सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले प्रार्थनाहरूको जवाफ दिनुहुन्छ

परमेश्‍वरले प्रार्थनाहरूको जवाफ दिनुहुन्छ

परमेश्‍वरले प्रार्थनाहरूको जवाफ दिनुहुन्छ

बारम्बार हृदयस्पर्शी प्रार्थना गरेर परमेश्‍वरको निगाह पाउन खोज्ने व्यक्‍तिहरूमध्ये कर्नीलियस पनि हुन्‌। साथै, पल्टनका कप्तानको हैसियतमा तिनले आफ्नो ओहोदाको सदुपयोग गरे। बाइबलअनुसार तिनले खाँचोमा परेका थुप्रै मानिसहरूलाई “दान-पुण्य” गरे।–प्रेरित १०:१, २.

त्यतिबेला, मसीही मण्डलीमा धार्मिक आस्था भएका यहूदी, धर्म परिवर्तन गरी यहूदी बनेका तथा सामरीहरू मात्र थिए। कर्नीलियस, खतना नभएका अन्यजातिका थिए र मसीही मण्डलीका भाग थिएनन्‌। उसोभए, तिनको प्रार्थना खेर गयो त? अहँ, गएन। यहोवा परमेश्‍वरले कर्नीलियस तथा तिनको सुकर्म बिर्सनुभएन—प्रेरित १०:४.

स्वर्गदूतको डोऱ्‍याइले गर्दा कर्नीलियस पनि मसीही मण्डलीको सम्पर्कमा आए। (प्रेरित १०:३०-३३) परिणामस्वरूप, मसीही मण्डलीमा स्वागत गरिने खतना नगरिएका अन्यजातिहरूमध्ये तिनी र तिनको घराना पहिलो हुने अवसर पाए। कर्नीलियसको यस व्यक्‍तिगत अनुभवलाई परमेश्‍वरले बाइबल अभिलेखमा समावेश गर्न उपयुक्‍त ठान्‍नुभयो। निस्सन्देह, तिनले परमेश्‍वरको स्तरअनुरूप चल्न आफ्नो जीवनमा थुप्रै छाँटकाँट गरे। (यशैया २:२-४; यूहन्‍ना १७:१६) परमेश्‍वरको निगाह खोज्ने सबै राष्ट्रका मानिसका लागि कर्नीलियसको अनुभव एकदमै प्रोत्साहनदायी हुनुपर्ने हो। केही उदाहरण ध्यान दिनुहोस्‌।

आधुनिक समयका उदाहरण

भारतकी एक जवान महिलालाई सान्त्वनाको सख्त दरकार थियो। तिनले २१ वर्षको उमेरमा विवाह गरेकी थिइन्‌ र दुई बालबच्चा थिए। तर दोस्रो बच्चा जन्मिएको धेरै समय नबित्दै तिनको पतिको मृत्यु भयो। यसकारण, तिनी २४ वर्षको उमेरमा २ महिनाको सानी छोरी अनि २२ महिने छोराको विधवी आमा हुन पुगिन्‌। यसबाट तिनलाई सान्त्वना चाहिनुको कारण बुझ्नसक्छौं! तिनले सान्त्वनाको लागि कहाँ गुहार माग्न सक्थिन्‌? यस्तो चिन्ताग्रस्त भएको बेला एक रात तिनले यसो भन्दै प्रार्थना गरिन्‌, “हे स्वर्गमा हुनुहुने पिता, आफ्नो वचनद्वारा मलाई सान्त्वना दिनुहोस्‌।”

भोलिपल्ट बिहान तिनीकहाँ एक जना मानिस आए। तिनी यहोवाका साक्षी थिए। त्यस दिन, धेरै जसोले तिनको कुरा नसुनेकोले घर घरको सेवकाई गाह्रो लागिरहेको थियो। थकित अनि हतोत्साहित भएर घर फर्कनै लागेको बेला यो एउटा घरमा पनि गइहालौं न भन्‍ने मनमा लाग्यो। हो, त्यही घरमा त्यस साक्षीले ती जवान विधवीलाई भेटे। त्यस स्त्रीले तिनलाई भित्र बोलाइन्‌ र बाइबल आधारित प्रकाशनहरू स्वीकारिन्‌। तिनले ती प्रकाशन पढ्‌नुका साथै उक्‍त साक्षीसित गरेको छलफलबाट पनि निकै सान्त्वना पाइन्‌। परमेश्‍वरले मरेकाहरूलाई बिउँताउनु हुने र सारा पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने उहाँको राज्य ल्याउनुहुनेछ भन्‍ने प्रतिज्ञाबारे तिनले थाह पाइन्‌। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त, तिनले आफ्नो प्रार्थनाको जवाफ दिनुहुने एकमात्र साँचो परमेश्‍वर यहोवालाई चिनिन्‌ र प्रेम गर्न थालिन्‌।

