सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘हे परमेश्‍वर, तपाईंको ज्योति पठाउनुहोस्‌’

‘हे परमेश्‍वर, तपाईंको ज्योति पठाउनुहोस्‌’

‘हे परमेश्‍वर, तपाईंको ज्योति पठाउनुहोस्‌’

“तपाईंको ज्योति र तपाईंको सत्यता पठाउनुहोस्‌, तिनैले मलाई डोऱ्‍याऊन्‌।”—भजन ४३:३.

१. यहोवाले आफ्ना उद्देश्‍यहरू कसरी प्रकट गर्नुहुन्छ?

 यहोवाले अत्यन्तै मायालु ढंगमा आफ्ना उद्देश्‍यहरू आफ्ना सेवकहरूलाई थाह दिनुहुन्छ। आँखा नै तिरमिराउने गरी सबै सत्य कुराहरू एकै चोटि चम्काउनुको सट्टा उहाँले हामीलाई क्रमबद्ध रूपमा ज्योति दिनुहुन्छ। हाम्रो जीवन यात्रालाई एउटा लामो गोरेटोमा हिड्‌ने पैदल यात्रीको यात्रासित तुलना गर्नसक्छौं। तिनी बिहान सबेरै हिंड्‌न थाल्दा झिसमिसे उज्यालोमा त्यति स्पष्टसित वरपर देख्दैनन्‌। अनि जसै सूर्य उदाएको टाढा क्षितिजमा देखिन थाल्छ, पैदल यात्रीले वरपरका केही कुराहरू बिस्तारै ठम्याउन थाल्छन्‌। टाढाको दृश्‍य भने अझै धमिलै हुन्छ। तर जसै सूर्य चम्किलो हुँदै जान्छ तिनले टाढा-टाढाको कुरा पनि स्पष्ट देख्न थाल्छन्‌। परमेश्‍वरले दिनुहुने आध्यात्मिक ज्योति पनि त्यस्तै हो। उहाँले हामीलाई एकै चोटि सबै कुराहरू प्रकट गर्नुहुन्‍न। परमेश्‍वरको पुत्र, येशू ख्रीष्टले पनि त्यसरी नै आध्यात्मिक ज्योति दिनुभयो। आउनुहोस्‌, यहोवाले पुरातन समयमा कसरी ज्योति दिनुभयो र आज हाम्रो समयमा पनि कसरी दिनुहुन्छ, हेरौं।

२. मसीहीपूर्व समयमा यहोवाले कसरी ज्योति प्रदान गर्नुभयो?

सम्भवतः ४३ औं भजनका रचनाकारहरू कोरहका छोराहरू थिए। तिनीहरू लेवी भएको हुँदा मानिसहरूलाई परमेश्‍वरको व्यवस्था सिकाउने सुअवसर पाएका थिए। (मलाकी २:७) निस्सन्देह, यहोवा तिनीहरूका महान्‌ निर्देशक हुनुहुन्थ्यो र तिनीहरूले यहोवालाई सारा बुद्धिको स्रोत ठान्थे। (यशैया ३०:२०) ती भजनरचयिताले यसरी प्रार्थना गरे: “हे मेरा परमेश्‍वर, . . . तपाईंको ज्योति र तपाईंको सत्यता पठाउनुहोस्‌, तिनैले मलाई डोऱ्‍याऊन्‌।” (भजन ४३:१, ३) इस्राएलीहरू आफूप्रति विश्‍वासी रहुञ्जेल यहोवाले तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुभयो। शताब्दीयौंपछि, यहोवाले तिनीहरूलाई उल्लेखनीय ज्योति र सत्य प्रकट गर्नुभएर अर्थात्‌ परमेश्‍वरले आफ्नो पुत्रलाई पृथ्वीमा पठाउनुभएर अनुग्रह देखाउनुभयो।

३. येशूको शिक्षाले गर्दा यहूदीहरू कसरी दोधारमा परे?

