सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा–सामर्थ्यमा बलियो परमेश्‍वर

यहोवा–सामर्थ्यमा बलियो परमेश्‍वर

यहोवा–सामर्थ्यमा बलियो परमेश्‍वर

“उहाँको शक्‍तिको बड़प्पनले गर्दा, उहाँ सामर्थ्यमा बलियो भएको हुनाले, तिनीहरूमध्ये एउटै पनि हराउनेछैन।”—यशैया ४०:२६.

१, २. (क) हामी कुन भौतिक शक्‍तिको स्रोतमा निर्भर छौं? (ख) यहोवा किन सारा शक्‍तिको स्रोत हुनुहुन्छ। व्याख्या गर्नुहोस्‌।

 हाम्रो वरपर भएका शक्‍तिहरूलाई हामी त्यति ध्यानै दिंदैनौं। उदाहरणका लागि, हामी प्रकाश र ताप दिने विद्युतीय शक्‍ति वा विद्युतीय सामग्रीलाई जोड्‌न सकिने सुविधालाई त्यति ध्यानै दिंदैनौं। अचानक बिजुली झ्याप्प निभ्दा मात्र बिजुलीबिना शहरहरूमा साँच्चै केही काम नचल्दो रहेछ भनेर महसुस गर्छौं। हामीले निर्भर गर्नुपरेको प्रायजसो बिजुली शक्‍ति अप्रत्यक्ष ढंगमा पृथ्वीको सबैभन्दा भरपर्दो स्रोत अर्थात्‌ सूर्यबाट प्राप्त हुन्छ। a अणुशक्‍ति उत्पन्‍न गर्ने यो सौर्य संयन्त्रले हरेक सेकेन्ड ५० लाख टन आणविक इन्धन उपभोग गर्छ अनि पृथ्वीलाई जीवनदायी शक्‍ति प्रदान गर्छ।

यी सबै सौर्य शक्‍ति कहाँबाट आउँछन्‌? यो आकाशीय बिजुलीघर कसले निर्माण गऱ्‍यो? यहोवा परेश्‍वरले। उहाँबारे भजन ७४:१६ यसो भन्छ: “ज्योति र सूर्य तपाईंलेनै तयार पार्नुभएको हो।” हो, यहोवा सारा जीवनको स्रोत हुनुहुन्छ र सम्पूर्ण शक्‍तिको स्रोत पनि उहाँ नै हुनुहुन्छ। (भजन ३६:९) हामीले कहिले पनि उहाँको शक्‍तिलाई हल्कासित लिनु हुँदैन। अगमवक्‍ता यशैया मार्फत यहोवा हामीलाई सूर्य र ताराहरूजस्ता आकाशीय पिण्डहरू हेरेर ती कसरी अस्तित्वमा आए होलान्‌ भनी मनन गर्नू भनी सम्झाउनुहुन्छ। “तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्‌? उहाँलेनै होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर नाउँ बोलाउँदै ल्याउनुहुन्छ। उहाँको शक्‍तिको बड़प्पनले गर्दा, उहाँ सामर्थ्यमा बलियो भएको हुनाले, तिनीहरूमध्ये एउटै पनि हराउनेछैन।”—यशैया ४०:२६; यर्मिया ३२:१७.

३. यहोवाको शक्‍तिको प्रदर्शनबाट हामी कसरी फाइदा उठाउनसक्छौं?