दक्षिण अफ्रिकाको जर्ज भन्‍ने शहरकी बासिन्दा, नोराले एक पूरै महिना-पूर्ण समय प्रचार कार्यमा बिताउने निधो गरिन्‌। यो कार्य सुरु गर्नुअघि तिनले बाइबल अध्ययन गर्न साँच्चै उत्सुक व्यक्‍तिहरू भेट्टाउन मदत गर्नुहोस्‌ भन्दै यहोवालाई खुरन्धार प्रार्थना गरिन्‌। नोरालाई प्रचार गर्न खट्टाइएको क्षेत्रमा पहिला तिनले प्रचार गर्दा असाध्यै कठोर व्यवहार गरेको एक जना मानिसको घर पनि पर्थ्यो। साहसी भई तिनले त्यस घरको ढोका फेरी ढकढक्याइन्‌। त्यस घरमा नोलीन नाउँकी नयाँ महिला बस्न थालेको कुरा थाह पाउँदा तिनी छक्क परिन्‌। त्यति मात्र कहाँ हो र, नोलीन तथा तिनकी आमाले बाइबल बुझ्न मदत गर्नुहोस्‌ भनेर परमेश्‍वरलाई प्रार्थना गरिरहेका रहेछन्‌। नोरा भन्छिन्‌, “मैले तिनीहरूलाई बाइबल अध्ययन गर्ने प्रस्ताव राख्दा तिनीहरू औधी खुसी भए।” नोलीन र तिनकी आमाले चाँडचाँडो प्रगति गरे। समयको दौडान तिनीहरू दुवै आध्यात्मिक तवरमा निको पार्ने काममा नोरा सँगसँगै भाग लिन थाले।

प्रार्थनाको शक्‍ति प्रकट गर्ने अर्को उदाहरण दक्षिण अफ्रिकी शहर जोहानेसबर्गमा बसोबास गर्ने एउटा दम्पतीको हो। सन्‌ १९९६ को एउटा शनिबार रातको कुरा हो, डेनिश तथा क्यारोलको विवाह टुक्रिने अवस्थामा पुगेको थियो। अन्तिम प्रयासस्वरूप तिनीहरूले मदतको लागि प्रार्थना गर्ने निर्णय गरे। तिनीहरूले राती अबेरसम्म निकै पटक प्रार्थना गरे। भोलिपल्ट बिहान ११ बजे दुई जना यहोवाका साक्षीहरूले तिनीहरूको ढोका ढकढक्याए। डेनिसले को हो भनेर सोधखोज गरिसकेपछि आफ्नी श्रीमतीलाई बोलाउँछु एकछिन पर्खनुस्‌ है, भने। यहोवाका साक्षीहरूलाई भित्र बोलाएपछि तिनीहरूलाई पठाउन गाह्रो हुनेछ भनेर डेनिसले क्यारोललाई सतर्क गराए। तिनीहरूले मदतको लागि प्रार्थना गरेको हुनाले यो नै परमेश्‍वरको जवाफ हो कि के थाह भनेर क्यारोलले डेनिसलाई सम्झाइन्‌। त्यसैले साक्षीहरूलाई भित्र बोलाए अनि ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकबाट बाइबल अध्ययन थालियो। आफूले सिकेका कुराहरूबाट डेनिस र क्यारोल रोमाञ्चित भए। त्यसै दिन दिउँसो, तिनीहरू यहोवाका साक्षीहरूको स्थानीय राज्यभवनको सभामा पहिलो पल्ट उपस्थित भए। बाइबलबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्दा डेनिस र क्यारोलले आफ्नो वैवाहिक समस्याहरूको समाधान निकाल्नसके। तिनीहरू अहिले यहोवाका आनन्दित बप्तिस्मा प्राप्त प्रशंसकहरू भएका छन्‌ र आफ्ना छिमेकीहरूलाई आफूसित भएको बाइबल आधारित विश्‍वासहरू नियमित तवरमा बताउँदैछन्‌।

प्रार्थना गर्न आफूलाई अयोग्य महसुस गर्नुहुन्छ भने नि?

