प्रार्थनाको शक्ति
प्रार्थनाको शक्ति
मध्यपूर्वको एउटा शहर, नाहोरबाट घाम अस्ताउनै लागेको छ। त्यस शहरको बाहिरपट्टि इनारनेर अरामी एलीएजर दसवटा ऊँटको लावालस्करका साथ आइपुग्छन्। आफू थकित अनि तिर्खाएको भए पनि एलीएजरलाई आफ्नोभन्दा एउटा अर्कै कुराको धेरै चिन्ता लागिरहेको छ। तिनी आफ्नो मालिकको छोरोका लागि सुहाउँदो बेहुली खोज्न विदेशबाट आएका हुन्। त्यसबाहेक, तिनले दुलही आफ्नो मालिककै नातेदारहरूमध्येबाट खोज्नुपर्नेथियो। त्यस्तो कठिन काम तिनले कसरी कसरी फत्ते गर्लान्?
एलीएजर प्रार्थनाको शक्तिमा विश्वास गर्छन्। बालकले जस्तै असाधारण विश्वास प्रकट गर्दै तिनले यस्तो विनम्र अनुरोध गर्छन्: “हे मेरा मालिकका परमप्रभु परमेश्वर, कृपागरी आज मलाई मेरो काम सफल गराइदिनुहोस् र मेरा मालिक अब्राहामलाई आफ्नो अटूट प्रेम देखाउनुहोस्। हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, औ शहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदैछन्। यसैले यसो होस्, जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनूँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्, तिनलाईनै तपाईंले आफ्नो दास इसहाकको निम्ति रोज्नुभएको रहेछ, र तपाईंले मेरा मालिकलाई आफ्नो अटुट प्रेम देखाउनुभएको रहेछ भन्ने म त्यसैबाट थाह पाउनेछु।”—उत्पत्ति २४:१२-१४.
प्रार्थनाको शक्तिमा एलीएजरले गरेको भरोसा खेर जाँदैन। जाओस् पनि कसरी, त्यस इनारनेर आइपुग्ने पहिलो स्त्री अब्राहामकै भाइकी नातिनी हुन्! तिनको नाम रिबेका थियो, अनि तिनी अविवाहित, नैतिक तवरमा स्वच्छ र सुन्दरी थिइन्। चाखलाग्दो कुरा, तिनले एलीएजरलाई मात्र होइन तर सबै ऊँटहरूको तिर्खा मेटुञ्जेल पानी खुवाउन अग्रसर हुन्छिन्। पछि, परिवारसित सल्लाह गरिसकेपछि अब्राहामको छोरो इसहाककी पत्नी हुन एलीएजरसित टाढा देशमा जान रिबेका राजी हुन्छिन्। परमेश्वरले कहिलेकाहीं चमत्कारी ढंगमा जवाफ दिनुहुने त्यस समयमा एलीएजरले आफ्नो प्रार्थनाको कस्तो उल्लेखनीय अनि सरल जवाफ पाए!
हामी एलीएजरको प्रार्थनाबाट धेरै कुरा सिक्नसक्छौं। यसले तिनको उल्लेखनीय विश्वास, नम्रता तथा अरूप्रति निश्वार्थ चासो प्रकट गर्छ। एलीएजरको प्रार्थनाबाट तिनी यहोवाले मानिसहरूप्रति गर्नुहुने व्यवहारको अधीनमा बस्छन् भन्ने कुरा पनि प्रस्ट हुन्छ। अब्राहामसित परमेश्वरको विशेष सम्बन्ध छ अनि अब्राहामबाटै सबै मानिसजाति आशिषित् हुनेछन् भनी प्रतिज्ञा गर्नुभएको छ भनेर तिनलाई राम्ररी थाह थियो। (उत्पत्ति १२:३) तसर्थ, एलीएजरले आफ्नो प्रार्थनाको सुरुमा यसो भने: “हे मेरा मालिकका परमप्रभु परमेश्वर।”
येशू ख्रीष्ट सारा आज्ञाकारी मानवजातिले आशिष् पाउने अब्राहामको सन्तान हुनुहुन्थ्यो। (उत्पत्ति २२:१८) वर्तमान समयमा पनि हामी आफ्नो प्रार्थनाको सुनुवाइ होस् भन्ने चाहन्छौं भने परमेश्वरले आफ्नो पुत्र मार्फत मानिसजातिसित व्यवहार गर्नुहुने तौरतरिकाप्रति नम्र हुनु आवश्यक छ। येशू ख्रीष्टले भन्नुभयो: “तिमीहरू ममा रह्यौ, र मेरा कुरा तिमीहरूमा रहे भने, जो तिमीहरूलाई इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति हुनेछ।”—यूहन्ना १५:७.