हाम्रो जीवन निर्भर हुने सूर्यले सधैं प्रकाश र ताप दिइरहनेछ भनेर हामी विश्‍वस्त हुनसक्छौं। किनभने यहोवा सामर्थ्यमा बलियो हुनुहुन्छ। तथापि, हामी आफ्ना आधारभूत शारीरिक आवश्‍यकताका लागि मात्र परमेश्‍वरमा भर पर्दैनौं। हामीले पाएको पाप र मृत्युबाटको छुटकारा, हाम्रो भावी आशा अनि यहोवामाथिको हाम्रो भरोसा सबै उहाँले आफ्नो शक्‍ति प्रयोग गर्नुभएका नतिजा हुन्‌। (भजन २८:६-९; यशैया ५०:२) यहोवासित सृष्टि गर्नसक्ने, छुटकारा दिनसक्ने, आफ्नो जनलाई बचाउनसक्ने अनि आफ्ना शत्रुलाई नाश गर्नसक्ने शक्‍ति छ भनेर प्रमाणित गर्ने उदाहरण बाइबलमा प्रशस्त छन्‌।

सृष्टिमा परमेश्‍वरको शक्‍ति प्रकट भएको छ

४. (क) राती आकाश हेर्दा दाऊदलाई कस्तो प्रभाव पऱ्‍यो? (ख) आकाशीय पिण्डहरूले ईश्‍वरीय शक्‍तिबारे कुन कुरा प्रकट गर्छन्‌?

हाम्रो सृष्टिकर्ताको ‘अनन्त शक्‍ति बनिएका कुराबाट थाह’ पाउनसकिन्छ भनी प्रेरित पावलले बताए। (रोमी १:२०) शताब्दीयौंअघि गोठालोको काम गर्दा भजनरचयिता दाऊदले राती प्रायजसो आकाशतिर हेर्थे होलान्‌ अनि ब्रह्‍माण्डको भव्यता देख्नुका साथै त्यसको सृष्टिकर्ताको शक्‍तिको आभास पाएका थिए होलान्‌। तिनले यस्तो लेखे: “जब म तपाईंका औंलाहरूको काम आकाश, र तपाईंले नियुक्‍त गर्नुभएका जून र ताराहरूलाई विचार गर्दछु, मानिस के हो र, तपाईं त्यसको सम्झना गर्नुहुन्छ? र मानिसको सन्तान, जसको तपाई चासो लिनुहुन्छ?” (भजन ८:३, ४) आकाशीय पिण्डहरूबारे दाऊदलाई त्यति ज्ञान नभए तापनि हाम्रो विशाल ब्रह्‍माण्डको सृष्टिकर्ताको तुलनामा आफू अति तुच्छ छु भनेर तिनले बुझे। आज खगोलविद्‌हरूले ब्रह्‍माण्डको विशालता र यसलाई चलाउने शक्‍तिबारे धेरै कुरा थाह पाएका छन्‌। उदाहरणका लागि, एक खरब मेगाटन टि एन टि विस्फोटन हुँदा जति उर्जा उत्पन्‍न हुन्छ त्यति नै उर्जा सूर्यले प्रत्येक सेकेन्डमा उत्पन्‍न गर्छ भनी तिनीहरू बताउँछन्‌। b त्यो उर्जाको सानो भाग मात्र पृथ्वीमा आइपुग्छ तर हाम्रो ग्रहका सबै प्राणीहरू जीवित रहनका लागि त्यति नै प्रशस्त छ। तैपनि, सूर्य नै आकाशको सबैभन्दा शक्‍तिशाली ताराचाहिं कदापि होइन। कुनै कुनै ताराले त सूर्यले दिनभरिमा दिने उर्जा एकै सेकेन्डमा दिन्छ। त्यसो भए, यस्ता आकाशीय पिण्डहरू सृष्टि गर्नुहुने कत्ति शक्‍तिशाली हुनुहुन्छ होला कल्पना गर्नुहोस्‌ त! अतः एलीहूले यस्तो उद्‌गार गर्नु उचित छ: “तर सर्वशक्‍तिमानलाई हामी भेटाउनसक्‍तैनौं। उहाँको शक्‍ति हाम्रो समझको बाहिर छ।”—अय्यूब ३७:२३.

५. यहोवाका कार्यहरूमा हामी उहाँको शक्‍तिको कस्तो प्रमाण पाउँछौं?

