सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तयारी हृदयले यहोवाको खोजी गर्ने

तयारी हृदयले यहोवाको खोजी गर्ने

तयारी हृदयले यहोवाको खोजी गर्ने

इस्राएली पूजाहारी एज्रा, उल्लेखनीय अनुसन्धानकर्ता, विद्वान्‌, प्रतिलिपिक तथा व्यवस्थाका शिक्षक थिए। तिनी वर्तमान समयका मसीहीहरूका लागि पूरा तनमनले सेवा गर्ने व्यक्‍तिको राम्रो उदाहरण हुन्‌। कसरी? झूटा देवताहरू र दुष्ट उपासनाले भरिएको बेबिलोन शहरमा रहँदा पनि तिनले ईश्‍वरीय भक्‍ति कायमै राखे।

एज्राको ईश्‍वरीय भक्‍ति आफसेआफ भएको होइन। तिनी त्यसमा लागिरहे। वास्तवमा, तिनले बताएअनुसार “परमप्रभुको व्यवस्था अध्ययन गर्न र पालन गर्न औ इस्राएलमा धर्म-विधि र धार्मिकविचार सिकाउन [ हृदय] दिएका थिए।”एज्रा ७:१०.

आज यहोवाका जनहरू साँचो उपासनालाई घृणा गर्ने संसारमा बाँचिरहेका भए तापनि एज्राले जस्तै यहोवाले चाहनुहुने जम्मै काम गर्न चाहन्छन्‌। त्यसैले, हाम्रो विचारधारा, मनोवृत्ति, लालसा तथा मनोभावहरू समावेश भएको हाम्रो हृदय अर्थात्‌ भित्री मनुष्यत्वलाई यहोवाको “व्यवस्था अध्ययन गर्न र पालन गर्न” कसरी तयार पार्नसकिन्छ, जाँचौं।

हाम्रो हृदय तयार पार्ने

“तयारी गर्नु” भनेको “कुनै खास उद्देश्‍यका लागि अग्रिम तयारी गर्नु: कुनै खास काम, प्रयोग वा उद्देश्‍यको लागि चाहिने अवस्था तयार गर्नु हो।” पक्कै पनि, यदि तपाईंले परमेश्‍वरको वचनको सत्य ज्ञान पाएर यहोवालाई आफ्नो जीवन समर्पण गर्नुभएको छ भने तपाईंको हृदय तयारी अवस्थामा रहेको प्रमाणित हुन्छ र त्यसलाई येशू ख्रीष्टले भन्‍नुभएको “असल जमीन[सित]” तुलना गर्नसकिन्छ।—मत्ती १३:१८-२३.

तैपनि, हाम्रो हृदयलाई निरन्तर ध्यान दिएर स्वच्छ बनाउँदै लैजानुपर्छ। किन? त्यसको दुइटा कारण छ। पहिलो, बगैंचामा झार भएझैं हाम्रो हृदयमा पनि हानिकारक सोचाइहरूले सजिलै जरा गाड्‌नसक्छ। विशेष गरी शैतानी रीतिरिवाजको पतित सोचाइको “हावा” सर्वव्याप्त भएको यी “अन्तिम दिनहरू[मा]”। (२ तिमोथी ३:१-५; एफिसी २:२) दोस्रो कारणचाहिं जमिनसितै सम्बन्धित छ। गोडगाड नगर्दा माटो चाँडै सुकेर कडा हुनसक्छ र बाँझो हुन्छ अथवा धेरै मानिसहरूले बगैंचामा कुल्चीमिल्ची गरेर जमिनलाई कडा बनाउन पनि सक्छन्‌। हाम्रो हृदयको लाक्षणिक माटो पनि त्यस्तै हो। हामीले बेवास्ता गऱ्‍यौं र हाम्रो आध्यात्मिक उन्‍नतिमा कुनै चासो नभएका मानिसहरूले मन परी कुल्चन दियौं भने बाँझो हुनसक्छ।

उसोभए, हामी सबैले बाइबलको यो अर्ती मान्‍नु कत्ति महत्त्वपूर्ण छ: “कुनै मूल्यवान्‌ वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्‌, किनभने त्यो सारा जीवनको मूल हो।”—हितोपदेश ४:२३.

