यिज्रेलमा तिनीहरूले के भेट्टाएका छन्?
यिज्रेलमा तिनीहरूले के भेट्टाएका छन्?
पुरातन शहर यिज्रेल उजाड भएको शताब्दीयौं भइसक्यो। कुनै समय बाइबल इतिहासमा यो एउटा महत्त्वपूर्ण शहर थियो। अहिले, यससित आफ्नो पुरानो वैभव केही पनि छैन, केवल माटोको ढिस्को वा थुप्रो मात्र भएको छ। हालै, पुरातत्त्वविद्हरूले यिज्रेलका भग्नावशेषहरूले अध्ययन गर्न थालेका छन्। यी भग्नावशेषहरूले बाइबल विवरणका कुन कुरा प्रकट गर्छ?
बाइबलमा यिज्रेल
यिज्रेल उपत्यकाको पूर्वी भागमा अवस्थित यिज्रेल पनि इस्राएलको उर्वर भूमिहरूमै पर्थ्यो। त्यसै उपत्यकाको पारिपट्टि उत्तरमा मोरे डाँडा पर्छ जहाँ न्यायकर्त्ता गिदोन र तिनको पल्टनलाई आक्रमण गर्न मिद्यानीहरूले छाउनी हालेका थिए। अलि पर पूर्वतिर गिल्बो डाँडामा एन-हरोदको खोला पर्छ। यसै ठाउँमा यहोवाले गिदोनका हजारौं सेनाहरूमध्ये ३०० जना मात्र छान्नुभयो र कुनै पराक्रमी सैन्य दलको मदतबिना पनि आफ्ना जनहरूलाई बचाउनसक्ने क्षमता देखाउनुभयो। (न्यायकर्त्ता ७:१-२५; जकरिया ४:६) गिल्बो पर्वतकै छेउछाउतिर इस्राएलका पहिलो राजा शाऊलले पलिश्तीहरूबाट युद्ध हारेका थिए र यही युद्धमा जोनाथन तथा शाऊलका अरू दुई जना छोराहरू पनि मारिए र शाऊलले पनि आत्महत्या गरे।—१ शमूएल ३१:१-५.
बाइबलले पुरातन शहर यिज्रेलको बेग्लाबेग्लै पक्षहरूबारे जानकारी दिन्छ। यी जानकारीहरूमा इस्राएलका शासकहरूले गरेको शक्तिको दुरुपयोग तथा तिनीहरूको धर्मत्यागबारे उल्लेख गरिएको पाइन्छ भने यहोवाका सेवकहरूको वफादारी तथा तिनीहरूको जोसबारे पनि बताएको पाइन्छ। सा.यु.पू. दसौं शताब्दीको पछिल्लो पचास वर्षजति उत्तरी दस राज्यहरूमा शासन गर्ने राजा आहाबले यिज्रेलमा महल बनाए तर वास्तवमा औपचारिक राजधानी भने सामरिया थियो। (१ राजा २१:१) यसै यिज्रेलबाट आहाबकी विदेशी पत्नी ईजेबेलले यहोवाको अगमवक्ता एलियालाई मार्ने धम्की दिएकी थिइन्। एलियाले कर्मेल डाँडामा साँचो परमेश्वरको चिनारी गराउने जाँचपछि निडर भई बालका अगमवक्ताहरूलाई मारेका कारण तिनी रिसाएकी थिइन्।—१ राजा १८:३६–१९:२.
त्यसपछि यिज्रेलमा एउटा हत्या भयो। हो, यिज्रेली नाबोतको हत्या। राजा आहाबले नाबोतको दाखबारीको लोभ गरेका थिए। राजाले सो जग्गा माग्दा नाबोतले यस्तो वफादार जवाफ दिए: “मेरो पैतृक-सम्पत्तिमा सधैं रहेको जमीन मैले तपाईंलाई कसरी दिने? परमप्रभुले यस्तो नगरून्।” यो सैद्धान्तिक जवाफ आहाबलाई पटक्कै मन परेन। राजाको उदास अनुहार देखेर रानी ईजेबेलले नाबोतलाई ईश्वर निन्दाको दोष लगाउँदै उपहासपूर्ण बैठक बोलाउन लगाइन्। निर्दोष नाबोतलाई दोषी ठहराइयो र ढुंगाले हानेर मारियो अनि राजाले तिनको दाखबारी आफ्नो अधिकारमा लिए।—१ राजा २१:१-१६.