दाऊदले जस्तै हामीले पनि ‘परमप्रभुका कामहरू खोज्यौं’ भने जताततै अर्थात्‌ हावा र छालमा, गर्जन अनि बिजुलीमा, उर्लदैं बग्ने नदी अनि विशाल पर्वतहरूमा उहाँको शक्‍तिको प्रमाण देख्नेछौं। (भजन १११:२; अय्यूब २६:१२-१४) यसबाहेक, यहोवाले अय्यूबलाई सम्झना गराउनुभएजस्तै पशुप्राणीहरूले पनि उहाँको शक्‍तिको प्रमाण दिन्छन्‌। तीमध्ये एउटा, बेहिमोथ वा जलगैंडा हो। यहोवाले अय्यूबलाई भन्‍नुभयो: “त्यसको कम्मर कस्तो बलियो हुन्छ! . . . त्यसका हात-खुट्टाहरू फलामका आग्लाजस्तै हुन्छन्‌।” (अय्यूब ४०:१५-१८) जंगली साँढे अत्यन्तै शक्‍तिशाली हुन्छ भनेर पनि बाइबलकालीन मानिसहरूलाई थाह थियो अनि दाऊदले “सिंहको मुखबाट जंगली साँढ़ेका सीङ्‌बाट” बच्न सकूँ भनेर प्रार्थना गरे।—भजन २२:२१; अय्यूब ३९:९-११.

६. धर्मशास्त्रमा प्रयोग गरिएको साँढेले केलाई चित्रण गर्छ र किन? (पाद टिप्पणी हेर्नुहोस्‌।)

एकदमै बलियो भएकोले बाइबलमा साँढेलाई यहोवाको शक्‍तिको प्रतिनिधित्व गर्न प्रयोग गरिएको छ। c प्रेरित यूहन्‍नाले देखेको दर्शनमा यहोवाको सिंहासन वरिपरि चारवटा जीवित जीवातहरू थिए र तीमध्ये एउटाको अनुहार साँढेको जस्तै थियो। (प्रकाश ४:६, ७) अवश्‍य ती करूबहरूले चित्रण गरेका यहोवाका मुख्य चार गुणहरूमध्ये एक, शक्‍ति हो भनेर हामी भन्‍नसक्छौं। अरूचाहिं प्रेम, बुद्धि र न्याय हो। यसप्रकार शक्‍ति, परमेश्‍वरको व्यक्‍तित्वको महत्त्वपूर्ण पक्ष भएकोले उहाँको शक्‍तिबारे अनि उहाँले त्यसको प्रयोग कसरी गर्नुहुन्छ भनेर राम्ररी बुझ्नाले हामी उहाँसित घनिष्ठ हुनसक्नेछौं र हामीसित भएको शक्‍तिको सदुपयोग गर्दै उहाँको उदाहरण अनुकरण गर्नसक्नेछौं।—एफिसी ५:१.

‘सेनाहरूका परमप्रभु, शक्‍तिशाली हुनुहुन्छ’

७. खराबीमाथि भलाइको जित हुनेछ भनेर हामी कसरी विश्‍वस्त हुनसक्छौं?

धर्मशास्त्रमा यहोवालाई “सर्वशक्‍तिमान परमेश्‍वर” भनिएको छ। यस उपाधिले, हामीले न त उहाँको शक्‍तिलाई हल्कासित लिनुहुन्छ न उहाँले आफ्ना शत्रुहरूलाई पराजित गर्न सक्नुहुन्छ भनेर शंका नै गर्नुहुन्छ भनेर हामीलाई स्मरण गराउँछ। (उत्पत्ति १७:१; प्रस्थान ६:३) शैतानको दुष्ट रीतिरिवाज सुरक्षितजस्तो देखिनसक्छ तर यहोवाको नजरमा “सबै जातिहरू ता गाग्रोबाट चुहेको थोपोजस्तै मात्र छन्‌, र तराजूमा टाँसेको धूलोजस्तै गनिएका छन्‌।” (यशैया ४०:१५) निस्सन्देह, ईश्‍वरीय शक्‍तिको मदतद्वारा खराबीमाथि भलाइको जित हुनेछ। हाल दुष्टता व्याप्त भएको बेला हामी “सेनाहरूका परमप्रभु, इस्राएलका शक्‍तिशाली परमप्रभु[ले]” सधैंको लागि दुष्टहरूलाई नाश गर्नुहुनेछ भन्‍ने जानेर ढुक्क हुनसक्छौं।—यशैया १:२४; भजन ३७:९, १०.

