सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“परमप्रभु र उहाँको शक्‍तिको खोजी गर”

“परमप्रभु र उहाँको शक्‍तिको खोजी गर”

“परमप्रभु र उहाँको शक्‍तिको खोजी गर”

“जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।”—२ इतिहास १६:९.

१. शक्‍ति भनेको के हो र मानिसहरूले कसरी यसको प्रयोग गरेका छन्‌?

 शक्‍ति भन्‍ने बित्तिकै त्यसको थुप्रै अर्थ लाग्नसक्छ। जस्तै, अख्तियार वा अरूमाथिको प्रभुत्व; काम गर्ने वा गराउन सक्ने योग्यता; शारीरिक सामर्थ्य (बल); वा मानसिक अथवा नैतिक क्षमता। मानिसहरूले आफ्नो शक्‍तिको सदुपयोग गरेको रेकर्ड छैन। राजनीतिज्ञहरूको शक्‍तिलाई संकेत गर्दै इतिहासकार लर्ड एक्टनले भने: “शक्‍ति भ्रष्ट हुनसक्छ भने पूर्ण शक्‍तिले मानिसलाई भ्रष्ट बनाउँछ।” लर्ड एक्टनका यी शब्दहरू सोह्रै आना सत्य हुन्‌ भनेर प्रमाणित गर्ने आज प्रशस्त उदाहरण पाइन्छन्‌। यस २० औं शताब्दीमा पहिलेभन्दा झन्‌ बढी “एउटा मानिसले अर्को मानिसलाई दुःख” दिएका छन्‌। (उपदेशक ८:९) भ्रष्ट तानाशाहहरूले आफ्नो शक्‍तिको दुरुपयोग गरेका छन्‌ अनि लाखौं मानिसहरूको ज्यान लिएका छन्‌। प्रेम, बुद्धि र न्यायद्वारा नियन्त्रण नगरिएको शक्‍ति खतरनाक हुन्छ।

२. यहोवाको अरू ईश्‍वरीय गुणहरूले उहाँलाई कुन तरिकामा शक्‍तिको प्रयोग गर्न प्रेरित गर्छ, व्याख्या गर्नुहोस्‌।

मानिसहरूजस्तो नभई परमेश्‍वर आफ्नो शक्‍ति सधैं भलाइ गर्न प्रयोग गर्नुहुन्छ। “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।” (२ इतिहास १६:९) यहोवा आफ्नो शक्‍ति नियन्त्रित ढंगमा चलाउनुहुन्छ। धीरजले गर्दा परमेश्‍वरले अहिलेसम्म दुष्टहरूको न्याय गर्नुभएको छैन र तिनीहरूले पश्‍चात्ताप गर्ने मौका पाएका छन्‌। प्रेमले गर्दा उहाँ सबै किसिमका मानिसहरू अर्थात्‌ धर्मी र अधर्मीहरूका लागि घाम लगाइदिनुहुन्छ। न्यायले अन्ततः उहाँलाई मानिसजातिमाथि मृत्यु ल्याउने शैतान अर्थात्‌ दियाबलको नामोनिसान मेटाउन आफ्नो असीम शक्‍ति प्रयोग गर्न उत्प्रेरित गर्नेछ।—मत्ती ५:४४, ४५; हिब्रू २:१४; २ पत्रुस ३:९.

३. परमेश्‍वरको सर्वशक्‍तिमान्‌ शक्‍ति उहाँमा भरोसा गर्ने एउटा कारण किन हो?

