सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको सेवा गर्न जीवन सरल पार्दै

यहोवाको सेवा गर्न जीवन सरल पार्दै

जीवनी

यहोवाको सेवा गर्न जीवन सरल पार्दै

क्लारा गर्बर मोयरको वृत्तान्तमा आधारित

म ९२ वर्ष पुगिसकेकीले हिंड्‌न गाह्रो छ, तैपनि मेरो दिमाग ताजै छ र बिर्सने रोग पनि त्यस्तो लागेको छैन। यहोवालाई बाल्यकालदेखिनै सेवा गर्ने सुअवसर पाएकोमा म निकै कृतज्ञ छु! त्यस्तो सम्पत्ति हासिल गर्न सरल अनि सादा जीवनले निकै योगदान पुऱ्‍याएको छ।

मेरो जन्म अगस्त १८, १९०७ मा संयुक्‍त राज्य अमेरिकाको ओहायोस्थित अलायन्समा भयो र म पाँच जना छोराछोरीमध्ये जेठी छोरी हुँ। म आठ वर्षकी हुँदा अहिले यहोवाका साक्षीहरू भनेर चिनिने बाइबल विद्यार्थीहरूको एक जना पूर्ण समय सेवक साइकल चढेर हाम्रो डेरी फार्ममा आउनुभयो। उहाँले मेरी आमा लरा गर्बरलाई ढोकामै भेट्‌नुभयो र अहिले दुष्टता रहिरहनुको कारण थाह छ कि भनेर सोध्नुभयो। आमा यसबारे सधैंजसो सोच्ने गर्नुहुन्थ्यो।

खलोमा काम गरिरहनुभएको बुबासित कुरा मिलाउनुभएपछि आमाले स्टडीज इन द स्क्रिप्चर्स-का छ वटा खण्डहरू मगाउनुभयो। उहाँले यसलाई गहिरिएर अध्ययन गर्नुभयो र आफूले सिकिरहनुभएका बाइबल सच्चाइबाट निकै प्रभावित हुनुभयो। उहाँले छैटौं खण्ड द न्यु क्रिएशन अध्ययन गर्नुभएपछि पानीमा डुबुल्की मारेर लिने मसीही बप्तिस्माको आवश्‍यकतालाई राम्ररी बुझ्नुभयो। बाइबल विद्यार्थीहरूलाई कहाँ भेट्‌ने भनी थाह नभएकोले उहाँले बुबालाई फार्मकै एउटा सानो खोलामा बप्तिस्मा गराइदिन आग्रह गर्नुभयो र त्यो पनि मार्च १९१६ को जाडो महिनामा।

धेरै समय नबित्दै आमाले अखबारमा अलायन्सको डटर्स अफ भेटेरान्स हलमा जनसम्बोधन कार्यक्रम हुनेछ भनेर घोषणा गरिएको विज्ञापन देख्नुभयो। यो जनसम्बोधनको विषय “युगानुयुगको ईश्‍वरीय योजना” थियो। उहाँले तुरुन्तै त्यहाँ उपस्थित हुने प्रबन्ध मिलाउनुभयो किनभने स्टडीज इन द स्क्रिप्चर्स पुस्तकको पहिलो खण्डको विषय नै त्यही थियो। हामीले आफ्नो धोक्रो बाँध्यौं र पूरै परिवार घोडा र बग्गी चढेर पहिलो चोटि सभा धाउन तयार भयौं। त्यसबेलादेखि हामी भाइहरूको घरमा आइतबार र बुधबार साँझ सभाहरूमा भेला हुन थाल्यौं। त्यसको केही समयपछि मसीही मण्डलीका एक जना प्रतिनिधिले आमालाई फेरी बप्तिस्मा दिनुभयो। आफ्नो फार्मको काममा व्यस्त रहनुहुने बुबाले पनि पछि गएर बाइबल अध्ययनमा चासो लिन थाल्नुभयो र त्यसको केही वर्ष पछि उहाँले पनि बप्तिस्मा लिनुभयो।