मानिसको रूपमा परमेश्‍वरको पुत्र, येशू ख्रीष्ट साँच्चै “संसारको ज्योति” हुनुहुन्थ्यो। (यूहन्‍ना ८:१२) उहाँले मानिसहरूलाई “उखानहरू” बताउनुभएर थुप्रै नयाँ कुरा सिकाउनुभयो। (मर्कूस ४:२) उहाँले पोन्तियस पिलातसलाई यसो भन्‍नुभयो: “मेरो राज्य यस संसारको होइन।” (यूहन्‍ना १८:३६) यो रोमीहरूको लागि मात्र होइन, राष्ट्रवादी यहूदीहरूको लागि पनि नयाँ धारणा थियो किनभने यहूदीहरूले मसीहले रोमी साम्राज्यलाई पराजय गर्नुका साथै इस्राएललाई आफ्नो पहिलेको महिमा दिलाउनुहुनेछ भन्ठानेका थिए। येशूले यहोवाबाट पाउनुभएको ज्योति प्रकाश पार्दै हुनुहुन्थ्यो तर उहाँको कुरा यहूदी शासकहरूलाई मन परेन किनभने “तिनीहरूले परमेश्‍वरको प्रशंसाभन्दा मानिसहरूको प्रशंसालाई बढ़ता रूचाउँथे।” (यूहन्‍ना १२:४२, ४३) प्रायजसो मानिसहरू परमेश्‍वरबाट आएको ज्योति र सत्य स्वीकार्नुको सट्टा मानव परम्पराहरूमै रुमल्लिरहन चाहन्थे।—भजन ४३:३; मत्ती १३:१५.

४. येशूका चेलाहरूको समझ अझै बढ्‌ने थियो भनेर हामी कसरी थाह पाउनसक्छौं?

तथापि, सोझो हृदय भएका कोही कोही पुरुष तथा महिलाहरूले येशूले सिकाउनुभएको सत्य खुसीसाथ अंगाले। परमेश्‍वरका उद्देश्‍यहरू तिनीहरूले राम्ररी बुझ्न थाले। आफ्नो शिक्षकको पार्थिव जीवनको अन्त झन्‌ झनै नजिकिंदै जाँदा पनि तिनीहरूले सिक्नुपर्ने कुरा थुप्रै बाँकी थियो। येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूलाई भन्‍ने मसँग अझ धेरै कुरा छन्‌, तर अहिले तिमीहरू सहनसक्‍तैनौ।” (यूहन्‍ना १६:१२) हो, चेलाहरूले परमेश्‍वरको सत्यबारे अझ धेरै कुराहरू सिक्नेथिए।

ज्योति चम्कँदै जान्छ

५. प्रथम शताब्दीमा कुन प्रश्‍न खडा भयो र यो विवाद टुंग्याउने जिम्मेवारी कसको थियो?

येशूको मृत्यु र पुनरुत्थानपछि परमेश्‍वरबाट आएको ज्योति पहिलेभन्दा झनै चम्किलो हुन थाल्यो। अब उप्रान्त खतना नगरिएका यहूदी धर्ममा परिवर्तित मानिसहरू पनि ख्रीष्टका अनुयायीहरू हुनेछन्‌ भनी पत्रुसलाई दिइएको दर्शनमा प्रकट गरियो। (प्रेरित १०:९-१७) त्यो पक्कै नयाँ ज्योति थियो! यद्यपि, पछि यस्तो प्रश्‍न खडा भयो: के यहोवाले त्यस्ता यहूदी धर्ममा परिवर्तित मानिसहरू मसीही भएपछि खतना गरेको चाहनुहुन्छ? त्यो प्रश्‍नको जवाफ दर्शनमा दिइएको थिएन र यो कुरा मसीहीहरू माझ चर्को विवादको विषय बन्‍नपुग्यो। यो विवादको टुंगो लगाउनुपर्थ्यो नत्र तिनीहरूको अनमोल एकता नै खतरामा पर्नेथियो। त्यसैकारण, यरूशलेममा “प्रेरितहरू र धर्मगुरुहरू भेला भए।”—प्रेरित १५:१, २, ६.

६. खतनाको प्रश्‍नबारे छलफल गर्नुपर्दा प्रेरित तथा धर्मगुरुहरूले कुन प्रक्रिया अपनाए?