स्वर्गमा हुनुहुने हाम्रो पिताको भयावह शक्‍ति, उहाँका प्रतिज्ञाहरू र उहाँले दिनुहुने सुरक्षामा भरोसा अनि विश्‍वास गर्ने कारण हो। अपरिचित मानिसहरूको भीडमा आफ्नो बुबाको हात समात्दा सानो बालकले सुरक्षित महसुस गर्छ किनकि बुबाले खतराबाट जोगाउनुहुनेछ भनेर उसलाई थाह छ। त्यसै गरी, “बचाउनमा सामर्थी” स्वर्गमा हुनुहुने हाम्रो पितासँगसँगै हिंड्यौं भने उहाँले हामीलाई सबै खतराबाट जोगाउनुहुनेछ। (यशैया ६३:१; मीका ६:८) अनि असल पिताको हैसियतमा यहोवा आफ्ना प्रतिज्ञाहरू सधैं पूरा गर्नुहुन्छ। उहाँको असीम शक्‍तिले उहाँको ‘वचन जुन कामको लागि पठाइएको हो, त्यसमा सफल हुनेछ’ भन्‍ने ग्यारेन्टी दिन्छ।—यशैया ५५:११; तीतस १:२.

४, ५. (क) राजा आसाले यहोवामा पूर्णतया भरोसा राख्दा परिणाम के भयो? (ख) समस्या आइपर्दा हामीले मानिसको मुख ताक्यौं भने के हुनसक्छ?

स्वर्गमा हुनुहुने हाम्रो पिताले हाम्रो रक्षा गर्नुहुन्छ भनेर सधैं सचेत रहनु किन अति महत्त्वपूर्ण छ? किनकि हामी परिस्थितिको चपेटामा पर्नसक्छौं र हाम्रो साँच्चै रक्षा गर्नसक्ने व्यक्‍तिलाई बिर्सनसक्छौं। सधैं यहोवामा भरोसा राख्ने राजा आसाको उदाहरणबाट यो कुरा बुझ्नसक्छौं। आसाको शासनकालमा तिनको भन्दा लाखौं गुणा शक्‍तिशाली सेना भएको कूशीहरूले यहूदामाथि आक्रमण गरे। आफ्नोभन्दा शत्रुहरूको सेना धेरै छन्‌ भन्‍ने थाह पाएर आसाले यसरी प्रार्थना गरे: “हे परमप्रभु, बलिया अथवा कमजोर जस्तोसुकै मानिसहरूलाई सहायता गर्ने ता तपाईंजस्तै अरू कोही छैन। हे परमप्रभु हाम्रा परमेश्‍वर, हाम्रो सहायता गर्नुहोस्‌, किनभने हामी तपाईंमाथि भर परेका छौं। हामी तपाईंकै नाउँमा यस ठूलो सेनाको विरुद्धमा सामना गर्न आएका छौं। हे परमप्रभु, तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्छ, यसर्थ मानिस कसरी तपाईंको विरुद्धमा खड़ा हुनसक्छ र?” (२ इतिहास १४:११) यहोवाले आसाको बिन्ती सुन्‍नुभयो र तिनलाई निर्णायक विजय दिनुभयो।

तथापि, निकै वर्षसम्म विश्‍वासी भई सेवा गरेपछि यहोवाको बचाउने शक्‍तिमाथि आसाको भरोसा कमजोर भयो। उत्तरी इस्राएलको सेनाको धम्कीबाट बच्न तिनले अरामसित मदत मागे। (२ इतिहास १६:१-३) आसाले अरामको राजा बेन-हददलाई घूस खुवाएपछि इस्राएलले आक्रमण गर्ला भन्‍ने डर त हट्यो तर तिनले यहोवामाथि भरोसा गरेनन्‌ भनेर तिनले अरामसित गरेको सम्झौताले देखायो। अगमवक्‍ता हनानीले तिनलाई ठाडै प्रश्‍न गरे: “के कूशीहरू र लूबीहरू असंख्य रथहरू र घोड़चढ़ीहरू भएको विशाल सेना थिएन? तापनि तपाईंले परमप्रभुमाथि भरोसा राखेको हुनाले उहाँले तिनीहरूलाई तपाईंको हातमा सुम्पिदिनुभयो।” (२ इतिहास १६:७, ८) तैपनि, आसाले हनानीको हप्की सुनेनन्‌। (२ इतिहास १६:९-१२) समस्याहरू आइपर्दा मानिसहरूको मुख नताकौं। बरु, परमेश्‍वरमा भरोसा राखौं किनकि मानिसहरूको शक्‍तिमा भर पर्नाले निरुत्साहित मात्र हुनुपर्छ।—भजन १४६:३-५.