अगुवाइ गर्नेहरूसित भेट

जून १०, १९१७ मा त्यसबेलाका वाच टावर सोसाइटीको प्रतिनिधि जे. एफ. रदरफोर्ड “राष्ट्रहरू किन युद्ध गर्छन्‌?” भन्‍ने विषयमा भाषण दिन अलायन्स आउनुभयो। म त्यसबेला नौ वर्षकी थिएँ अनि मेरा आमाबुबा र दुई जना भाइहरू विलि र चार्ल्ससित त्यहाँ उपस्थित भएँ। त्यहाँ सय जनाभन्दा बढी मानिसको ठूलो भीड थियो। भाइ रदरफोर्डले भाषण दिइसकेपछि त्यहाँ भेला हुनेहरूमध्ये धेरै जसोले सोही कोलम्बिया थिएटर बाहिर फोटो खिचे। अर्को हप्ता त्यही ठाउँमा ए. एच. म्याकमिलनले “परमेश्‍वरको आउँदै गरेको राज्य” भन्‍ने विषयमा भाषण दिनुभयो। हामी बसोबास गर्ने सानो शहरमा यी भाइहरू आउनु हाम्रो निम्ति निकै राम्रो सुअवसर थियो।

अविस्मरणीय प्रारम्भिक अधिवेशनहरू

सन्‌ १९१८ मा अलायन्सभन्दा केही किलोमिटर टाढा आटवटर, ओहायोमा सम्पन्‍न भएको अधिवेशन नै मैले धाएको पहिलो अधिवेशन हो। म बप्तिस्मा लिने उमेरको भएँ कि भइनँ भनेर आमाले त्यसबेला सोसाइटीको प्रतिनिधिलाई सोध्नुभयो। मलाई जहाँसम्म लाग्छ मैले परमेश्‍वरको इच्छाअनुसार गर्न आवश्‍यक समर्पण गरिसकेको थिएँ, त्यसैले सोही दिन ठूलो स्याउ बगान नजिकैको सानो कुलोमा मलाई बप्तिस्मा दिइयो। भाइहरूले बप्तिस्मा लिने सिलसिलामा लुगा फेर्न भनी बनाएको पाल भित्र लुगा फेरें र सुत्दा लगाउने पुरानो अनि बाक्लो गाउन लगाएर बप्तिस्मा लिएँ।

सन्‌ १९१९ को सेप्टेम्बरमा हामी ओहायोको सान्डस्कीमा इरि तालसम्म जाने रेल चढ्यौं। त्यहाँ हामी डुंगा चढेर थोरै समय भित्रै सिडार प्वाइन्ट पुग्यौं र त्यहाँ सम्पन्‍न अधिवेशन अहिलेसम्म हाम्रो दिमागमा ताजै छ। हामी डुंगाबाट ओर्लेकै ठाउँमा एउटा भोजनालय थियो। मैले त्यहाँ हामबर्गर खान पाएँ र त्यसताका हामबर्गर भनेपछि म हुरुक्कै हुन्थें। साँच्चै, असाध्यै मीठो लाग्यो! हाम्रो आठ दिने अधिवेशनको शिखर उपस्थिति ७,००० थियो। त्यहाँ ध्वनि उपकरणहरूको प्रबन्ध नभएकोले मैले धेरै ध्यान दिएर सुन्‍नुपऱ्‍यो।

