सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सानो जीउ, ठूलो मन

सानो जीउ, ठूलो मन

सानो जीउ, ठूलो मन

तपाईं ३० इन्च मात्र अग्लो हुने हो भने परमेश्‍वरको राज्यबारे अपरिचित व्यक्‍तिहरूसित कुरा गर्नु कस्तो हुन्छ होला? यसबारे तपाईंलाई लराले बताउनेछिन्‌। तिनको उमेर ३३ वर्ष भयो तर उँचाइचाहिं ३० इन्च मात्र छ। तिनकी २४ वर्षीया बहिनी मारिया ३४ इन्च अग्ली छिन्‌ र तिनीहरू दुवै इक्वेडरको किटो शहरमा बस्छन्‌। मसीही सेवकाईमा तिनीहरूले के कस्ता अवरोधहरू सामना गर्नुपर्छ, आउनुहोस्‌ तिनीहरूबाटै सुनौं।

“हाम्रो प्रचार क्षेत्र र मसीही सभाहरूमा जान बस चढ्‌नुअघि आधा किलोमिटर जति हिंड्‌छौं। यो बसबाट ओर्लेपछि अर्को बस चढ्‌न अर्को आधा किलोमिटर जति हिंड्‌छौं। दुःखको कुरा, यो बाटोमा पाँचवटा अजङका कुकुरहरू छन्‌। हामीलाई कुकुर देखेर असाध्यै डर लाग्छ किनकि ती हाम्रालागि घोडा जत्तिकै ठूला लाग्छन्‌। ती कुकुरहरूलाई लखेट्‌न चाहिएला कि भनेर हामी आफूसित लट्ठी पनि लैजान्छौं अनि घर फर्किंदा आड लिन काम लाग्ने हुनाले बस चढ्‌नुअघि सडकको छेउछाउमा लुकाइराख्छौं।

“हामीलाई बस चढ्‌नु असाध्यै गाह्रो लाग्छ। बस चढ्‌न अलि सजिलो होस्‌ भनेर हामी बस बिसौनीको फोहोरको थुप्रोमाथि उभिन्छौं। कुनै कुनै चालकहरूले फोहोरको थुप्रो नजिकै बस रोक्छन्‌ तर सबैले त्यसो गर्दैनन्‌। त्यतिखेर हामीमध्ये अग्लीले होचीलाई बस चढ्‌न मदत गर्छौं। दोस्रो बस पक्रन व्यस्त राजमार्ग पार गर्नु निकै गाह्रो हुन्छ किनकि हाम्रा खुट्टाहरू छोटा छन्‌। हाम्रो जीउडाल सानो भएकोले गह्रौं झोला बोक्नु त झनै गाह्रो हुन्छ। झोला हलुको बनाउन हामी खल्तीमा बोक्न मिल्ने बाइबल चलाउँछौं अनि अलि कम साहित्य लैजान्छौं।

“हामी सानैदेखि अरूसित बोलचाल गर्न हिचकिचाउँथ्यौं। हामी अपरिचित व्यक्‍तिहरूसित बोल्न डराउँछौं भनेर छिमेकीहरूलाई थाह छ। त्यसकारण, हामीले तिनीहरूको ढोका ढकढक्याउँदा तिनीहरू छक्क पर्नुका साथै प्रभावित हुन्छन्‌ र प्रायजसो हाम्रो कुरा सुन्छन्‌। तर हामीलाई नचिन्‍ने इलाकामा जाँदा मानिसहरू हाम्रो बाउन्‍ने जीउडाललाई मात्र हेर्छन्‌। तसर्थ, तिनीहरू हाम्रो सन्देशलाई त्यति ध्यानै दिंदैनन्‌। तैपनि, यहोवाको प्रेमले गर्दा प्रचारकार्यमा लागिरहने साहस पाएका छौं। हितोपदेश ३:५, ६ मनन गर्नाले पनि हामी साहस पाउँछौं।”

लरा र मारियाले देखाएअनुसार शारीरिक बाधाबिघ्नको बावजूद लगनशील भई लागिरहनाले परमेश्‍वरको महिमा हुन्छ। प्रेरित पावलले आफ्नो शरीरको “एक किसिमको छेस्को” हटाइदिनुहोस्‌ भनेर प्रार्थना गरेका थिए। त्यो छेस्को कुनै शारीरिक अशक्‍तता हुनसक्छ। तर परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो: “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनभने मेरो शक्‍ति दुर्बलतामा सिद्ध हुन्छ।” हो, परमेश्‍वरको सेवा गर्न सक्षम हुन हाम्रो शारीरिक अशक्‍तता हटाइनैपर्छ भन्‍ने छैन। परमेश्‍वरमा पूर्णतया भरोसा राख्नाले आफ्नो परिस्थितिअनुसार उहाँको सेवा गर्ने मदत पाउनसक्छौं। किनकि पावलले आफ्नो शरीरको “एक किसिमको छेस्को[प्रति]” यस्तै दृष्टिकोण राख्दै भने: “दुर्बल हुँदा, म शक्‍तिमान हुन्छु।” (२ कोरिन्थी १२:७, ९, १०) केही वर्षपश्‍चात्‌ पावलले यसरी लेखे: “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।”—फिलिप्पी ४:१३.

परमेश्‍वरले आधुनिक समयमा उहाँप्रति पूर्णतया समर्पित पुरुष, स्त्री तथा केटाकेटीद्वारा शक्‍तिशाली काम पूरा गरिरहनुभएको छ। तिनीहरूमध्ये थुप्रै कुनै न कुनै तरिकामा अशक्‍त छन्‌। तिनीहरू सबै परमेश्‍वरको राज्य अन्तर्गत आफ्नो अशक्‍तताको ईश्‍वरीय निवारण हुनेछ भन्‍ने आशा गर्छन्‌। तैपनि, तिनीहरू पहिले परमेश्‍वरले आफ्ना समस्याहरू समाधान गरेपछि मात्र उहाँको सेवा गर्नेछौं भनी पर्खेर बस्दैनन्‌।

के तपाईंको पनि कुनै शारीरिक अस्वस्थता छ? हिम्मत नहार्नुहोस्‌! आफ्नो विश्‍वासद्वारा तपाईं पनि पावल, लरा र मारियाजस्तै हुन सक्नुहुन्छ। पुरातन समयका विश्‍वासी पुरुष तथा स्त्रीहरूबारे भनिएझैं तिनीहरूबारे पनि यसो भन्‍न सकिन्छ: “[तिनीहरू] कमजोरीबाट बलिया बनिए।”—हिब्रू ११:३४.

[पृष्ठ ८-मा भएको चित्र]

मारिया

लरा

[पृष्ठ ९-मा भएको चित्र]

मारिया लरालाई बस चढ्‌न मदत गर्छिन्‌

[पृष्ठ ९-मा भएका चित्रहरू]

“हामीलाई कुकुर देखेर असाध्यै डर लाग्छ किनकि ती हाम्रालागि घोडा जत्तिकै ठूला लाग्छन्‌”

तल: लरा, मारिया र तिनीहरूसित बाइबल अध्ययन गरेकाहरू