यस दुष्ट कार्यको कारण एलियाले यस्तो अगमवाणी गरे: “कुकुरहरूले यिज्रेलको किल्लाको घेरा-भित्तानेर ईजेबेललाई खानेछ।” अगमवक्ताले थप यसो १ राजा २१:२३-२९) बाइबल अभिलेखअनुसार एलियाको उत्तराधिकारी एलिशाको समयमा येहूलाई इस्राएलको राजा अभिषिक्त गरियो। जसै येहू यिज्रेलतिर सवार हुन्छन् तिनले ईजेबेललाई तिनकै दरबारको झ्यालबाट फ्याँकिदिने आदेश दिन्छन् र घोडाहरूले तिनलाई कुल्चीमिल्ची गरे। पछि हेर्न जाँदा, सिनु खाने कुकुरहरूले तिनको खप्पर, खुट्टा र हत्केलाहरू मात्र बाँकी छाडेको पाइयो। (२ राजा ९:३०-३७) बाइबलमा यिज्रेलबारे लेखिएको अन्तिम विवरण आहाबका ७० जना छोराहरू मारेपछिको घटना हो। येहूले यिज्रेल शहरको मूल ढोकामा तिनीहरूका टाउकाहरूको दुइ थुप्रो लगाए। त्यसपछि आहाब र तिनका धर्मत्यागी शासनसित सहभागी भारदार तथा पूजाहारीहरूलाई पनि मारे।—२ राजा १०:६-११.
भने: “आहाबको घरानाको शहरमा मर्नेहरू कुकुरहरूका आहार हुनेछन्, . . . परमप्रभुको दृष्टिमा खराब काम गर्नलाई आहाबले झैं कुनै मानिसले आफूलाई बेचेको थिएन, औ ती सबै तिनले आफ्नी स्वास्नी ईजेबेलले उस्काएकोले गरेका थिए।” तथापि, एलियाले यहोवाको यो न्यायदण्ड सुनाउँदा आहाबले आफूलाई नम्र तुल्याएको हुनाले आहाबको जीवनकालमा यो दण्ड आइपर्नेछैन भनेर यहोवाले घोषणा गर्नुभयो। (पुरातत्त्वविद्हरूले के भेट्टाएका छन्?
सन् १९९० मा यिज्रेल क्षेत्रमा उत्खनन गर्ने संयुक्त आयोजना सुरु गरियो। त्यसमा टेल अभिभ विश्वविद्यालयको (डेभिड उसिशकिनद्वारा प्रतिनिधित्व गरिएको) पुरातत्त्व विभाग र यरूशलेमस्थित पुरातत्त्वको ब्रिटिश स्कूलको (जोन वुडहेडद्वारा प्रतिनिधित्व गरिएको) सहभागिता थियो। सन् १९९०-९६ सालको दौडान सात पटक (छ हप्ते अवधि) ८० देखि १०० जना जति स्वयंसेवकहरूले त्यस क्षेत्रमा काम गरे।
यस पुरातत्त्वशास्त्रको आधुनिक कार्य-पद्धती पुराना धारणा तथा सिद्धान्तहरूको आधारबिना नै स्थलगत प्रमाणहरूको खोजी गर्नु हो। तसर्थ, बाइबलमा उल्लिखित भूमिहरूबारे अध्ययन गर्दा त्यस विषयमा धर्मशास्त्रीय विवरणहरू सबैभन्दा बलियो प्रमाणको रूपमा लिइँदैन। अन्य सबै स्रोतहरू तथा भौतिक प्रमाणहरूलाई ध्यानमा राख्दै होसियारीपूर्वक जाँचपडताल गर्नुपर्छ। तथापि, जोन वुडहेडअनुसार बाइबलका केही अध्यायहरूमा बाहेक अरू कतै पनि यिज्रेलबारे लिखित प्रमाण पाइँदैन। त्यसैले बाइबल विवरण तथा इतिहास यससम्बन्धी सबै जाँचपडतालमा सामेल हुनैपर्छ। पुरातत्त्वविद्हरूको प्रयासले कुन कुरा प्रस्ट पारेका छन्?