यहोवाले दिनुहुने शक्‍ति खोज्नुहोस्‌

६. हामीले किन “परमप्रभु र उहाँको शक्‍तिको खोजी” गर्नुपर्छ?

यहोवा आफ्ना सेवकहरूलाई शक्‍ति दिन सक्नुहुन्छ साथै तिनीहरूको सुरक्षा पनि गर्न सक्नुहुन्छ। “परमप्रभु र उहाँको शक्‍तिको खोजी गर” भनेर बाइबल हामीलाई आग्रह गर्छ। (भजन १०५:४) किन? किनकि परमेश्‍वरको शक्‍तिद्वारा कामकुरा गर्दा हाम्रो शक्‍ति अरूको हानि होइन तर फाइदाको लागि प्रयोग भइरहेको हुनेछ। यसको उत्कृष्ट उदाहरण येशू ख्रीष्ट हुनुहुन्छ। उहाँले ‘यहोवाको शक्‍तिद्वारा’ थुप्रै चमत्कार गर्नुभयो। (लूका ५:१७; NW) येशूले धन कमाउन सक्नुहुन्थ्यो, उहाँ प्रसिद्ध हुन वा शक्‍तिशाली राजासमेत बन्‍न सक्नुहुन्थ्यो। (लूका ४:५-७) तर परमेश्‍वरले दिनुभएको शक्‍ति उहाँले अरूलाई सिकाउन र शिक्षा दिन, मदत गर्न र निको पार्न प्रयोग गर्नुभयो। (मर्कूस ७:३७; यूहन्‍ना ७:४६) हाम्रोलागि कस्तो राम्रो उदाहरण!

७. हामीले आफ्नै शक्‍तिमा होइन तर यहोवाको शक्‍तिमा काम गर्दा कुन महत्त्वपूर्ण गुण विकास गर्छौं?

यसबाहेक, “परमेश्‍वरले दिनुभएको बलले” कामकुरा गर्दा त्यसले हामीलाई नम्र बनाउनेछ। (१ पत्रुस ४:११) शक्‍तिका भोका मानिसहरू अहंकारी हुन्छन्‌। उदाहरणका लागि, अश्‍शूरी राजा इसार-हिदोनलाई लिनसक्छौं। तिनले घमण्डसाथ यस्तो घोषणा गरे: “म शक्‍तिशाली छु, सबैभन्दा शक्‍तिशाली। म वीर हुँ, म विराट हुँ, म विशाल छु।” यसको विपरित, यहोवाले “बुद्धिमानहरूलाई शर्ममा पार्नालाई . . . संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो।” यसप्रकार, यदि साँचो मसीहीले घमण्ड गर्छ भने यहोवामा घमण्ड गर्छ किनकि आफ्नै शक्‍तिद्वारा केही गर्न सकेको होइन भनेर तिनलाई थाह छ। ‘परमेश्‍वरका बलवान बाहुलीमनि आफूलाई नम्र तुल्याउँदा’ साँच्चै उच्च पारिनेछौं।—१ कोरिन्थी १:२६-३१; १ पत्रुस ५:६.

८. यहोवाको शक्‍ति पाउन सबैभन्दा पहिला हामीले के गर्नुपर्छ?

