सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामीलाई येशू ख्रीष्टले कसरी मदत गर्न सक्नुहुन्छ

हामीलाई येशू ख्रीष्टले कसरी मदत गर्न सक्नुहुन्छ

हामीलाई येशू ख्रीष्टले कसरी मदत गर्न सक्नुहुन्छ

येशू ख्रीष्ट यस पृथ्वीमा हुनुहुँदा मानिसहरूलाई मदत गर्न गर्नुभएका कुराहरू साँच्चै आश्‍चर्यलाग्दा छन्‌। यसको सत्यतामा शंका गर्ने कुनै ठाउँ नभएकोले एक प्रत्यक्षदर्शीले येशूको जीवनका थुप्रै घटनाहरू सम्झेपछि यसो भने: “येशूले गर्नुभएका अरू पनि धेरै काम छन्‌, जुन एक एक गरी लेखिएका भए, म सम्झन्छु, ती लेखिएका पुस्तकहरू संसारैभरि पनि अटाउनेथिएन।” (यूहन्‍ना २१:२५) येशू पृथ्वीमा हुनुहुँदा विविध क्रियाकलाप गर्नुभएकोले हामी यस्तो प्रश्‍न गर्नसक्छौं: ‘स्वर्गमा उहाँ हाम्रो सहायक कसरी हुन सक्नुहुन्छ? हामीले अहिले येशूको अनुकम्पाबाट कसरी लाभ उठाउनसक्छौं?’

यसको जवाफ एकदमै हृदयग्राही र आश्‍वासनदायी छ। ख्रीष्ट “हाम्रा निम्ति परमेश्‍वरको सामने प्रकट हुनालाई स्वयम्‌ स्वर्गमै प्रवेश हुनुभएको छ” भनी बाइबल बताउँछ। (हिब्रू ९:२४) उहाँले हाम्रोनिम्ति के गर्नुभयो? प्रेरित पावल भन्छन्‌, “[ख्रीष्ट] बोकाहरू र बाछाहरूको रगत होइन, तर आफ्नै रगतद्वारा अनन्त उद्धार प्राप्त गरेर एकैचोटि पवित्रस्थानभित्र [“स्वर्गमै”] पस्नुभयो।”—हिब्रू ९:१२; १ यूहन्‍ना २:२.

कस्तो राम्रो समाचार! येशू स्वर्गमा जानुभएपछि उहाँले मानिसजातिको खातिर गर्नुभएको सुकर्म अन्त भएन, बरु, अझ बढी गर्न सक्नुभयो। किनभने असाध्यै दयालु परमेश्‍वरले येशूलाई “सेवक” नियुक्‍त गर्नुभयो र “स्वर्गहरूमा महामहिमको सिंहासनको दाहिने हाततिर” बसाल्नुभयो।—हिब्रू ८:१, २.

“सेवक”

अतः येशू स्वर्गमा मानिसजातिको निम्ति सेवक हुनुहुनेछ। उहाँले पुरातन समयमा परमेश्‍वरका सेवकहरूको निम्ति इस्राएलका प्रधान पूजाहारीहरूले जस्तै काम गर्नुहुनेछ। अनि त्यो काम के थियो? पावल यसो भन्छन्‌: “जुनसुकै प्रधान पूजाहारी पनि भेटी र बलिदान चढ़ाउन नियुक्‍त भएको हुन्छ। यसकारण [माथि उक्लनुभएको येशू ख्रीष्ट] यो प्रधान पूजाहारीलाई पनि केही चढ़ाउन आवश्‍यक पर्छ।”—हिब्रू ८:३.

येशूले चढाउनुहुने कुरा पुरातन प्रधान पूजाहारीहरूले चढाउने भन्दा धेरै उत्कृष्ट थियो। “बोकाहरू र बाछाहरूको रगत[ले]” त पुरातन इस्राएललाई केही हदसम्म आध्यात्मिक तवरमा स्वच्छ गर्नसक्थ्यो भने “जीवित परमेश्‍वरको सेवा गर्नालाई ख्रीष्टको रगतले तिमीहरूका विवेकलाई शक्‍तिहीन कामहरूबाट कति बढ़ता गरी शुद्ध पार्ला?”—हिब्रू ९:१३, १४.

