“ख्रीष्टको मनलाई” जान्ने
“ख्रीष्टको मनलाई” जान्ने
“कसले प्रभुको [यहोवाको] मनलाई जानेको छ, र त्यसले उहाँलाई सिकाउनसक्छ? तर अब हामीसँग ता ख्रीष्टको मन छ।”–१ कोरिन्थी २:१६.
१, २. यहोवाले आफ्नो वचनमा येशूसित सम्बन्धित कुन कुरा प्रकट गर्नु उचित देख्नुभयो?
येशू कस्तो देखिनुहुन्थ्यो? उहाँको कपालको रंग कस्तो थियो? उहाँको छाला? उहाँका आँखा? उहाँ कति अग्लो हुनुहुन्थ्यो? उहाँको तौल कति थियो? शताब्दीयौंदेखि उहाँको रूपरंगको चित्रण कतै मनासिब ढंगमै गरिएको छ भने कतै हुनै नसकिने तरिकामा गरिएको छ। कसैले उहाँलाई एकदम बलियो र जीवन्त पुरुषको रूपमा प्रस्तुत गरेको छ भने कसैले चाहिं कमजोर अनि नाजुक व्यक्तिको रूपमा।
२ तथापि, बाइबलले येशूको रूपरंगमा ध्यान केन्द्रित गर्दैन। बरु, यहोवाले योभन्दा पनि बढ्ता महत्त्वपूर्ण कुरा अर्थात् येशू कस्तो किसिमको व्यक्ति हुनुहुन्थ्यो, त्यो प्रकट गर्नु उचित देख्नुभयो। येशूको जीवनीसम्बन्धी सुसमाचारका पुस्तकहरूले उहाँले भन्नुभएका कुराहरू मात्र नभई उहाँले बोल्नुभएका शब्दहरू तथा गर्नुभएका कामहरू पछाडिको अनुभूति तथा सोचाइको गहिराइ पनि प्रकट गरेका छन्। प्रेरणाद्वारा लेखिएका सुसमाचारका चार विवरणहरूले हामीलाई प्रेरित पावलले “ख्रीष्टको मन” भनी उल्लेख गरेको कुरा नियाल्न मदत गर्छ। (१ कोरिन्थी २:१६) हामीले येशूका विचारहरू, अनुभूतिहरू र व्यक्तित्वसित अभ्यस्त हुनु महत्त्वपूर्ण छ। किन? कम्तीमा पनि दुई कारणका लागि।
३. ख्रीष्टको मनसित परिचित हुँदा हामी कस्तो अन्तरदृष्टि पाउँछौं?
३ पहिलो हो, येशूको मनले हामीलाई यहोवाको मनको झलक दिन्छ। येशू आफ्नो पितासित अति घनिष्ठ हुनुहुन्थ्यो। त्यसैले त उहाँले यसो भन्न सक्नुभयो: “पुत्र को हो? भनेर पिताबाहेक कसैले जान्दैन, औ पिता को हुन्? पुत्रले, र जसलाई पुत्रले प्रकट गर्ने इच्छा गर्दछ, त्यसले बाहेक कसैले जान्दैन।” (लूका १०:२२) मानौं येशू यसो भन्नुहुँदै थियो, ‘यहोवा कस्तो हुनुहुन्छ भनी जान्न चाहन्छौ भने मलाई हेर।’ (यूहन्ना १४:९) सुसमाचारका पुस्तकहरूले येशूको सोचाइ तथा भावनाहरूबारे प्रकट गरेका कुराहरूको अध्ययन गर्दा वास्तवमा हामीले यहोवाले सोच्नुहुने र महसुस गर्नुहुने तरिका सिकिरहेका हुन्छौं। यस्तो ज्ञानले हामीलाई हाम्रो परमेश्वरसित घनिष्ठ हुन मदत गर्छ।—याकूब ४:८.
४. ख्रीष्टले जस्तै काम गर्ने हो भने हामीले सर्वप्रथम के सिक्नैपर्छ र किन?
