सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अहिले परमेश्‍वरको आत्माले कसरी काम गर्छ?

अहिले परमेश्‍वरको आत्माले कसरी काम गर्छ?

अहिले परमेश्‍वरको आत्माले कसरी काम गर्छ?

तिनी आमाको गर्भदेखि नै लंगडो थिए। तिनी दिनहुँ मन्दिरको सुन्दर भन्‍ने ढोकामा बसेर त्यहाँ आउने मानिसहरूसित दयाको भीख माग्थे। तथापि, एक चोटि त्यस अपाहिज माग्नेले दुइचार पैसाभन्दा कैयौं गुणा महँगो दान पाए। तिनी निको भए!—प्रेरित ३:२-८.

प्रेरित पत्रुस र यूहन्‍नाले “त्यसका खुट्टाहरूमा . . . ताकत” पसोस्‌ भनेर तिनलाई “उठाए” तापनि तिनीहरूले त्यसको श्रेय लिएनन्‌। किन लिएनन्‌? पत्रुस आफैले यस्तो जवाफ दिए: “हे इस्राएली हो, यस कुरामा तपाईंहरू किन अचम्म मान्‍नुहुन्छ? अथवा हाम्रो आफ्नै शक्‍ति कि भक्‍तिले यसलाई हिंड़ने तुल्याएको जस्तै किन वाल्ल परेर हामीलाई हेर्नुहुन्छ!” निस्सन्देह, पत्रुस र यूहन्‍नालाई आफ्नै शक्‍तिले नभई परमेश्‍वरको पवित्र आत्माको शक्‍तिले त्यस्ता कामहरू गर्नसकेको हो भनेर थाह थियो।—प्रेरित ३:७-१६; ४:२९-३१.

त्यतिखेर भर्खरै स्थापना भएको नयाँ मसीही मण्डलीमा परमेश्‍वरको समर्थन छ भनेर देखाउन यस्ता “शक्‍तिहरू[का]” कामहरू भएका हुन्‌। (हिब्रू २:४) तर ती शक्‍तिका कामहरूको उद्देश्‍य पूरा गरेपछि “रद्दी हुन्छ” भनेर प्रेरित पावलले बताए। a (१ कोरिन्थी १३:८) तसर्थ, अहिले हामीले साँचो मसीही मण्डलीमा परमेश्‍वरले निको पार्नुभएको, भविष्यसूचक सन्देशहरू दिनुभएको वा भूतहरू निकाल्नुभएको देख्दैनौं।

तथापि, के यसको अर्थ परमेश्‍वरको पवित्र आत्माले अहिले कामै गर्दैन भनेको हो? कदापि होइन! आउनुहोस्‌, प्रथम शताब्दी र हाम्रो समयमा परमेश्‍वरको आत्माले काम गरेका केही उदाहरण विचार गरौं।

“सत्यका आत्मा”

परमेश्‍वरको पवित्र आत्माको एउटा काम सत्यबारे बताउनु, त्यसलाई प्रकाश पार्नु र प्रकट गर्नु हो। आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशूले चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूलाई भन्‍ने मसँग अझ धेरै कुरा छन्‌, तर अहिले तिमीहरू सहनसक्‍तैनौ। तैपनि, जब उहाँ अर्थात्‌ सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले सबै सत्यमा तिमीहरूलाई बाटो देखाउनुहुनेछ।”—यूहन्‍ना १६:१२, १३.

सा.यु. ३३ पेन्तिकोसको दिनमा यरूशलेमको माथिल्लो कोठामा भेला भएका १२० जनालाई पवित्र आत्माद्वारा बप्तिस्मा दिइँदा “सत्यका आत्मा” खन्याइयो। (प्रेरित २:१-४) त्यस वार्षिक उत्सवमा प्रेरित पत्रुस पनि उपस्थित थिए। पवित्र आत्माले भरिएर पत्रुस “उभिई” येशूबारे केही सत्य कुराहरू बेलीबिस्तारसित बताए वा स्पष्ट पारे। उदाहरणका लागि, तिनले “नासरतका येशू” कसरी “परमेश्‍वरका दाहिने बाहुलीबाट उच्च” पारिनुभयो भनेर बताए। (प्रेरित २:१४, २२, ३३) परमेश्‍वरको आत्माले नै प्रेरित भएर पत्रुसले साहसी भई यहूदीहरूलाई यस्तो घोषणा गर्नसके: “इस्राएलका सारा घरानाले यो निश्‍चय जानून्‌, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु, र ख्रीष्टसमेत तुल्याउनुभयो।” (प्रेरित २:३६) पत्रुसले आत्माद्वारा प्रेरित त्यस्तो सन्देश सुनाउँदा लगभग तीन हजार मानिसहरूले “तिनको कुरा ग्रहण” गरेर बप्तिस्मा लिए। यसरी परमेश्‍वरको पवित्र आत्माले तिनीहरूलाई सत्यमा डोऱ्‍याउन मदत गऱ्‍यो।—प्रेरित २:३७-४१.

