाहरू एउटा डुंगामा चढेर गालील समुद्रको पूर्वतिर जाँदै थिए। किनाराबाट अलि पर मात्र के पुगेका थिए, येशू डुंगाको पछिल्तिर पल्टनुभयो र सुत्नुभयो। तथापि, चाँडै “त्यहाँ ठूलो बतासको हुरी चल्यो।” गालील समुद्रमा यस्तो हुरी चल्नु अनौठो कुरा थिएन। समुद्रको सतहभन्दा लगभग २०० मिटर तल भएकोले गालील समुद्रको सतह वरपरको वातावरणभन्दा निकै न्यानो हुन्छ र फलतः बतास चल्छ। यसको अलावा, उत्तरतिर रहेको हर्मोन डाँडाबाट पनि यर्दन उपत्यकामा बेतोडले बतास चल्छ। अतः कुनै पनि बेला एक्कासी हुरी चलिहाल्नसक्छ। सोच्नुहोस्‌: गालीलमै हुर्कनुभएकोले येशूलाई यस्तो हुरीबारे राम्ररी थाह थियो। यद्यपि, आफ्ना कुशल चेलाहरू जसमध्ये कोही कोही माझी पनि थिए, तिनीहरूमाथि भरोसा गरेर उहाँ शान्तसित सुतिरहनुभयो।—मत्ती ४:१८, १९.

१५. येशूले आफ्ना चेलाहरूमाथि भरोसा गर्न देखाउनुभएको इच्छुकताको हामी कसरी अनुकरण गर्नसक्छौं?

१५ के हामी आफ्ना चेलाहरूमाथि भरोसा गर्न इच्छुक येशूको अनुकरण गर्नसक्छौं? कसै कसैलाई अरूलाई जिम्मेवारी सुम्पन गाह्रो लाग्छ। भनौं भने, तिनीहरू सधैं नै नाइके भएर बस्न रुचाउँछन्‌, जस्तो लाग्छ। तिनीहरू सोच्लान्‌, ‘यो काम ठीकसँग गर्ने हो भने म आफैले नै गर्नुपर्छ!’ तर यदि सबथोक आफैले नै गर्नुपऱ्‍यो भने हामी थाकेर चूर हुनसक्छौं र आफ्नो परिवारसित बिताउनुपर्ने समय पनि अनावश्‍यक तवरमा अन्यत्र खर्च भइरहेको हुनसक्छ। यसबाहेक, उपयुक्‍त कार्य तथा जिम्मेवारी अरूसित बाँडेनौं भने हामीले तिनीहरूलाई अनुभव र तालिम हासिल गर्नदेखि वञ्चित गराइरहेका हुनेछौं। तसर्थ, अरूसित काम बाँडेर तिनीहरूमाथि भरोसा गर्न सिक्नु बुद्धिमानी हुनेछ। आफैलाई इमानदार भई यी प्रश्‍नहरू सोध्नु बेस हुनेछ: ‘के यस विषयमा मसित ख्रीष्टको मन छ? के म केही खास काम अरूले पनि राम्ररी गर्नसक्छ भन्‍ने भरोसा गर्दै तिनीहरूसित आफ्नो काम बाँड्‌न इच्छुक छु?’

उहाँले चेलाहरूमाथि आफ्नो विश्‍वास देखाउनुभयो

१६, १७. चेलाहरू उहाँलाई छोडेर भाग्नेछन्‌ भन्‍ने थाह हुँदाहुँदै पनि आफ्नो पार्थिव जीवनको अन्तिम रात येशूले आफ्ना चेलाहरूलाई कस्तो आश्‍वासन दिनुभयो?

१६ येशूले आफ्ना चेलाहरूमाथि अर्को महत्त्वपूर्ण तरिकामा पनि सकारात्मक दृष्टिकोण राखेर देखाउनुभयो। तिनीहरूमाथि आफ्नो भरोसा छ भनेर उहाँले तिनीहरूलाई थाह दिनुभयो। आफ्नो पार्थिव जीवनको अन्तिम रात आफ्ना चेलाहरूलाई भन्‍नुभएको सान्त्वनादायी शब्दहरूबाट यो प्रस्टै देखिन्छ। के भयो ध्यान दिनुहोस्‌।