जसै पर्खालहरू तथा माटोले बनेका भाँडाकुँडाहरू फेला परे ती भग्नावशेषहरू फलामे युगका हुन् भनेर स्पष्ट भयो जुन ठिक्क बाइबलमा उल्लेख गरिएको यिज्रेलको समयकालभित्रै पर्छ। तर उत्खनन गर्दै जाँदा अरू थुप्रै अचम्मका कुरा पनि पत्ता लागे। पहिलो त त्यो क्षेत्रको क्षेत्रफल तथा पर्खालको विशालता नै हो। सुरुमा, पुरातत्त्वविद्हरूले त्यस क्षेत्रका पर्खालहरू इस्राएल राज्यको पुरातन राजधानी शहर सामरिया जत्रो मात्रै होला भन्ठानेका
थिए। तथापि, खन्दै जाँदा यिज्रेल निकै ठूलो रहेछ भन्ने प्रस्ट हुनथाल्यो। लम्बाइ र चौडाइ झन्डै ३०० र १५० मिटर भएको यसभित्रको पूरा क्षेत्रफल त्यसताकका इस्राएलमा भेटिएका अन्य शहरहरूभन्दा तीनगुणा ठूलो थियो। यी पर्खालहरूलाई वरिपरि ११ मिटर गहिरो सुक्खा खाडलले घेरेको थियो। प्राध्यापक उसिशकिनअनुसार बाइबलकालीन समयमा यो जस्तो अरू कुनै खाडल थिएन। तिनले भने, “धार्मिक योद्धाहरूको समयावधिअघि इस्राएलमा यस्तो कुनै कुरा पाएनौं।”अर्को अचम्मको कुरा के हो भने त्यस शहरको बीचमा ठूलठूला आकृतिहरू पाइएन। यो शहर निर्माण गर्न ल्याइएको रातो-खैरो माटोले जमीनको सतह माथि उठाउन अर्थात् स्टेज अथवा मञ्चजस्तै बनाउन प्रयोग गरिएको थियो। टेल यिज्रेलमा गरिएका यी उत्खननहरूबारे दोस्रो प्रारम्भिक रिपोर्ट-ले यो मञ्चलाई नियाल्दा यिज्रेल शाही महलका साथै अर्को विशेष काममा पनि प्रयोग भएको हुनुपर्छ भनेर बताउँछ। यसले भन्छ: “हुनसक्छ, यिज्रेल ओम्री [ओम्री तथा तिनका उत्तराधिकारी] राजाहरूको पालामा शाही रथ तथा घोडचढीहरूलाई प्रशिक्षण दिने शाही इस्राएली सेनाको केन्द्रीय सैनिक अखडा थियो।” वुडहेडको दृष्टिकोणमा मञ्च तथा यसको घेरा हेर्दा मात्र पनि यो त्यसबेला मध्यपूर्वमा विशाल रथीहरूको सैनिक शक्तिको प्रदर्शन गर्ने खुला ठाउँ हुनसक्छ।
शहरको मूलढोकामा भेट्टिएका भग्नावशेषहरू पुरातत्त्वविद्हरूका लागि विशेष चासोका विषय हुन्। मूलढोकाहरूमा कम्तीमा पनि चार वटा कोठा थिए। तथापि, त्यस क्षेत्रका थुप्रै ढुंगाहरू शताब्दीयौंको दौडान भताभुंग भएकाले ठोस निष्कर्षमा पुग्न गाह्रो छ। वुडहेडको विचारमा यी भग्नावशेषहरूले मगिद्दो, हासोर र गेजरमा भेट्टिएका त्यस्तै आकारप्रकारका कोठाहरू भएका मूलढोकाहरूलाई संकेत गर्छन्। a
यस उत्खनन कार्यबाट पत्ता लागेका कुराहरूले के देखाउँछन् भने, सैनिक तथा भौगोलिक दुवै तवरमा एकदमै उपयुक्त ठाउँमा अवस्थित यो शहर थोरै समय मात्र अस्तित्वमा रहनु अचम्मको कुरा हो। यिज्रेल, विशाल गढीको शहर केही निश्चित समयसम्म मात्र रह्यो। यो शहर केही दशकसम्म मात्र अस्तित्वमा रह्यो भनी वुडहेड जोड दिन्छन्। बाइबलमा उल्लिखित इस्राएलका मगिद्दो, हासोर तथा राजधानी शहर सामरिया बेग्लाबेग्लै समयमा बारम्बार पुनर्निर्माण र