यसै अधिवेशनमा प्रहरीधरहरा-को सह प्रकाशन द गोल्डेन एज (हाल ब्यूँझनुहोस्‌!) विमोचन भयो। यो अधिवेशनमा भेला हुँदा स्कूलमा पहिलो हप्ताको पढाइ छुट्यो तर त्यो त्यत्तिकै खेर गएन। सिडार प्वाइन्ट विदा मनाउन उपयुक्‍त ठाउँ थियो। अनि त्यहाँका भोजनालयहरूमा प्रतिनिधिहरूका लागि खाना तयार पार्न भान्छेहरूको पनि व्यवस्था थियो। तर कारणवश त्यहाँका भान्छेहरू तथा वेट्रेसहरूको हडताल थियो। त्यसैले खाना पकाउन जान्‍ने मसीही भाइबहिनीहरूले त्यहाँका प्रतिनिधिहरूका लागि खाना तयार पार्नुभयो। त्यसपछि, दशकौंसम्म पनि यहोवाका जनहरूले सम्मेलन तथा अधिवेशनहरूमा आफैले खाना बनाउने गरे।

हामीले सेप्टेम्बर १९२२ मा नौ दिने अधिवेशनका लागि फेरि सिडार प्वाइन्टमा भेला हुने सुअवसर पायौं र त्यसबेला त्यहाँको उपस्थितिको शिखर संख्या १८,००० भन्दा बढी भएको थियो। हो, त्यसैबेला भाइ रदरफोर्डले हामीलाई “राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌” भनेर प्रोत्साहन दिनुभयो। यसको केही वर्षअघिदेखि पर्चाहरू तथा द गोल्डेन एज वितरण गरेर मैले आफ्नो सेवकाई थालेकी थिएँ।

सेवकाईप्रति मूल्यांकन

सन्‌ १९१८ को प्रारम्भतिर मैले नजिकैका फार्महरूमा द फल अफ बेबिलोन विषयको पर्चा वितरण कार्यमा भाग लिएँ। जाडो भएकोले हामी एक किसिमको पत्थरलाई दाउराको चुल्होमा तताउँथ्यौं र हाम्रो खुट्टा तताउन बग्गीमा सँगसँगै लैजान्थ्यौं। हामी बाक्लो कोट अनि टोपी लगाउँथ्यौं किनभने बग्गीमा छाना र दायाँ बायाँ छोप्ने कपडाहरू थिए तर हिटर भने थिएन। तैपनि, ती दिनहरू निकै रमाइलोसँग बिते।

सन्‌ १९२० मा जेड जी भनिने द फिनिश्‍ड मिस्ट्रिको विशेष अंक पत्रिकाको रूपमा प्रकाशित भयो। a मेरा आमाबुबा र म अलायन्समा यो प्रकाशन बाँड्‌दै हिंड्यौं। त्यसबेला सबै जना प्रायः एक्लै ढोका ढोकामा प्रचार गर्थे, त्यसकारण, मचाहिं डराई डराई केही मानिसहरू बसिरहेको बरन्डामा गएँ। मैले आफ्नो कुरा सुनाइसकेपछि एक जना आइमाईले यसो भनिन्‌: “ओहो यिनी त राम्रो भाषण दिंदी रहिछिन्‌,” अनि प्रकाशन पनि स्वीकारिन्‌। त्यस दिन मैले १३ वटा जेड जी वितरण गरें। यसरी घर घर गएर लामो अनि औपचारिक प्रस्तुति गरेको त्यो नै मेरो पहिलो पटक थियो।

म नौ कक्षामा अध्ययन गरिरहेको बेला आमालाई निमोनियाँ भयो र एक महिनाभन्दा बढी ओछ्यानमा पर्नुभयो। मेरी कान्छी बहिनी हाजेल त्यसबेला हुर्की सकेकी थिइनन्‌। त्यसैले, फार्मको काममा सघाउन र भाइबहिनीहरूको रेखदेख गर्न मैले स्कूल छाडें। त्यसो भए तापनि हाम्रो परिवारले बाइबल सच्चाइलाई गम्भीरता साथ लिन्थ्यो र नियमित तवरमा मण्डलीका सम्पूर्ण सभाहरूमा भेला हुन्थ्यो।

सन्‌ १९२८ मा ख्रीष्टको मृत्युको स्मरणार्थको बेला उपस्थित सबैलाई “ह्वेर आर द नाइन?” विषयक पर्चा बाँडिएको थियो। यसमा लूका १७:११-१९ मा लिपिबद्ध कुराहरू छलफल गरिएको थियो। त्यसमा येशूले कोर रोग लागेका दस जना मानिसहरूलाई चमत्कारी ढंगमा निको पार्नुभएको तर एक जनाले मात्र नम्र भई येशूलाई धन्यवाद दिएको कुरा उल्लेख गरिएको छ। त्यस कुराले मेरो हृदय छोयो। मैले आफैलाई सोधें, ‘म कत्तिको कृतज्ञ छु?’

