सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले हामीलाई कसरी डोऱ्‍याउँदै हुनुहुन्छ

यहोवाले हामीलाई कसरी डोऱ्‍याउँदै हुनुहुन्छ

यहोवाले हामीलाई कसरी डोऱ्‍याउँदै हुनुहुन्छ

“मलाई सोझो मार्गमा डोऱ्‍याउनुहोस्‌।”—भजन २७:११, नयाँ संशोधित संस्करण।

१, २. (क) आज यहोवाले कसरी आफ्ना जनहरूलाई डोऱ्‍याइरहनुभएको छ? (ख) सभाहरूबाट पूर्ण लाभ उठाउनुमा के समावेश छ?

 हामीले अघिल्लो लेखमा पढेअनुसार यहोवा ज्योति र सत्यताको स्रोत हुनुहुन्छ। हामी सोझो मार्गमा हिंड्‌दा उहाँको वचनले ज्योति दिन्छ। यहोवाले आफ्नो मार्ग हामीलाई सिकाउनुभएर डोऱ्‍याउनुहुन्छ। (भजन ११९:१०५) पुरातन समयका भजनरचयिताले जस्तै हामी कृतज्ञता साथ परमेश्‍वरको डोऱ्‍याइ पछ्याउँछौं र यस्तो प्रार्थना गर्छौं: “हे परमप्रभु, तपाईंको मार्ग मलाई सिकाउनुहोस्‌, र मेरा शत्रुहरूका कारणले मलाई सोझो मार्गमा डोऱ्‍याउनुहोस्‌।”—भजन २७:११, नयाँ संशोधित संस्करण।

यहोवाले आज सिकाउनुहुने एउटा तरिका मसीही सभाहरू मार्फत हो। यस मायालु प्रबन्धको के हामीले (१) नियमित तवरमा उपस्थित भएर, (२) कार्यक्रम ध्यान दिएर सुनेर र (३) श्रोताहरूसित छलफल हुने समयमा स्वेच्छासाथ भाग लिएर पूर्ण सदुपयोग गरिरहेका छौं? यसबाहेक, “सोझो मार्गमा” लागिरहन मदत गर्ने सुझाउहरू पाउँदा के हामी कृतज्ञ भएर सुन्छौं?

तपाईं कत्तिको सभा धाउनुहुन्छ?

३. एक जना पूर्ण-समय सेवकले कसरी नियमित सभा धाउने राम्रो बानी बसालिन्‌?

केही राज्य प्रकाशकहरू बाल्यकालदेखि नै नियमित तवरमा सभाहरू धाउँदै आएका छन्‌। यहोवाका साक्षीहरूको एक जना पूर्ण-समय सेवक यसो भन्छिन्‌, “सन्‌ १९३० को दशकमा म र मेरा दिदीहरू सानै छँदा हाम्रो आमाबाबुलाई सभा जाने हो कि होइन भनी सोध्नै पर्दैनथ्यो। बिरामी भएमा मात्र घर बस्छौं भनी हामीलाई थाह थियो। हाम्रो परिवार सभाहरूबाट हतपती गयल हुँदैनथ्यो।” अगमवादिनी हन्‍नाजस्तै यस बहिनीले यहोवाको उपासना गर्ने ठाउँ कहिल्यै “छोड़दैन थिइन्‌।”—लूका २:३६, ३७.

४-६. (क) कोही कोही राज्य प्रकाशकहरू किन सभाहरूबाट गयल हुन्छन्‌? (ख) सभाहरू धाउनु किन महत्त्वपूर्ण छ?