येशू, उल्लेखनीय सेवक पनि हुनुहुन्छ किनभने उहाँलाई अमरत्व दिइएको छ। पुरातन इस्राएलमा “मृत्युले तिनीहरूलाई रहिरहन नदिएकोले साँच्चिनै धेरै संख्यामा पूजाहारी बनेका थिए।” तर येशू नि? पावल यस्तो लेख्छन्‌: “सधैंभरि रहिरहनुहुने भएको हुनाले उहाँको पूजाहारी पद अटल रहन्छ। यसैकारण पनि उहाँद्वारा परमेश्‍वरको नजीक आउनेहरूलाई उहाँले सम्पूर्ण उद्धार गर्नसक्नुहुन्छ। किनभने तिनीहरूका निम्ति अन्तरबिन्ती गर्नालाई उहाँ सधैंभरि रहनुहुन्छ।” (हिब्रू ७:२३-२५; रोमी ६:९) हो, स्वर्गमा परमेश्‍वरको दायाँ हातमा हाम्रोनिम्ति सेवक हुनुहुन्छ जो ‘हाम्रानिम्ति अन्तरबिन्ती गर्न सधैंभरि रहनुहुन्छ।’ यो हाम्रोलागि कत्तिको अर्थपूर्ण छ, विचार गर्नुहोस्‌ त!

येशू पृथ्वीमा हुनुहुँदा मानिसहरू मदतको निम्ति उहाँकहाँ ओइरिन्थे र कहिलेकाहीं त उहाँको मदत लिन तिनीहरू लामो यात्रा समेत गर्थे। (मत्ती ४:२४, २५) स्वर्गमा येशू सबै राष्ट्रका मानिसहरूलाई मदत गर्न तयार हुनुहुन्छ। स्वर्गमा उहाँको स्थानबाट मदत गर्न सेवकको हैसियतमा तयार हुनुहुन्छ।

येशू कस्तो किसिमको प्रधान पूजाहारी हुनुहुन्छ?

येशू ख्रीष्टबारे सुसमाचारको पुस्तकमा लिपिबद्ध विवरणअनुसार उहाँ मदतकारी र अनुकम्पापूर्ण हुनुहुन्छ भन्‍ने कुरामा कुनै शंका छैन। उहाँ कस्तो आत्मत्यागी हुनुहुन्थ्यो! उहाँ अनि उहाँका चेलाहरू आराम गरिरहेको बेला पनि मानिसहरू भेट्‌न आएको एक चोटि मात्र होइन। आराम गरिरहेको बेला पनि शान्ति दिएनन्‌ भन्ठान्‍नुको साटो उहाँकहाँ मदतको निम्ति आएका मानिसहरूमाथि “टिठाउनुभयो।” येशू थकित, भोको र तिर्खाउँदा समेत “तिनीहरूलाई खुशीसित ग्रहण गर्नुभयो” र साँच्चै पश्‍चात्ताप गर्नेहरूलाई मदत गर्न आफ्नो भोजनको समेत पर्वाह गर्नुभएन।—मर्कूस ६:३१-३४; लूका ९:११-१७; यूहन्‍ना ४:४-६, ३१-३४.

दयाले भरिएर येशूले मानिसहरूको शारीरिक, भावनात्मक र आध्यात्मिक आवश्‍यकता पूरा गर्न ठोस कदम चाल्नुभयो। (मत्ती ९:३५-३८; मर्कूस ६:३५-४४) यसबाहेक उहाँले तिनीहरूलाई चिरकालीन छुटकारा र सान्त्वना पाउने तरिका सिकाउनुभयो। (यूहन्‍ना ४:७-३०, ३९-४२) उदाहरणका लागि, उहाँको यो व्यक्‍तिगत निमन्त्रणा कस्तो मनमोहक छ: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छ। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ।”—मत्ती ११:२८, २९.

