सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विनम्रता शान्ति बढाउने गुण

विनम्रता शान्ति बढाउने गुण

विनम्रता शान्ति बढाउने गुण

संसारमा सबैले विनम्रता झल्काए कत्ति मनोहर हुन्थ्यो। मानिसहरूले अरूबाट अचाक्ली माग गर्नेथिएनन्‌, परिवारका सदस्यहरूबीच कचिंगल कम हुनेथियो, संस्थानहरूबीच त्यति प्रतिस्पर्धा हुनेथिएन अनि राष्ट्रहरू यत्तिको अहंकारी हुनेथिएनन्‌। के तपाईं त्यस्तो वातावरणमा बस्न चाहनुहुन्छ?

यहोवा परमेश्‍वरका साँचो सेवकहरू उहाँले प्रतिज्ञा गर्नुभएको नयाँ संसारको प्रतीक्षामा छन्‌ र त्यतिबेला सबैले विनम्रतालाई कमजोरी होइन, सामर्थ्य र सद्‌गुण ठान्‍नेछन्‌। (२ पत्रुस ३:१३) भनौं भने, तिनीहरूले विनम्रता अहिले पनि खेती गरिरहेका छन्‌। किन? किनभने यहोवा तिनीहरूबाट यही चाहनुहुन्छ। अगमवक्‍ता मीकाले यस्तो लेखे: “ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू, र तेरा परमेश्‍वरसित नम्र भएर हिंड़नू।”—मीका ६:८.

विनम्रताको थुप्रै अर्थ लाग्नसक्छ। जस्तै, छलकपट वा फोस्रो घमण्ड नभएको र आफ्नो क्षमता, उपलब्धि र सम्पत्तिबारे धाक नदेखाउने स्वभाव भएको। एउटा पुस्तकअनुसार विनम्रता भनेको आफ्नो “सीमा बुझ्नु” पनि हो। विनम्र मानिसले असल आचरणको सीमा उल्लंघन गर्दैन। उसले गर्नुपर्ने र गर्नसक्ने कुराको पनि सीमा छ भनेर मानिलिन्छ। उसलाई आफ्नो अधिकारमा नभएका कुराहरू पनि छन्‌ भनेर राम्ररी थाह हुन्छ। हामी पक्कै पनि विनम्र मानिसहरूतर्फ आकर्षित हुन्छौं। अंग्रेज कवि जोसेफ एडिसनले लेखे, “साँचो विनम्रताभन्दा मनोहर गुण अरू कुनै छैन।”

विनम्रता भनेको असिद्ध मानिसहरूको जन्मजात गुण होइन। हामीले यो गुण विकास गर्ने प्रयास गर्नुपर्छ। हाम्रो प्रोत्साहनको लागि विनम्रता झल्किने थुप्रै उदाहरणहरू परमेश्‍वरको वचनमा लिपिबद्ध गरिएको छ।

दुई विनम्र राजा

यहोवा परमेश्‍वरको असाध्यै वफादार सेवकहरूमध्ये दाऊद पनि एक हुन्‌। तिनी इस्राएलको भावी राजा नियुक्‍त हुँदा जवानै थिए। त्यसपछि, त्यतिबेला शासन गरिरहेका राजा शाऊलले दाऊदलाई मार्न खोजेर अनि भगुवा जीवन बिताउन लगाएर असाध्यै खेदो गरे।—१ शमूएल १६:१, ११-१३; १९:९, १०; २६:२, ३.

त्यस्तो अवस्थामा समेत दाऊदले आफ्नो ज्यान जोगाउन गर्नसक्ने कुराहरूको सीमा छ भनेर मानि लिए। एकचोटि उजाडस्थानमा छँदा दाऊदले सुतिरहेका राजा शाऊललाई हानि गर्नदेखि अबीशैलाई रोक्दै यसो भने: “मैले परमप्रभुको अभिषिक्‍तको विरुद्धमा हात कहिले उठाउन नपरोस।” (१ शमूएल २६:८-११) शाऊललाई राजाबाट हटाउने काम उनको होइन भनेर दाऊदलाई थाह थियो। तसर्थ, दाऊदले उचित आचरणको सीमा बुझेर विनम्रता देखाए। त्यसरी नै, परमेश्‍वरको वर्तमान समयका सेवकहरूलाई मानव जीवन खतरामा परे तापनि “यहोवाको नजरमा” तिनीहरूले गर्न नसक्ने कतिपय कुराहरू छन्‌ भनेर थाह छ।—प्रेरित १५:२८, २९; २१:२५.