यो सभामा उपस्थित भएकाहरूले यहूदी धर्ममा परिवर्तित अन्यजातिहरूप्रति परमेश्‍वरको इच्छा के हो भनेर कसरी थाह पाउनसक्थे? त्यो छलफलमा अध्यक्षता गर्न यहोवाले स्वर्गदूत पठाउनुभएन नत उहाँले त्यहाँ उपस्थित भएकाहरूलाई कुनै दर्शन नै दिनुभयो। तर, उहाँले प्रेरित तथा धर्मगुरुहरूलाई कुनै निर्देशनबिना अलपत्र छोड्‌नु भएन। परमेश्‍वरले अन्यजातिहरूसित गर्नुभएको व्यवहार र खतना नगरिएका यहूदी मत मान्‍नेहरूलाई पवित्र आत्मा खन्याउनुभएको देखेका यहूदी मसीहीहरूको गवाहीमाथि तिनीहरूले गौर गरे। तिनीहरूले डोऱ्‍याइको निम्ति धर्मशास्त्रको अध्ययन पनि गरे। फलस्वरूप, चेला याकूबले ज्योति प्रकट गर्ने शास्त्रपदको आधारमा सुझाउ दिए। प्रमाणहरू गौर गर्दै जाँदा परमेश्‍वरको इच्छा स्पष्ट भयो। अन्यजातिहरूले परमेश्‍वरको अनुमोदन पाउन खतना गर्नु पर्दैनथ्यो। सँगी मसीहीहरूले यो निर्णय पालन गरून्‌ भनेर प्रेरित तथा धर्मगुरुहरूले यसलाई लिखित रूपमा राख्न कुनै ढिलाइ गरेनन्‌।—प्रेरित १५:१२-२९; १६:४.

७. प्रथम शताब्दीका मसीहीहरू कुन तरिकामा प्रगतिशील थिए?

आफ्ना पितापुर्खाहरूको परम्परा पछ्याउने यहूदी धार्मिक गुरुहरूजस्तो नभई अधिकांश यहूदी मसीहीहरूले अन्यजातिहरूप्रति आफ्नो दृष्टिकोण परिवर्तन गर्नुपरे तापनि अन्यजातिहरूबारे परमेश्‍वरको उद्देश्‍यलाई नयाँ अर्थमा बुझे। उल्लेखनीय समझलाई खुसीसाथ स्वीकारे। यहोवाले तिनीहरूको नम्र मनोभावलाई आशिष्‌ दिनुभयो र “यसरी मण्डलीहरू विश्‍वासमा दह्रो हुँदै र गन्तीमा दिनहुँ बढ़दै गए।”—प्रेरित १५:३१; १६:५.

८. (क) प्रथम शताब्दीको अन्तपछि अझ ज्योति पाइनेछ भनेर हामी कसरी थाह पाउनसक्छौं? (ख) कस्ता सन्दर्भिक प्रश्‍नहरू हामी छलफल गर्नेछौं?

प्रथम शताब्दीभरि नै आध्यात्मिक ज्योति चम्किरह्‍यो। तर यहोवाले आफ्नो उद्देश्‍यको सबै पक्ष प्रारम्भिक मसीहीहरूलाई प्रकाश पार्नु भएन। प्रेरित पावलले प्रथम शताब्दीका सँगी विश्‍वासीहरूलाई यसो भने: “अहिले हामी ऐनामा धमिलोसँग देख्छौं।” (१ कोरिन्थी १३:१२) त्यस्तो ऐनाको परावर्तन सतह राम्रो थिएन। अतः सुरुमा आध्यात्मिक ज्योतिको समझ सीमित हुन्छ। प्रेरितहरूको मृत्युपछि केही समयको निम्ति ज्योति धमिलो भयो तर वर्तमान समयमा धर्मशास्त्रीय ज्ञान प्रचुर मात्रामा उपलब्ध छ। (दानियल १२:४) यहोवाले आफ्ना जनहरूलाई अहिले कसरी ज्योति दिनुहुन्छ? अनि उहाँले धर्मशास्त्र अझ राम्ररी बुझाउनुहुँदा हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ?

ज्योति क्रमबद्ध रूपमा चम्किलो हुँदै जान्छ

९. सुरुका बाइबल स्टुडेन्ट्‌सले कस्तो अनुपम तथा प्रभावकारी बाइबल अध्ययन तरिका अपनाए?