१७ त्यो साँझ येशू साह्रै व्यस्त हुनुहुन्थ्यो। उहाँले चेलाहरूलाई तिनीहरूको खुट्टा धोइदिनुभएर नम्रताको पाठ सिकाउनुभयो। पछि उहाँले साँझको भोज स्थापित गर्नुभयो। त्यसपछि उहाँको मृत्युको स्मरणार्थ हुने थियो। त्यसपछि प्रेरितहरू फेरि को ठूलो भन्‍ने कुरामा चर्काचर्की बहस गर्न थाले। सदाझैं धीरजी हुँदै येशूले तिनीहरूसित तर्क गर्नुभयो, गाली गर्नुभएन। उहाँले तिनीहरूलाई अगाडि हुने कुरा भन्‍नुभयो: “यही रात तिमीहरू मप्रति रुष्ट हुनेछौ, किनभने यसो लेखिएको छ, म गोठालालाई प्रहार गर्नेछ, र बगालका भेड़ाहरू जता-ततै तितर-बितर हुनेछन्‌।” (मत्ती २६:३१; जकरिया १३:७) आफूलाई खाँचो परेको बेला आफ्ना निकटतम मित्रहरूले आफूलाई छोड्‌नेछन्‌ भनेर उहाँलाई थाह थियो। तैपनि, उहाँले तिनीहरूको भर्त्सना गर्नुभएन। यसको विपरीत उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तर मेरो पुनरुत्थान भएपछि, म तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” (मत्ती २६:३२) हो, तिनीहरूले त्यागे पनि उहाँ तिनीहरूलाई कहिल्यै त्याग्नुहुनेछैन भनी तिनीहरूलाई निश्‍चिन्त गराउनुभयो। यो भीषण परीक्षा सिद्धिसकेपछि उहाँले तिनीहरूलाई फेरि भेट्‌नुहुनेथियो।

१८. गालीलमा येशूले आफ्ना चेलाहरूलाई कस्तो गम्भीर जिम्मेवारी सुम्पनुभयो र प्रेरितहरूले यो आदेश कसरी पूरापूर पालन गरे?

१८ येशूले जे भन्‍नुभयो, त्यो गरेर देखाउनुभयो। पुनरुत्थान हुनुभएका येशू, पछि गालीलमा अरू थुप्रै व्यक्‍तिहरूसित भेला भएका ११ जना विश्‍वासी चेलाहरूकहाँ देखा पर्नुभयो। (मत्ती २८:१६, १७; १ कोरिन्थी १५:६) त्यहाँ येशूले तिनीहरूलाई यो गम्भीर जिम्मेवारी सुम्पनुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) प्रेरितहरूले यो आदेश पूरापूर पालन गरे भनी प्रेरितको पुस्तकले हामीलाई स्पष्ट प्रमाण दिन्छ। प्रथम शताब्दीमा राज्यको सुसमाचार प्रचार गर्ने कामलाई तिनीहरूले विश्‍वासी भई जोडतोडका साथ अगाडि बढाए।—प्रेरित २:४१, ४२; ४:३३; ५:२७-३२.

१९. पुनरुत्थान हुनुभएपछि येशूले गर्नुभएका कामहरूले हामीलाई ख्रीष्टको मनबारे के सिकाउँछ?

१९ यो प्रकटित विवरणले हामीलाई ख्रीष्टको मनबारे के सिकाउँछ? येशूले आफ्ना चेलाहरूको कमी-कमजोरी राम्ररी देख्नुभएको थियो तैपनि तिनीहरूलाई “अन्त्यसम्मनै प्रेम गर्नुभयो।” (यूहन्‍ना १३:१) तिनीहरूका त्रुटिहरूको बावजूद उहाँले तिनीहरूमाथि भरोसा गर्नुभयो। याद गर्नुहोस्‌, येशूले तिनीहरूमाथि भरोसा गर्नुभएर भूल गरिरहनुभएको थिएन। उहाँले देखाउनुभएको भरोसा र विश्‍वासले तिनीहरूलाई उहाँले आज्ञा गर्नुभएको काम पूरा गर्ने अठोट गर्न बल दियो।

२०, २१. हामीले सँगी विश्‍वासीहरूप्रति सकारात्मक दृष्टिकोण कसरी प्रकट गर्नसक्छौं?