८. यहोवासित कस्तो स्वर्गीय सेनाहरू छन्‌ र हामीले तिनीहरूको शक्‍तिबारे कस्तो संकेत पाएका छौं?

“सेनाहरूका परमप्रभु” भन्‍ने अभिव्यक्‍ति बाइबलमा २८५ पटक प्रयोग गरिएको छ र यो परमेश्‍वरको शक्‍तिको अर्को सम्झौटा हो। “सेनाहरू” भन्‍नाले यहोवाको अधीनमा रहेका आत्मिक प्राणीहरूको फौज बुझिन्छ। (भजन १०३:२०, २१; १४८:२) यस्तो एउटै स्वर्गदूतले यरूशलेमलाई धम्काउने १,८५,००० अश्‍शूरी सेनाहरूलाई एकै रातमा मारेका थिए। (२ राजा १९:३५) हामीले यहोवाका स्वर्गीय सेनाहरूको शक्‍ति बुझ्यौं भने विरोधीहरूसँग हामी सजिलै डराउनेछैनौं। आफूलाई खोजिरहेका सेनाहरूले घेर्दा अगमवक्‍ता एलीशा रत्तीभर विचलित भएनन्‌ किनकि तिनले, तिनको दासले देख्न नसकेका आफूलाई सहयोग गर्ने स्वर्गीय सेनाहरूको फौजलाई विश्‍वासको आँखाले देखे।—२ राजा ६:१५-१७.

९. येशूजस्तै हामी पनि किन ईश्‍वरीय सुरक्षामा विश्‍वस्त हुनुपर्छ?

त्यसै गरी गेतसमनीको बगैंचामा तरवार र लाठी लिएर आएका मानिसको हूलले घेर्दा स्वर्गदूतहरूले सहयोग गर्नेछन्‌ भनी येशूलाई थाह थियो। येशूले पत्रुसलाई आफ्नो तरबार त्यसकै ठाउँमा राख भन्‍नुभएपछि आवश्‍यक परेमा आफ्नो पितासँग “बाह्र पल्टनभन्दा बढ़ी स्वर्गदूतहरू” बिन्ती गर्नसक्छु भनेर तिनलाई भन्‍नुभयो। (मत्ती २६:४७, ५२, ५३) हामीले पनि परमेश्‍वरको अधीनमा भएका स्वर्गीय सेनाको मूल्यांकन गऱ्‍यौं भने परमेश्‍वरले हामीलाई सहयोग गर्नुहुन्छ भनेर पूर्णतया भरोसा राख्नेछौं। प्रेरित पावलले लेखे: “अब हामीले यी कुरालाई के भनौं? यदि परमेश्‍वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुनसक्छ?”—रोमी ८:३१.

१०. कसको खातिर यहोवाले आफ्नो शक्‍ति प्रयोग गर्नुहुन्छ?