पछि घरमा सबै कुरा राम्रै भएको र म पनि स्वस्थ अनि घर छोड्‌न कुनै बाधा नभएकोले मैले घर छोडेर अग्रगामी सेवा भनिने पूर्ण समय सेवकाई गर्ने निधो गरें। आमाबुबाले पनि मलाई त्यसै गर्ने प्रोत्साहन दिनुभयो। तसर्थ, म र मेरो सहयोगी आग्नेस आलेटा अगस्त २८, १९२८ का दिन हामीलाई खटाइएको ठाउँमा जान बेलुकी ९:०० बजे रेलमा चढ्यौं। हामी दुवैसित एउटा एउटा सुटकेस र बाइबल साहित्यहरू बोक्ने एउटा झोला थियो। स्टेशनमा मेरी बहिनी, मेरा आमाबुबा अनि हामी निकै रोयौं। हाम्रो विचारमा आरमागेडोन धेरै टाढा थिएन, त्यसैले अब उप्रान्त उहाँहरूसित भेटघाट हुनेछैन जस्तो लाग्यो। अर्को दिन बिहान हामी आफूलाई खटाइएको ठाउँ ब्रुक्सभिल, केन्टकीमा पुग्यौं।

हामीले एउटा लजमा सानो कोठा भाडामा लियौं अनि तयारी चाउचाउ किनेर स्यान्ड्‌विच बनायौं। हरेक दिन हामी विभिन्‍न दिशातिर एक्लाएक्लै प्रचार गर्न जान्थ्यौं र अनुदान स्वरूप १.९८ अमेरिकी डलर लिएर घरधनीहरूलाई पाँचवटा पुस्तक प्रस्तुत गर्ने गर्थ्यौं। बिस्तारै बिस्तारै हामीले त्यो शहरमा प्रचार गर्न सिद्धयायौं र बाइबलमा चासो दिने थुप्रै मानिसहरू पनि भेट्टायौं।

तीन महिनाभित्र हामीले ब्रुक्सभिल र अगस्ता शहरमा प्रायः सबैजसोलाई प्रचार गरिसकेका थियौं। त्यसैले हामी मेसभिल, पेरिस अनि रिचमण्डमा प्रचार गर्न थाल्यौं। अर्को तीन वर्षभित्र हामीले मण्डलीहरू नै नभएको केन्टकीका थुप्रै जिल्लाहरूमा प्रचार गऱ्‍यौं। हामीलाई ओहायोबाट आउने साथीहरू अनि परिवारका सदस्यहरूले सेवकाईमा एक हप्ता वा कहिलेकाहीं अझ बढी समय सँगै बिताएर सघाउँथे।

अन्य अविस्मरणीय अधिवेशन

ओहायोको कोलम्बसस्थित जुलाई २४-३०, १९३१ मा सम्पन्‍न अधिवेशन साँच्चै अविस्मरणीय थियो। त्यसैबेला, हामीहरू अबदेखि बाइबल आधारित नाउँ यहोवाका साक्षीहरू भनेर चिनिनेछौं भन्‍ने घोषणा गरियो। (यशैया ४३:१२) त्यसअघि हामीलाई मानिसहरूले तपाईंहरू कुन धर्म मान्‍नुहुन्छ भनेर सोध्दा हामी “अन्तरराष्ट्रिय बाइबल विद्यार्थीहरू” भन्‍ने जवाफ दिन्थ्यौं। तर त्यसले हामी वास्तवमा को हौं भनेर चिनाउँदैनथ्यो किनभने त्यहाँ विभिन्‍न धर्महरूसित सम्बन्धित बाइबल विद्यार्थीहरू पनि थिए।