४ दोस्रो, ख्रीष्टको मनलाई जान्दा त्यसले हामीलाई “उहाँको पाइलामा टेकेर हिंड़न” मदत गर्छ। (१ पत्रुस २:२१) येशूको अनुसरण गर्नुको अर्थ उहाँका शब्दहरू दोहऱ्याउनु र उहाँको कामहरूको नक्कल गर्नु मात्र होइन। बोलीवचन र कामलाई विचार तथा अनुभूतिहरूले असर गर्ने हुँदा ख्रीष्टको अनुसरण गर्न हामीले उहाँकै जस्तो “मन” खेती गर्नुपर्छ। (फिलिप्पी २:५) अर्को शब्दमा भन्ने हो भने, ख्रीष्टले जस्तै काम गर्न हामीले अशिद्धताको बावजूद सकेसम्म ख्रीष्टले जस्तै सोच्ने अनि महसुस गर्ने प्रयत्न गर्नैपर्छ। त्यसो भए आउनुहोस्, सुसमाचारका पुस्तकहरूका लेखकहरूको मदत लिएर हामी येशूको मनलाई नियालौं। सबैभन्दा पहिले, येशूको विचार तथा भावनाहरूलाई असर गर्ने विभिन्न तत्त्वहरूबारे छलफल गरौं।
उहाँको मानवपूर्व अस्तित्व
५, ६. (क) हाम्रो संगतीले हामीमाथि कस्तो प्रभाव पार्छ? (ख) पृथ्वीमा आउनुअघि परमेश्वरको पहिलौठो पुत्रले कोसित संगत गर्नुहुन्थ्यो र यसले उहाँमाथि कस्तो प्रभाव पाऱ्यो?
५ हामीसित घनिष्ठ सम्बन्ध हुनेहरूले हामीलाई असर गर्न सक्छन्, हाम्रो विचारधारा, अनुभूतिलाई तिनीहरूले या त असल या खराब बनाउन सक्छन्। a (हितोपदेश १३:२०) पृथ्वीमा आउनुअघि स्वर्गमा येशूको संगत कस्तो थियो, विचार गर्नुहोस्। यूहन्नारचित सुसमाचारको पुस्तकले “वचन” वा परमेश्वरको प्रवक्ताको रूपमा येशूको मानवपूर्व अस्तित्वतर्फ ध्यान खिंचेको छ। यूहन्ना भन्छन्: “आदिमा वचन थियो, औ वचन परमेश्वरसँग थियो, औ वचन परमेश्वरनै थियो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो।” (यूहन्ना १:१, २) यहोवाको कुनै सुरु नभएकोले वचन “आदिमा” परमेश्वरसित हुनुले पक्कै पनि उहाँको सृजनशील कार्यको सुरुआतलाई संकेत गरेको हुनुपर्छ। (भजन ९०:२) येशू “सारा सृष्टिको जेठो” हुनुहुन्छ। यसर्थ, उहाँ अन्य आत्मिक प्राणीहरू र यो भौतिक ब्रह्माण्ड सृष्टि हुनुभन्दा पहिल्यै अस्तित्वमा आइसक्नुभएको थियो।—कलस्सी १:१५; प्रकाश ३:१४.
६ केही वैज्ञानिक तथ्यांकअनुसार यो भौतिक ब्रह्माण्ड कम्तीमा पनि १२ अरब वर्षदेखि अस्तित्वमा छ। यदी यी तथ्यांकहरू केही गरी सत्य हुन् भने परमेश्वरको पहिलौठो पुत्रले आदम सृजनुभन्दा युगौंयुगअघिदेखि नै आफ्नो पितासित घनिष्ठ सम्बन्धको आनन्द उठाउनुभएको हुनुपर्छ। (मीका ५:२ तुलना गर्नुहोस्।) उहाँहरू दुईबीच मायालु र गहिरो सम्बन्ध विकास भएको हुनुपर्छ। बुद्धिको मूर्तरूप यस पहिलौठो पुत्रको मानवपूर्व अस्तित्वबारे हामी यस्तो परिचय पाउँछौं: “म [यहोवा]को छेउमा उहाँको प्रिय र आनन्दको पात्रझैं दिनहुँ उहाँकै सामने निरन्तर खेल्दै बस्थें।” (हितोपदेश ८:३०) प्रेमको स्रोतसित युगौंयुगसम्म घनिष्ठ सम्बन्धको आनन्द उठाउने परमेश्वरको पुत्रमाथि निस्सन्देह यसले अमेट छाप पाऱ्यो! (१ यूहन्ना ४:८) फलतः यस पुत्रले पिताका विचार, भावना तथा तरिकाहरू अति राम्ररी थाह पाउनुभयो अनि प्रतिबिम्बित गर्नुभयो। त्यसो अरू कसैले पनि गर्नसक्दैनथ्यो।—मत्ती ११:२७.