राजा दाऊदका छोरा सुलेमानले पनि जवान छँदा विनम्रता देखाए तर अलि फरक तरिकामा। सुलेमानलाई राजा नियुक्‍त गर्दा तिनलाई राजकीय जिम्मेवारीहरू सँभाल्न आफू असक्षम छु जस्तो लाग्यो। तिनले यस्तो प्रार्थना गरे: “हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले म सानै बालक मात्र र अगुवाइ गर्नमा निपुण नभए तापनि आफ्नो दासलाई मेरा पिता दाऊदको सट्टामा राजा तुल्याउनुभयो।” स्पष्टतः सुलेमान आफ्नो क्षमता र अनुभवको कमीबारे सजग थिए। तिनी विनम्र भए, कुनै छलकपट वा फोस्रो घमण्ड देखाएनन्‌। सुलेमानले यहोवासित समझशक्‍ति मागे र तिनले त्यो पाए पनि।—१ राजा ३:४-१२.

मसीह र उहाँको अगुवा

बप्तिस्मा दिने यूहन्‍नाले सुलेमानको समयभन्दा १,००० वर्षपछि मसीहको लागि बाटो तयार पार्ने काम गरे। अभिषिक्‍त जनको अगुवाको हैसियतमा यूहन्‍नाले बाइबलको भविष्यवाणी पूरा गर्दैथिए। तिनले आफ्नो यस सुअवसरको धाक देखाउन सक्थे। यूहन्‍नाले आफ्नै आदर पनि खोज्नसक्थे किनभने तिनी मसीहको नजिकैको नातेदार थिए। तर तिनले आफू येशूको जुत्ताको फिता खोल्नसमेत योग्यका छैनन्‌ भने। अनि येशू यर्दन नदीमा बप्तिस्मा लिन हाजिर हुँदा यूहन्‍नाले यसो भने: “मलाई बरु तपाईंबाट बप्तिस्मा लिनु आवश्‍यक छ, र के तपाईं मकहाँ आउनुहुने?” यसैबाट प्रस्ट हुन्छ, यूहन्‍ना धाक दिने व्यक्‍ति थिएनन्‌। तिनी विनम्र थिए।—मत्ती ३:१४; मलाकी ४:५, ६; लूका १:१३-१७; यूहन्‍ना १:२६, २७.

बप्तिस्मा लिइसकेपछि येशूले पूर्ण-समय सेवकाई थाल्नुभएर परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नुभयो। येशू सिद्ध व्यक्‍ति हुनु भए तापनि उहाँले भन्‍नुभयो: “म आफै केही गर्नसक्‍तिनँ, . . . म आफ्नो इच्छा होइन, तर मलाई पठाउनेको इच्छा खोज्दछु।” साथै, येशूले मानिसहरूको प्रशंसा खोज्नुभएन तर आफूले गरेको सबै कुराको महिमा यहोवालाई दिनुभयो। (यूहन्‍ना ५:३०, ४१-४४) कस्तो विनम्रता!

त्यसकारण स्पष्ट छ, यहोवाका वफादार सेवकहरू जस्तै, दाऊद, सुलेमान, बप्तिस्मा दिने यूहन्‍ना र सिद्ध मानिस येशू ख्रीष्टले समेत विनम्रता देखाउनुभयो। तिनीहरूले घमण्ड गरेनन्‌, फोस्रो घमण्ड र छलकपटले भरिएका थिएनन्‌ अनि आफ्नो सीमा उल्लंघन गरेनन्‌। तिनीहरूको उदाहरण मात्र पनि यहोवाका वर्तमान सेवकहरूको लागि विनम्रता खेती गरेर प्रदर्शित गर्ने ठोस कारण हो। यद्यपि, अरू कारणहरू पनि छन्‌।

अहिले मानवजातिको गन्जागोलपूर्ण समयमा साँचो मसीहीहरूको लागि विनम्रता अत्यन्तै मूल्यवान्‌ गुण हो। यो गुणले मानिसहरूलाई यहोवा परमेश्‍वर, सँगी मानव र आफैसित शान्ति कायम गर्न मदत गर्छ।

यहोवा परमेश्‍वरसित शान्ति

यहोवाले साँचो उपासनाको लागि तोक्नुभएको सीमाभित्र रह्‍यौं भने मात्र उहाँसित शान्ति कायम राख्न सम्भव हुन्छ। हाम्रा प्रथम मातापिता, आदम र हव्वाले परमेश्‍वरले तोक्नुभएको सीमा उल्लंघन गरे र विनम्र हुन चुक्ने पहिलो व्यक्‍तिहरू भए। तिनीहरूले यहोवासितको राम्रो सम्बन्ध, आफ्नो घर, भविष्य, जीवन सबै गुमाए। (उत्पत्ति ३:१-५, १६-१९) तिनीहरूले असाध्यै ठूलो मोल चुकाउनुपऱ्‍यो!