हामी कसरी परमेश्‍वरको शक्‍ति पाउनसक्छौं? सर्वप्रथम, यसको लागि प्रार्थना गर्नुपर्छ। आफ्नो पितासित पवित्र आत्मा माग्नेहरूलाई उहाँले दिनुहुन्छ भनेर येशूले आफ्ना चेलाहरूलाई आश्‍वासन दिनुभयो। (लूका ११:१०-१३) येशूको साक्षी नदिनु भनी आदेश दिने धार्मिक नेताहरूको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्न रुचाउने ख्रीष्टका चेलाहरूलाई उक्‍त आश्‍वासनले कति धेरै शक्‍ति दियो होला, विचार गर्नुहोस्‌। तिनीहरूले यहोवासित मदतको लागि प्रार्थना गर्दा आफ्नो निष्कपट प्रार्थनाको जवाफ पाए अनि साहसी भई सुसमाचार प्रचार गरिरहन पवित्र आत्माले तिनीहरूलाई बलियो बनायो।—प्रेरित ४:१९, २०, २९-३१, ३३.

९. आध्यात्मिक बलको दोस्रो स्रोत बताउनुहोस्‌ र त्यसको प्रभावकारिताबारे धर्मशास्त्रीय उदाहरण दिनुहोस्‌।

दोस्रो, हामी बाइबलबाट आध्यात्मिक शक्‍ति पाउनसक्छौं। (हिब्रू ४:१२) राजा योशियाहको समयमा परमेश्‍वरको वचनको शक्‍ति प्रस्ट थियो। यस यहूदी राजाले आफ्नो मुलुकबाट मूर्तिहरू हटाइसकेका भए तापनि मन्दिरमा अकस्मात्‌ फेला परेको यहोवाको व्यवस्थाले तिनलाई अझ तीव्रतासाथ मूर्तिहरू हटाउन उत्प्रेरित गऱ्‍यो। a योशियाह स्वयम्‌ले व्यवस्था पढेर मानिसहरूलाई सुनाएपछि सारा राष्ट्रले यहोवासित वाचा बाँधे अनि मूर्तिपूजा विरुद्धमा अझ जोडदार अभियान सुरु गरियो। योशियाहले गरेको सुधारको असल नतिजा के थियो भने, “तिनी बाचुञ्जेल . . . परमेश्‍वरको भक्‍ति गर्नदेखि तिनीहरू तर्केनन्‌।”—२ इतिहास ३४:३३.

१०. यहोवाबाट शक्‍ति पाउने तेस्रो तरिका के हो र त्यो किन महत्त्वपूर्ण छ?

१० तेस्रो, हामी मसीही संगतीद्वारा यहोवाबाट शक्‍ति पाउँछौं। “प्रेम र सुकर्ममा उत्तेजित” गराउन र एकअर्कालाई प्रोत्साहन दिन पावलले मसीहीहरूलाई नियमित तवरमा सभाहरूमा भेला हुने प्रोत्साहन दिए। (हिब्रू १०:२४, २५) चमत्कारी ढंगमा झ्यालखानाबाट छुटेपछि पत्रुस आफ्ना भाइहरूलाई भेट्‌ने इच्छाले सीधै मर्कूस कुलनाउँ गरेका यूहन्‍नाको आमाको घरमा गए। त्यहाँ “धेरै जना जम्मा भएर प्रार्थना गरिरहेका थिए।” (प्रेरित १२:१२) निस्सन्देह, तिनीहरू आ-आफ्नै घरमा बसेर प्रार्थना गर्नसक्थे। तर त्यो कठिन समयमा तिनीहरूले एकसाथ भेला भएर प्रार्थना गर्न रुचाए। रोमको लामो अनि खतरनाक यात्राको अन्ततिर पावलले पटिओलीमा केही भाइहरूलाई भेटे र पछि तिनलाई भेट्‌न आउनेहरूलाई पनि भेटे। तिनको प्रतिक्रिया? “यिनीहरूलाई [तिनलाई भेट्‌न आउनेहरू] देखेर पावलले परमेश्‍वरमा धन्यवाद चढ़ाए, र हौसला लिए।” (प्रेरित २८:१३-१५) सँगी मसीहीहरूसित फेरि भेट्‌न पाउँदा तिनले बल पाए। हामी पनि सँगी मसीहीहरूको संगतिबाट शक्‍ति पाउँछौं। एकअर्कासित संगत गर्ने स्वतन्त्रता पाउञ्जेल र संगत गर्न सम्भव भएसम्म हामी जीवनतर्फ लैजाने साँघुरो बाटोमा एक्लै हिंड्‌नु हुँदैन।—हितोपदेश १८:१; मत्ती ७:१४.