पार्थिव जीवन र प्रभाव
७. परमेश्वरको पहिलौठो पुत्रलाई यस पृथ्वीमा आउन आवश्यक पर्नुका कारणहरूमध्ये एउटा के हो?
७ परमेश्वरको पुत्रले थुप्रै कुराहरू सिक्नुपरेको थियो किनकि यहोवाको उद्देश्य आफ्नो पुत्रलाई “हाम्रा निर्बलतामा हामीसँग दुःखी हुन” सक्ने प्रधान पूजाहारी बनाउनु थियो। (हिब्रू ४:१५) यो भूमिका निर्वाह गर्न चाहिने आवश्यकताहरू पूरा गर्नु मानव रूपमा यस पृथ्वीमा आउनुका कारणहरूमध्ये एक थियो। यहाँ, मासु र रगतले बनेको शरीर लिएर येशूले पहिले स्वर्गबाट मात्र देख्नुभएका अवस्थाहरू तथा प्रभावहरूको सामना गर्नुभयो। उहाँ आफैले मानव अनुभूति तथा भावनाहरू अनुभव गर्नुभयो। उहाँलाई पनि थकाइ, तिर्खा अनि भोक लाग्थ्यो। (मत्ती ४ :२; यूहन्ना ४:६, ७) यसभन्दा बढी उहाँले हर प्रकारका हन्डर र कष्ट पनि भोग्नुभयो। यसरी उहाँले “आज्ञा पालन गर्न सिक्नुभयो” र प्रधान पूजाहारीको भूमिका निर्वाह गर्न पूर्णतया योग्य हुनुभयो।—हिब्रू ५:८-१०.
८. पृथ्वीमा येशूका प्रारम्भिक जीवनबारे हामीलाई के थाह छ?
८ पृथ्वीमा हुनुहुँदा येशूको प्रारम्भिक जीवन कसरी बित्यो होला? उहाँको बाल्यावस्थाको रेकर्ड निकै छोटो छ। वास्तवमा, मत्ती र लूकाले मात्र उहाँको जन्मसम्बन्धी घटनाहरूबारे बताए। सुसमाचारका पुस्तकहरूका लेखकहरूलाई येशू पृथ्वीमा आउनुअघि स्वर्गमा हुनुहुन्थ्यो भनेर थाह थियो। त्यो मानवपूर्व अस्तित्वले येशू कस्तो प्रकारको मानिस हुनुभयो भनेर अन्य तथ्यहरूले भन्दा पनि स्पष्टिकरण दियो। तथापि, येशू पूर्णतया मानिस हुनुहुन्थ्यो। सिद्ध भए तापनि उहाँले शैशवकालदेखि बाल्यावस्थासम्म अनि किशोरावस्थादेखि जवानीसम्मै सिक्दै बुझ्दै हुर्कनु पऱ्यो। (लूका २:५१, ५२) पृथ्वीमा हुनुहुँदा येशूको प्रारम्भिक जीवनमा भएका खास घटनाहरूको बाइबल उल्लेख गर्छ। ती घटनाहरूले निस्सन्देह उहाँको जीवनलाई गहिरो प्रभाव पारेको हुनुपर्छ।
९. (क) येशू गरिब परिवारमा जन्मनुभएको थियो भनेर केले संकेत गर्छ? (ख) येशू सायद कस्तो परिस्थितिमा हुर्कनुभएको हुनसक्छ?