येशूले मानिसहरूलाई यति धेरै प्रेम गर्नुहुन्थ्यो कि उहाँले अन्ततः पापी मानिसजातिका निम्ति आफ्नो जीवन नै अर्पण गर्नुभयो। (रोमी ५:६-८) यस सन्दर्भमा प्रेरित पावलले यस्तो तर्क गरे: “[यहोवा परमेश्‍वरले] आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबका निम्ति उहाँलाई सुम्पिदिनुभयो। उहाँले हामीलाई सबै थोक पनि उहाँको साथमा सित्तैंमा कसरी दिनुहुनेछैन र? . . . ख्रीष्ट येशू, जो मर्नुभयो, औ बरू मुर्दाबाट बिउँतनु पनि भयो, र परमेश्‍वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र जसले हाम्रा निम्ति अन्तरबिन्ती पनि गर्नुहुन्छ।”—रोमी ८:३२-३४.

सहानुभूति देखाउनसक्ने प्रधान पूजाहारी

मानवको रूपमा येशूले भोक, प्यास, थकाइ, चिन्ता, पीडा र मृत्यु सबै भोग्नु भयो। उहाँले भोग्नुभएको तनाउ र दबाउले गर्दा अझ विशेष ढंगमा दुःखकष्ट भोगिरहेका मानवजातिको लागि प्रधान पूजाहारी हुनुभयो। पावलले यस्तो लेखे: “मानिसहरूका पापको प्रायश्‍चित गर्नालाई परमेश्‍वर सम्बन्धको कुरामा [येशू] कृपालु र विश्‍वासयोग्य प्रधान पूजाहारी हुनालाई, सबै कुरामा आफ्ना भाइहरूजस्तै उहाँलाई बनिनुपऱ्‍यो। किनकि आफै परीक्षित भई शासना भोग्नुभएकोले परीक्षित हुनेहरूलाई उहाँले सहायता गर्नसक्नुहुन्छ।”—हिब्रू २:१७, १८; १३:८.

येशू मानिसहरूलाई परमेश्‍वरसित नजिक हुन मदत गर्न इच्छुक हुनुका साथै योग्य पनि हुनुहुन्छ भनी प्रदर्शित गर्नुभयो। तथापि, के यसको अर्थ उहाँले क्षमा दिन अनिच्छुक क्रूर र निर्दयी परमेश्‍वरलाई मनाउनुपर्छ भनेको हो? कदापि होइन। किनभने बाइबलले हामीलाई “[यहोवा] भलो र क्षमा गर्न” तयार हुनुहुन्छ भनी आश्‍वासन दिन्छ। यसो पनि भनिएको छ: “हामीले आफ्ना पापको स्वीकार गऱ्‍यौं भने, हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नालाई उहाँ विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ।” (भजन ८६:५; १ यूहन्‍ना १:९) वास्तवमा, येशूको कोमल शब्द तथा कार्यले उहाँको पिताको अनुकम्पा, कृपा र प्रेम झल्काउँछ।—यूहन्‍ना ५:१९; ८:२८; १४:९, १०.

येशूले पश्‍चात्तापी पापीहरूलाई कसरी उद्धार गर्नुहुन्छ? परमेश्‍वरलाई खुसी तुल्याउने निष्कपट प्रयासमा आनन्द र सन्तुष्टि प्राप्त गर्न मदत गर्नुभएर। आफ्ना सँगी अभिषिक्‍त मसीहीहरूलाई लेख्दै पावलले यसो भने: “आकाश छिचलेर जानुभएको हाम्रा एक महान्‌ पूजाहारी, अर्थात्‌ परमेश्‍वरका पुत्र येशू हुनुभएको हुनाले, हामीले स्वीकार गरेका हाम्रो धर्म थामिराखौं। किनकि हाम्रा प्रधान पूजाहारी हाम्रा निर्बलतामा हामीसँग दुःखी हुन नसक्ने होइन। तर सबै कुरामा हामीजस्तै परीक्षित, र पनि पापरहित हुनुहुन्छ। यसकारण अनुग्रहको सिंहासनको नजीक हामी निर्भयसँग आऔं, र कृपा पाऔं, औ दरकारको समयमा हाम्रो उपकारको निम्ति उहाँद्वारा अनुग्रह पाउनसक्छौं।”—हिब्रू ४:१४-१६.