परमेश्‍वरको पवित्र आत्माले शिक्षा र सम्झौटाहरू पनि दिएको छ। येशूले यसो भन्‍नुभयो: “शान्तिदाता, अर्थात्‌ पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँलेनै तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका कुरा जति सम्झना गराउनुहुनेछ।”—यूहन्‍ना १४:२६.

पवित्र आत्माले कसरी शिक्षा दिन्छ? परमेश्‍वरको आत्माले चेलाहरूको हृदय खोलिदियो र त्यसले गर्दा तिनीहरूले पहिल्यै सुनेर पनि राम्ररी बुझ्न नसकेका कुराहरू बुझे। उदाहरणका लागि, येशूको परीक्षा भइरहेको बेला उहाँले यहूदाको रोमी बडाहाकिम अर्थात्‌ पोन्तियस पिलातसलाई भन्‍नुभएको यो कुरा प्रेरितहरूलाई थाह थियो: “मेरो राज्य यस संसारको होइन।” यद्यपि, ४० दिनभन्दा बढी समयपछि येशू स्वर्गारोहण हुनुहुँदा प्रेरितहरूले अझै पनि राज्य यसै पृथ्वीमा स्थापित हुनेछ भन्‍ने गलत सोचाइ राखेका थिए। (यूहन्‍ना १८:३६; प्रेरित १:६) सा.यु. ३३ पेन्तिकोसमा परमेश्‍वरको पवित्र आत्मा नखनाउञ्जेल प्रेरितहरूले येशूका ती शब्दहरूको अर्थ राम्ररी बुझ्नसकेका थिएनन्‌ भनेर स्पष्ट हुन्छ।

परमेश्‍वरको आत्माले येशूका विभिन्‍न शिक्षाहरू पुनः सम्झना गराएर सम्झौटाहरू दिएको छ। उदाहरणका लागि, पवित्र आत्माको मदतले ख्रीष्टको मृत्यु र पुनरुत्थानबारे गरिएका भविष्यवाणीहरूको नयाँ अर्थ बुझियो। (मत्ती १६:२१; यूहन्‍ना १२:१६) येशूका शिक्षाहरू सम्झँदा प्रेरितहरूले राजा, न्यायाधीश र धार्मिक नेताहरूको सामने आफ्नो अडानबारे साक्षी दिनसके।—मर्कूस १३:९-११; प्रेरित ४:५-२०.

यसबाहेक, परमेश्‍वरको पवित्र आत्माले प्रारम्भिक मसीहीहरूको सेवकाईमा मदत गऱ्‍यो र त्यसले गर्दा तिनीहरू फलदायी क्षेत्रमा जानसके। (प्रेरित १६:६-१०) परमेश्‍वरको आत्माले प्रारम्भिक मसीहीहरूलाई सबै मानिसको फाइदाको लागि परमेश्‍वरको वचन बाइबल लेख्न उत्प्रेरित गऱ्‍यो। (२ तिमोथी ३:१६) अतः, यसबाट कुन कुरा स्पष्ट हुन्छ भने, प्रथम शताब्दीमा विभिन्‍न तरिकामा पवित्र आत्माले काम गर्थ्यो। चमत्कारहरू गर्नको लागि मात्र पवित्र आत्मा दिइएको थिएन।

हाम्रो समयमा पवित्र आत्मा

त्यस्तै गरी हाम्रो समयमा पनि पवित्र आत्माले साँचो मसीहीहरूको लागि काम गरिरहेको छ। उन्‍नाइसौं शताब्दीका पछिल्ला दशकतिर सं.रा.अ.-को पेन्सिल्भेनिया, एलिगेनीमा बाइबल विद्यार्थीहरूको सानो समूहमा उक्‍त कुरा साँचो प्रमाणित भयो। बाइबलका ती उत्सुक विद्यार्थीहरूले “सत्य” सिक्ने तिर्सना गरे।—यूहन्‍ना ८:३२; १६:१३.