९ प्राप्त प्रमाणहरूअनुसार येशूले एउटा गरिब परिवारमा जन्म लिनुभएको थियो। उहाँ जन्मनुभएको ४० दिनमा यूसुफ र मरियमले मन्दिरमा चढाएको भेटीबाट यो कुरा प्रस्ट हुन्छ। होमबलिको निम्ति कलिलो भेडा अनि पापबलिको निम्ति भर्खरको एक जोडी परेवाका बचेरा वा दुइटा ढुकुर ल्याउनुको साटो तिनीहरूले “एक जोड़ ढुकुर कि परेवाका दुइवटा बच्चा” ल्याएका थिए। (लूका २:२४) मोशालाई दिइएको व्यवस्थाअनुसार यो भेटी गरिबहरूको निम्ति गरिएको प्रबन्ध थियो। (लेवी १२:६-८) समयमा यो नम्र परिवार फल्दैफुल्दै गयो। चमत्कारी तरिकामा येशूको जन्म भइसकेपछि यूसुफ र मरियमका प्राकृतिक तरिकाबाट कम्तीमा पनि अरू छ जना छोराछोरी भए। (मत्ती १३:५५, ५६) अतः सायद येशू साधारण परिस्थितिमा एउटा ठूलो परिवारमा हुर्कनुभयो।
१०. मरियम र यूसुफ ईश्वरभीरु थिए भनी केले देखाउँछ?
१० येशूलाई उहाँको चिन्ता गर्ने ईश्वरभीरु आमाबाबुले हुर्काएका थिए। तिनकी आमा मरियम असामान्य स्त्री थिइन्। गब्रिएल स्वर्गदूतले तिनलाई अभिवादन गरेर के भने सम्झनुहोस् त: “हे कृपाको पात्र, तिमीलाई सलाम! परमप्रभु तिमीसँग हुनुहुन्छ।” (लूका १:२८) यूसुफ पनि भक्त पुरुष थिए। तिनी वर्षेनी यरूशलेममा निस्तार चाड मनाउन विश्वासी भई १५० किलोमिटर लामो यात्रा गर्थे। यो यात्रा पुरुषहरूले मात्र गर्नुपर्ने भए तापनि मरियम पनि साथमा जाने गर्थिन्। (प्रस्थान २३:१७; लूका २:४१) यस्तै एक अवसरमा, यूसुफ र मरियमले १२ वर्षका येशूलाई खोज्नसम्म खोजिसकेपछि उहाँलाई मन्दिरमा शिक्षकहरूबीच भेट्टाए। चिन्तित आमाबाबुलाई येशूले भन्नुभयो: “के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्ने तपाईंहरूलाई थाह थिएन?” (लूका २:४९) “पिता” भन्ने शब्द बालक येशूलाई पक्कै पनि न्यानो अनि सकारात्मक लागेको हुनुपर्छ। कुरा के हो भने, यहोवा नै उहाँको वास्तविक पिता हुनुहुन्थ्यो भनेर उहाँलाई पक्कै पनि बताइएको हुनुपर्छ। यसको अलावा, यूसुफले पनि एक असल धर्मपिताको भूमिका निर्वाह गरेका हुनुपर्छ। निस्सन्देह, यहोवाले एक निष्ठुर वा क्रूर पुरुषलाई आफ्नो प्यारो पुत्र हुर्काउन कदापि छान्नुहुने थिएन!
११. येशूले कस्तो सीप हासिल गर्नुभयो र बाइबलकालीन समयमा त्यो काम गर्न के के गर्नुपर्थ्यो?