हामी आदम र हव्वाको पतनबाट पाठ सिकौं किनभने साँचो उपासनाले हामी के कति गर्न सक्छौं, त्यसमा सीमा तोकेको छ। जस्तै, बाइबल भन्छ, “व्यभिचारीहरू, मूत्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, गाली गर्नेहरू, लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैन।” (१ कोरिन्थी ६:९, १०) यहोवाले यी सीमाहरू हाम्रै भलाइको लागि तोक्नुभएको हो र त्यो सीमा उल्लंघन नगरेर हामी बुद्धि झल्काउँछौं। (यशैया ४८:१७, १८) हितोपदेश ११:२ (नयाँ संशोधित संस्करण) यसो भन्छ: “नम्रताले बुद्धि ल्याउँछ।”

कुनै एउटा धार्मिक संगठनले हामी यी सीमाहरू उल्लंघन गरेर पनि यहोवासित शान्ति कायम राख्नसक्छौं भन्छ भने नि? त्यो संगठनले हामीलाई बहकाउन खोजिरहेको छ। अर्कोतर्फ, विनम्रताले हामीलाई यहोवासित घनिष्ठ सम्बन्ध राख्न मदत गर्छ।

सँगी मानवहरूसित शान्ति

विनम्रताले सँगी मानवहरूसित पनि शान्तिपूर्ण सम्बन्ध सृजना गराउँछ। जस्तै, आमाबाबुले भौतिक कुराहरूमा सन्तुष्ट भएर आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिंदा तिनीहरूका छोराछोरीले पनि त्यस्तै मनोभाव राख्ने सम्भावना बढी हुन्छ। अनि छोराछोरीले सधैं आफूले खोजेका कुराहरू नपाए तापनि सन्तुष्ट रहन सिक्छन्‌। यसले तिनीहरूलाई विनम्र भई जीवन बिताउन मदत गर्छ र पारिवारिक जीवन पनि अझ शान्तिमय हुन्छ।

अरूमाथि निरीक्षण गर्नेहरू विशेष गरी विनम्र हुन र आफ्नो अख्तियारको दुरुपयोग नगर्न होसियार हुनुपर्छ। उदाहरणका लागि, मसीहीहरूलाई यस्तो निर्देशन दिइएको छ: “लेखिएका कुराभन्दा बढ़ता गर्नुहुन्‍न।” (१ कोरिन्थी ४:६) अरूलाई आफ्नो व्यक्‍तिगत रुचिअनुसारै चल्न दबाउ दिनु हुँदैन भनेर मण्डलीका प्राचीनहरूले बुझेका छन्‌। बरु, आचरण, पहिरन, कोरीबाटी वा मनोरञ्जनको सन्दर्भमा सही मार्ग पछ्याउने प्रोत्साहन दिन परमेश्‍वरको वचनलाई नै आधार मान्छन्‌। (२ तिमोथी ३:१४-१७) प्राचीनहरूले धर्मशास्त्रीय सीमा उल्लंघन नगरेको देखेपछि मण्डलीका सदस्यहरूले यी पुरुषहरूको आदर गर्छन्‌ र यसले गर्दा मण्डलीमा न्यानो, मायालु र शान्तिपूर्ण वातावरण सृजना हुन्छ।

आफैसित शान्ति

विनम्रता विकास गर्नेहरूले भित्री शान्ति पाउँछन्‌। विनम्र व्यक्‍ति महत्त्वाकांक्षाले पिरोलिंदैन। यसको मतलब उसको कुनै व्यक्‍तिगत लक्ष्यहरू नै हुँदैन भनेको होइन। उदाहरणका लागि, उसले सेवाका थप सुअवसरहरूको इच्छा गर्छ तर परमेश्‍वरको बाटो हेर्छ अनि आफूले पाएका मसीही सुअवसरहरूको श्रेय सबै परमेश्‍वरलाई नै दिन्छ। यसलाई आफ्नै व्यक्‍तिगत उपलब्धिहरू भन्ठान्दैन। यसले गर्दा विनम्र व्यक्‍ति “शान्तिका परमेश्‍वर” यहोवासित अझ घनिष्ठ हुन्छ।—फिलिप्पी ४:९.

मानि लिनुहोस्‌, कहिलेकाहीं हामीलाई अरूले आफूलाई वास्तै नगरेको जस्तो लाग्छ। घमण्डी भएको कारण अरूले हाम्रो याद गरेको भन्दा हामी विनम्र भएकोले अरूले वास्ता नगरेको बेस होइन र? विनम्र व्यक्‍तिहरूलाई आफ्नो महत्त्वाकांक्षाले तड्‌पाउँदैन। तसर्थ, तिनीहरूसित भित्री शान्ति हुन्छ र यो भावनात्मक अनि शारीरिक सुस्वास्थ्यको लागि लाभकारी हो।

विनम्रता विकास गरेर त्यसलाई कायमै राख्ने

आदम र हव्वा विनम्र हुन सकेनन्‌ र तिनीहरूले यो अवगुण आफ्ना सन्ततिहरूलाई पनि सारिदिए। हाम्रा प्रथम मातापिताले गरेको जस्तै गल्ती हुन नदिन हामीलाई कुन कुराले मदत गर्नसक्छ? हामीले विनम्रताको राम्रो गुण कसरी विकास गर्नसक्छौं?