बिस्तार गरी त्यहाँ बसोबास गरियो तर यस शहरमा त्यस्तो केही भएन। यस्तो उत्कृष्ट क्षेत्र किन यति चाँडो पतन भएको? वुडहेडको विचारमा आहाब तथा तिनका उत्तराधिकारीहरूले राष्ट्रको पैसा फजुल खर्चगरेर आर्थिक संकट निम्त्याएको हुनसक्छ। यिज्रेलको विशाल आकार र सामर्थ्यले यस कुराको पुष्टि गर्छ। येहूको नयाँ शासन व्यवस्थाले आहाबको सम्झना मेटियोस् भनेर त्यस शहरबाट अलग हुन खोजेको पनि हुनसक्छ।
प्राप्त जम्मै प्रमाणहरूले यिज्रेल फलामे युगमा प्रमुख इस्राएली केन्द्र थियो भनेर प्रस्टै पार्दछ। बाइबलमा यसलाई आहाब र ईजेबेलको प्रमुख शाही महल भनेर बताएको कुरा यसको आकार तथा गढीहरूले समर्थन गरेको पाइन्छ। यस अवधिभित्र यसमा भएको सीमित बसोबास त्यस शहरबारे बाइबलको विवरणसित मेल खान्छ। आहाबको शासनकालमा यसको एकदमै प्रतिष्ठा बढ्यो र यहोवाको आज्ञाअनुसार येहूले “यिज्रेलमा आहाबको घरानाको बाँकी रहेका तिनका सबै भारादारहरू, तिनका परम मित्रहरू र तिनका पूजाहारीहरूलाई एउटै पनि बाँकी नराखेर . . . सबैलाई” मारेपछि त्यसको अस्तित्व नै रहेन।—२ राजा १०:११.
यिज्रेलको कालक्रम
“उत्खननबाट पत्ता लागेका कुराहरूको आधारमा ठ्याक्क समय तोक्न मुस्किल पर्छ,” भनी जोन वुडहेड
स्वीकार्छन्। त्यसैले ती पुरातत्त्वविद्हरूले सात वर्षसम्म उत्खनन गरेर पत्ता लगाएका कुराहरू अन्य ठाउँमा उत्खनन गरेर पत्ता लागेका कुराहरूसित तुलना गर्छन्। यसो गर्दा अझै थप जाँचपडताल र वादविवाद हुन्छ। किन? किनभने इस्राएली पुरातत्त्वविद् यिगेल याडिनले मगिद्दोमा १९६० देखि १९७० दशकको प्रारम्भसम्म गरेको उत्खननको दौडान भेट्टाएका गढीहरू तथा शहरका मूलढोकाहरू राजा सुलेमानको पालादेखिको थियो भनेर थुप्रै पुरातत्त्वविद्हरूले प्रमाणित गरे। अहिले, यिज्रेलमा भेट्टिएका गढीहरू, भाँडाकुँडाहरू तथा मूलढोकाहरूले गर्दा कतिपयले ती निष्कर्षहरूमा शंका गर्न थालेका छन्।उदाहरणका लागि, यिज्रेलमा भेट्टिएका माटोका भाँडाकुँडाहरू र मगिद्दोका अवशेषहरू मिल्दोजुल्दो भएकोले याडिनले ती सुलेमानको शासन कालको हुनुपर्छ भन्ने अनुमान लगाए। दुवै उत्खनन क्षेत्रहरूको मूलढोकाहरू दुरुस्तै नभए पनि मिल्दोजुल्दो बनौट तथा नापका थिए। वुडहेड भन्छन्: “प्राप्त सबै प्रमाणहरूले या त यिज्रेल सुलेमानको समयको या अरू क्षेत्रहरू [मगिद्दो र हासोर] आहाबको समयको हुनुपर्छ भनेर देखाउँछ।” बाइबलले, यिज्रेल क्षेत्र आहाबको समयको हो भनेर स्पष्टै भनेको हुँदा तिनले ती भग्नावशेषका छापहरू पनि आहाबकै समयको हो भनेर मानिलिनु उपयुक्त हुन्छ भन्ने दृष्टिकोण राखे। डेविड उसिशकिन यस कुरामा सहमत भए: “बाइबलले मगिद्दो, सुलेमानले निर्माण गरेको दाबी गर्छ। ती ढोकाहरू पनि तिनले नै बनाएका हुन् भनेको छैन।”
के यिज्रेलको इतिहास जान्न सकिएला?