११ नासरतमा छँदा येशूले पक्कै पनि आफ्नो धर्मपितासित सिकर्मीको काम सिक्नुभएको हुनुपर्छ। येशू यो काममा यत्ति निपुण हुनुभयो कि उहाँ “सिकर्मी” कहलाइनुभयो। (मर्कूस ६:३) बाइबलकालीन समयमा सिकर्मीहरूलाई घर, (टेबुल, स्टुल, बेन्चलगायत) अन्य फर्निचर र खेतबारीमा प्रयोग गरिने सरसामग्रीहरू बनाउन लगाइन्थ्यो। द्वितीय शताब्दीमा जस्टिन मार्टिरले डाइलग विथ ट्राइफो-मा येशूबारे यस्तो लेखे: “सिकर्मी हुनुभएकोले उहाँको हलो र जुवा बनाउने बानी थियो।” यस्तो काम गर्नु सजिलो थिएन किनकि पुरातन समयमा काठ किन्ने चलन नभएको हुनसक्छ। त्यसकारण, उहाँ आफै जंगल गएर, रूख छानेर, बन्चरोले रूख ढालेर अनि घरसम्म काठ बोकेर ल्याउनुभएको हुनसक्छ। अतः येशूलाई जीवन धान्न के कस्ता चुनौतिहरू सामना गर्नुपर्छ, ग्राहकहरूसित कसरी व्यवहार गर्नुपर्छ र घरगृहस्थी कसरी सम्हाल्नुपर्छ, यी सबै थाह भएको हुनसक्छ।
१२. येशूको मृत्यु हुनुभन्दा अघि नै यूसुफको मृत्यु भइसकेको थियो भनी के कुराले संकेत गर्छ र फलतः येशूले के गर्नुपऱ्यो?
१२ जेठो छोरा हुनुभएकोले येशूले परिवारको हेरचाहमा पनि योगदान पुऱ्याउनुभएको हुनुपर्छ र त्यो पनि विशेष गरी येशूको मृत्यु हुनुभन्दा अघि नै यूसुफको मृत्यु भइसकेको जस्तो देखिएकोले परिवारको सम्पूर्ण अभिभारा उहाँमाथि आएको हुनुपर्छ। b जनवरी १, १९०० को जायन्स वाच टावर-ले यसो भन्यो: “भनिन्छ, येशू कलिलै छँदा यूसुफको मृत्यु भएको थियो र पछि उहाँले सिकर्मीको काम गरेर परिवारको हेरचाह गर्नुभयो। धर्मशास्त्रले पनि यस कुरालाई केही हदसम्म समर्थन गरेको पाइन्छ। किनकि धर्मशास्त्रमा उहाँलाई सिकर्मी भनिएको छ भने उहाँकी आमा र भाइबहिनीहरूबारे उल्लेख गरे तापनि यूसुफको चाहिं कुनै उल्लेख छैन। (मर्कूस ६:३) . . . त्यसकारण हाम्रा प्रभुको अठार वर्ष लामो जीवन अर्थात् [लूका २:४१-४९ मा रेकर्ड गरिएको] घटनादेखि उहाँको बप्तिस्मासम्मको समय जीवनका सामान्य कामकुरामा बितेको हुनसक्ने निकै सम्भावना छ।” मरियम र येशूलगायत तिनका अन्य छोराछोरीलाई प्रिय पति तथा बुबाको मृत्यु हुँदाखेरिको पीडा पक्कै पनि थाह थियो।
१३. येशूले कसरी अन्य मानिसहरूसित नभएको ज्ञान, अन्तर्दृष्टि र गहिरो भावनासहित आफ्नो सेवकाई थाल्न सक्नुभयो?