११. “असामान्य शक्‍ति” आवश्‍यक पर्ने केही परिस्थिति बताउनुहोस्‌।

११ खुरन्धार प्रार्थना गरेर, परमेश्‍वरको वचन अध्ययन गरेर अनि सँगी विश्‍वासीहरूसित संगत गरेर हामी ‘प्रभुमा र उहाँको शक्‍तिको सामर्थ्यमा बलवान’ हुन्छौं। (एफिसी ६:१०) निस्सन्देह, हामी सबैलाई ‘प्रभुको शक्‍ति’ चाहिन्छ। कोही रोगले दिनानुदिन अशक्‍त भइरहेका छन्‌ भने कसैलाई वृद्धावस्थाले धमिरालेजस्तै भित्रभित्रै खाइरहेको छ वा अरूचाहिं जीवनसाथीको मृत्युले गर्दा दुःखी छन्‌। (भजन ४१:३) अरू कतिपयले चाहिं भिन्‍नै धर्म मान्‍ने पति वा पत्नीको विरोध सहनुपरिरहेको छ। आमाबाबुलाई र अझ विशेष गरी एक्ली आमा वा एक्लो बुबालाई पूर्ण-समय जागिर खाँदै परिवारको हेरचाह गर्नु कठिन हुनसक्छ। जवान मसीहीहरूलाई साथीभाइको दबाउको सामना गर्न र लागूपदार्थको दुर्व्यसन तथा अनैतिकतालाई इन्कार गर्न शक्‍ति चाहिन्छ। यस्ता चुनौतिहरूको सामना गर्न सबैले नहिचकिचाइकन यहोवासँग “असामान्य शक्‍ति” माग्नुपर्छ।—२ कोरिन्थी ४:७, NW.

“दुर्बलहरूलाई बल दिनुहुन्छ”

१२. मसीही सेवकाईमा यहोवाले हामीलाई कसरी सम्हाल्नुहुन्छ?

१२ यसबाहेक, आफ्ना सेवकहरूलाई सेवकाईको काम गर्दा पनि यहोवाले शक्‍ति दिनुहुन्छ। हामी यशैयाले यस्तो भविष्यवाणी गरेको पाउँछौं: “उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ, र शक्‍तिहीनको शक्‍ति बढ़ाइदिनुहुन्छ। . . . परमप्रभुको बाटो हेर्नेहरूले नविन सामर्थ्य पाउनेछन्‌। तिनीहरू चीलझैं उँभो उँभो उड़नेछन्‌, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्‌। तिनीहरू हिंड़ेर जान्छन्‌, तर क्लान्त हुनेछैनन्‌।” (यशैया ४०:२९-३१) आफ्नो सेवकाई पूरा गर्न प्रेरित पावलले त्यस्तै शक्‍ति पाए। फलतः तिनको सेवकाई प्रभावकारी साबित भयो। तिनले थिस्सलोनिकीका मसीहीहरूलाई यसरी लेखे: “हाम्रो सुसमाचार केवल वचनमा मात्र होइन, तर शक्‍तिमा पनि, र पवित्र आत्मामा . . . तिमीहरूकहाँ आएको हो।” (१ थिस्सलोनिकी १:५) तिनको प्रचार र शिक्षणकार्यमा तिनका कुरा सुन्‍नेहरूको जीवनमा आमूल परिवर्तन ल्याउने शक्‍ति थियो।

१३. विरोधको बावजूद आफ्नो काम गरिरहन यर्मियालाई कुन कुराले बलियो बनायो?

