सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सुधार स्वीकार्ने उदाहरणीय पुरुष

सुधार स्वीकार्ने उदाहरणीय पुरुष

सुधार स्वीकार्ने उदाहरणीय पुरुष

“जाम्बियाका गोहीहरूले हरेक महिना ३० जना मानिस सिकार बनाउँछन्‌।” एउटा अफ्रिकी अखबारले केही वर्षअघि यस्तो समाचार छापेको थियो। यी घस्रने जन्तुहरूबारे अध्ययन गर्ने जीव विशेषज्ञका अनुसार “एउटा गोही समात्न १२ जना मानिस चाहिन्छ।” बलियो पुच्छर र भयंकर ठूला बंगारा भएका गोहीहरू असाध्यै डरलाग्दा हुन्छन्‌!

गोहीलाई “लिभियाथान” भनेर संकेत गर्दै सृष्टिकर्ताले आफ्नो सेवक अय्यूबलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउन यो “समुद्रको वृहतजन्तु[को]” उदाहरण प्रयोग गर्नुभयो। (अय्यूब ४१:१, ३४) यो घटना लगभग ३,५०० वर्षअघिको ऊज देश अर्थात्‌ उत्तरी अरबतिर भएको हो। यो जन्तुबारे वर्णन गर्दै परमेश्‍वरले अय्यूबलाई यसो भन्‍नुभयो: “त्यसलाई जगाउँदा त्यो कस्तो डरलाग्दो हुन्छ, त्यसको सामने को खड़ा हुनसक्छ?” (अय्यूब ४१:१०) कस्तो सही कुरा! हामी एउटा गोही देखेर त डराउँछौं भने, त्यसलाई सृष्टि गर्नुहुने सृष्टिकर्ता विरुद्ध बोल्न झन्‌ कत्ति डराउनुपर्ने हो! आफ्नो गल्ती स्वीकार्दै अय्यूबले यो पाठप्रति मूल्यांकन व्यक्‍त गरे।—अय्यूब ४२:१-६.

अय्यूबको नाउँ उल्लेख गर्दा तिनले परीक्षा सहन देखाएको विश्‍वासी उदाहरण मनमा आउनसक्छ। (याकूब ५:११) वास्तवमा, अय्यूबको विश्‍वासको गम्भीर परीक्षा हुनुअघि पनि परमेश्‍वर तिनीसित प्रसन्‍न हुनुहुन्थ्यो। परमेश्‍वरको विचारमा त्यतिबेला “परमेश्‍वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने पृथ्वीमा त्योजस्तै निर्दोष र सोझो जीवन व्यतीत गर्ने मानिस” अरू कोही थिएन। (अय्यूब १:८) त्यसकारण, हामी अय्यूबबारे अझ बढी कुरा थाह पाउन उत्प्रेरित हुनुपर्ने हो किनभने यसो गर्दा हामीले पनि परमेश्‍वरलाई कसरी खुसी तुल्याउनसक्छौं भनी बुझ्नेछौं।

परमेश्‍वरसितको सम्बन्ध सर्वमहत्त्वपूर्ण थियो

अय्यूब धनी थिए। सुनबाहेक तिनीसित ७,००० भेडा-बाख्रा, ३,००० ऊँट, ५०० गधा, १,००० हल गोरु र धेरै कमारा कमारीहरू थिए। (अय्यूब १:३) तर अय्यूबले धनसम्पत्तिमा होइन यहोवामा भरोसा राखे। तिनले यस्तो तर्क गरे: “यदि मैले सुनमा मेरो भरोसा राखेको भए, र निखुर सुनमा मैले आशा गरेको भए, यदि मैले मेरो धन–सम्पत्तिमा र सम्पत्तिको बढ़तिमा रमाहट गरेको भए, . . . त्यो ता व्यवस्थाको विरुद्धमा एउटा अपराध हुनेथियो, किनभने म स्वर्गमा हुनुहुने परमेश्‍वरको विरुद्धमा अविश्‍वासी हुनेथिएँ।” (अय्यूब ३१:२४-२८) अय्यूबले जस्तै हामीले पनि यहोवासितको घनिष्ठ सम्बन्धलाई भौतिक धनसम्पत्तिभन्दा महत्त्वपूर्ण ठान्‍नुपर्छ।