१३ स्पष्टतया, येशूको जीवन सुखसयलपूर्ण थिएन। उहाँले साधारण मानिसहरूको जस्तो जीवन बिताउनुभयो। पछि सा.यु. २९ मा येशूले आफ्नो ईश्वरीय कार्यभार सुरु गर्नुपर्ने समय आयो। त्यस वर्षको शरद ऋतुमा उहाँले पानीमा बप्तिस्मा लिनुभयो र परमेश्वरको आत्मिक पुत्र हुनुभयो। ‘स्वर्ग उहाँको निम्ति उघ्रियो’ मतलब उहाँले स्वर्गमा बिताउनु भएको आफ्नो मानवपूर्व जीवन र त्यतिखेरका विचारहरू तथा भावनाहरू सम्झन सक्नुभयो। (लूका ३:२१, २२) अतः उहाँले, अन्य मानिसहरूले कहिल्यै पाउन नसक्ने ज्ञान, अन्तर्दृष्टि र गहिरो भावनासहित आफ्नो सेवकाई थाल्नुभयो। अतः सुसमाचारका लेखकहरूले आफ्ना अधिकांश लेखहरू येशूको सेवकाईमाथि केन्द्रित गर्नुको राम्रै कारण देखिन्छ। तैपनि, उहाँले भन्नुभएका र गर्नुभएका जम्मै कुराहरू तिनीहरूले लिपिबद्ध गर्न सकेनन्। (यूहन्ना २१:२५) तर तिनीहरू जे जति लेख्न प्रेरित भए, त्यसले हामीलाई आजसम्म बाँचेका पुरुषहरूमध्ये सबैभन्दा महान् पुरुषको मन नियाल्नसक्ने बनाएको छ।
येशूको व्यक्तित्व कस्तो थियो?
१४. सुसमाचारका पुस्तकहरूले येशूलाई कोमल, मिजासिलो र गहिरा भावनाहरू व्यक्त गर्नुहुने व्यक्तिको रूपमा कसरी चित्रित गर्छ?
१४ सुसमाचारका पुस्तकहरू पढ्दा येशू कोमल, मिजासिलो र गहिरा भावनाहरूले भरिपूर्ण व्यक्तित्वको धनी देखिनुहुन्छ। उहाँले विभिन्न भावनाहरू प्रकट गर्नुभयो: कोरी देखेर टिठाउनु (मर्कूस १:४०, ४१); प्रतिक्रिया व्यक्त नगर्ने मानिसहरू देखेर विलाप गर्नु (लूका १९:४१, ४२); पैसा साट्ने लोभी रेजगीहरू देखेर धार्मिक रिस प्रकट गर्नु आदि (यूहन्ना २:१३-१७)। समानुभूतिशील हुनुभएकोले येशू रुनु भयो र उहाँले आफ्नो भावना लुकाउनु भएन। आफ्नो प्रिय मित्र लाजरसको मृत्यु हुँदा लाजसरकी दिदी मरियम रोएकी देख्दा येशूलाई यत्ति खल्लो लाग्यो कि, उहाँ सबैसामु रुनु भयो।—यूहन्ना ११:३२-३६.
१५. येशूले अरूप्रति राख्नुभएको दृष्टिकोण र अरूसित गर्नुभएको व्यवहारबाट उहाँको कोमल भाव कसरी प्रस्टै देखिन्छ?
१५ विशेष गरी अरूप्रतिको दृष्टिकोण र व्यवहारबाट येशूको कोमल भावना प्रस्टै देखिन्छ। उहाँ आफै अघि सरेर गरिब अनि थिचोमिचोमा परेकाहरूलाई भेट्नुहुन्थ्यो र तिनीहरूले ‘आफ्ना आफ्ना आत्मामा विश्राम पाऊन्’ भनेर मदत गर्नुहुन्थ्यो। (मत्ती ११:४, ५, २८-३०) उहाँको लुगा छुने रक्तस्रावले पीडित आइमाई होस् वा चुप नलाग्ने अन्धो माग्ने, दुःखकष्टमा परेकाहरूको आवश्यकता पूरा गर्न उहाँ कहिल्यै पछि पर्नुभएन। (मत्ती ९:२०-२२; मर्कूस १०:४६-५२) येशूले अरू व्यक्तिहरूमा असल गुण खोज्नुहुन्थ्यो र तिनीहरूको सराहना पनि गर्नुहुन्थ्यो; यद्यपि, आवश्यक परेको बेला तिनीहरूलाई सच्याउनसमेत कहिल्यै पछि पर्नु हुन्नथ्यो। (मत्ती १६:२३; यूहन्ना १:४७; ८:४४) आइमाईहरूको हकहितको वास्तै नगरिने युगमा पनि येशूले सन्तुलित भएर गरिमा र आदरसहित व्यवहार गर्नुभयो। (यूहन्ना ४:९, २७) त्यसैकारण, थुप्रै आइमाईहरूले येशूलाई आफ्नो सरसम्पत्ति चढाएर सेवा गरेको कारण बुझ्न सकिन्छ।—लूका ८:३.