हाम्रो हृदयको “जमिन” उर्वर पार्ने तत्त्वहरू

हाम्रो हृदयको “जमिन” उर्वर बनाउन आवश्‍यक केही तत्त्वहरू अर्थात्‌ गुणहरूलाई हामी ध्यान देऔं। हाम्रो हृदयलाई उन्‍नति गर्ने थुप्रै कुराहरू छन्‌ तर यहाँ हामी छ वटा गुणहरूबारे छलफल गर्नेछौं। ती हुन्‌ हाम्रो आध्यात्मिक आवश्‍यकताप्रति सजगता, नम्रता, इमानदारी, ईश्‍वरीय भय, विश्‍वास तथा प्रेम।

येशूले भन्‍नुभयो, “धन्य आत्मामा दरिद्र हुनेहरू।” (मत्ती ५:३) शारीरिक भोकले हामीलाई खानुपऱ्‍यो भन्‍ने संकेत दिएझैं हाम्रो आध्यात्मिक आवश्‍यकताहरूप्रतिको सजगताले आध्यात्मिक भोक जगाउँछ। यसले मानिसहरूको जीवनलाई अर्थपूर्ण र उद्देश्‍यमय बनाउने भएकोले तिनीहरूको स्वभावैले त्यस्तो खानाको अपेक्षा गर्छन्‌। अध्ययनको सन्दर्भमा शैतानी रीतिरिवाजको दबाउ अथवा अल्छीपनाले पनि आध्यात्मिक आवश्‍यकताप्रतिको सजगता बोधो हुनसक्छ। तैपनि, येशूले यसो भन्‍नुभयो: “मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।”—मत्ती ४:४.

शाब्दिक तवरमा, नियमित, सन्तुलित तथा स्वास्थ्यकर भोजनले शारीरिक तन्दुरुस्ती दिन्छ र शारीरिक विकास गर्नुका साथै अर्को चोटि खाना खाने समय हुँदा भोक जगाउँछ। आध्यात्मिक कुराको सन्दर्भमा पनि त्यस्तै हो। तपाईंलाई आफू जेहनदारजस्तो लाग्दैन होला तर तपाईंले परमेश्‍वरको वचन बाइबल दिनहुँ पढ्‌ने बानी बसाल्नुभयो र बाइबल आधारित प्रकाशनहरू नियमित तवरमा अध्ययन गर्नुभयो भने तपाईंको भोक अझ बढ्‌नेछ। भनौं भने, तपाईं बाइबल अध्ययन गर्ने समयको उत्कट प्रतीक्षा गर्न थाल्नुहुनेछ। त्यसैले, सजिलैसित हार नमान्‍नुहोस्‌। स्वास्थकर आध्यात्मिक भोक जगाउन कडा परिश्रम गर्नुहोस्‌।

नम्रताले हृदयलाई नरम बनाउँछ

नम्रता, मनलाई तयार बनाउन अत्यावश्‍यक तत्त्व हो किनभने यसले सिक्न सजिलो पार्नुका साथै मायालु सल्लाह तथा अनुशासन स्वीकार्न मदत गर्छ। योशियाह राजाको राम्रो उदाहरणलाई विचार गर्नुहोस्‌। परमेश्‍वरले मोशाद्वारा दिनुभएको व्यवस्था तिनको शासनकालमा फेला पऱ्‍यो। योशियाहले व्यवस्थाका कुराहरू पढेपछि आफ्ना पितापुर्खाहरू शुद्ध उपासनाबाट तर्केका रहेछन्‌ भनेर थाह पाउँदा आफ्नो लुगा च्याते र यहोवाको अगाडि रोए। परमेश्‍वरको वचनले किन राजाको हृदयलाई त्यो हदसम्म प्रभाव पाऱ्‍यो? तिनको हृदय ‘नरम’ भएकोले यहोवाको वचन सुन्‍न आफैलाई विनम्र तुल्याए भनेर विवरणमा लेखिएको छ। यहोवाले योशियाहको नम्रता अनि तिनको ग्रहणशील हृदय देख्नुभएर त्यसैअनुसार आशिष्‌ दिनुभयो।—२ राजा २२:११, १८-२०.

“शरीरअनुसार” जतिपनि “बुद्धिमान र समझदार” मानिसहरू छन्‌, तिनीहरूले बुझ्न नसकेका आध्यात्मिक सच्चाइहरू नम्रताले गर्दा येशूका “अपठित र अजान” चेलाहरूले बुझ्न र पालन गर्न मदत पाए। (१ कोरिन्थी १:२६; लूका १०:२१; प्रेरित ४:१३) तिनीहरूको हृदय घमण्डले कठोर भएको हुनाले यहोवाको वचन स्वीकार्न तयार थिएनन्‌। यहोवाले घमण्डीहरूलाई घृणा गर्नुहुन्छ भन्दा आश्‍चर्य मान्‍नुपर्ने कुनै कारण छ र?—हितोपदेश ८:१३; दानियल ५:२०.