तपाईं मसीही सभाहरू नियमित धाउनेहरूमध्ये हुनुहुन्छ कि अलि अनियमित हुन थाल्नुभएको छ? आफू नियमित नै भएको ठान्‍ने केही मसीहीहरूले यसबारे पक्का गर्ने निर्णय गरे। हप्तौंको अवधिमा तिनीहरू कुन कुन सभामा उपस्थित भए, त्यसको टिपोट राखे। तिनीहरूले तोकेको सयमको अन्तमा आफ्नो रेकर्ड हेर्दा त आफू कतिवटा सभाबाट गयल भएछ भनी थाह पाउँदा तीन छक परे।

कसै कसैले भन्लान्‌, ‘छक्क पर्नुपर्ने त्यस्तो कुनै कारणै छैन। मानिसहरूले आजकाल यति धेरै दबाउ भोग्नुपर्छ कि तिनीहरूलाई सभाहरूमा नियमित हुन अत्यन्तै गाह्रो छ।’ हो, अवश्‍य पनि हामी तनाउग्रस्त समयमा बाँचिरहेका छौं। अनि दबाउहरू बढ्‌ने सिवाय घट्‌ने त कुरै छैन। (२ तिमोथी ३:१३) तर के यी सबै कुराहरूले गर्दा सभाहरू नियमित धाउन झनै महत्त्वपूर्ण हुँदैन र? हामीलाई सँभाल्ने नियमित तवरमा लाभदायक आध्यात्मिक भोजनबिना यस रीतिरिवाजको दबाउहरू सामना गर्न सक्दैनौं। नियमित तवरमा सरसंगति नगरेको खण्डमा हामी “धर्मीको चाल” चटक्कै छोड्‌न पनि प्रलोभित हुनसक्छौं! (हितोपदेश ४:१८) हो, कामबाट लखतरान भई घर फर्केपछि हामीलाई सधैं सभा धाउन जाँगर नलाग्ला। तथापि, थकानको बावजूद सभा धाएपछि धेरै फाइदा उठाउँछौं र हामीले राज्यभवनमा आफ्ना सँगी विश्‍वासीहरूलाई प्रोत्साहित गर्छौं।

हामी सभाहरूमा नियमित तवरमा उपस्थित हुनुपर्ने अर्को महत्त्वपूर्ण कारण हिब्रू १०:२५ मा दिइएको छ। त्यहाँ प्रेरित पावलले सँगी मसीहीहरूलाई ‘दिन नजीक नजीक आईपुगेकोले’ झनै एक ठाउँमा भेला हुन आग्रह गर्छन्‌। हो, “परमेश्‍वरको त्यस दिन” नजिकै छ भन्‍ने कुरा हामीले बिर्सनु हुँदैन। (२ पत्रुस ३:१२) यस रीतिरिवाजको अन्त त कहिले हो कहिले भन्‍ने विचार राख्न थाल्यौं भने सभाहरू धाउने जस्ता महत्त्वपूर्ण आध्यात्मिक गतिविधिलाई लत्त्याएर व्यक्‍तिगत मोजमज्जातिर लाग्नसक्छौं। अनि येशूले चेताउनी दिनुभएझैं ‘त्यस दिन एक्कासि पासोझैं आइपर्नसक्छ।’—लूका २१:३४.

ध्यान दिएर सुन्‍नुहोस्‌

७. केटाकेटीले सभाहरूमा ध्यान दिनु किन महत्त्वपूर्ण छ?

सभाहरू धाउनु मात्र पर्याप्त छैन। त्यहाँ भनिएको कुरा ध्यान दिएर पनि सुन्‍नुपर्छ। (हितोपदेश ७:२४) यो कुरा हाम्रा केटाकेटीमा पनि लागू हुन्छ। बच्चा स्कूल गएपछि उसलाई कुनै खास विषय मन नपर्ला वा बुझ्न गाह्रो पर्ला, तापनि उसले शिक्षकको कुरा ध्यान दिएर सुन्‍नुपर्ने हुन्छ। बच्चाले ध्यान दिएर सुन्‍ने कोसिस गऱ्‍यो भने उसले त्यस पाठबाट केही न केही त अवश्‍य लाभ उठाउनेछ भनी शिक्षकलाई थाह छ। अतः स्कूले बच्चाहरूलाई मसीही सभाहरूमा पनि सभा सुरु हुनेबित्तिकै निदाउन दिनुको सट्टा ध्यान दिएर सुन्‍न लगाउनु व्यवहारिक कुरा होइन र? हो, धर्मशास्त्रमा पाइने अनमोल सत्यहरूमध्ये “कुनै कुनै कुराहरू बुझ्न कठिन छन्‌।” (२ पत्रुस ३:१६) तर हामीले बच्चाको सिक्ने क्षमता अत्यन्तै कम छ भन्ठान्‍नु हुँदैन। अनि परमेश्‍वरले पनि त्यस्तो ठान्‍नु हुन्‍न। बाइबल समयमा उहाँले आफ्ना जवान सेवकहरूलाई “परमप्रभु तिमीहरूका परमेश्‍वरका भय मान्‍न सिकून्‌ औ यस व्यवस्थाका सबै आज्ञा होशियारीसाथ पालन गरून्‌” भन्‍ने आज्ञा दिनुभयो। तीमध्ये कतिपय कुरा अवश्‍य पनि केटाकेटीलाई बुझ्न गाह्रो थियो होला। (व्यवस्था ३१:१२; लेवी १८:१-३० तुलना गर्नुहोस्‌।) के यहोवाले आजका केटाकेटीबाट पनि त्यति नै आशा गर्नुहुन्‍न र?