सँगी मानवहरूसित न्यायी व्यवहार

अय्यूब आफ्ना नोकर चाकरहरूसित कस्तो व्यवहार गर्थे? नोकर चाकरलाई अय्यूबसित कुरा गर्न सजिलो लाग्थ्यो र अय्यूबलाई तिनीहरूले न्यायी ठान्थे भन्‍ने कुरा स्वयम्‌ अय्यूबकै कुराबाट स्पष्ट हुन्छ: “मैले मेरो दास वा दासीको बिन्तीलाई इन्कार गरेको भए, तिनीहरूले मकहाँ आफ्नो उजूर ल्याउँदा मैले त्यो इन्कार गरेको छु भने, परमेश्‍वर देखा पर्नुहुँदा म के गरूँ? उहाँले हस्तक्षेप गर्नुहुँदा मैले के जवाफ दिने?” (अय्यूब ३१:१३, १४) अय्यूबले यहोवाको दयालाई एकदमै अनमोल ठान्थे र आफ्ना दासहरूसित पनि दयालु व्यवहार गर्थे। मसीही मण्डलीमा निरीक्षकको भूमिका निर्वाह गर्नुपर्नेहरूका लागि कस्तो राम्रो उदाहरण! तिनीहरू पनि न्यायी, निष्पक्ष र अरूले कुरा गर्न सजिलो ठान्‍ने व्यक्‍ति हुनुपर्छ।

अय्यूबले आफ्नो परिवार बाहिरका मानिसहरूप्रति पनि चासो राख्थे। अरूप्रति चासो देखाउँदै तिनले यसो भने: “यदि गरीबहरूलाई तिनीहरूले चाहिएका कुरा दिनलाई मैले इन्कार गरेको छु भने, अथवा विधवाको आँखा आँसुले धमिल्याइदिएको छु भने . . . मानिसहरूले अदालतमा मेरो पक्ष लिनेछन्‌ भनी जानेर यदि मैले मेरो हात निर्दोषमाथि उठाएको छु भने, मेरो पाता काँधबाट खुस्कोस्‌, मेरो पाखुरा जोर्नीबाट खुस्कोस्‌!” (अय्यूब ३१:१६-२२) हामी पनि मण्डलीमा कठिनाइ भोगिरहेकाहरूप्रति दयालु होऔं।

आफ्ना सँगी मानवहरूप्रति निःस्वार्थ चासो भएकोले अय्यूबले नचिनेका मानिसहरूलाई पनि अतिथिको रूपमा स्वागत गर्थे। अतः तिनले यसो भन्‍न सके: “मैले यात्रीहरूलाई मेरो घरमा स्वागत गरें, र तिनीहरूलाई राती सड़कहरूमा सुत्नदिइनँ।” (अय्यूब ३१:३२) परमेश्‍वरका वर्तमान सेवकहरूका लागि कस्तो राम्रो उदाहरण! बाइबल सच्चाइप्रति भर्खरै चासो राखेर राज्य भवन आउन थालेकाहरूलाई हार्दिक स्वागत गर्दा हाम्रै आध्यात्मिक प्रगति हुनसक्छ। निस्सन्देह, परिभ्रमण निरीक्षक तथा अरू मसीहीहरूलाई पनि हामीले मायालु स्वागत गर्नुपर्छ।—१ पत्रुस ४:९; ३ यूहन्‍ना ५-८.

अय्यूब आफ्ना शत्रुहरूप्रति समेत नराम्रो दृष्टिकोण राख्दैनथे। आफूलाई घृणा गर्ने व्यक्‍तिमाथि कुनै विपत्ति आइपर्दा तिनी रमाउँदैनथे। (अय्यूब ३१:२९, ३०) बरु, तिनी त्यस्ता मानिसहरूका लागि प्रार्थना गर्न तयार थिए भन्‍ने प्रमाण, तिनलाई झूटा सान्त्वना दिने तीन जना व्यक्‍तिहरूको निम्ति प्रार्थना गर्न तयार भएको घटनाबाट पाउँछौं।—अय्यूब १६:२; ४२:८, ९; मत्ती ५:४३-४८ तुलना गर्नुहोस्‌।