१६. जीवन र भौतिक कुराहरूप्रति येशूको सन्तुलित दृष्टिकोण थियो भनी केले देखाउँछ?
१६ येशूको जीवनप्रति सन्तुलित दृष्टिकोण थियो। उहाँ भौतिक कुरालाई प्राथमिकता दिनुहुँदैनथ्यो। भनौं भने, उहाँसित भौतिक कुराहरू थोरै मात्र थिए। उहाँले आफ्नो लागि “शिर अड़ाउने ठाउँ पनि छैन” भन्नुभएको थियो। (मत्ती ८:२०) तर येशू रमाइलो व्यक्ति हुनुहुन्थ्यो। पक्कै पनि बाजा, गाना अनि रमझम हुने विवाह भोजमा उपस्थित हुनुहुँदा उहाँले अरूलाई खल्लो पार्नुभएन। वास्तवमा, येशूले आफ्नो पहिलो चमत्कार विवाह भोजकै अवसरमा गर्नुभएको थियो। दाखमद्य सिद्धिएपछि उहाँले पानीलाई “मानिसको मन खुश गराउ[ने]” दाखमद्यमा परिणत गराइदिनुभयो। (भजन १०४:१५; यूहन्ना २:१-११) यसरी, त्यस अवसरको रमाहटमा दखल पुगेन भने दुलहा-दुलही पनि लज्जित हुनबाट जोगिए। उहाँ सन्तुलित हुनुहुन्थ्यो भन्ने कुरा त्यसपछिका थुप्रै अवसरहरूमा उहाँले सेवकाईमा गर्नुभएको लामा अनि कठिन परिश्रमबाट प्रकट हुन्छ।—यूहन्ना ४:३४.
१७. येशू श्रेष्ठ गुरु हुनु किन अचम्म लाग्दो कुरा होइन अनि उहाँको शिक्षाले के प्रतिबिम्बित गर्छ?
१७ येशू श्रेष्ठ गुरु हुनुहुन्थ्यो। उहाँको अधिकांश शिक्षामा आफूले पनि भोगेका दैनिक जीवनको वास्तविकता झल्किन्थ्यो। (मत्ती १३:३३; लूका १५:८) उहाँको शिक्षण कला अतुलनीय अर्थात् स्पष्ट, सरल अनि व्यवहारिक थियो। योभन्दा पनि महत्त्वपूर्ण कुरा त उहाँले दिनुभएको शिक्षामा आफ्ना स्रोताहरूलाई यहोवाको विचार, भावना अनि तरिकाहरूसित अभ्यस्त गराउने उहाँको हार्दिक इच्छा झल्किन्थ्यो।—यूहन्ना १७:६-८.
१८, १९. (क) येशूले कस्ता जीवन्त शब्दहरूद्वारा आफ्नो पिताको वर्णन गर्नुभयो? (ख) अर्को लेखमा के छलफल गरिनेछ?