२० यस सम्बन्धमा हामी ख्रीष्टको मन कसरी प्रकट गर्नसक्छौं? सँगी विश्‍वासीहरूको कमजोरी मात्र हेर्ने नगर्नुहोस्‌। तपाईं खराब पक्षहरूलाई मात्र हेर्नुहुन्छ भने त्यो तपाईंको बोलीवचन र कामकुरामा झल्किनेछ। (लूका ६:४५) प्रेमले “सबै कुराको पत्यार गर्छ” भनी बाइबल हामीलाई बताउँछ। (१ कोरिन्थी १३:७) प्रेम सकारात्मक हुन्छ, नकारात्मक होइन। त्यसले प्रोत्साहन दिन्छ, मन भाँच्दैन। मानिसहरू डर-धम्कीभन्दा पनि माया र प्रोत्साहन दिंदा तुरुन्तै प्रतिक्रिया व्यक्‍त गर्छन्‌। मानिसहरूमाथि आफ्नो भरोसा जाहेर गरेर हामी तिनीहरूलाई बलियो पार्नसक्छौं, प्रोत्साहन दिनसक्छौं। (१ थिस्सलोनिकी ५:११) ख्रीष्टजस्तै हाम्रो पनि भाइहरूप्रति सकारात्मक दृष्टिकोण छ भने हामी तिनीहरूसित तिनीहरूलाई प्रोत्साहित पार्ने र तिनीहरूको असल कुरा तिखार्ने ढंगमा व्यवहार गरिरहेका हुनेछौं।

२१ ख्रीष्टको मन खेती गर्नु र प्रकट गर्नुमा ख्रीष्टले गर्नुभएका केही कुराहरू मात्र अनुकरण गर्नु पर्याप्त छैन। अघिल्लो लेखमा उल्लेख गरिएझैं येशूले जस्तै साँच्चै काम गर्ने हो भने सर्वप्रथम हामीले उहाँको दृष्टिकोण अपनाउनुपर्छ। सुसमाचारका पुस्तकहरूले हामीलाई उहाँको व्यक्‍तित्वको अर्को पक्ष अर्थात्‌ सुम्पिएको कार्यभारप्रतिको उहाँको विचार र भावनालाई नियाँल्न मदत गर्छ। यसबारे अर्को लेखमा छलफल गरिनेछ।

[फुटनोटहरू]

a उक्‍त लेखोटमा जाली व्यक्‍तिले येशूको कपाल, दाह्री अनि आँखाको रंगसमेत बताउँदै उहाँको रंगरूप वर्णन गरेको छ। बाइबल अनुवादक एड्‌गर जे. गूडस्पीडअनुसार यो जालसाजी “चित्रकारको हातेपुस्तकमा येशूको रंगरूपबारे दिइएको वर्णनलाई समर्थन गर्न तयार पारिएको थियो।”

b ती केटाकेटीहरू एउटै उमेरका थिएनन्‌। यहाँ “साना केटाकेटी” भनी प्रयोग गरिएको शब्द याइरसकी १२ वर्षकी छोरीलाई पनि प्रयोग गरिएको थियो। (मर्कूस ५:३९, ४२; १०:१३) तथापि, लूकाले आफ्नो विवरणमा शिशुहरूलाई बुझाउने खालको शब्द प्रयोग गरेका हामी पाउँछौं।—लूका १:४१; २:१२; १८:१५.

c प्रहरीधरहरा, अप्रिल १, १९९८ अंकको “के तपाईं तिनीहरूको मर्यादाको कदर गर्नुहुन्छ?” लेख हेर्नुहोस्‌।

के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?

• चेलाहरूले केटाकेटीहरूलाई उहाँकहाँ आउनदेखि रोक्न खोज्दा येशूले कस्तो प्रतिक्रिया व्यक्‍त गर्नुभयो?

• येशूले अरूको ख्याल गर्नुहुन्थ्यो भनी कुन कुन तरिकामा देखाउनुभयो?

• आफ्ना चेलाहरूमाथि येशूले भरोसा गर्न देखाउनु भएको इच्छुकताको हामी कसरी अनुकरण गर्नसक्छौं?

• आफ्ना प्रेरितहरूमाथि येशूले देखाउनु भएको भरोसाको हामी कसरी अनुकरण गर्नसक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको चित्र]

केटाकेटीहरूले येशूसित सजिलो माने

[पृष्ठ १७-मा भएको चित्र]

येशूले अरूको ख्याल गर्दै व्यवहार गर्नुभयो

[पृष्ठ १८-मा भएको चित्र]

खुलस्त भई कुराकानी गर्न सकिने प्राचीनहरू आशिष्‌ हुन्‌