इमानदारी र ईश्‍वरीय भय

यर्मिया अगमवक्‍ताले लेखे, “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्‍नसक्छ र?” (यर्मिया १७:९) यो छली स्वभाव विभिन्‍न किसिमले प्रकट हुन्छ, जस्तै, आफूले गर्दा बहाना बनाउने। हामीले आफ्नो व्यक्‍तित्वको गम्भीर त्रुटिहरूलाई कहिलेकाहीं यस्तो भइहाल्छ नि भन्दै नानाभाँतीका बहानाहरू देखाउँदा पनि यो प्रस्ट हुन्छ। तथापि, नम्रता-ले हामीलाई आफैसित इमानदार हुँदै उन्‍नति गर्न तयार बनाउँछ र हाम्रो छली हृदयमाथि विजयी हुन मदत गर्छ। भजनरचयिताले प्रार्थना गर्दा यस्तो इमानदारी जाहेर गरे: “मलाई जाँच्नुहोस्‌, हे परमप्रभु, र प्रमाणित गर्नुहोस्‌, मेरो मन र हृदय जाँच्नुहोस्‌।” स्पष्टतः भजनरचयिताले यहोवाबाट खारिन र जाँचिन अर्थात्‌ चाहे आफूमा मिश्रित धातुहरूजस्ता झुकावहरू नै किन नहोस्‌ त्यसलाई हटाउनसकिन्छ भनी स्वीकार्दै आफ्नो हृदय तयार पारे।—भजन १७:३; २६:२.

ईश्‍वरीय भय भनेको “दुष्टतालाई घृणा गर्नु” पनि हो र यो खार्ने कार्यको लागि प्रभावशाली साधन हो। (हितोपदेश ८:१३) यहोवाको साँच्चै डर मान्‍ने मानिसले यहोवाको कृपा तथा भलाईको मूल्यांकन गर्छ भने अर्कोतिर उहाँको आज्ञा उल्लंघन गर्दा उहाँले सजाय दिन मात्र होइन, ज्यानैसमेत लिन सक्नुहुन्छ भनेर सधैं सजग हुन्छ। यहोवाको डर मान्‍नेहरूले उहाँको आज्ञा पनि मान्‍नेछन्‌ भनेर इस्राएलीहरूलाई भन्‍नुभएको यस कुराबाट प्रस्ट हुन्छ: “मेरो डर मान्‍ने र मेरा सबै कुरा पालन गर्ने तिमीहरूका हृदय भएता हुनेथियो! तिनीहरू र तिनीहरूका सन्तानको भलो हुनेथियो!”—व्यवस्था ५:२९.

स्पष्टतः, ईश्‍वरीय भयको उद्देश्‍य हामीलाई तर्साईधम्काई अधीनमा राख्नु होइन तर हाम्रो भलाइ चाहनुहुने मायालु पिताको आज्ञा मान्‍न उत्प्रेरित गर्नु हो। साँच्चै, त्यस्तो ईश्‍वरीय भय उच्चकोटीको र आनन्ददायक हुन्छ जसलाई येशू ख्रीष्ट आफैले धेरै चोटि देखाउनुभयो।—यशैया ११:३; लूका १२:५.

तयारी मन विश्‍वासमा बलियो हुन्छ

विश्‍वासमा बलियो भएको हृदयलाई यहोवाले आफ्नो वचनबाट हामीसित जे सुकै माग गर्नु वा निर्देशन दिनु भए तापनि सधैं सही र हाम्रै भलाइका लागि हुन्छ भनेर थाह हुन्छ। (यशैया ४८:१७, १८) त्यस्तो हृदय भएको मानिसले हितोपदेश ३:५, ६ को अर्ती पालन गर्दा गहिरो सन्तुष्टि र आनन्द पाउँछ। त्यहाँ यस्तो लेखिएको छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” तथापि, विश्‍वासको कमी भएको हृदय यहोवामाथि पूरा भरोसा गर्न उत्प्रेरित हुँदैन र अझ विशेष गरी राज्यको खोजी गर्न आफ्नो जीवनलाई सरल बनाउन त्यागहरू गर्नुपर्छ भने त झनै उत्प्रेरित हुँदैन। (मत्ती ६:३३) त्यसैले विश्‍वासको कमी भएको हृदयलाई यहोवाले “दुष्ट” ठान्‍नु उचित छ।—हिब्रू ३:१२.

यहोवाप्रतिको हाम्रो विश्‍वास हामी घरमा एक्लै हुँदा गर्ने कामकुराहरूलगायत विभिन्‍न क्षेत्रमा झल्किन्छ। उदाहरणका लागि, गलाती ६:७ मा उल्लिखित यो सिद्धान्तलाई लिनुहोस्‌: “धोकामा नपर, परमेश्‍वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।” यस सिद्धान्तअनुसार हाम्रो विश्‍वास हामीले हेर्ने चलचित्र, पढ्‌ने पुस्तक, बाइबल अध्ययन गर्न बिताउने समय तथा हाम्रा प्रार्थनाहरूमा झल्कनेछ। हो, हामीलाई “आत्माको लागि” रोप्न उत्प्रेरित गर्ने बलियो विश्‍वास नै यहोवाको वचन सुन्‍न र त्यो पालन गर्न तयार बनाउने कुञ्जी हो।—गलाती ६:८.