आफ्नो खराब जीवनशैलीका कारण केही निष्कपट मानिसहरू प्रार्थना गर्न आफूलाई अयोग्य महसुस गर्नसक्छन्‌। येशू ख्रीष्टले महसूल उठाउने एक जना अपहेलित मानिसको कथा सुनाउनुभयो। मन्दिरको चोकमा पुगेपछि त्यस मानिसले प्रार्थना गर्ने ठाउँमा जान आफूलाई अयोग्य ठान्यो। “टाढ़ै उभिएर . . . यसो भन्दै [उसले] आफ्नो छाती पिट्यो, ‘हे परमेश्‍वर, म पापीमाथि दया गर्नुहोस्‌!’ ” (लूका १८:१३) येशूले बताउनुभएअनुसार त्यस मानिसको प्रार्थना सुनुवाइ भयो। यसले यहोवा परमेश्‍वर साँच्चै कृपालु हुनुहुन्छ र हृदयदेखि पश्‍चात्ताप गर्ने पापीहरूलाई क्षमा गर्न तयार हुनुहुन्छ भन्‍ने कुरा प्रमाणित गर्छ।

पल नाउँ गरेको दक्षिण अफ्रिकी युवकलाई विचार गर्नुहोस्‌। पल सानो छँदा आफ्नी आमासित मसीही सभाहरू धाउँथे। तर हाई स्कूलका वर्षहरूको दौडान तिनले परमेश्‍वरको जीवनशैली नपछ्याउने जवान मानिसहरूसित संगत गर्नथाले। तिनले स्कूल छोडिसकेपछि दक्षिण अफ्रिकाको भूतपूर्व रंगभेद सरकारको सेनामा सेवा गर्नथाले। त्यसपछि, अनायास तिनकी प्रेमिकाले तिनीसितको सम्बन्ध तोडिन्‌। यस असन्तुष्ट जीवनशैलीले गर्दा पल निकै उदास हुनथाले। त्यो समयलाई सम्झँदै तिनी भन्छन्‌, “एक साँझ मैले यहोवालाई प्रार्थना गरें तर मैले साँचो हृदयले परमेश्‍वरलाई नपुकारेको वर्षौं भइसकेको थियो।”

यसरी प्रार्थना गरेको धेरै समय नबित्दै पलकी आमाले तिनलाई येशू ख्रीष्टको वार्षिक स्मरणार्थ उत्सवमा भेला हुन निम्त्याइन्‌। (लूका २२:१९) आफू बहकिएर बाइबलमा चासो नै नदेखाउने भइसक्दा पनि आफ्नी आमाले त्यसो भनेको देखेर तिनलाई छक्क लाग्यो। “यो निम्तो, यहोवा परमेश्‍वरलाई मैले गरेको प्रार्थनाको जवाफ ठानें र अब सही बाटोमा फर्कनुपर्छ भन्‍ने महसुस गरें।” त्यसबेलादेखि पलले सबै मसीही सभा धाउन थाले। चार महिना बाइबल अध्ययन गरिसकेपछि तिनी बप्तिस्मा लिन योग्य भए। त्यसबाहेक, तिनले आफ्नो इन्जिनियरिङको अध्ययन पनि छोडेर पूर्ण-समय प्रचारको कामलाई आफ्नो पेसा बनाए। आज, पल आनन्दित छन्‌, पहिले बिताएको जीवनले गर्दा खिन्‍न छैनन्‌। विगत ११ वर्षदेखि तिनी दक्षिण अफ्रिका स्थित वाच टावर सोसाइटीको शाखा कार्यालयमा सेवारत छन्‌।

निस्सन्देह, यहोवा परमेश्‍वर प्रार्थनाको जवाफ खुसीसाथ दिनुहुन्छ र “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ।” (हिब्रू ११:६) अब चाँडै यहोवाको महान्‌ दिन आउनेछ र त्यसले सारा दुष्टताको अन्त गर्नेछ। त्यतिन्जेल, यहोवा परमेश्‍वरले आफ्ना प्रजाहरूले साक्षी दिने यस आधारभूत कार्यमा जोसिलो भई भाग लिंदै बल अनि डोऱ्‍याइका लागि उहाँलाई गरेको प्रार्थनाको जवाफ दिइरहनुभएको छ। तसर्थ, सबै राष्ट्रका लाखौं मानिसहरूलाई मसीही मण्डलीमा भित्र्याईंदैछ र तिनीहरूले अनन्त जीवनतर्फ लैजाने बाइबलको ज्ञान पाइरहेका छन्‌।—यूहन्‍ना १७:३.

[पृष्ठ ५-मा भएको चित्र]

कर्नीलियसको हृदयस्पर्शी प्रार्थनाको फलस्वरूप प्रेरित पत्रुस तिनलाई भेट्‌न आए

[पृष्ठ ६-मा भएको चित्र]

चिन्तित हुँदा पनि प्रार्थनाले थुप्रैलाई मदत गरेको छ

[पृष्ठ ७-मा भएका चित्रहरू]

बाइबल बुझ्न मदत गर्नुहोस्‌ भन्दै परमेश्‍वरलाई प्रार्थना गर्नु बेस हो

विवाहित दम्पतीहरूले विवाह-बन्धन बलियो बनाउन मदतको लागि परमेश्‍वरलाई प्रार्थना गर्नसक्छन्‌