१३ हाम्रो कुरामा ध्यानै नदिने इलाकामा हामीले वर्षौंदेखि बारम्बार प्रचार गर्दै आएका होऔंला। फलतः यस्तो इलाकामा मानिसहरूको भावशून्यता देखेर हामी निरुत्साहित हुनसक्छौं। विरोध, गिल्ला र भावशून्यताको सामना गर्नुपर्दा यर्मिया पनि निरुत्साहित भए। तिनले भने: “म [परमेश्‍वरको] चर्चा गर्नेछैनँ, म फेरि कहिल्यै उहाँको नाउँ लिन्‍नँ।” तर तिनी चुप्प लागेर बस्नसकेनन्‌। त्यो सन्देश “[तिनको] हृदयमा जलिरहेको आगो हड्डीहरूका बीचमा थुनिराखेको जस्तै” भयो। (यर्मिया २०:९) दुःखकष्टले चारैतिरबाट घेर्दा तिनले कहाँबाट नवीन शक्‍ति पाए? यर्मिया भन्छन्‌: “परमप्रभु एक भयंकर योद्धाझैं मसित हुनुहुन्छ।” (यर्मिया २०:११) यर्मियाले आफ्नो सन्देशको महत्त्व तथा ईश्‍वरप्रदत्त कार्यभारको मूल्यांकन गरेको हुँदा यहोवाले दिनुभएको प्रोत्साहन स्वीकारे।

चोट पुऱ्‍याउने र निको पार्ने शक्‍ति

१४. (क) जिब्रो कत्तिको शक्‍तिशाली अंग हो? (ख) जिब्रोले गर्नसक्ने हानिका उदाहरणहरू दिनुहोस्‌।

१४ हामीसित भएको सबै शक्‍ति परमेश्‍वरबाट सीधै आएको होइन। जिब्रोमा चोट पुऱ्‍याउने अनि निको पार्ने दुवै शक्‍ति छ। सुलेमान चेताउनी दिन्छन्‌: “जीवन र मृत्युको शक्‍ति बोलीमा रहन्छ।” (हितोपदेश १८:२१) शैतानले हव्वासित एकैछिन कुरा गर्दाको नतिजाले बोलीले कत्रो विनाश ल्याउनसक्छ भनेर देखाउँछ। (उत्पत्ति ३:१-५; याकूब ३:५) हामीले पनि जिब्रोद्वारा धेरै हानि पुऱ्‍याउनसक्छौं। जवान केटीलाई तिनको वजनबारे छेडपेच गर्दा आनोरक्सियाको सिकार हुनसक्छ। विचारै नगरी बारम्बार अरूको बदनाम गर्दा सधैंको लागि मित्रता टुट्‌नसक्छ। हो, जिब्रोलाई नियन्त्रणमा राख्नुपर्छ।

१५. हामी जिब्रोलाई कसरी अरूलाई प्रोत्साहन दिन र निको पार्न प्रयोग गर्नसक्छौं?

१५ तथापि, जिब्रोले फाइदाका साथै हानि पनि पुऱ्‍याउनसक्छ। बाइबल हितोपदेश यसो भन्छ: “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ, तर बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ।” (हितोपदेश १२:१८) बुद्धिमानी मसीहीहरू आफ्नो जिब्रोको शक्‍ति निरुत्साहित र शोकाकुल व्यक्‍तिलाई सान्त्वना दिन प्रयोग गर्छन्‌। साथीहरूको हानिकारक दबाउको सामना गरिरहेका किशोरकिशोरीलाई समानुभूतिशील शब्दहरूले प्रोत्साहन दिनसक्छन्‌। राम्ररी सोचविचार गरेर बोलेको बोलीले वृद्ध भाइबहिनीहरूलाई अझै पनि उनीहरूको महत्त्व छ र उनीहरूलाई अझै पनि हामी माया गर्छौं भनेर आश्‍वासन दिनसक्छ। कोमल शब्दले बिरामीहरूलाई प्रसन्‍न पार्नसक्छ। सबैभन्दा मुख्य कुरा, सुन्‍नेहरू सबैलाई राज्यको शक्‍तिशाली सन्देश सुनाउन हामी आफ्नो जिब्रो प्रयोग गर्नसक्छौं। परमेश्‍वरको वचन हाम्रो हृदयमा छ भने हामी परमेश्‍वरको वचन घोषणा गर्नसक्छौं। बाइबल भन्छ: “मानिसलाई दिने तेरो औकात छ भने त्यसलाई दया देखाउन अस्वीकार नगर्‌।”—हितोपदेश ३:२७.