आधुनिक समयमा १९ औं शताब्दीको अन्ततिर मसीही पुरुष तथा महिलाहरूको एउटा समूहले धर्मशास्त्रको गहिरो अध्ययन गर्न थाल्दा ज्योतिको सानो किरण देखियो। तिनीहरूले बाइबल अध्ययन गर्ने एउटा उपयोगी तरिका निकाले। एक जनाले प्रश्‍न उठाउँथ्यो अनि समूहले सबै सम्बन्धित शास्त्रपदहरू विश्‍लेषण गर्थ्यो। एउटा बाइबल पद अर्कोसित बाझिएको जस्तो देखिएमा यी सोझो हृदय भएका मसीहीहरूले ती दुई पदहरूको के सम्बन्ध छ भनी बुझ्ने कोसिस गर्थे। बाइबल स्टुडेन्ट्‌स (त्यतिबेला यहोवाका साक्षीहरू त्यस नाउँले चिनिन्थे) त्यतिबेलाका धार्मिक नेताहरू जस्तो परम्परा वा मानिसका आफ्नै नीतिनियमहरू नभई पवित्र धर्मशास्त्रको डोऱ्‍याइ चाहन्थे। उपलब्ध सबै धर्मशास्त्रीय प्रमाणहरूमाथि विचार गरेपछि तिनीहरूले आफ्नो निष्कर्ष लिपिबद्ध गर्थे। यसरी तिनीहरूले थुप्रै आधारभूत बाइबल सिद्धान्तहरू स्पष्टसित बुझे।

१०. चार्ल्स टेज रसलले कुन मदतकारी बाइबल अध्ययन सहायकहरू लेखे?

१० ती बाइबल स्टुडेन्ट्‌समध्ये चार्ल्स टेज रसल उल्लेखनीय थिए। तिनले बाइबल अध्ययन सहायकको निम्ति मदतकारी स्टडीज इन द स्क्रिप्चर्स नामक छ वटा खण्ड भएको श्रृंखला लेखे। भाइ रसलले बाइबलको पुस्तक, इजकिएल र प्रकाशबारे व्याख्या गरिएको सातौं खण्ड पनि लेख्ने विचार गरेका थिए। तिनले यसो भने: “कुरा राम्ररी बुझेपछि म सातौं खण्ड पनि लेख्नेछु।” तथापि, तिनले यसो पनि भने: “प्रभुले यदि अरू कसैलाई समझ दिनुभयो भने तिनैले पनि लेख्न सक्नेछन्‌।”

११. समय र हामीले परमेश्‍वरको उद्देश्‍य बुझ्नुबीच के सम्बन्ध छ?

११ माथिको अनुच्छेदमा उद्धृत सि. टि. रसलको कथनले केही खास बाइबल विवरणहरू बुझ्ने सन्दर्भमा हाम्रो क्षमताबारे एउटा महत्त्वपूर्ण पक्षलाई स्पष्ट पार्छ। त्यो हो, समय। पैदल यात्रीले हतार गर्दैमा कुनै हालतमा पनि सूर्योदयको समयभन्दा पहिल्यै सूर्य उदाउँदैन, त्यसरी नै प्रकाशको पुस्तकमा ज्योति चम्काउन जबरजस्ती गर्न सकिंदैन भनी भाइ रसललाई थाह थियो।

प्रकट भयो—तर परमेश्‍वरको आफ्नै समयमा

१२. (क) बाइबलका भविष्यवाणी सबैभन्दा राम्ररी कुन बेला बुझ्न सकिन्छ? (ख) बाइबल भविष्यवाणीहरू बुझ्ने हाम्रो क्षमता परमेश्‍वरको तालिकामा निर्भर छ भनेर कुन उदाहरणले प्रमाणित गर्छ? (पादटिप्पणी हेर्नुहोस्‌।)

१२ प्रेरितहरूले येशूको मृत्यु र पुनरुत्थानपछि मात्र मसीहबारे थुप्रै भविष्यवाणीहरू बुझेझैं वर्तमान समयका मसीहीहरूले पनि बाइबल भविष्यवाणीहरू पूरा भइसकेपछि मात्र पूर्णतया बुझ्नेछन्‌। (लूका २४:१५, २७; प्रेरित १:१५-२१; ४:२६, २७) प्रकाश, एउटा भविष्यसूचक पुस्तक हो। त्यसैकारण त्यसमा व्याख्या गरिएका घटनाहरू प्रकट हुन थालेपछि मात्र बुझ्ने आशा गर्नसक्छौं। उदाहरणका लागि, सि. टि. रसलले प्रकाश १७:९-११ मा उल्लिखित प्रतीकात्मक चहकिलो रातो रंगको जनावरको सही अर्थ बुझेका थिएनन्‌ होला किनभने त्यस जनावरले प्रतिनिधित्व गर्ने संगठन, विशेष गरी राष्ट्र संघ र संयुक्‍त राष्ट्र संघ तिनको जीवनकालमा छँदै थिएन। a

१३. कुनै खास बाइबल विषयमा ज्योति पाउँदा कहिलेकाहीं के हुन्छ?