८. आफ्ना छोराछोरीलाई सभाहरूमा ध्यान दिन मदत गर्न कोही कोही आमाबाबुले कस्ता कदम चाल्छन्‌?

आफ्ना छोराछोरीको आध्यात्मिक आवश्‍यकता केही हदसम्म सभाहरूबाट सिकेका कुराहरूबाट पूरा हुन्छ भनी मसीही आमाबाबुले बुझेका छन्‌। तसर्थ, कोही कोही आमाबाबुले आफ्ना छोराछोरी सभामा टाठो र सिक्न तयार होऊन्‌ भनेर सभाअघि केही समय सुत्न दिन्छन्‌। केही आमाबाबुले सभाका दिनहरूमा आफ्ना छोराछोरीलाई टिभी हेर्ने समय कम गर्ने वा पटक्कै हेर्न नदिने निर्णय गर्छन्‌। (एफिसी ५:१५, १६) अनि त्यस्ता आमाबाबुले आफ्ना छोराछोरीको उमेर र क्षमताअनुसार सुन्‍न र सिक्न प्रोत्साहित गरेर तिनीहरूलाई अलमलाउने कुराहरूबाट नियन्त्रणमा राख्छन्‌।—हितोपदेश ८:३२.

९. हाम्रो सुन्‍ने क्षमता विकास गर्न कुन कुराले मदत गर्नसक्छ?

येशूले ‘तिमीहरू कसरी सुन्छौ, होसियार रहो’ भनेर वयस्कहरूलाई भनिरहनुभएको थियो। (लूका ८:१८) आजकाल यो भनेजस्तो गर्न सजिलो छैन। हो, ध्यान दिएर सुन्‍न कडा मेहनत गर्नुपर्छ तर यसो गर्दा सुन्‍ने क्षमताको विकास हुन्छ। बाइबल भाषण वा सभाको अन्य कुनै भाग सुन्‍नुहुँदा मुख्य बुँदाहरू छुट्याउने कोसिस गर्नुहोस्‌। वक्‍ताले त्यसपछि के भन्‍ने छन्‌, त्यसको प्रतीक्षा गर्नुहोस्‌। सेवकाई वा आफ्नो जीवनमा लागू गर्नसक्ने बुँदाहरू खोज्नुहोस्‌। छलफल भइरहेका बुँदाहरू मनमनै पुनरावृत्ति गर्नुहोस्‌। छोटो छोटो टिपोट लिनुहोस्‌।

१०, ११. कोही कोही आमाबाबुले आफ्ना छोराछोरीलाई राम्ररी ध्यान दिन कसरी मदत गरेका छन्‌ र तपाईंलाई कुन तरिकाहरू मदतकारी लागेको छ?