येशूका यी शब्दहरूको सत्यता अनुभव गर्ने ख्रीष्टका चेला प्रेरित पावल थिए। प्रार्थनाको शक्तिमाथि तिनको विश्वास व्यर्थै गएन। तिनले आफ्ना संगी मसीहीहरूलाई आफ्नो सारा चिन्ता प्रार्थनामा परमेश्वरसामु राख्न प्रोत्साहन दिंदै यसो लेखे: “जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।” (फिलिप्पी ४:६, ७, १३) के यसको मतलब पावलले प्रार्थनामा परमेश्वरसामु राखेका जम्मै मागहरू पूरा भए भन्न खोजेको हो? आउनुहोस्, हामी विचार गरौं।
जम्मै माग पूरा हुँदैनन्
पावलको निश्वार्थ सेवकाईमा तिनलाई “शरीरमा एक किसिमको छेस्को[ले]” पिरोलिरहेको थियो। (२ कोरिन्थी १२:७) यो, विरोधीहरू तथा “झूटा भाइहरूका” कारण उत्पन्न भएको मानसिक अनि भावनात्मक तनाउ हुनसक्छ। (२ कोरिन्थी ११:२६; गलाती २:४) अथवा तिनको आँखाको पुरानो समस्याकै कारण उत्पन्न शारीरिक असुविधा पनि हुनसक्छ। (गलाती ४:१५) कारण जेसुकै होस्, यो “शरीरमा एक किसिमको छेस्को[ले]” पावललाई कमजोर तुल्याउँथ्यो। “यसको विषयमा यो मबाट हटोस् भनेर मैले तीनपल्ट प्रभुसित बिन्ती गरें” भनी तिनले लेखे। तथापि, पावलको बिन्ती पूरा भएन। पावलले परीक्षाहरू सहने शक्ति जस्ता अन्य आध्यात्मिक लाभहरू परमेश्वरबाट पाइसकेका थिए र त्यो नै यथेष्ट छ भनेर तिनलाई बताइयो। यसबाहेक, परमेश्वरले यसो भन्नुभयो: “मेरो शक्ति दुर्बलतामा सिद्ध हुन्छ।”—२ कोरिन्थी १२:८, ९.
