सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरूले आफ्नो विश्‍वासको प्रतिफल पाए

तिनीहरूले आफ्नो विश्‍वासको प्रतिफल पाए

राज्य उद्‌घोषकहरूको रिपोर्ट

तिनीहरूले आफ्नो विश्‍वासको प्रतिफल पाए

प्रेरित पावल उल्लेखनीय विश्‍वासका धनी थिए र तिनले आफ्ना संगी विश्‍वासीहरूलाई पनि त्यस्तै विश्‍वास बढाउने प्रोत्साहन दिए। तिनले भने: “जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।” (हिब्रू ११:६) मोजाम्बिकका निम्न अनुभवहरूले यहोवा परमेश्‍वर विश्‍वासमा बलियो भएकाहरूलाई कसरी प्रतिफल दिनुहुन्छ र खुरन्धार प्रार्थनाहरूको जवाफ कसरी दिनुहुन्छ भनेर देखाउँछ।

• न्यासाको उत्तरी प्रान्तमा बस्ने विधवी बहिनी आफ्ना छ छोराछोरीका साथ “परमेश्‍वरले चाहनुहुने जीवनशैली” विषयक जिल्ला अधिवेशन कसरी धाउन सकिएला भनेर चिन्तित थिइन्‌। स्थानीय बजारमा मालसामान बेच्नु तिनको आम्दानीको एउटै मात्र स्रोत थियो। तर जसै अधिवेशन नजिकिंदै गयो तिनी र तिनको परिवारको लागि एकतर्फी रेल यात्रा गर्न पुग्ने पैसा मात्र थियो। जे भए तापनि, तिनले यहोवाका प्रबन्धहरूप्रति भरोसा गर्ने संकल्प गरिन्‌ र आफ्नो योजना मुताबिक अधिवेशन जाने निधो गरिन्‌।

तिनले आफ्ना छ जना छोराछोरीहरू लिएर रेल यात्रा गरिन्‌। त्यस यात्राको दौडान तिनको टिकट हेर्न खलासी आए। तिनको बिल्ला देखेर त्यो के को परिचय पत्र हो भनेर सोधे। त्यस बहिनीले आफू यहोवाका साक्षीहरूको जिल्ला अधिवेशनमा जान लागेकी एक जना प्रतिनिधि हुँ भनेर चिनाउन त्यो बिल्ला लगाएको कुरा बताइन्‌। “यो अधिवेशन कहाँ हुन्छ?” भनेर तिनले सोधे। त्यो अधिवेशन ३०० किलोमिटर टाढा, यसपछिको प्रान्त नाम्पुलामा हुने रहेछ भन्‍ने थाह पाएपछि खलासीले टिकटको आधा मोलमात्र लिएको देख्दा यो बहिनी छक्कै परिन्‌! त्यसपछि आधा मोलमा तिनी र तिनको परिवारको लागि फर्कने टिकट पनि दिए। यहोवामाथि आफ्नो पूरा भरोसा राखेकोमा तिनी असाध्यै खुसी भईन्‌!—भजन १२१:१, २.

• एक जना असाध्यै भक्‍तालु आइमाईले उपासना गर्ने सही तरिका जान्‍न मदत गर्नुहोस्‌ भनी परमेश्‍वरलाई प्रार्थना गर्ने गरेको लगभग २५ वर्ष भइसकेको थियो। तिनी उपस्थित हुने गरेको चर्चका धार्मिक उत्सवहरू परम्परागत विधिविधानहरूसित छ्यासमिस थियो। त्यसैले, यसप्रकारको उपासनाले परमेश्‍वरलाई खुसी बनाउला र भन्‍ने सोचाइले तिनी अन्योलमा परिन्‌।

तिनी भन्छिन्‌: “म जहिले पनि मत्ती ७:७ मा येशूले भन्‍नुभएका यी कुराहरू सम्झन्थें: ‘माग, तिमीहरूलाई दिइनेछ, खोज, तिमीहरूले भेट्टाउनेछौ, घच्घच्याऊ तिमीहरूका निम्ति उघारिनेछ।’ यस पदलाई ध्यानमा राख्दै सत्यता तर्फ डोऱ्‍याउनुहोस्‌ भनेर म परमेश्‍वरलाई नियमित तवरमा प्रार्थना गर्थें। एक दिन पास्टरले स्थानीय बजारमा काम गर्ने सबै मानिसहरूले केही रकम र मालताल ल्याएको खण्डमा तिनीहरूलाई आशिष्‌ दिनेछु भने। मलाई यो कुरा धर्मशास्त्रअनुसार मेल खाँदैन जस्तो लाग्यो। त्यसैले मबाहेक अरू सबैले केही न केही लगे। पास्टरले मैले कुनै ‘भेटी’ नल्याएको देखेपछि चर्चका सबै सदस्यहरूको सामु मेरो बेइज्जती गर्न थाले। परमेश्‍वरलाई उपासना गर्ने तरिका पक्कै पनि यो होइन भनेर मलाई त्यो दिन लाग्यो र चर्च जानै छोडिदिएँ। त्यतिन्जेल, मैले सत्य भेट्टाउन अटुट रूपमा प्रार्थना गरिरहें।

अन्तत: साहस बटुलेर मैले मेरो एक जना नातेदार यहोवाका साक्षीलाई भेटें। तिनले मलाई एउटा पर्चा दिए र त्यो पढ्‌ने बित्तिकै परमेश्‍वरले मेरो प्रार्थनाको जवाफ दिइरहनुभएको छ भनेर मलाई थाह भइहाल्यो। केही समयपछि, मेरो प्रेमीले पनि बाइबल सच्चाइ सिक्न थाले र हामीले आफ्नो विवाहलाई कानुनी रूपमा दर्ता गऱ्‍यौं। तथापि, पछि मेरो श्रीमान असाध्यै बिरामी हुनुभयो। तर आफ्नो मृत्युको अन्तिम घडीसम्म पनि प्रमोदवनमा भेट्‌ने बाचा गर्दै त्यसको लागि सच्चाइको मार्गमा डटिरहनू भनेर उहाँले मलाई प्रोत्साहन दिनुभयो।

यहोवा परमेश्‍वरले मेरो प्रार्थनाको जवाफ दिनुभएर उहाँलाई उपासना गर्ने सही मार्ग देखाउनु भएकोमा म उहाँप्रति सधैंभरि आभारी रहनेछु। मेरो प्रार्थना सुनुवाइ भएको अर्को प्रमाण पनि देखेको छु किनभने मेरा आठै जना छोराछोरीहरू यहोवाका समर्पित सेवकहरू भएका छन्‌।”