१० अतः यहोवाले हाम्रो सुरक्षा गर्नुहुन्छ भनेर विश्‍वास गर्ने हामीसित हर कारण छ। उहाँ सधैं आफ्नो शक्‍ति आफ्ना अन्य गुणहरू अर्थात न्याय, बुद्धि र प्रेमअनुरूप हित हुने काममा प्रयोग गर्नुहुन्छ। (अय्यूब ३७:२३; यर्मिया १०:१२) शक्‍तिशाली मानिसहरू आफ्नो स्वार्थपूर्तिका लागि गरिब र नम्रहरूको शोषण गर्छन्‌ तर यहोवा ‘कंगालीहरूलाई धूलोबाट उठाउनुहुन्छ’ अनि उहाँ ‘बचाउनमा सामर्थी’ हुनुहुन्छ। (भजन ११३:५-७; यशैया ६३:१) येशूकी नम्र र विनयी आमा मरियमले बुझेजस्तै “सर्वशक्‍तिमानले” उहाँको भय राख्नेहरूको खातिर निष्कपटसाथ आफ्नो शक्‍ति प्रयोग गर्नुहुँदै घमण्डीहरूलाई नम्र तुल्याउनुहुन्छ भने नम्रहरूलाई उचाल्नुहुन्छ।—लूका १:४६-५३.

यहोवा आफ्ना सेवकहरूलाई

आफ्नो शक्‍ति प्रकट गर्नुहुन्छ

११. सा.यु.पू. १५१३ मा इस्राएलीहरूले परमेश्‍वरको शक्‍तिको कस्तो प्रमाण देखे?

११ थुप्रै अवसरमा यहोवाले आफ्ना सेवकहरूलाई आफ्नो सामर्थ्य प्रकट गर्नुभयो। तीमध्ये एउटा अवसर हो, सा.यु.पू. १५१३ मा सीनै पर्वतमा घटेको घटना। त्यस वर्ष इस्राएलीहरूले यहोवाको शक्‍तिको प्रभावशाली प्रमाण देखिसकेका थिए। विनाशकारी दस विपत्तीले यहोवा शक्‍तिशाली हुनुहुन्छ अनि मिश्री देवताहरू शक्‍तिहीन छन्‌ भनेर प्रस्ट पाऱ्‍यो। केही समयपछि चमत्कारी ढंगमा लाल समुद्र पार गर्नु र फिरऊनको सेना विनाश गर्नुले ईश्‍वरीय शक्‍तिको थप प्रमाण प्रस्तुत गऱ्‍यो। तीन महिनापछि सीनै पर्वतको फेदमा यहोवाले इस्राएलीहरूलाई ‘समस्त मानिसहरूमध्ये आफ्नो निज धन’ हुन निम्त्याउनुभयो। तिनीहरूले यस्तो वाचा गरे: “परमप्रभुले भन्‍नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” (प्रस्थान १९:५, ८) तब यहोवाले जीवन्त ढंगमा आफ्नो शक्‍ति प्रदर्शन गर्नुभयो। गर्जन, बिजुली र तुरहीको चर्को आवाजबीच सीनै पर्वत धुवाँले भरिनुका साथै डगमगायो। टाढा उभिरहेका मानिसहरू डरले थरथर कामे। तर यसबाट तिनीहरूले ईश्‍वरीय भय अर्थात्‌ आफ्नो सर्वशक्‍तिमान र एकमात्र साँचो परमेश्‍वर यहोवाप्रति आज्ञाकारी हुन उत्प्रेरित गर्ने भय राख्न सिक्नुपर्छ भनेर मोशाले बताए।—प्रस्थान १९:१६-१९; २०:१८-२०.

१२, १३. कस्ता परिस्थितिहरूले गर्दा एलियाले आफ्नो कार्यभार छोडे तर यहोवाले तिनलाई कसरी बलियो बनाउनुभयो?