१० ध्यान दिएर सुन्‍ने बानी बसाल्ने सबैभन्दा राम्रो समय सानै छँदा हो। लेखपढ गर्न जान्‍नुअघि नै केही आमाबाबुले आफ्ना स्कूल जाने उमेर नपुगेका बच्चाहरूलाई सभामा “टिपोट” लिन सिकाउँछन्‌। “यहोवा,” “येशू” र “परमेश्‍वरको राज्य” जस्ता चिरपरिचित शब्दहरू हरेक चोटि सुन्दा कागतमा धर्सो कोर्छन्‌। यसरी केटाकेटीले मञ्चबाट भनिएको कुरामा ध्यान दिन सिक्न सक्छन्‌।

११ कहिलेकाहीं अलि ठूलो भइसकेका बच्चाहरूलाई समेत ध्यान दिन प्रोत्साहन चाहिन्छ। आफ्नो ११ वर्षको छोरा मसीही अधिवेशनको दौडान टोलाइरहेको देखेपछि तिनको बुबाले तिनलाई बाइबल दिएर वक्‍ताले भन्‍ने बाइबल पदहरू पल्टाउन लगाए। टिप्पणी लिइरहेका ती बुबाले आफ्नो छोराले बाइबल पल्टाउन थालेको हेरे। त्यसपछि, त्यस केटोले अधिवेशन कार्यक्रममा अझ उत्साहित भएर ध्यान दिन थाले।

तपाईंको स्वर सुनियोस्‌

१२, १३. मण्डलीमा गीत गाउँदा भाग लिनु किन महत्त्वपूर्ण छ?

१२ राजा दाऊदले यस्तो भजन गाए: “हे परमप्रभु तपाईंको वेदीको रिंगै म घुम्नेछु। र मेरो धन्यवादको सोर तपाईंमा सुनाउनसकूँ।” (भजन २६:६, ७) यहोवाका साक्षीहरूको सभामा हामीले आफ्नो विश्‍वास स्पष्टसँग व्यक्‍त गर्ने सुअवसर पाउँछौं। हामीले गर्नसक्ने एउटा तरिका सभाहरूमा गीत गाएर हो। यो हाम्रो उपासनाको एउटा महत्त्वपूर्ण भाग हो तर यसलाई बेवास्ता गर्न थाल्न पनि धेरै बेर लाग्दैन।

१३ पढ्‌नसक्ने उमेर नपुगेका कुनै कुनै केटाकेटीले हरेक हप्ता सभामा गाइने राज्य गीतहरू कण्ठस्थ पार्छन्‌। आफूभन्दा ठूलाहरूसँगसँगै गीत गाउन पाउँदा तिनीहरू दंग पर्छन्‌। तथापि, बच्चाहरू अलि ठूलो भएपछि राज्य गीतहरू गाउन त्यति उत्सुक नहुन सक्छन्‌। केही वयस्कहरू पनि सभाहरूमा गीत गाउन लाज मान्छन्‌। तैपनि, जसरी क्षेत्र सेवकाई हाम्रो उपासनाको एउटा भाग हो, त्यसरी नै गीत गाउनु पनि हाम्रो उपासनाको एउटा भाग हो। (एफिसी ५:१९) क्षेत्र सेवकाईमा यहोवाको प्रशंसा गर्न हामी सक्दो प्रयास गर्छौं। हाम्रो आवाज सुरिलो होस्‌ या नहोस्‌, ठूलो स्वरले प्रशंसाका गीतहरू गाएर के हामी पनि उहाँको महिमा गर्न सक्दैनौं र?—हिब्रू १३:१५.

१४. हामीले मण्डलीका सभाहरूमा अध्ययन गर्ने विषयवस्तुहरू पहिल्यै होसियारीसाथ तयारी गर्नु किन महत्त्वपूर्ण छ?

१४ हाम्रा सभाहरूमा श्रोताहरूसित छलफल गरिने भागमा उत्थानदायी टिप्पणीहरू गरेर पनि हामी परमेश्‍वरको प्रशंसा गर्छौं। यसको लागि तयारीको खाँचो पर्छ। परमेश्‍वरको वचनका गहिरा पक्षहरूमाथि गहिरिन समय लाग्छ। धर्मशास्त्रका उत्साही विद्यार्थी प्रेरित पावलले यो कुरा बुझेका थिए। तिनले यस्तो लेखे: “अहा! परमेश्‍वरका बुद्धि र ज्ञान, दुवैका सम्पत्ति कस्तो गहीरो छ!” (रोमी ११:३३) परिवारका शिरहरू हो, धर्मशास्त्रमा बताइएअनुसार तपाईंको परिवारका प्रत्येक सदस्यलाई परमेश्‍वरको बुद्धि खोज्न मदत गर्नु महत्त्वपूर्ण छ। पारिवारिक बाइबल अध्ययनको दौडान बुझ्न अलि गाह्रो बुँदाहरूलाई बुझाउन पनि समय छुट्याउनुहोस्‌ र तपाईंको परिवारलाई सभाको निम्ति तयारी गर्न मदत गर्नुहोस्‌।

१५. सभाहरूमा टिप्पणी गर्न कस्ता सुझाउहरू मदतकारी हुनसक्छ?