एलीएजर अनि पावलको उदाहरणबाट हामी के सिक्नसक्छौं? वास्तवमा, यहोवा परमेश्वरलाई नम्र भई सेवा गर्न खोज्नेहरूको बिन्ती उहाँ सुन्नुहुन्छ। तर यसको अर्थ तिनीहरूले गरेका जम्मै बिन्ती परमेश्वरले पूरा गरिदिनुहुन्छ भनेको होइन किनभने उहाँ सबै कामकुरोमा पछिसम्मको विचार गर्नुहुन्छ। हाम्रो भलाइ हुने कुराहरू हामीले भन्दा बढी उहाँ जान्नुहुन्छ। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त, उहाँ बाइबलमा उल्लिखित आफ्नो उद्देश्यअनुसारै कार्य गर्नुहुन्छ।
आध्यात्मिक तवरमा निको हुने समय
परमेश्वर आफ्नो पुत्रले पृथ्वीमा शासन गर्ने हजार वर्षीय शासनकालमा शारीरिक, मानसिक अनि भावनात्मक तवरमा पीडित सम्पूर्ण मानवजातिलाई निको पार्ने प्रतिज्ञा गर्नुहुन्छ। (प्रकाश २०:१-३; २१:३-५) निष्कपट मसीहीहरू परमेश्वरले प्रतिज्ञा गर्नुभएको भविष्यलाई उहाँले पक्कै वास्तविकतामा परिणत गर्न सक्नुहुन्छ भनेर पूर्ण विश्वास गर्दै प्रतिक्षा गर्छन्। अहिले त्यस्तो चमत्कारी ढंगमा निको हुने आशा नगरे तापनि तिनीहरू सान्त्वना तथा परीक्षाहरू सामना गर्ने शक्तिको लागि परमेश्वरलाई प्रार्थना गर्छन्। (भजन ५५:२२) तिनीहरू बिरामी हुँदा पनि आफूसित उपलब्ध आर्थिक स्रोतले भ्याउने उपयुक्त औषधोपचार गर्न निर्देशन माग्दै प्रार्थना गर्नसक्छन्।
कुनै कुनै धर्महरूले येशू तथा उहाँका चेलाहरूले चमत्कारपूर्ण ढंगमा निको पार्नुभएको कुरालाई औंल्याउँदै बिरामीलाई अहिले नै निको गरिदिनुहोस् भनी प्रार्थना गर्ने प्रोत्साहन दिन्छन्। तर त्यस्ता चमत्कारहरू गर्नुको विशेष उद्देश्य थियो। त्यसले येशू नै साँचो मसीह हुनुहुन्छ र परमेश्वरको निगाह यहूदी राष्ट्रमा होइन तर भर्खर स्थापना भएको मसीही मण्डलीमा छ भन्ने प्रमाणित गऱ्यो। त्यसबेला भर्खरै स्थापना भएको मसीही मण्डलीको विश्वास बलियो बनाउन चमत्कार गर्नु आवश्यक थियो। अनि भर्खरै बामे सर्न थालेको मसीही मण्डली आफ्नो खुट्टामा उभिनसक्ने भएर अनुभवी भएपछि ती चमत्कारपूर्ण वरदानहरू ‘टली गए।’—१ कोरिन्थी १३:८, ११.
यस निर्णायक घडीमा यहोवा परमेश्वरले आफ्ना उपासकहरूलाई आध्यात्मिक तवरमा निको पार्ने एकदमै महत्त्वपूर्ण काममा डोऱ्याइरहनु भएको छ। समय बाँकी छँदै मानिसहरूले ढिलासुस्ती नगरी यो आह्वान स्वीकार्नु जरुरी छ: “जबसम्म परमप्रभुलाई पाउनसक्छ उहाँलाई खोज। उहाँ नजीक हुनुहुँदानै उहाँलाई पुकार। दुष्टहरूले आफ्नो बाटो र अधर्मीहरूले आफ्नो विचार त्यागोस् र परमप्रभुतिर फर्कोस्, र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्वरतर्फ त्यो फर्कोस्, औ उहाँले त्यसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ।”—यशैया ५५:६, ७.
परमेश्वरको राज्यको सुसमाचार प्रचार कार्यको माध्यमद्वारा पश्चात्तापी पापीहरू आध्यात्मिक अर्थमा निको हुँदैछन्। (मत्ती २४:१४) यस दुष्ट रीतिरिवाजको अन्त आउनुअघि नै यो जीवन बचाउने काम पूरा गर्न यहोवा परमेश्वरले आफ्ना सेवकहरूलाई शक्ति दिनुभएर सबै राष्ट्रका लाखौं मानिसहरूलाई आफ्नो पाप पश्चात्ताप गर्न र उहाँसित सुमधुर सम्बन्ध बनाउन मदत गरिरहनुभएको छ। आध्यात्मिक तवरमा निको गरून् भनी त्यस्तो हार्दिक बिन्ती गर्ने अनि यो कार्य पूरा गर्न मदत गरून् भनेर प्रार्थना गर्नेहरूले साँच्चै जवाफ पाइरहेका छन्।
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
Eliezer and Rebekah/The Doré Bible Illustrations/Dover Publications