सर्वोत्तम गुणप्रेम

अरू सबै गुणहरूभन्दा हाम्रो हृदयको माटोलाई यहोवाको वचन पालन गर्ने खालको बनाउने गुण प्रेम हो। तसर्थ, विश्‍वास र आशासित तुलना गर्दा प्रेरित पावलले “यिनमा सर्वोत्तम” चाहिं प्रेम हो भनेर वर्णन गरे। (१ कोरिन्थी १३:१३) परमेश्‍वरप्रति प्रेमले भरिएको हृदयले उहाँको आज्ञा पालन गर्दा गहिरो आत्मसन्तुष्टि र आनन्द महसुस गर्छ। यस्तो व्यक्‍तिले परमेश्‍वरले हामीबाट माग गर्नुहुने कुराहरूप्रति असन्तुष्टता प्रकट गर्दैन। प्रेरित यूहन्‍नाले भने: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कड़ा छैनन्‌।” (१ यूहन्‍ना ५:३) यसैलाई समर्थन गर्दै येशूले पनि भन्‍नुभयो: “कसैले मलाई प्रेम गर्दछ भने, त्यसले मेरो वचन पालन गर्नेछ, औ मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ।” (यूहन्‍ना १४:२३) नबिर्सनुहोस्‌, त्यस्तो प्रेमको प्रतिफल अवश्‍य पाइन्छ। हो, यहोवालाई प्रेम गरेर उहाँको नजिक आउने हरेकलाई उहाँले पनि गहिरो प्रेम गर्नुहुन्छ।

हामी असिद्ध छौं र बारम्बार उहाँ विरुद्ध पाप गर्छौं भनेर यहोवा जान्‍नुहुन्छ। तैपनि, उहाँले हामीलाई त्याग्नुहुन्‍न। यहोवा आफ्ना सेवकहरूले “सारा हृदय[ले]” उहाँको सेवा गरेका छन्‌ कि छैनन्‌ भनी हेर्नुहुन्छ र यसले हामीलाई “इच्छुक मनले” उहाँको सेवा गर्न उत्प्रेरित गर्छ। (१ इतिहास २८:९) हाम्रो हृदयमा राम्रा गुणहरू बढाउन र आत्माको फल फलाउन समय र परिश्रमको आवश्‍यकता पर्दछ भनेर यहोवालाई अवश्‍य थाह छ। (गलाती ५:२२, २३) यसैकारण उहाँ हामीसित धीरजी हुनुहुन्छ, “किनभने उहाँले हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनहुन्छ।” (भजन १०३:१४) यस्तै मनोभाव झल्काउँदै येशूले आफ्ना चेलाहरूको गल्तीको कहिल्यै पनि कडा आलोचना गर्नुभएन बरु तिनीहरूलाई धीरजी भई मदत गर्नुका साथै प्रोत्साहन दिनुभयो। यहोवा र येशूको त्यस्तो प्रेम, कृपा तथा धीरजले उहाँहरूप्रति झन्‌ बढी प्रेम गर्न तपाईंलाई उत्प्रेरित गर्दैन र?—लूका ७:४७; २ पत्रुस ३:९.

तपाईंलाई कहिलेकाहीं आफ्नो हृदयमा झारझैं जरा गडेर बसेको बानी वा कडा माटोजस्ता झुकावहरूलाई फुटाउन निकै मुस्किल पऱ्‍यो भने हताश वा निराश नहुनुहोस्‌। बरु, “प्रार्थनामा अटूटसँग” लागेर उन्‍नति गर्ने प्रयास गरिरहनुहोस्‌ र यहोवासित उहाँको आत्मा मागिरहनुहोस्‌। (रोमी १२:१२) उहाँ हामीलाई मदत गर्न तयार हुनुभएकोले एज्राले जस्तै तपाईंले पनि आफ्नो हृदयलाई “परमप्रभुको व्यवस्था अध्ययन गर्न र पालन गर्न” तयार पार्न सक्नुहुनेछ।

[पृष्ठ ३१-मा भएको चित्र]

एज्राले बेबिलोनमा रहँदा समेत ईश्‍वरीय भक्‍ति कायम राखे

[पृष्ठ २९-मा भएको चित्रको स्रोत]

Garo Nalbandian