शक्‍तिको सदुपयोग

१६, १७. आफ्नो ईश्‍वरप्रदत्त अख्तियारको प्रयोग गर्दा प्राचीन, आमाबाबु, पति र पत्नीहरूले कसरी यहोवाको अनुकरण गर्नसक्छन्‌?

१६ यहोवा सर्वशक्‍तिमान्‌ हुनुभए तापनि उहाँले मण्डलीलाई प्रेमपूर्वक डोऱ्‍याउनुहुन्छ। (१ यूहन्‍ना ४:८) उहाँको अनुकरण गर्दै मसीही निरीक्षकहरू आफ्नो अख्तियारको दुरुपयोग होइन सदुपयोग गर्दै मायालु ढंगमा परमेश्‍वरको बगालको हेरचाह गर्छन्‌। हो, कहिलेकाहीं निरीक्षकहरूले ‘दोष देखाउनु, हप्काउनु अनि अर्ती दिनुपर्छ’ तर यसो गर्दा तिनीहरू “सहनशीलता र शिक्षासाथ” गर्छन्‌। (२ तिमोथी ४:२) तसर्थ, प्रेरित पत्रुसले मण्डलीमा अख्तियार पाएकाहरूलाई लेखेका यी शब्दहरूलाई प्राचीनहरू सधैं मनन गर्छन्‌: “तिमीहरूका जिम्मामा रहेको परमेश्‍वरको बगालको गोठालो होओ। करले होइन, तर परमेश्‍वरको इच्छाबमोजिम, खुशीसाथ। पैसाको लोभले होइन, तर तयारी मनले, तिमीहरूका जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको उदाहरण होओ।”—१ पत्रुस ५:२, ३; १ थिस्सलोनिकी २:७, ८.

१७ यहोवाले आमाबाबु तथा पतिहरूलाई पनि अख्तियार दिनुभएको छ र यसलाई परिवारको मदत, पालनपोषण अनि हेरचाह गर्न प्रयोग गर्नुपर्छ। (एफिसी ५:२२, २८-३०; ६:४) अख्तियारलाई मायालु ढंगमा प्रभावकारीसाथ प्रयोग गर्न सकिन्छ भनेर येशूको उदाहरणले देखाउँछ। नियन्त्रित र नियमित तवरमा अनुशासन दियो भने छोराछोरी खिन्‍न हुँदैनन्‌। (कलस्सी ३:२१) मसीही पतिहरूले मायालु ढंगमा शिरत्वको अभ्यास गऱ्‍यो अनि पत्नीहरूले ईश्‍वरप्रदत्त दायराबाहिर जानु वा आफ्नो खुसी गर्नुको सट्टा आफ्नो पतिको शिरत्वलाई गहिरो आदर गऱ्‍यो भने वैवाहिक जीवन बलियो हुन्छ।—एफिसी ५:२८, ३३ १ पत्रुस ३:७.

१८. (क) आफ्नो रिसलाई वशमा राख्न हामीले कसरी यहोवाको अनुकरण गर्नुपर्ने हो? (ख) अख्तियार पाएकाहरूले आफ्नो रेखदेखमा भएकाहरूको हृदयमा कुन कुरा विकास गर्ने कोसिस गर्नुपर्छ?