“दरकारको समयमा . . . अनुग्रह”

तर हामीले सामना गर्न नसक्ने जस्तो समस्याहरू जस्तै गम्भीर बिमारी, अन्त्यन्तै दोषी भावनाका साथै निरुत्साहित र निराश भइयो भने नि? येशू स्वयम्‌ हरेक समय भर पर्नुभएको प्रबन्धको हामी पनि सदुपयोग गर्नसक्छौं। त्यो हो, प्रार्थनाको अनमोल सुअवसर। उदाहरणका लागि, हाम्रोनिम्ति जीवन अर्पण गर्नुभन्दा अघिल्लो रात “उहाँले झन्‌ परिश्रमसँग प्रार्थना गर्नुभयो, र उहाँको पसीना रगतका ठूला ठूला थोप्लाजस्तै भूइँमा खसिरहेका थिए।” (लूका २२:४४) हो, परमेश्‍वरलाई व्यग्र प्रार्थना गर्दा कस्तो हुन्छ भनी येशूलाई थाह छ। उहाँले “आफ्नो शरीरका दिनमा जसले बेसरी कराई, आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेसँग प्रार्थना र अन्तरबिन्ती गर्नुभयो, र उहाँको भक्‍तिको भयले गर्दा उहाँको सुनाइभयो।”—हिब्रू ५:७.

मानिसहरूको निम्ति ‘सुनवाइ’ हुनु अति महत्त्वपूर्ण छ भनी येशूलाई थाह छ। (लूका २२:४३, NW) यसबाहेक, उहाँले यस्तो प्रतिज्ञा गर्नुभयो: “तिमीहरू पितासँग जे मागौला, उहाँले मेरो नाउँमा तिमीहरूलाई दिनुहुनेछ। . . . माग त तिमीहरूले पाउनेछौ, र तिमीहरूको आनन्द पूर्ण हुनेछ।” (यूहन्‍ना १६:२३, २४) तसर्थ, हामी निर्धक्क साथ परमेश्‍वरलाई उहाँको पुत्रले हाम्रो खातिर उहाँको अधिकार र उहाँको छुडौतीको बलिदानको मूल्य प्रयोग गर्नुहोस्‌ भनी बिन्ती गर्नसक्छौं।—मत्ती २८:१८.

स्वर्गीय क्षमतामा उहाँले हामीलाई दरकारको समयमा चाहिएको मदत दिनुहुनेछ भनी हामी निर्धक्क हुनसक्छौं। उदाहरणका लागि, आफूले गरेको पापको साँच्चै पश्‍चात्ताप गर्छौं भने हामीले “पितासँग हाम्रा एक सहायक हुनुहुन्छ, अर्थात्‌ धार्मिक येशू ख्रीष्ट” भन्‍ने आश्‍वासनबाट सान्त्वना पाउनसक्छौं। (१ यूहन्‍ना २:१, २) उहाँको नाउँमा धर्मशास्त्रअनुरूप गरिएका हाम्रा प्रार्थनाहरू सुनवाइ होस्‌ भनी स्वर्गमा हुनुहुने हाम्रा सहायक र सान्त्वनादाताले हाम्रो खातिर बिन्ती गर्नुहुनेछ।—यूहन्‍ना १४:१३, १४; १ यूहन्‍ना ५:१४, १५.