यौन शुद्धता

अय्यूब आफ्नी पत्नीप्रति वफादार थिए। तिनले अरू स्त्रीप्रति आफ्नो मनमा कहिल्यै पनि अनुचित विचारहरू बढ्‌न दिएनन्‌। अय्यूबले भने: “कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले दृढ़ संकल्प गरें। यदि मेरो हृदय कुनै स्त्रीले मोहित पारेको रहेछ भने, अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने, मेरी पत्नी अर्को मानिसको कमारी भइजाओस्‌, र अरू मानिसहरूले त्यससित सम्भोग गरून्‌। (तर त्यो ता दुष्ट कर्म हो, न्यायको सामने एउटा अपराध हो।)”—अय्यूब ३१:१, ९-११.

अय्यूबले आफ्नो हृदयलाई अनैतिक इच्छाहरूले भ्रष्ट हुन दिएनन्‌। बरु, तिनी धर्मी मार्गमा हिंडे। अनैतिक प्रलोभनहरू विरुद्ध लड्‌ने यो विश्‍वासी मानिस देखेर यहोवा परमेश्‍वर पक्कै प्रसन्‍न हुनुहुन्थ्यो।—मत्ती ५:२७-३०.

परिवारको आध्यात्मिकताप्रति सचेत

कहिलेकाहीं अय्यूबका छोराहरूले आयोजना गर्ने भोजहरूमा तिनका सबै छोराछोरी सामेल हुन्थे। यी भोजहरू सिद्धिएपछि, कतै आफ्ना छोराछोरीले यहोवाको विरुद्ध पाप गरे कि भनेर अय्यूब असाध्यै चिन्तित हुन्थे। त्यसकारण अय्यूबले के गर्थे, धर्मशास्त्रीय विवरण यसो भन्छ: “भोज दिने हरेकको पालो सिद्धिएपछि अय्यूबले आफ्ना छोरा–छोरीहरूलाई बोलाएर बिहान सबेरै उठी तिनीहरू प्रत्येकको निम्ति एउटा एउटा होमबलि चढ़ाएर तिनीहरूलाई पवित्र गर्थे। किनभने तिनीहरूले कतै परमेश्‍वरको विरुद्धमा पाप गरेर आफ्ना मनमा ईश्‍वरनिन्दा गरे होलान्‌ भनी तिनी सम्झन्थे। तिनी सधैं यसै गर्थे।” (अय्यूब १:४, ५) अय्यूबको यस्तो व्यवहारले यहोवा अनि उहाँका मार्गहरूप्रति श्रद्धेय भय राख्नुपर्छ भनेर तिनको परिवारका सदस्यहरूको मनमा गहिरो छाप पारेको हुनुपर्छ!

आज, मसीही परिवारका शिरले आफ्नो परिवारलाई परमेश्‍वरको वचन, बाइबलका कुरा सिकाउनुपर्छ। (१ तिमोथी ५:८) अनि आफ्नो परिवारका सदस्यहरूको लागि प्रार्थना गर्नु एकदमै उपयुक्‍त छ।—रोमी १२:१२.

परीक्षा आइपर्दा वफादार भई सहे

बाइबल पढ्‌ने थुप्रै व्यक्‍तिहरूलाई अय्यूबले भोगेका कठिन परीक्षाहरूबारे थाह छ। कठिन परिस्थितिमा अय्यूबले परमेश्‍वरलाई सराप्नेछन्‌ भनेर शैतान अर्थात्‌ दियाबलले दाबी गऱ्‍यो। यहोवाले यो चुनौती स्वीकार्नुभयो र शैतानले तुरुन्तै अय्यूबमाथि एकपछि अर्को विपत्ति ल्यायो। तिनले सबै गाईवस्तु गुमाउनुपऱ्‍यो। अझ दुःखलाग्दो कुरा त के हो भने, तिनका सबै छोराछोरीको मृत्यु भयो। त्यसको थोरै समयपछि, शैतानले अय्यूबको टाउकोदेखि पैतालासम्म खटिरा उब्जाइदियो।—अय्यूब, अध्याय १ र २.