१३ प्रारम्भिक मसीहीहरूले खतना नगरिएका यहूदी धर्ममा परिवर्तित सँगी विश्‍वासीहरू हुनसक्छन्‌ भनी थाह पाएपछि अन्यजातिहरूको खतना गर्नुपर्छ कि पर्दैन भन्‍ने अर्को प्रश्‍न खडा भयो। यसले गर्दा प्रेरित तथा धर्मगुरुहरूले खतनासम्बन्धी सम्पूर्ण विषयलाई पुनः विचार गर्नुपऱ्‍यो। आज पनि त्यही प्रक्रिया लागू हुन्छ। बाइबलको एउटा विषयमा चम्किलो ज्योति पाएपछि कहिलेकाहीं परमेश्‍वरका अभिषिक्‍त सेवकहरू अर्थात्‌ “विश्‍वासी र बुद्धिमान दास” त्यससित सम्बन्धित अन्य विषयहरू सबै पुनः केलाउन थाल्छन्‌। तल उल्लिखित हालैको एउटा उदाहरणले सोही कुरा बताउँछ।—मत्ती २४:४५.

१४-१६. आध्यात्मिक मन्दिरको सन्दर्भमा इजकिएल अध्याय ४० देखि ४८ बारे हामीले बुझेको कुरालाई संशोधित दृष्टिकोणले कसरी प्रभाव पाऱ्‍यो?

१४ सन्‌ १९७१ मा “द नेशन्स श्‍याल नो द्याट आइ एम जेहोभा”—हाउ? भन्‍ने पुस्तक इजकिएलको भविष्यवाणी बुझाउन प्रकाशित गरिएको थियो। त्यस पुस्तकको एउटा अध्यायमा इजकिएलको मन्दिरको दर्शनबारे छोटकरीमा छलफल गरिएको थियो। (इजकिएल, अध्याय ४०-४८) त्यतिबेला, इजकिएलको मन्दिरको दर्शन कसरी नयाँ संसारमा पूरा हुनेछ भन्‍ने कुरामा ध्यानकेन्द्रित गरिएको थियो।—२ पत्रुस ३:१३.

१५ तथापि, डिसेम्बर १, १९७२ को द वाचटावर-मा प्रकाशित दुइटा लेखले इजकिएलको दर्शनबारे हामीले बुझेको भन्दा अर्कै अर्थ खुलायो। त्यसमा प्रेरित पावलले हिब्रू अध्याय १० मा व्याख्या गरेको महान्‌ आध्यात्मिक मन्दिरबारे छलफल गरिएको थियो। त्यही वाचटावर-ले आध्यात्मिक मन्दिरको पवित्र कोठा र भित्री चोकले अभिषिक्‍त जनहरू यसै पृथ्वीमा छँदाको अवस्थालाई बुझाउँछ भनी बतायो। वर्षौंपछि इजकिएल अध्याय ४० देखि ४८ पुनरावृत्ति गर्दा कुन कुरा बुझियो भने, अहिले आध्यात्मिक मन्दिर सञ्चालन भइरहेझैं इजकिएलको दर्शनको मन्दिर पनि हाल सञ्चालन भइरहेको हुनुपर्छ। कसरी?