ख्रीष्टको मदतको निम्ति मूल्यांकन देखाउने

परमेश्‍वरलाई उहाँको पुत्र मार्फत बिन्ती गर्नु मात्र पर्याप्त छैन। छुडौतीको बलिदानको मोल तिरेर “ख्रीष्टले हामीलाई . . . छुटाउनुभयो” र भनौं भने, मानवजातिलाई “किन्‍नुभएको मालिक” हुनुभयो। (गलाती ३:१३; ४:५; २ पत्रुस २:१) ख्रीष्ट हाम्रो मालिक हुनुहुन्छ भनी मानि लिएर उहाँले हाम्रो निम्ति जे-जति गर्नुभएको छ, त्यसप्रति मूल्यांकन देखाउँदै यो निमन्त्रणालाई खुसीसाथ स्वीकार्न सक्छौं: “कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्‌, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्‌।” (लूका ९:२३) ‘आफूलाई इन्कार गर्नु’ भनेको मेरो मालिक अर्कै हुनुहुन्छ भनेर मुखले भन्‍नु मात्र होइन। आखिर, ख्रीष्ट “सबैका निम्ति मर्नुभयो, र अब बाँच्नेहरूले आफू आफू बाँच्ने होइन, तर उहाँको निम्ति बाँच्नुपर्छ।” (२ कोरिन्थी ५:१४, १५) तसर्थ, छुडौतीको बलिदानप्रति हाम्रो मूल्यांकनले हाम्रो सोचाइ, लक्ष्य र जीवनपद्धतिमा गहिरो असर पार्नेछ। ‘आफैलाई अर्पण गर्नुहुने येशू ख्रीष्टप्रति’ सधैं ऋणी भएकोले उहाँ र हाम्रो मायालु पिता, यहोवा परमेश्‍वरबारे अझ बढी कुरा सिक्न उत्प्रेरित हुनुपर्ने हो। आफ्नो विश्‍वास अझ बलियो बनाउने, परमेश्‍वरका असल स्तरअनुरूप जीवन बिताउने र “सुकर्ममा जोशिलो” हुने इच्छा पनि हुनुपर्छ।—तीतस २:१३, १४; यूहन्‍ना १७:३.

हामीले समयानुकूल आध्यात्मिक भोजन, प्रोत्साहन र डोऱ्‍याइ पाउने माध्यम मसीही मण्डली हो। (मत्ती २४:४५-४७; हिब्रू १०:२१-२५) जस्तै, कोही आध्यात्मिक तवरमा बिरामी छ भने, उसले “मण्डलीको धर्म-गुरुहरू [नियुक्‍त प्राचीनहरू] बोलाओस्‌।” अनि याकूब अझ यस्तो आश्‍वासन दिन्छन्‌, “विश्‍वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई उठाउनुहुनेछ, र यदि त्यसले पापै गरेको भए पनि त्यसलाई क्षमा हुनेछ।”—याकूब ५:१३-१५.

उदाहरणका लागि: दक्षिण अफ्रिकामा कैद सजाय भोगिरहेका कैदीले “येशू ख्रीष्टले सुरु गर्नुभएको परमेश्‍वरको राज्यतर्फ लम्कन मदत गर्ने असल कार्य गरिरहेका सबै यहोवाका साक्षीहरूप्रति” मूल्यांकन जाहेर गर्दै मण्डलीको प्राचीनलाई तिनले यस्तो पत्र लेखे: “तपाईंहरूको पत्र पाउँदा म हर्षले गद्‌गद भएँ। मेरो आध्यात्मिक उद्धारको निम्ति तपाईंहरूले देखाउनुभएको चासोले मेरो हृदय छोयो। यहोवा परमेश्‍वरले आह्वान गर्नुभएअनुसार पश्‍चात्ताप गर्ने झन्‌ बढी कारण पाएको छु। म पाप, छल, अनैतिक सम्बन्ध, शंकास्पद धार्मिक चलनहरूमै रुमल्लिरहेको २७ वर्ष भइसकेको थियो। यहोवाका साक्षीहरूसित भेट भएपछि मैले बल्ल सही मार्ग पाएँ जस्तो लाग्यो! कुरा यति हो, म यसअनुसार हिंड्‌नुपर्छ।”