परिणाम के भयो? आफ्नी पत्नीले परमेश्‍वरलाई सराप्ने सल्लाह दिंदा अय्यूबले यसो भने: “तिमी एक मूर्ख आइमाईजस्तै कुरा गर्छौ। परमेश्‍वरबाट सुख चाहिं भोगेर हामीले दुःख नभोग्नू र?” बाइबलले अझ यसो पनि भन्छ: “यी सबै कुरामा अय्यूबको मुखबाट एउटै पापको कुरा निस्केन।” (अय्यूब २:१०) हो, अय्यूबले वफादार भएर परीक्षा सहे अनि दियाबललाई झूटा साबित गरिदिए। हामी पनि त्यसरी नै परीक्षाहरू सहन सकौं र निःस्वार्थ प्रेमले यहोवाको सेवा गर्छौं भनी आफ्नो सेवाले प्रमाणित गर्न सकौं।—मत्ती २२:३६-३८.

नम्र भई सुधार स्वीकारे

अय्यूब थुप्रै कुरामा उदाहरणीय थिए तर सिद्ध भने थिएनन्‌। तिनी आफैले यसो भने: “अशुद्धबाट कसले शुद्ध निकाल्नसक्छ? कसैले सक्‍तैन।” (अय्यूब १४:४; रोमी ५:१२) त्यसकारण, परमेश्‍वरले अय्यूब निर्दोष छन्‌ भन्‍नु सही थियो किनभने तिनले परमेश्‍वर आफ्ना असिद्ध तथा पापी जनहरूबाट जे जति आशा गर्नुहुन्छ, ती सबै गरे। कस्तो राम्रो प्रोत्साहन!

अय्यूबले परीक्षा सहे तापनि तिनको एउटा कमजोरी थियो। तिनले भोग्नुपरेको विपत्तिबारे सुनेपछि तिनलाई सान्त्वना दिन तीन जना साथीहरू आए। (अय्यूब २:११-१३) तिनीहरूले अय्यूबले गम्भीर पाप गरेका कारण यहोवाले दण्ड दिनुभएको हो भन्‍ने आरोप लगाए। यस्तो झूटो आरोप सुनेर अय्यूबको चित्त दुख्नु स्वाभाविकै थियो र तिनले आफ्नो स्पष्टीकरण दिन कुनै कसर छोडेनन्‌। तर स्पष्टीकरण दिने क्रममा तिनले आफ्नो सन्तुलन गुमाए। अय्यूब आफू परमेश्‍वरभन्दा पनि धर्मी छु भन्‍न समेत पछि परेनन्‌!—अय्यूब ३५:२, ३.

परमेश्‍वरले अय्यूबलाई माया गर्नुहुने हुँदा उहाँले तिनको गल्ती देखाउन एक जना जवान केटोलाई चलाउनुभयो। विवरण यसप्रकार छ: “एलीहूलाई रीस उठ्यो। किनभने अय्यूबले आफूलाई परमेश्‍वरभन्दा पनि धेरै धर्मी तुल्याए।” एलीहूले बताएअनुसार अय्यूबले भने, “म निर्दोष छु, तर परमेश्‍वरले मेरो न्यायनै गरिदिनुभएको छैन।” (अय्यूब ३२:२; ३४:५) तैपनि, परमेश्‍वरले अय्यूबका पापहरूको लागि दण्ड दिइरहनुभएको छ भन्‍ने गलत निष्कर्षमा पुग्ने “सान्त्वना” दिन आएका तीन जना साथीहरूको लहैलहैमा एलीहू लागेनन्‌। एलीहूलाई अय्यूबको वफादारीमा कुनै शंका थिएन र तिनले यस्तो सल्लाह दिए: “[यहोवाको] सामने आफूलाई विनम्र तुल्याउनुहोस्‌, र उहाँको वचनको प्रतीक्षा गर्नुहोस्‌।” अय्यूब आफैले स्पष्टीकरण दिनुको साटो यहोवाको प्रतीक्षा गर्नुपर्नेथियो। एलीहूले अय्यूबलाई यस्तो आश्‍वासन दिए: “[परमेश्‍वरको] धार्मिकता न्याय गर्नलाई ढीलो हुँदैन।”—अय्यूब ३५:१४; ३७:२३.