१५ तपाईं सभामा धेरै पटक टिप्पणी गर्न चाहनुहुन्छ भने, भन्‍नुपर्ने कुरा पहिल्यै तयारी गरे कसो होला? लम्बेतान टिप्पणी गरिरहनु आवश्‍यक छैन। पूर्ण विश्‍वासका साथ बाइबल पद पढ्‌दा वा भित्री हृदयदेखि नै दुई चार शब्द बोल्दा अरूले मूल्यांकन गर्नेछन्‌। कोही कोही प्रकाशकहरूले कुनै एउटा अनुच्छेदको पहिलो टिप्पणी दिनेछु भनी अध्ययन सञ्चालकलाई पहिल्यै खबर गर्छन्‌ र यसो गर्दा तिनीहरूले आफ्नो विश्‍वास व्यक्‍त गर्ने सुअवसर पाउँछन्‌।

कम अनुभवी बुद्धिमान्‌ हुन्छन्‌

१६, १७. एक जना प्राचीनले सेवकाई सेवकलाई कस्तो सल्लाह दिए र त्यो किन प्रभावकारी थियो?

१६ यहोवाका साक्षीहरूको सभामा हामीलाई बारम्बार परमेश्‍वरको वचन दिनहुँ पढ्‌न सम्झाइन्छ। त्यसो गर्नु स्फूर्तिदायी हुन्छ। यसले हामीलाई बुद्धिमता साथ निर्णयहरू गर्न, व्यक्‍तिगत कमीकमजोरीहरू सच्याउन, प्रलोभनहरूको प्रतिरोध गर्न र गलत मार्गतिर कदम चाल्न थालेका थियौं भने हाम्रो आध्यात्मिक सन्तुलन पुनः कायम राख्न मदत गर्नेछ।—भजन १९:७.

१७ मण्डलीका अनुभवी प्राचीनहरू हाम्रो आवश्‍यकताअनुसार धर्मशास्त्रीय सल्लाह दिन हर समय तयार रहन्छन्‌। हामीले केवल तिनीहरूको बाइबल आधारित सल्लाह ‘तानेर निकाल्नुपर्छ।’ (हितोपदेश २०:५) एक दिन एक जना जोसिलो सेवकाई सेवकले प्राचीनलाई मण्डलीमा अझ धेरै कसरी मदतकारी हुने भनेर सोधे। त्यस जवानसित राम्रो चिनजान भएका उक्‍त प्राचीनले आफ्नो बाइबल खोलेर १ तिमोथी ३:३ देखाए। त्यहाँ नियुक्‍त पुरुष “व्यवहारिक” [ NW ] हुनुपर्छ भनिएको छ। तिनले त्यस जवान व्यक्‍तिलाई अरूसित व्यवहार गर्दा कसरी व्यवहारिक हुनसक्छन्‌ भनी दयालु ढंगमा बताए। कुरा नघुमाई ठाडै भनेकोमा के त्यस जवान भाइले चित्त दुखाए? अहँ, दुखाएनन्‌! तिनी भन्छन्‌, “प्राचीन भाइले बाइबल चलाउनुभयो। त्यसैले यो सल्लाह यहोवाबाट आएको हो भनी मैले बुझें।” त्यस सेवकाई सेवकले कृतज्ञता साथ सल्लाह लागू गरेर राम्रो प्रगति गरिरहेका छन्‌।

१८. (क) एक जवान साक्षीलाई स्कूलमा प्रलोभनको प्रतिरोध गर्न कुन कुराले मदत गऱ्‍यो? (ख) प्रलोभनहरू सामना गर्नुपर्दा तपाईं कुन बाइबल पदहरू सम्झनुहुन्छ?