१८ अक्सर दृष्टान्तहरू प्रयोग गर्नुभएर सजिलै बिर्सन नसकिने गरी येशूले जीवन्त वर्णनहरूद्वारा आफ्नो पिता यहोवालाई चिनाउनुभयो। परमेश्वरको दयाबारे कुरा गर्नु एउटा सामान्य कुरा हो। तर आफ्नो छोरा फर्केको देख्दा मात्र पनि ‘दौडेर त्यसको गलामा अंगालो हालेर त्यसलाई चुम्मन गर्दै’ माफी दिन इच्छुक पितासित यहोवालाई दाँज्नु अर्कै कुरा हो। (लूका १५:११-२४) साधारण मानिसहरूलाई तुच्छ ठान्ने अरट्ठो संस्कृतिलाई एकातिर पन्छाएर येशूले आफ्नो पिता, घमण्डी फरिसीको अहंकारी प्रार्थना होइन तर महसूल उठाउने व्यक्तिको विनम्र दुहाइ सुन्न रुचाउनुहुने र जोसुकै पनि उहाँको नजिक हुनसक्ने परमेश्वर हुनुहुन्छ भनेर बताउनुभयो। (लूका १८:९-१४) येशूले यहोवालाई सानो भँगेरा जमिनमा खस्दा पनि फिक्री गर्नुहुने परमेश्वरको रूपमा चित्रित गर्नुभयो। येशूले आफ्ना चेलाहरूलाई ढाडस दिंदै भन्नुभयो, “नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढ़ता मूल्यका छौ।” (मत्ती १०:२९, ३१) निस्सन्देह, मानिसहरू येशूले “सिकाउनु” भएको तरिका देखेर छक्क पर्थे र उहाँतर्फ खिचिन्थे। (मत्ती ७:२८, २९) त्यसैकारण, एक पटक एउटा “भीड़” खानपीन नगरी उहाँसँग तीन दिनसम्म रहे!—मर्कूस ८:१, २.
१९ यहोवाले आफ्नो वचनमा ख्रीष्टको मन प्रकट गरिदिनुभएकोमा हामी धन्यवादी हुनसक्छौं! तर अरूसितको व्यवहारमा हामी कसरी ख्रीष्टको मन खेती गर्न अनि प्रकट गर्नसक्छौं? अर्को लेखमा यसबारे छलफल गरिनेछ।
[Footnotes]
a प्रकाश १२:३, ४ अनुसार आत्मिक प्राणीहरू पनि आफ्ना सँगीहरूद्वारा प्रभावित हुनसक्छन्। त्यहाँ शैतानलाई “अजींगर” भनेर चिनाइएको छ। त्यसले अन्य “ताराहरूलाई” अथवा आत्मिक पुत्रहरूलाई आफूसँगसँगै विद्रोही कार्यमा उत्रन आफ्नो प्रभावमा पार्छ।—अय्यूब ३८:७ तुलना गर्नुहोस्।
b येशू १२ वर्षको हुनुहुँदा मन्दिरमा फेलापर्नुभएको घटनालाई लिएर यूसुफबारे अन्तिमपटक प्रत्यक्ष उल्लेख गरिएको पाइन्छ। येशूको सेवकाईको प्रारम्भतिर कानामा भएको विवाह भोजमा यूसुफको उपस्थितीबारे केही उल्लेख गरिएको छैन। (यूहन्ना २:१-३) सा.यु. ३३ मा झुन्ड्याइनु भएका येशूले मरियमको जिम्मा आफ्ना प्रिय चेला यूहन्नालाई सुम्पनुभयो। त्यतिञ्जेल यूसुफ जीवितै भएका भए येशूले पक्कै त्यसो गर्नुहुने थिएन।—यूहन्ना १९:२६, २७.
के तपाईंलाई सम्झना छ?
• हामी “ख्रीष्टको मन[सित]” अभ्यस्त हुनु किन महत्त्वपूर्ण छ?
• मानवपूर्व येशूको संगती कोसित थियो?
• पृथ्वीमा हुनुहुँदा येशूले प्रत्यक्षतः कस्ता अवस्था अनि प्रभावहरू अनुभव गर्नुभयो?
• येशूको व्यक्तित्वबारे सुसमाचारका पुस्तकहरूले के प्रकट गर्छन्?
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ १०-मा भएको चित्र]
येशू एउटा साधारण तर ठूलो परिवारमा हुर्कनुभएको हुनुपर्छ
[पृष्ठ १२-मा भएका चित्रहरू]
बाह्र वर्षका येशूको समझ देखेर अनि जवाफ सुनेर धर्मगुरुहरू छक्क परे