के यी उत्खननबाट भेट्टिएका अवशेषहरूले यिज्रेल वा सुलेमानबारे बाइबलमा लेखिएका अभिलेखमाथि शंका उत्पन्न गर्छ? साँच्चै भन्ने हो भने, पुरातत्त्वविद्हरूको विवादमा बाइबल अभिलेखको खासै महत्त्व छैन। पुरातत्त्वविद्हरूले बाइबलको कुनै पनि वर्णनलाई आधार नमानिकनै इतिहास केलाउँछन्। यसले बेग्लै प्रश्न खडा गर्छ र भिन्नै कुरामा जोड दिन्छ। बाइबल विद्यार्थी र पुरातत्त्वविद्लाई समानान्तर दिशातिर हिंड्ने दुई जना यात्रुहरूसित तुलना गर्न सकिन्छ। एक जना यात्रु सडकमा गाडी हाँकीरहेको छ भने अर्को त्यसै बाटोको पेटीबाट हिंडिरहेको छ। तिनीहरूले बेग्लाबेग्लै कुरामा ध्यान केन्द्रित गरेका हुन्छन्। तथापि, प्रायजसो तिनीहरूको लक्ष्य विपरीत नभई एकअर्काका पूरक हुन्छ। ती दुई यात्रुले विचार गरेका कुराहरू तुलना गर्दा थुप्रै रोचक कुरा थाह पाउन सकिन्छ।
बाइबलमा पुरातन समयमा भएका घटनाहरू तथा मानिसहरूबारे लेखिएको पाइन्छ। पुरातत्त्वशास्त्रले ती घटनाहरू तथा मानिसहरूसम्बन्धी जानकारी भेट्टाउन जमिनमुनि बाँकी रहेका अवशेषहरू परिक्षण गर्छन्। तथापि, ती अवशेषहरू प्रायजसो अपूर्ण तथा बेग्लाबेग्लै अनुमानमा आधारित हुन्छन्। यस सन्दर्भमा अमीहाई मजार आफ्नो आर्कियोलोजी अफ द ल्याण्ड अफ द बाइबल—१०,०००-५८६ बी.सी.ई. भन्ने पुस्तकमा यस्तो टिप्पणी गर्छन्: “पुरातत्त्वशास्त्रसम्बन्धी कार्य . . . केही हदसम्म एउटा कला हो। साथसाथै प्रशिक्षण र पेसागत सीपको संयोजन पनि हो। कुनै कडा विधिद्वारा सफलता हासिल गर्न सकिंदैन अनि त्यहाँ लचकता तथा सिर्जनशील विचारहरू भएका निर्देशकहरूको आवश्यकता पर्छ। पुरातत्त्वविद्हरूको दक्षता र सामान्य ज्ञानजस्ता गुणहरू तिनीहरूले पाएको प्रशिक्षण तथा उपलब्ध स्रोतहरू जत्तिकै महत्त्वपूर्ण छन्।”
बाइबलले बताएझैं पुरातत्त्वशास्त्रले पनि यिज्रेलमा प्रमुख शाही तथा सैनिक केन्द्रको अस्तित्व थियो र आश्चर्यलाग्दो किसिमले ऐतिहासिक तवरमा छोटो समयावधिभित्रै हरायो भन्ने प्रमाणित गर्दछ। पुरातत्त्वविद्हरूले सुल्झाउन अध्ययन गरिरहेका अन्य थुप्रै रहस्यमयी प्रश्नहरू छन्। तथापि, परमेश्वरको वचन बाइबलका पानाहरूले स्पष्टसित बोल्दै पुरातत्त्वविद्हरूले कुनै हालतमा पनि बताउन नसक्ने हामीलाई आवश्यक पूर्ण कथा उपलब्ध गरिदिएको छ।
[फुटनोट]
a अगस्त १५, १९८८ को प्रहरीधरहरा अंग्रेजी अंकमा “मूलढोकाहरूको रहस्य” विषयक लेख हेर्नुहोस्।
[पृष्ठ २६-मा भएका चित्रहरू]
यिज्रेलमा गरिएका उत्खनन कार्यहरू
[पृष्ठ २८-मा भएको चित्र]
यिज्रेलमा भेट्टिएको कनानी मूर्ति