निकट भविष्यमा अझ धेरै मदत

बिग्रँदो विश्‍व परिस्थितिले हामी “महा संकष्ट” सुरु हुनुअघिको निर्णायक घडीमा बाँचिरहेका छौं भनी सुस्पष्ट प्रमाण दिन्छ। हाल, हरेक जातिबाटको, सबै कुलको र मानिसको र भाषा भाषाहरूको एक ठूलो भीडले ‘थुमाको रगतमा आफ्नो लुगा धोएर सेतो बनाइरहेको छ।’ (प्रकाश ७:९, १३, १४; २ तिमोथी ३:१-५) येशूको छुडौतीको बलिदानमाथि विश्‍वास गरेर तिनीहरूले आफ्नो पापको क्षमा र परमेश्‍वरसित घनिष्ठ सम्बन्ध राख्न मदत पाइरहेका छन्‌। साँच्चै भन्‍ने हो भने उहाँका मित्र भइरहेका छन्‌।—याकूब २:२३.

थुमा अर्थात्‌ येशू ख्रीष्ट “तिनीहरूका रखवाला हुनुहुनेछ, र तिनीहरूलाई जीवनका पानीहरूका फोहोरासम्म अगुवा भएर लानुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” (प्रकाश ७:१७) त्यसपछि ख्रीष्टले प्रधान पूजाहारीको रूपमा आफ्नो काम पूरा गर्नुहुनेछ। उहाँले परमेश्‍वरका मित्रहरू सबैलाई आध्यात्मिक, शारीरिक, मानसिक र भावनात्मक तवरमा “जीवनका पानीहरूका फोहोरा[बाट]” पूर्णतया लाभ उठाउन मदत गर्नुहुनेछ। येशूले सा.यु. ३३ मा सुरु गर्नुभएको त्यो कार्य स्वर्गमा बसेर पनि मानिसहरू पूर्णतया सिद्ध नभएसम्म गरिरहनुहुनेछ।

तसर्थ, परमेश्‍वर अनि येशू ख्रीष्टले हाम्रोनिम्ति गर्नुभएको र गरिरहनुभएको कार्यको निम्ति मूल्यांकन जाहेर गर्न कहिल्यै नछोड्‌नुहोस्‌। प्रेरित पावलले यस्तो आग्रह गरे: “प्रभुमा सधैं आनन्द गर। . . . केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।”—फिलिप्पी ४:४, ६, ७.

स्वर्गमा हुनुहुने हाम्रो सहायक येशू ख्रीष्टप्रति मूल्यांकन देखाउने एउटा राम्रो तरिका छ। बुधबार, अप्रिल १९, २००० का दिन सूर्यास्तपछि संसारभरि यहोवाका साक्षीहरू ख्रीष्टको मृत्युको स्मरणार्थ मनाउन भेला हुनेछन्‌। (लूका २२:१९) ख्रीष्टको छुडौतीको बलिदानको निम्ति अझ गहिरो मूल्यांकन गर्ने यो राम्रो अवसर हुनेछ। ख्रीष्ट मार्फत उद्धार पाउने परमेश्‍वरको अनुपम प्रबन्धद्वारा तपाईंले अनन्तसम्म कसरी फाइदा उठाउन सक्नुहुन्छ भनी सुन्‍न तपाईंलाई हार्दिक स्वागत छ। यस विशेष सभाको ठीक समय र ठाउँ थाह पाउन स्थानीय इलाकाका यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌।

[पृष्ठ ७-मा भएको चित्र]

परमेश्‍वरलाई व्यग्र प्रार्थना गर्दा हुने अनुभव येशूलाई थाह छ

[पृष्ठ ८-मा भएका चित्रहरू]

आफ्नै भरमा समाधान गर्न नसक्ने समस्याहरूसँग जुझ्न ख्रीष्टले हामीलाई मदत गर्नुहुनेछ

[पृष्ठ ९-मा भएको चित्र]

ख्रीष्टले मायालु प्राचीनहरू मार्फत हामीलाई मदत गर्नुहुन्छ