१६ इजकिएलको दर्शनमा पूजाहारीहरू मन्दिरको चोकमा गैरपूजाहारी जातिलाई सेवा गर्दै हिंडिरहेको दृश्‍य छ। स्पष्टतः यी पूजाहारीहरूले “राजकीय पूजाहारीगिरी” अर्थात्‌ यहोवाका अभिषिक्‍त सेवकहरू हुन्‌। (१ पत्रुस २:९) तथापि, ख्रीष्टको हजार वर्षीय शासन अवधिभरि तिनीहरू पार्थिव मन्दिरको चोकमा सेवा गरिरहेका हुने छैनन्‌। (प्रकाश २०:४) त्यस अवधिको सम्पूर्ण समय नभए तापनि प्रायजसो समय अभिषिक्‍त जनहरू आध्यात्मिक मन्दिरको अति पवित्र स्थान अर्थात्‌ “स्वर्गमै” परमेश्‍वरको सेवा गरिरहेका हुनेछन्‌। (हिब्रू ९:२४) इजकिएलको मन्दिरको चोकहरूमा पूजाहारीहरू ओहोरदोहोर गरिरहेको देखिने हुँदा आज केही अभिषिक्‍त जनहरू पृथ्वीमा हुँदै त्यस दर्शन पूरा भइरहेको हुनुपर्छ। त्यहीबमोजिम यस पत्रिकाको मार्च १, १९९९ अंकले यस विषयमा संशोधित दृष्टिकोण प्रस्तुत गऱ्‍यो। अतः २० औं शताब्दीको अन्तसम्मै इजकिएलको भविष्यवाणीमाथि आध्यात्मिक ज्योति प्रकाश पारियो।

आफ्नो दृष्टिकोण छाँटकाँट गर्न इच्छुक हुनुहोस्‌

१७. सत्यको ज्ञानमा आउनुभएपछि आफ्नो व्यक्‍तिगत दृष्टिकोणमा तपाईंले कस्तो छाँटकाँट गर्नुभयो र कस्तो लाभ उठाउनुभयो?

१७ सत्यको ज्ञानमा आउन इच्छुक सबै “हरेक विचारलाई ख्रीष्टको आज्ञा मान्‍नालाई अधीनमा” पार्न तयार हुनुपर्छ। (२ कोरिन्थी १०:५) विशेष गरी हाम्रो मनमा ती दृष्टिकोणहरू बलियो गरी गडेको छ भने त्यसो गर्न सधैं सजिलो हुँदैन। उदाहरणका लागि, परमेश्‍वरबारे सत्य कुरा सिक्नुअघि तपाईंले आफ्नो परिवारसित केही धार्मिक चाडपर्वहरू मनाउनुहुन्थ्यो होला। अनि तपाईंले बाइबल अध्ययन गर्न थाल्नु भएपछि ती चाडपर्वहरूको सुरुआत गैरमसीही रहेछ भनेर बुझ्नुभयो। सुरुमा त आफूले सिकेको कुरा व्यवहारमा उतार्न हिचकिचाउनु भयो होला। तथापि, अन्तमा धार्मिक चाडपर्वहरूप्रतिको मायाभन्दा परमेश्‍वरप्रतिको प्रेम बलियो भयो र तपाईंले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने चाडहरूमा भाग लिन छोड्‌नुभयो। त्यस्तो निर्णय गर्नुभएकोमा के यहोवाले तपाईंलाई आशिष्‌ दिनुभएको छैन र?—हिब्रू ११:२५ तुलना गर्नुहोस्‌।

१८. कुनै कुनै बाइबल सत्यहरू हामीले जुन अर्थमा बुझेका थियौं, त्यसमा छाँटकाँट हुँदा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

१८ परमेश्‍वरको तौरतरिकाअनुसार गर्दा हामीले सधैं लाभ उठाउँछौं। (यशैया ४८:१७, १८) त्यसैले कुनै बाइबल विवरणबारे अझ अर्थ खुलाइँदा, थप सत्य प्रकट भएकोमा हामी हर्षित होऔं! हामीले निरन्तर ज्योतिको चमक पाइरहनुको अर्थ, हामी सही मार्गमा हिंडिरहेका छौं। यो “धर्मीको चाल” जुन “बिहानको उज्यालोजस्तै हो, त्यो मध्य-दिन नहोउञ्जेल झन्‌ झन्‌ चहकिलो हुँदैजान्छ।” (हितोपदेश ४:१८) हो, हामी अहिले परमेश्‍वरको उद्देश्‍यका केही पक्षहरूको “धमिलो” रूपरेखा मात्र देख्छौं। तर परमेश्‍वरको तोकिएको समय आएपछि हामीले सही “चाल[मा]” हाम्रो खुट्टा दह्रोसित गाडेका छौं भने सत्यको सबै पक्ष सुस्पष्ट देख्नेछौं। त्यतिञ्जेल हामी परमेश्‍वरले स्पष्ट पार्नुभएको सत्यमा रमाऔं र अझै स्पष्ट नभएका कुराहरूमा सत्यको ज्योतिको प्रतीक्षा गरौं।

१९. हामीले सत्यलाई प्रेम गर्छौं भनी देखाउने एउटा तरिका के हो?