१२ शताब्दीयौंपछि एलियाको समयमा सिनै पर्वतमा ईश्‍वरीय शक्‍तिको अर्को प्रमाण देखियो। यस अगमवक्‍ताले परमेश्‍वरको शक्‍तिको काम पहिल्यै देखिसकेका थिए। इस्राएल राष्ट्र धर्मत्यागी भएकोले परमेश्‍वरले साढे तीन वर्षसम्म ‘आकाशको ढोका थुन्‍नुभयो।’ (२ इतिहास ७:१३) परिणामस्वरूप मच्चिएको अनिकालको दौडान करीत खोलामा कागहरूले एलियालाई खाने कुरा ल्याइदिए। पछि चमत्कारी ढंगमा विधवाको अलिकता पीठो र तेलबाट तिनले धेरै समयसम्म खान पाए। यहोवाले एलियालाई उक्‍त विधवाको छोरोलाई पुनरुत्थान गर्ने शक्‍तिसमेत दिनुभयो। अन्तमा कर्मेल पर्वतमा ईश्‍वरत्वको असाधारण परीक्षा हुँदा स्वर्गबाट आगो वर्षेर अनि एलियाको बलिदानलाई भस्म पाऱ्‍यो। (१ राजा १७:४-२४; १८:३६-४०) तथापि, केही समयपश्‍चात्‌ ईजेबेलले एलियालाई मार्ने धम्की दिंदा तिनी डराए। (१ राजा १९:१-४) अगमवक्‍ताको हैसियतमा आफ्नो काम सिद्धियो भन्ठानेर तिनी आफ्नो देशबाट भागे। तिनलाई सान्त्वना दिन र बलियो बनाउन यहोवाले दयालु ढंगमा तिनलाई ईश्‍वरीय शक्‍ति देखाउनुभयो।

१३ ओढारमा लुक्दा एलियाले यहोवाले नियन्त्रण गर्नुहुने तीनवटा भयावह शक्‍तिहरू देखे। ती थिए, प्रचण्ड बतास, भैंचालो अनि अन्तमा आगो। तर यहोवाले एलियासित “सानो मधुर आवाज[मा]” बोल्नुभयो। उहाँले तिनलाई थप कामहरू अह्राउनुभयो र त्यस मुलुकमा अझै पनि यहोवाका ७,००० जना विश्‍वासी उपासकहरू छन्‌ भनेर बताउनुभयो। (१ राजा १९:९-१८) एलियाजस्तै हामी पनि आफ्नो सेवकाई फलदायी नभएकोमा निरुत्साहित भयौं भने यहोवालाई “असामान्य शक्‍तिको” लागि बिन्ती गर्नसक्छौं। किनकि त्यस्तो शक्‍तिले हामीलाई जोसिलो भई सुसमाचार प्रचार गरिरहन बलियो बनाउनसक्छ।—२ कोरिन्थी ४:७, NW.

यहोवाको शक्‍तिले उहाँका प्रतिज्ञाहरू

पूरा हुनेछन्‌ भनी ग्यारेन्टी दिन्छ

१४. यहोवाको व्यक्‍तिगत नाउँले के बुझाउँछ अनि उहाँको नाउँसित उहाँको शक्‍ति कसरी सम्बन्धित छ?

१४ यहोवाको शक्‍ति, उहाँको नाउँ र उहाँको इच्छा पूरा गर्नुसित पनि सम्बन्धित छ। यहोवा भन्‍ने अनुपम नाउँको अर्थ “उहाँले हुन दिनुहुन्छ” हो र यसले उहाँले आफैलाई प्रतिज्ञाहरू पूरा गर्नुहुने व्यक्‍ति हुन दिनुहुन्छ भनेर बताउँछ। शंकालुहरूले परमेश्‍वरका उद्देश्‍यहरू पूरा हुनसक्दैन भन्ठाने तापनि उहाँलाई आफ्ना उद्देश्‍यहरू पूरा गर्न केही वा कसैले पनि रोक्नसक्दैन। एक चोटि येशूले आफ्ना प्रेरितहरूलाई भन्‍नुभएजस्तै “परमेश्‍वरबाट सबै कुरा सम्भव छ।”—मत्ती १९:२६.

१५. यहोवाको लागि कुनै पनि कुरा कठिन छैन भनेर अब्राहाम र सारालाई कसरी सम्झाइयो?