१८ परिवार र मण्डलीमा अख्तियार पाएकाहरूले विशेष गरी आफ्नो रिसलाई वशमा राख्नुपर्छ किनकि रिसले प्रेम होइन डर उत्पन्‍न गराउँछ। अगमवक्‍ता नहूमले यसो भने: “परमप्रभु रीस गर्नमा धीरजी हुनुहुन्छ। उहाँ अत्यन्त शक्‍तिमान हुनुहुन्छ।” (नहूम १:३; कलस्सी ३:१९) रिसलाई वशमा राख्नु आफ्नो शक्‍तिको संकेत हो भने रिस देखाउनु कमजोरीको प्रमाण हो। (हितोपदेश १६:३२) हामीले परिवारका साथसाथै मण्डलीमा यहोवाप्रति, एकअर्काप्रति र सही सिद्धान्तप्रति प्रेम बढाउने लक्ष्य राख्नुपर्छ। प्रेम, एकताको सबैभन्दा बलियो गाँठो र सही कार्य गर्ने बलियो प्रेरणा हो।—१ कोरिन्थी १३:८, १३; कलस्सी ३:१४.

१९. यहोवाले कस्तो सान्त्वनादायी आश्‍वासन दिनुहुन्छ र त्यसप्रति हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्ने हो?

१९ यहोवालाई चिन्‍नु भनेको उहाँको शक्‍तिलाई चिन्‍नु हो। यशैया मार्फत यहोवाले भन्‍नुभयो: “के तँलाई थाह छैन? के तैंले सुनेको छैनस्‌? परमप्रभु सनातनका परमेश्‍वर, उहाँ सारा पृथ्वीका सृष्टिकर्त्ता हुनुहुन्छ। उहाँ नता दुर्बल, न थकित हुनुहुन्छ।” (यशैया ४०:२८) यहोवाको शक्‍ति कहिल्यै सिद्धिदैन। हामी आफैमा भर पर्नुको सट्टा उहाँमा भर पऱ्‍यौं भने उहाँले हामीलाई त्याग्नुहुनेछैन। उहाँ हामीलाई यस्तो आश्‍वासन दिनुहुन्छ: “नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु, म मेरो धार्मिकताको दाहिने हातले तँलाई सह्‍माल्नेछु।” (यशैया ४१:१०) हामीले उहाँको मायालु रेखदेखप्रति कस्तो प्रतिक्रिया देखाउनुपर्छ? येशूले जस्तै हामीले पनि यहोवाले दिनुभएको शक्‍तिलाई सधैं अरूलाई मदत गर्न र प्रोत्साहन दिन प्रयोग गरौं। हामी आफ्नो जिब्रोलाई नियन्त्रणमा राखौं ताकि यसले हानि गर्नुको सट्टा निको पारोस्‌। अनि हामी सधैं आध्यात्मिक तवरमा जागा रहौं, विश्‍वासमा दृढ होऔं र हाम्रो महान्‌ सृष्टिकर्ता यहोवा परमेश्‍वरको शक्‍तिमा बलिया होऔं।—१ कोरिन्थी १६:१३.

[फुटनोट]

a स्पष्टतः शताब्दीयौंअघि मन्दिरमा राखिएको मोशाको व्यवस्थाको मौलिक प्रतिलिपि यहूदीहरूले फेला पारे।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• यहोवाले आफ्नो शक्‍ति कसरी प्रयोग गर्नुहुन्छ?

• हामी कुन कुन तरिकामा यहोवाको शक्‍ति पाउनसक्छौं?

• जिब्रोको शक्‍तिलाई कसरी प्रयोग गर्नुपर्छ?

• ईश्‍वरप्रदत्त अख्तियार कसरी आशिष्‌ हुनसक्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

येशूले यहोवाको शक्‍ति अरूलाई मदत गर्न प्रयोग गर्नुभयो

[पृष्ठ १७-मा भएका चित्रहरू]

हाम्रो हृदयमा परमेश्‍वरको वचन छ भने हामी घोषणा गर्नसक्छौं