मेरो साथी आग्नेसले बिहे गरेपछि म एक्लै भएँ। त्यसैले अग्रगामी साथी खोजिरहेका भाइबहिनीहरूले फलानो ठाउँमा सम्पर्क राख्नुहोला भनेर घोषणा गरेको सुन्दा म एकदमै दंग परें। त्यहाँ मैले बर्था अनि एल्सी गार्टी र बेसी एनस्मिंगरलाई भेटें। तिनीहरूसित दुइवटा गाडी थियो र तिनीहरूसित काम गर्ने चौथो अग्रगामी बहिनीलाई कुरिरहेका रहेछन्‌। हामी पहिले कहिल्यै नभेटेको भए तापनि अधिवेशनबाट सँगै फर्क्यौं।

गर्मी महिनाको दौडान हामीले पेन्सल्भेनिया राज्यमा प्रचार गऱ्‍यौं। त्यसपछि, जाडो नजिकिंदै जाँदा उत्तरी क्यारोलीना, भर्जिनीया र मेरील्याण्ड जस्ता दक्षिणी इलाकाहरूमा खटाइयोस्‌ भनेर अनुरोध गर्थ्यौं। बसन्त ऋतुमा चाहिं हामी उत्तरतिरै फर्कन्थ्यौं। त्यसबेलाका अग्रगामीहरूले त्यसै गर्थे। यसै गर्ने गरेका जोन बुथ र रडल्फ अबुलले राल्फ मोयर र उहाँको भाइ विलार्डलाई सन्‌ १९३४ मा हजार्डको केन्टकी शहर घुमाउन ल्याए।

मैले राल्फलाई धेरैचोटि भेटिसकेको भए तापनि वासिंगटन डि सि मा मे ३० देखि जून ३, १९३५ मा सम्पन्‍न विशाल अधिवेशनमा अझ राम्ररी चिन्‍ने मौका पाएँ। “ठूलो भीड़” विषयमा भाषण दिइरहेको बेला म र राल्फ दुवै बाल्कोनीमा सँगै बसिरहेका थियौं। (प्रकाश ७:९-१४) त्यसअघिसम्म, हामी यी ठूला भीड भनेका स्वर्गीय वर्गकै तर १,४४,००० भन्दा अलि कम विश्‍वासी सदस्यहरू हुन्‌ भन्‍ने विश्‍वास गर्थ्यौं। (प्रकाश १४:१-३) त्यसैले म तिनीहरूमध्येको हुन चाहन्‍नथें!

भाइ रदरफोर्डले यी ठूला भीड पनि आरमागेडोन पार गर्ने पार्थिव आशा भएका विश्‍वासी व्यक्‍तिहरूकै वर्ग हो भनेर वर्णन गर्दा धेरै जना छक्क परे। त्यसपछि उहाँले ठूलो भीडका सबैलाई उभिन आग्रह गर्नुभयो। त्यसबेला राल्फ त उठ्‌नुभयो तर मचाहिं उठिनँ। पछि मेरो मनमा सबै कुरा प्रस्ट भयो। त्यसैले १९३५ पछि मैले ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सवमा प्रतीकात्मक रोटी र दाखमद्य खान छोडें। तथापि, आमाले चाहिं १९५७ नोभेम्बरमा आफ्नो मृत्यु नहोउञ्जेल त्यसमा भाग लिनुभयो।