१९ ज्योतिको निम्ति हामी कसरी व्यवहारिक ढंगमा प्रेम देखाउनसक्छौं? एउटा तरिका त नियमित तवरमा परमेश्‍वरको वचन पढेर हो र सम्भव भएमा यसलाई दिनहुँ पढ्‌नुपर्छ। के तपाईंको नियमित बाइबल पढाइ गर्ने तालिका छ? प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकाले पनि हामीलाई प्रशस्त मात्रामा लाभदायक आध्यात्मिक भोजनको आनन्द उठाउन मदत गर्छ। हाम्रो फाइदाको निम्ति तयार पारिएको पुस्तक, पुस्तिका तथा अन्य प्रकाशनहरू पनि छन्‌। अनि यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज-मा प्रकाशित राज्य प्रचारसम्बन्धी गतिविधिहरूबारे प्रोत्साहनदायी रिपोर्टहरू नि?

२०. यहोवाबाट पाउने ज्योति र सत्यसित मसीही सभाहरूमा हाम्रो उपस्थितिको के सम्बन्ध छ?

२० हो, यहोवाले भजन ४३:३ मा लिपिबद्ध प्रार्थनाको जवाफ उल्लेखनीय ढंगमा दिनुभएको छ। त्यस शास्त्रपदको अन्तमा हामी यस्तो पढ्‌छौं: “[तपाईंको ज्योति र सत्यले] मलाई तपाईंको पवित्र डाँड़ा र तपाईंको बासस्थानमा पुऱ्‍याऊन्‌।” के तपाईं अन्य असंख्य व्यक्‍तिहरूसँगसँगै यहोवाको उपासना गर्न उत्सुकता साथ प्रतीक्षा गर्नुहुन्छ? यहोवाले आज ज्योति दिनुहुने महत्त्वपूर्ण तरिका सभाहरूमा दिइने आध्यात्मिक निर्देशनहरूद्वारा हो। मसीही सभाहरूको निम्ति हाम्रो मूल्यांकन बढाउन हामी के गर्नसक्छौं? हामी तपाईंहरूलाई यस विषयबारे अर्को लेखमा प्रार्थनापूर्वक विचार गर्न आमन्त्रित गर्छौं।

[फुटनोट]

a सि. टि. रसलको मृत्युपछि इजकिएल तथा प्रकाशको पुस्तक व्याख्या गर्ने प्रयासमा स्टडीज इन द स्क्रिप्चर्स-को सातौं खण्डको रूपमा एउटा पुस्तक तयार पारियो। त्यो खण्ड केही हदसम्म रसलले ती बाइबल पुस्तकहरूबारे गरेका टिप्पणीहरूमा आधारित थियो। तथापि, ती भविष्यवाणीहरूको अर्थ खुलाउने समय आइसकेको थिएन र सरसरती हेर्दा स्टडीज इन द स्क्रिप्चर्स-को त्यस खण्डमा दिइएको स्पष्टीकरण अस्पष्ट थियो। त्यसपछिका वर्षहरूमा यहोवाको अनुग्रह र संसारमा भएका घटनाहरूले गर्दा मसीहीहरूले ती भविष्यसूचक पुस्तकहरूको सही अर्थ अझ राम्ररी बुझ्न सकेका छन्‌।

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

• यहोवाले किन आफ्नो उद्देश्‍य क्रमबद्ध रूपमा प्रकट गर्नुहुन्छ?

• प्रेरित तथा धर्मगुरुहरूले खतनासम्बन्धी विवाद कसरी सुल्झाए?

• सुरुका बाइबल स्टुडेन्ट्‌सले कस्तो बाइबल अध्ययन तरिका अपनाए र यो किन अनुपम थियो?

• परमेश्‍वरको तोकिएको समयमा आध्यात्मिक ज्योति कसरी प्रकाश हुन्छ, व्याख्या गर्नुहोस्‌।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १२-मा भएको चित्र]

परमेश्‍वरले आफ्नै समयमा प्रकाशको पुस्तकमा ज्योति चम्काउनु हुनेछ भनेर चार्ल्स टेज रसललाई थाह थियो