सर्वप्रथम, ब्रह्‍माण्डको सृष्टिकर्ता, यहोवासित हाम्रो सम्बन्ध कस्तो छ, त्यो राम्ररी बुझ्नुपर्छ। परमेश्‍वरका उपलब्धिहरूसित हाम्रो कुनचाहिं व्यक्‍तिगत उपलब्धि तुलना गर्नसक्छौं र? यहोवाले आफ्नो वफादार जन अय्यूबलाई प्रश्‍न गर्नुभयो: “पृथ्वीको जग मैले बसाल्दा तँ कहाँ थिइस्‌? तैंले जान्दछस्‌ र बुझ्दछस्‌ भने मलाई बता।” (अय्यूब ३८:४) अय्यूबले कुनै जवाफ दिन सकेनन्‌। के हाम्रो ज्ञान, क्षमता र अनुभव पनि सीमित छैन र? के आफ्नो सीमितता स्वीकार्नुमा हाम्रै भलाइ छैन र?

बाइबल अझ यसो भन्छ: “पृथ्वी र त्यसमा भएका जे जति थोक छन्‌, सबै परमप्रभुकै हुन्‌। संसार र त्यसमा बास गर्नेहरू सबै पनि।” साथै, “जंगलको हरेक जन्तु, र हजारौं डाँड़ाहरूका गाई-भैंसीहरू” उहाँकै हुन्‌। यहोवा यसो भन्‍न सक्नुहुन्छ: “चाँदी मेरै हो, र सुन पनि मेरै हो।” (भजन २४:१; ५०:१०; हाग्गै २:८) यहोवासित तुलना गर्न हामीले आफ्ना के कति सम्पत्तिहरू देखाउन सक्छौं? एकदमै धनाढ्य व्यक्‍तिले पनि आफूसित भएको धनसम्पत्तिको घमण्ड गर्नुपर्ने कुनै कारणै छैन! त्यसकारण, प्रेरित पावलले रोमका मसीहीहरूलाई दिएको यो सल्लाह पालन गर्नु बुद्धिमानी हो: “मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म भन्दछु, जसले आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढ़ी नसम्झ, तर परमेश्‍वरले हरेकलाई बाँड़िदिनुभएको विश्‍वासको नापबमोजिम सुबुद्धिले सम्झ।”—रोमी १२:३.

विनम्रता विकास गर्न चाहने परमेश्‍वरका सेवकहरूको हैसियतमा हामीले प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयमजस्ता आत्माका फलको लागि प्रार्थना गर्नुपर्छ। (लूका ११:१३; गलाती ५:२२, २३) किन? किनभने यी सबै गुणहरूले हामीलाई विनम्र हुन मदत गर्नेछ। उदाहरणका लागि, सँगी मानवहरूप्रति प्रेमले हामीलाई घमण्डी नहुन अनि छलकपट नगर्न मदत गर्नेछ। अनि आत्मसंयमले हामीलाई जथाभावी नगर्न र सोचविचार गरेर मात्र कामकुरा गर्न मदत गर्नेछ।

हामी होसियार रहौं! विनम्रता नगुमाउने पासो विरुद्ध हामी सधैं होसियार रहनुपर्छ। माथि उल्लिखित दुई राजाहरू सदैव विनम्र थिएनन्‌। राजा दाऊदले यहोवाको इच्छा विपरीत कार्य अर्थात्‌ इस्राएलमा मतगणना गरेर आफूखुसी व्यवहार गरे। राजा सुलेमानले विनम्रता गुमाउनेमा चरमसीमा पार गरेर झूटो उपासनामा लागे।—२ शमूएल २४:१-१०; १ राजा ११:१-१३.

यस अभक्‍त संसार रहुञ्जेल विनम्र हुन सधैं सजग भइरहनुपर्छ। तथापि, यो प्रयास बेकार जानेछैन। परमेश्‍वरको नयाँ संसारको मानव समाजमा सबै मानिसहरू विनम्र हुनेछन्‌। तिनीहरूले विनम्रता कमजोरी होइन, सामर्थ्य ठान्‍नेछन्‌। सबै मानिस तथा परिवारहरूले विनम्रताले गर्दा हुने शान्ति अनुभव गर्न पाउँदा कत्ति राम्रो हुनेछ!

[पृष्ठ २३-मा भएको चित्र]

विनम्र भई येशूले सबै कुराको श्रेय यहोवालाई दिनुभयो