१५ उदाहरणका लागि, एक चोटि यहोवाले अब्राहाम र साराको सन्तानबाट ठूलो राष्ट्र खडा गर्नेछु भनी प्रतिज्ञा गर्नुभयो। तर वर्षौंसम्म उनीहरूको सन्तान भएन। यहोवाले उक्‍त प्रतिज्ञा पूरा हुनै लागेको छ भन्‍नुहुँदा उनीहरू निकै वृद्ध भइसकेका थिए। त्यसैले सारा हाँसिन्‌। जवाफमा स्वर्गदूतले भने: “परमप्रभुको निम्ति कुनै कुरो औधी कठिन छ र?” (उत्पत्ति १२:१-३; १७:४-८; १८:१०-१४) चार शताब्दीपछि ठूलो राष्ट्रमा परिणत भइसकेको अब्राहामका सन्तानहरूलाई मोशाले अन्ततः मोआबी बेंसीमा जम्मा गर्दा परमेश्‍वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो भनी तिनीहरूलाई सम्झाए। मोशाले भने: “[यहोवाले] तिमीहरूका पिता-पुर्खालाई प्रेम गर्नुभयो, यसैले तिनीहरू पछि तिनीहरूका वंशलाई चुनेर, आफै उपस्थित भई आफ्नो महा-शक्‍तिद्वारा तिमीहरूलाई मिश्रदेखि निकाल्नुभयो। तिमीहरूभन्दा शक्‍तिशाली र असंख्य जातिहरूलाई उहाँले धपाइदिनुभयो, र तिनीहरूका देशमा प्रवेश गरी अधिकार गर्न तिमीहरू तत्पर भएका छौ।”—व्यवस्था ४:३७, ३८.

१६. सदुकीहरूले किन मृतकहरूको पुनरुत्थान हुँदैन भन्‍ने गल्ती गरे?

१६ शताब्दीयौंपछि, येशूले पुनरुत्थानमा विश्‍वास नगर्ने सदुकीहरूको भर्त्सना गर्नुभयो। परमेश्‍वरले मृतकहरूको पुनरुत्थान गर्नुहुन्छ भन्‍ने प्रतिज्ञालाई तिनीहरूले किन विश्‍वास गरेनन्‌? येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू धर्मशास्त्र र परमेश्‍वरको शक्‍ति नबुझेर भूलमा परेका छौ।” (मत्ती २२:२९) धर्मशास्त्रले हामीलाई यस्तो आश्‍वसन दिन्छ, “चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्‌ . . . औ निस्किआउनेछन्‌।” (यूहन्‍ना ५:२७-२९) पुनरुत्थानबारे बाइबलले भनेका कुरा हामीलाई थाह छ भने, परमेश्‍वरको शक्‍तिमाथिको हाम्रो भरोसाले मृतकहरू पुनरुत्थान हुनेछन्‌ भनेर हामीलाई विश्‍वस्त गराउनेछ। परमेश्‍वरले “मृत्युलाई सदाको निम्ति निल्नु[हुनेछ] . . . किनकि परमप्रभुले यसै भन्‍नुभएको छ।”—यशैया २५:८.

१७. भविष्यमा कहिले विशेष तरिकामा यहोवामाथि भरोसा राख्न अत्यावश्‍यक पर्नेछ?

१७ भविष्यमा हामी सबैले परमेश्‍वरले हामीलाई विशेष तरिकामा बचाउनुहुनेछ भनेर भरोसा गर्ने समय आउनेछ। दियाबल अर्थात्‌ शैतानले असुरक्षितजस्तो देखिएका परमेश्‍वरका जनहरूमाथि आक्रमण गर्नेछ। (इजकिएल ३८:१४-१६) तब परमेश्‍वरले हाम्रो खातिर ठूलो शक्‍ति प्रकट गर्नुहुनेछ र उहाँ नै यहोवा हुनुहुन्छ भनेर सबैले थाह पाउनेछन्‌। (इजकिएल ३८:२१-२३) यदि हामी त्यस निर्णायक घडीमा अटल रहन चाहन्छौं भने अहिल्यै सर्वशक्‍तिमान परमेश्‍वरमाथि विश्‍वास अनि भरोसा गर्नुपर्छ।

१८. (क) यहोवाको शक्‍तिबारे मनन गरेर हामी के-कस्ता फाइदा उठाउनसक्छौं? (ख) यसपछिको लेखमा कुन प्रश्‍नबारे छलफल गरिनेछ?