१८ परमेश्‍वरको वचनले जवानहरूलाई ‘जवानीका अभिलाषाहरूबाट भाग्न’ पनि मदत गर्नसक्छ। (२ तिमोथी २:२२) हालसालै स्कूलको पढाइ सिद्धाएकी एक जवान साक्षीले आफ्नो जीवनभरि केही खास बाइबल पदहरू मनन गरेर व्यवहारमा उतार्दा प्रलोभनहरूको प्रतिरोध गर्न सकिन्‌। तिनले अक्सर हितोपदेश १३:२० लिपिबद्ध सल्लाहबारे सोच्ने गर्थिन्‌। त्यहाँ यसो भनिएको छ: “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ।” त्यहीअनुरूप तिनले धर्मशास्त्रीय सिद्धान्तहरूलाई साँच्चै आदर गर्ने व्यक्‍तिहरूसित मात्र मित्रता गाँसिन्‌। तिनले यस्तो तर्क गरिन्‌: “म पनि अरू केटाकेटीजस्तै त हुँ नि। गलत साथीहरूसित मेरो हेलमेल भयो भने म मेरा साथीहरूलाई नै खुसी पार्न चाहन्छु र यसले गर्दा म पनि समस्यामा पर्न के बेर।” दोस्रो तिमोथी १:८ मा लिपिबद्ध पावलको सल्लाहले पनि तिनलाई मदत गऱ्‍यो। पावलले यस्तो लेखे: “हाम्रा प्रभुको साक्षीको शर्म नमान, . . . तर परमेश्‍वरको शक्‍तिअनुसार सुसमाचारको निम्ति कष्ट भोग।” त्यही सल्लाहअनुरूप उनी निडर भई आफ्ना सहपाठीहरूलाई हरेक अवसरमा आफ्नो बाइबल आधारित विश्‍वासबारे बताउँथिन्‌। तिनले कक्षामा मौखिक रिपोर्ट पेश गर्ने काम पाउँदा सधैं परमेश्‍वरको राज्यसम्बन्धी निपुणता साथ साक्षी दिन पाउने विषय छान्थिन्‌।

१९. एक युवकले संसारका दबाउहरूको प्रतिरोध गर्न नसक्नुको कारण के थियो तर तिनलाई कुन कुराले आध्यात्मिक बल दियो?

१९ हामी कथंकदाचित्‌ “धर्मीको चाल[बाट]” तर्कियौं भने पनि परमेश्‍वरको वचनले हाम्रो चाल सच्याउन मदत गर्नसक्छ। (हितोपदेश ४:१८) अफ्रिकाका एक युवकले व्यक्‍तिगत तवरमा नै यो तथ्य अनुभव गरे। यहोवाको साक्षीले तिनलाई भेट्‌न आउँदा तिनी बाइबल अध्ययन गर्न राजी भए। तिनलाई आफूले सिकेको कुरा राम्रो लाग्थ्यो तर चाँडै तिनी स्कूलमा बरालिए। समय बित्दै जाँदा तिनले अनैतिक जीवन बिताउन थाले। तर तिनी भन्छन्‌, “मेरो अन्तस्करणले त मलाई घोचिरहन्थ्यो र मैले सभाहरू पनि जान छोडें।” केही समयपछि तिनले फेरि सभाहरू धाउन थाले। त्यस युवकले पछि यस्तो सोचनीय टिप्पणी गरे: “यी सबै हुनुको मुख्य कारण मैले के थाह पाएँ भने, म आध्यात्मिक तवरमा भोकाइरहेको थिएँ। म व्यक्‍तिगत अध्ययन गर्दिनँथें। त्यसैकारण मैले प्रलोभनको प्रतिरोध गर्न सकिनँ। प्रहरीधरहाराब्यूँझनुहोस्‌! पढ्‌न थालेपछि बिस्तारै आध्यात्मिक बल पाउन थालें र जीवनलाई सही बाटोमा ल्याउन सकें। ममा परिवर्तन देख्ने मानिसहरूको निम्ति यो एउटा राम्रो साक्षी थियो। मैले बप्तिस्मा लिएँ र म अहिले खुसी छु।” आफ्ना शारीरिक कमजोरीहरूमाथि विजय हासिल गर्न यस युवकलाई कुन कुराले बल दियो? तिनले नियमित तवरमा व्यक्‍तिगत बाइबल अध्ययन गरेर आध्यात्मिक बल पाए।

२०. जवानहरूले कसरी शैतानका आक्रमणहरूको प्रतिरोध गर्नसक्छन्‌?