स्थायी साथी

राल्फ र मैले पत्राचार जारी राख्यौं। म न्यू योर्कको लेक प्लासिडमा सेवा गर्दै थिएँ भने उहाँचाहिं पेन्सल्भेनियामा हुनुहुन्थ्यो। सन्‌ १९३६ मा उहाँले आफ्नो कारले तान्‍न मिल्ने खालको सानो ट्रेलर बनाउनुभयो। न्यू जर्सीको न्यूआर्कमा अक्टोबर १६-१८ सम्म सम्पन्‍न अधिवेशनमा उपस्थित हुँदा त्यसलाई पनि पेन्सल्भेनियाको पट्‌सटाउनबाट ल्याउनुभयो। कार्यक्रमपछि एक साँझ हामी केही अग्रगामीहरू उहाँको नयाँ ट्रेलर हेर्न गयौं। म र राल्फ ट्रेलरभित्र सानो सिंक नजिकै उभिरहेका थियौं। उहाँले सोध्नुभयो, “तिमीलाई ट्रेलर मन पऱ्‍यो?”

मैले यो कुरामा सहमति जनाएपछि फेरि सोध्नुभयो, “तिमी यसमा बस्न चाहन्छौ?”

“चाहन्छु,” भनेर जवाफ दिएपछि उहाँले हल्का चुम्बन गर्नुभएको म कहिल्यै बिर्सनसक्‍तिनँ। त्यसको केही दिनपछि हामीले विवाह अनुमति पत्र पायौं। अक्टोबर १९ मा अधिवेशन सिद्धयाएर हामी ब्रूकलिनमा वाच टावर सोसाइटीको छापाखाना हेर्न गयौं। त्यसपछि हामीलाई कुन ठाउँमा खटाइएको छ भनेर सोध्यौं। क्षेत्रहरू छुट्याउने विभागमा ग्रान्ट सुटर हुनुहुन्थ्यो र उहाँले त्यो क्षेत्रमा कसले प्रचार गर्नेछ भनेर सोध्नुभयो। राल्फले भने, “हाम्रो बिहे भयो भने हामी नै गर्नेछौं।”

त्यसपछि भाइ सुटरले भन्‍नुभयो, “साँझ ५:०० बजे तपाईंहरू फर्कनुभयो भने हामी मिलाउन सक्छौं।” त्यसैले हामीले त्यसै साँझ ब्रूकलिन हाइट्‌स नजिकै एक जना साक्षी भाइको घरमा विवाह गऱ्‍यौं। केही साथीहरूसित त्यहींको भोजनालयमा खाना खाएपछि सार्वजनिक गाडी चढेर राल्फको ट्रेलर राखेको न्यू जर्सीको न्यूआर्कतर्फ लाग्यौं।

त्यसको केही समयपछि नै विवाह पछिको पहिलो अग्रगामी असाइनमेन्ट, भर्जिनियाको हीथ्सभिलतर्फ लाग्यौं। हामीले नर्थम्बरल्याण्ड जिल्ला, त्यसपछि पेन्सल्भेनियाकै फुल्टन र फ्रांक्लिन क्षेत्रहरूमा काम गऱ्‍यौं। सन्‌ १९३९ मा राल्फलाई एकपछि अर्को गर्दै थुप्रै मण्डलीहरूमा जानुपर्ने जोन कार्य गर्न निम्त्याइयो। हामीले टेनिसी प्रान्तका थुप्रै मण्डलीहरूमा सेवा गऱ्‍यौं। त्यसको एक वर्षपछि हाम्रो छोरो एलेन जन्मियो र १९४१ मा हामीले यो जोन कार्य गर्न सकेनौं। त्यसपछि हामीलाई विशेष अग्रगामीहरूको हैसियतमा भर्जिनियाकै मारिओनमा खटाइयो। त्यसताका त्यो कार्य गर्नु भनेको क्षेत्र सेवकाईमा प्रति महिना २०० घण्टा बिताउनु थियो।