१८ निस्सन्देह, यहोवाको शक्‍ति मनन गर्ने थुप्रै कारणहरू छन्‌। जसै हामी उहाँका कार्यहरू मनन गर्छौं, हामी नम्र भई हाम्रो महान्‌ सृष्टिकर्ताको प्रशंसा गर्न अनि उहाँले बुद्धिमानी र मायालु ढंगमा आफ्नो शक्‍ति प्रयोग गर्नुभएकोमा धन्यवाद दिन उत्प्रेरित हुन्छौं। सेनाहरूका यहोवामाथि भरोसा गऱ्‍यौं भने हामी कहिल्यै डराउनुपर्ने छैन। उहाँका प्रतिज्ञाहरूमाथिको हाम्रो विश्‍वास अटल रहनेछ। तथापि, हामी परमेश्‍वरको स्वरूपमा सृष्टि भएका छौं भनेर नबिर्सनुहोस्‌। तसर्थ, सीमितै भएपनि केही हदसम्म हामीसित पनि शक्‍ति छ। हामीले आफ्नो शक्‍ति प्रयोग गर्दा कसरी सृष्टिकर्ताको अनुकरण गर्नसक्छौं? यसपछिको लेखमा यसबारेमा छलफल गरिनेछ।

[फुटनोटहरू]

a भनिन्छ, बिजुलीघरहरूको शक्‍तिको मुख्य स्रोत अर्थात्‌ पेट्रोल र कोइलाजस्ता जैविक इन्धनहरूले सूर्यबाटै शक्‍ति पाउँछन्‌।

b तुलना गर्ने हो भने, आजसम्म परीक्षण गरिएको सबैभन्दा शक्‍तिशाली आणविक बमको विष्फोटन शक्‍ति ५७ मेगाटन टि एन टि बराबर मात्र छ।

c बाइबलमा उल्लिखित जंगली साँढे सायद औरोक्स (ल्याटिन युरुस) (बोस प्रिमिगेनियस) हुनसक्छ। दुई हजार वर्षअघि यी पशुहरू गालमा (हाल फ्रान्स) पाइन्थे र जुलियस सिजरले तिनीहरूबारे यस्तो विवरण लेखे: “यी युरीहरू हात्तीभन्दा अलिकति मात्र सानो भए तापनि तिनीहरूको स्वभाव, रंग र जीउडाल साँढेको जस्तै हुन्छ। तिनीहरू अति बलिया हुन्छन्‌ र तेज रफ्तारमा दौडन्छन्‌। अनि यिनीहरूले मानिस र अन्य पशुलाई भेटेभने मारिछाड्‌छन्‌।”

के तपाईं यी प्रश्‍नहरूको जवाफ दिनसक्नुहुन्छ?

सृष्टिले कसरी यहोवाको शक्‍तिको प्रमाण दिन्छ?

आफ्ना जनलाई मदत गर्न यहोवाले कुन सेनालाई प्रयोग गर्नुहुन्छ?

यहोवाले आफ्नो शक्‍ति प्रकट गर्नुभएको केही अवसरहरू कुन कुन हुन्‌?

यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भन्‍ने हामीसित कस्तो ग्यारेन्टी छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएका चित्रहरू]

“तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्‌?”

[स्रोत]

Photo by Malin, © IAC/RGO 1991

[पृष्ठ १३-मा भएका चित्रहरू]

यहोवाले प्रदर्शन गर्नुभएको शक्‍ति मनन गर्नाले उहाँका प्रतिज्ञामा विश्‍वास बढ्‌छ