अय्यूबको सोचाइलाई सच्याउनुपऱ्‍यो। त्यसैकारण, यहोवाले मानिसहरू परमेश्‍वरको महानताको सामु कति तुच्छ छन्‌ भनेर एउटा पाठ सिकाउनुभयो। यहोवाले पृथ्वी, समुद्र, ताराले भरिएको आकाश, जीवजन्तु र अरू थुप्रै अद्‌भुत सृष्टि देखाउनुभयो। अन्तमा परमेश्‍वरले लिभियाथान अर्थात्‌ गोहीबारे बताउनुभयो। अय्यूबले नम्र भई सुधार स्वीकारे अनि यो एउटा अर्को असल नमुना हो।

हामीले यहोवाको सेवामा राम्रै गरिरहेको भए तापनि कहिलेकाहीं हामी गल्तीहरू गर्छौं। गम्भीर गल्ती गरेका छौं भने यहोवाले कुनै न कुनै तरिकाद्वारा हामीलाई सच्याउनुहुन्छ। (हितोपदेश ३:११, १२) हाम्रो अन्तस्करणलाई छुने कुनै शास्त्रपद दिमागमा आउनसक्छ। शायद वाच टावर सोसाइटीद्वारा प्रकाशित प्रहरीधरहरा वा अरू कुनै प्रकाशनले आफ्नो गल्तीबारे सजग गराउन केही कुरा बताउनसक्छ। अथवा आफूले कुनै बाइबल सिद्धान्त पालन गर्न चुकेको कुरा सँगी मसीहीले मायालु ढंगमा देखाइ दिनसक्छ। त्यसरी सच्याइँदा हामी कस्तो प्रतिक्रिया देखाउनेछौं? अय्यूबले पश्‍चात्तापी मनोभाव देखाउँदै यसो भने: “म आफूलाई तुच्छ ठान्छु, म धूलो र खरानीमा बसेर पश्‍चाताप गर्दछु।”—अय्यूब ४२:६.

यहोवाबाट इनाम

यहोवाले अय्यूबलाई इनाम दिनुभयो र तिनी थप १४० वर्षसम्म बाँचे। त्यतिबेला तिनले आफूले गुमाएको भन्दा बढी कुराहरू पाए। अय्यूब सधैंभरि बाँच्न त बाँचेनन्‌ तर परमेश्‍वरको नयाँ संसारमा पक्कै पुनरुत्थान हुनेछ।—अय्यूब ४२:१२-१७; इजकिएल १४:१४; यूहन्‍ना ५:२८, २९; २ पत्रुस ३:१३.

हामीले पनि वफादार भई परमेश्‍वरको सेवा गऱ्‍यौं र आफूले पाउने बाइबल आधारित सबै सुधारहरू स्वीकाऱ्‍यौं भने उहाँको अनुग्रह र आशिष्‌ पाउने कुरामा ढुक्क हुनसक्छौं। फलस्वरूप, परमेश्‍वरको नयाँ संसारमा जीवन पाउने पक्का आशा राख्नसक्छौं। सबैभन्दा महत्त्वपूर्ण कुरा त, हामीले परमेश्‍वरको आदर गरिरहेका हुनेछौं। हाम्रो वफादार आचरणले इनाम ल्याउनेछ र साथै मानिसहरूले स्वार्थी कारणले होइन तर पूरा हृदयले यहोवाको सेवा गर्छन्‌ भन्‍ने प्रमाणलाई अझ मजबुत बनाउनेछ। सुधार स्वीकार्ने वफादार अय्यूबले जस्तै हामीले पनि यहोवाको हृदय आनन्दित तुल्याउन पाउनु कस्तो ठूलो सुअवसर!—हितोपदेश २७:११.

[पृष्ठ २६-मा भएका चित्रहरू]

अय्यूबले अनाथ, विधवा र अरूप्रति मायालु चासो देखाए

[पृष्ठ २८-मा भएका चित्रहरू]

नम्र भई सुधार स्वीकारेको कारण अय्यूबले प्रशस्त इनाम पाए