काँटछाँट गर्दै

सन्‌ १९४३ मा मैले विशेष अग्रगामी सेवकाई पनि छोड्‌नुपर्ने भयो। सानो ट्रेलरमा बसेर भर्खरको बच्चा रेखदेख गर्दै खाना बनाउने लुगा धुने गर्दा मैले सेवकाईमा जम्मा ६० घण्टा मात्र बिताउन सक्थें। तर राल्फले चाहिं विशेष अग्रगामी गरिनै रहनुभयो।

हामी १९४५ मा ओहायोको अलायान्समा फर्क्यौं र नौ वर्षसम्म आफ्नै घर मानेर बसेको ट्रेलरलाई बेचेर मेरो आमाबुबासितै फार्म हाउसमा बस्न गयौं। त्यहीं छँदा हाम्री छोरी रिबेका पनि जन्मिन्‌। राल्फले त्यसै शहरमा आंशिक जागिर खाएर नियमित अग्रगामी गर्न थाल्नुभयो। मैलेचाहिं उहाँलाई अग्रगामी गरिरहन फार्ममा सकेजति काम गरेर मदत गरें। मेरो माइतीले हामीलाई एउटा घर र जग्गा त्यत्तिकै दिने प्रस्ताव राख्दा राल्फले स्वीकार्नुभएन। उहाँ कुनै बोझबिना राज्यसम्बन्धी कार्यहरू पूर्णतया गरिरहन सकौं भन्‍ने चाहनुहुन्थ्यो।

सन्‌ १९५० मा हामी पेन्सल्भेनियाकै पोट्‌सटाउनमा सऱ्‍यौं र महिनाको २५ अमेरिकी डलर भाडा तिरेर डेरामा बस्न थाल्यौं। अर्को ३० वर्षसम्ममा त्यो भाडा बढेर ७५ अमेरिकी डलर मात्र पुग्यो। यहोवाले हाम्रो जीवन सरल बनाउन मदत गरिरहनुभएको थियो जस्तो हामीलाई लाग्यो। (मत्ती ६:३१-३३) राल्फ हजामको रूपमा हप्ताको तीन दिन काम गर्नुहुन्थ्यो। हरेक हप्ता हामी हाम्रा छोराछोरीसित बाइबल अध्ययन गर्थ्यौं र मण्डलीका सभाहरूमा भेला हुनुका साथै परिवार मिलेर राज्यको सुसमाचार प्रचार गर्न जान्थ्यौं। राल्फले त्यहाँको स्थानीय मण्डलीमा अध्यक्षको रूपमा सेवा गर्नुभयो। हाम्रो जीवनलाई सरल बनाउँदा यहोवाको सेवामा बढी गर्नसक्यौं।

मेरो प्रियतमको मृत्यु

मे १७, १९८१ मा हामी राज्य भवनमा जनभाषण सुनिरहेका थियौं। राल्फलाई विसञ्चो महसुस हुनथालेकोले पछाडि जानुभयो र परिचारक भाइलाई आफू घर जानलागेको कुरा कागतमा लेखेर मकहाँ खबर पठाउनुभयो। राल्फले यस्तो कहिल्यै गर्नुहुन्‍नथ्यो, त्यसैले मलाई अहिले नै घरसम्म पुऱ्‍याइदिनुहोस्‌ भनेर एक जना भाइलाई भनें। एक घण्टाभित्रै हृदयघात भएर राल्फको मृत्यु भयो। प्रहरीधरहरा अध्ययन सिद्धिने बित्तिकै मण्डलीमा उहाँको मृत्युको घोषणा गरियो।

त्यो महिना राल्फले सेवकाईमा ५० घण्टाभन्दा बढी समय बिताई सक्नुभएको थियो। उहाँले अग्रगामीको हैसियतमा ४६ वर्षभन्दा लामो समयसम्म पूर्ण-समय सेवकाई गर्नुभयो। उहाँले सय जनाभन्दा धेरै मानिसहरूसित बाइबल अध्ययन सञ्चालन गर्नुभयो र तिनीहरू पनि अन्ततः यहोवाका बप्तिस्मा प्राप्त साक्षीहरू भए। वर्षौंको दौडान पाएका आध्यात्मिक आशिष्‌हरूको अगाडि हामीले गरेका त्यागहरू केही पनि थिएनन्‌।