२० मसीही जवानहरू हो, तपाईंहरूले अहिले निकै दबाउहरूको सामना गर्नुपर्छ! शैतानका आक्रमणहरूको प्रतिरोध गर्ने हो भने तपाईंले नियमित तवरमा आध्यात्मिक भोजन लिनैपर्छ। सम्भवतः आफू पनि जवानै भएको हुँदा भजनरचतियालाई यो कुरा थाह थियो। यहोवाले उहाँको वचन दिनुभएकोमा तिनले धन्यवाद दिए र यसो गरेमा ‘जवान मानिसले आफ्नो चालचलन शुद्ध’ राख्नसक्छ।—भजन ११९:९.

परमेश्‍वरले जता डोऱ्‍याउनुहुन्छ, हामी त्यतै जानेछौं

२१, २२. हामी किन सत्यको मार्ग असाध्यै गाह्रो छ भन्‍ने निष्कर्षमा पुग्नुहुँदैन?

२१ यहोवाले इस्राएल राष्ट्रलाई मिश्रबाट छुटकारा दिनुभएर प्रतिज्ञा गरिएको देशमा लैजानुभयो। मानव दृष्टिकोणबाट हेर्दा उहाँले लैजानुभएको मार्ग अनावश्‍यक ढंगमै कष्टदायी जस्तो देखिएला। भूमध्यसागरको छेउबाट सीधै सजिलो मार्ग नलिई यहोवाले आफ्ना जनहरूलाई मरुभूमिको लामो गाह्रो बाटोबाट लैजानुभयो। तथापि, यो वास्तवमा परमेश्‍वरले गर्नुभएको दयालु कार्य थियो। समुद्री मार्ग छोटो भए तापनि इस्राएलीहरू वैरभावी पलिश्‍तीहरूको बाटो भएर जानुपर्थ्यो। अर्को मार्ग रोजेर यहोवाले आफ्ना जनहरूलाई पलिश्‍तीहरूसितको मुठभेडबाट बचाउनुभयो।

२२ त्यस्तै गरी आज यहोवाले हामीलाई डोऱ्‍याइरहनु भएको मार्ग कहिलेकाहीं गाह्रो देखिनसक्छ। हरेक हप्ता हामी मसीही सभाहरू, व्यक्‍तिगत अध्ययन र क्षेत्र सेवकाई लगायत अन्य मसीही गतिविधिहरूमा व्यस्त हुन्छौं। अन्य मार्गहरू सजिलो देखिएलान्‌। तर हामीले परमेश्‍वरको मार्ग पछ्याइ रह्‍यौं भने मात्र हामीले कडा मेहनत गरेर पुग्न खोजेको गन्तव्यस्थानमा पुग्नेछौं। तसर्थ, यहोवाबाट महत्त्वपूर्ण निर्देशनहरू लिन नछोडौं र सधैंभरि “सोझो मार्गमा” चलिरहौं!—भजन २७:११.

के तपाईं बुझाउन सक्नुहुन्छ?

हामी विशेष गरी मसीही सभाहरू नियमित तवरमा धाउनुपर्ने महत्त्वबारे किन सजग हुनुपर्छ?

आफ्ना केटाकेटीलाई सभाहरूमा ध्यान दिन आमाबाबुले कसरी मदत गर्नसक्छन्‌?

ध्यान दिएर सुन्‍नुमा के के समावेश छ?

सभाहरूमा टिप्पणी गर्न हामीलाई कुन कुराले मदत गर्नसक्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६, १७-मा भएको चित्र]

मसीही सभाहरू धाउँदा हामीले यहोवाको दिन मनमा राख्न मदत पाउँछौं

[पृष्ठ १८-मा भएका चित्रहरू]

मसीही सभाहरूमा यहोवाको प्रशंसा गर्ने विभिन्‍न तरिकाहरू छन्‌