आफ्ना सुअवसरहरूको लागि कृतज्ञ

विगत १८ वर्षदेखि म एक्लै सभाहरू धाउँछु, आफूले सकेजति अरूलाई प्रचार गर्छु अनि परमेश्‍वरको वचन अध्ययन गर्छु। अहिले म वृद्ध नागरिकहरूलाई राखिने घरमा बस्छु। दुई चारवटा काठका फर्निचरहरू छन्‌ अनि टेलिभिजनचाहिं नराख्ने निर्णय गरें। तैपनि जीवन सन्तोषजनक र आध्यात्मिकतामा धनी छु। मेरो आमाबुबा र दुई भाइहरू मृत्युसम्मै विश्‍वासी रहनुभयो र दुई बहिनीहरू अहिलेसम्म पनि सच्चाइको मार्गमा विश्‍वासी भई लागिरहेका छन्‌।

मेरो छोरो एलेन मसीही प्राचीनको हैसियतमा सेवा गरिरहेकोले म निकै आनन्दित छु। धेरै वर्षदेखि उसले राज्यभवन तथा सम्मेलनभवनहरूमा ध्वनि प्रणाली जडान गर्ने काम गरिरहेको छ र ग्रीष्म ऋतुमा हुने अधिवेशनमा पनि ध्वनि जडान गर्छ। उसको पत्नी परमेश्‍वरको वफादार सेवक हुन्‌ र उनीहरूका दुवै छोराहरू पनि प्राचीनहरूको हैसियतमा सेवा गरिरहेका छन्‌। मेरी छोरी रेबेका कारसले यहोवाका साक्षीहरूको मुख्य कार्यालयमा बिताएको चार वर्ष समेत गरेर ३५ वर्षभन्दा बढी पूर्ण-समय सेवकाईमा बिताइसकेकी छिन्‌। तिनी र तिनको पतिले पनि संयुक्‍त राज्यको विभिन्‍न भागहरूमा परिभ्रमण कार्य गर्दै बिताएको २५ वर्ष भइसक्यो।

येशूले स्वर्गको राज्य भनेको गाड धन जस्तो हो र त्यसलाई भेट्टाउन सकिन्छ भन्‍नुभयो। (मत्ती १३:४४) मेरो परिवारले त्यो सम्पत्ति धेरै वर्षअघि नै भेट्टाएकोमा म निकै कृतज्ञ छु। आफू परमेश्‍वरको सेवामा समर्पित भएर बिताएको ८० वर्षलाई फर्केर हेर्न पाउनु कत्रो ठूलो सुअवसर हो अनि मलाई कुनै पछुतो पनि छैन! म फेरि बाँच्न पाएँ भने आफ्नो जीवनलाई यसरी नै बिताउने छु। किनभने, ‘परमेश्‍वरको करुणा जीवनभन्दा उत्तम छ।’—भजन ६३:३.

[फुटनोट]

a द फिनिश्‍ड मिस्ट्रि पुस्तक स्टडीज इन द स्क्रिप्चर्स विषय भएको खण्डहरूको सातौं खण्ड थियो। यसका छ वटा खण्डहरू चार्ल्स टेज रसलले लेखेका थिए। द फिनिश्‍ड मिस्ट्रि रसलको मृत्युपछि मात्र प्रकाशित भयो।

[पृष्ठ २३-मा भएको चित्र]

ओहायोको अलायन्समा १९१७ मा भाइ रदरफोर्डले दिनुभएको भाषण हामीले सुन्दै गरेका

[पृष्ठ २३-मा भएको चित्र]

राल्फले बनाउनुभएको ट्रेलरअगाडि उहाँसँग

[पृष्ठ २४-मा भएको चित्र]

अहिले मेरा दुई छोराछोरीसित