त्यस समूहका एक जना सदस्य, चार्ल्स टेज रसलले धर्मशास्त्रीय सत्यको खोजबारे यसो भने: “मेरो मार्गमा अवरोध बन्‍नसक्ने कुनै पनि प्रकारको पूर्वाग्रहलाई मेरो हृदय र मनबाट निकाल्न सकूँ र उहाँको आत्माको मदतले सही ढंगमा बुझ्न सकूँ भनेर . . . प्रार्थना गरें।” परमेश्‍वरले यो विनम्र प्रार्थनाको जवाफ दिनुभयो।

रसल र तिनका साथीहरूले धर्मशास्त्रलाई पूरा मनतनले जाँच्दा थुप्रै कुराहरू स्पष्ट भयो। रसलले यसो भने, “विभिन्‍न पन्थ र समूहले बाइबलका सिद्धान्तहरूमा मानिसले गरेको धेरथोर परिकल्पना र गल्तीहरूसित छ्यासमिस गरेर एकअर्काबीच बाँडेका थिए।” यसले गर्दा तिनले भनेझैं “सत्य गोलमाल” भयो। निस्सन्देह, शताब्दीयौंदेखि मसीहीजगत्‌मा घुसेका गैरमसीही शिक्षाहरूसित धर्मशास्त्रीय सत्यहरू छ्यासमिस गरिएका थिए। तर रसलले सत्य पत्ता लगाएर त्यो घोषणा गर्ने दृढ संकल्प गरेका थिए।

रसल र तिनका साथीहरूले निडर भई जायन्स वाच टावर एण्ड हेरल्ड अफ क्राइस्ट्‌स प्रेजेन्स-का पानाहरूद्वारा परमेश्‍वरको गलत अर्थ लगाउने झूटा धार्मिक सिद्धान्तहरूको निन्दा गरे। तिनीहरूले लोकप्रिय धार्मिक धारणाको विपरीत थुप्रै सत्य कुराहरू पत्ता लगाए, जस्तै प्राण मर्छ, मरेपछि हामी चिहानमा जान्छौं र यहोवा एकमात्र साँचो परमेश्‍वर हुनुहुन्छ अनि उहाँ त्रिएकको भाग हुनुहुन्‍न।

तथापि, यसरी झूटा शिक्षा पर्दाफास गर्दा मसीहीजगत्‌का पादरीहरू कत्ति रिसाए होलान्‌ भनेर भनिरहनु नपर्ला। आफ्नो प्रभावशाली ओहदालाई कायम राख्न थुप्रै क्याथोलिक र प्रोटेस्टेन्ट पादरीहरूले रसलको बदनाम गर्ने अभियानहरू सुरु गरे। तर तिनी र तिनका साथीहरूले हरेस खाएनन्‌। तिनीहरू निर्धक्क भई निर्देशनको लागि परमेश्‍वरको आत्मामा भर परे। रसलले भने, “हाम्रो प्रभुले . . . हाम्रो मुक्‍तिदाता, मध्यस्थ र शिर येशूमार्फत पठाइएको पिताको पवित्र आत्मा नै हाम्रो प्रशिक्षक हुनुहुनेछ भन्‍ने आश्‍वासन दिनुभएको छ।” अनि त्यसले साँच्चै शिक्षा दियो! बाइबलका ती उत्सुक विद्यार्थीहरूले बाइबलबाट सत्यको शुद्ध पानी लिएर विश्‍वभरि त्यसलाई घोषणा गरिरहे।—प्रकाश २२:१७.

यहोवाका साक्षीहरूको आधुनिक संगठनले परमेश्‍वरको पवित्र आत्माको डोऱ्‍याइ पछ्याइरहेको एक शताब्दी भइसक्यो। यहोवाको आत्माले साक्षीहरूको आध्यात्मिक दृष्टिलाई झन्‌ चहकिलो बनाउँदै लाँदा समयअनुसारको सोचाइ राख्न तिनीहरूले खुसीसाथ आवश्‍यक काँटछाँट गर्छन्‌।—हितोपदेश ४:१८.

“तिमीहरू मेरा गवाही हुनेछौ”

येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुहुँदा परमेश्‍वरको पवित्र आत्माको अर्को रूप देखाउनुभयो: “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्‍ति पाउनेछौ, . . . र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (प्रेरित १:८) आफ्ना चेलाहरूले ईश्‍वरप्रदत्त कार्य पूरा गरून्‌ भनेर तिनीहरूलाई “शक्‍ति” र “पवित्र आत्मा” दिने येशूको प्रतिज्ञा आज पनि लागू हुन्छ।

समष्टिगत तवरमा यहोवाका साक्षीहरू आफ्नो प्रचारकार्यको लागि चिरपरिचित छन्‌। (पेटी हेर्नुहोस्‌।) निस्सन्देह, यहोवाका साक्षीहरू २३० भन्दा बढी मुलुक र टापुहरूमा सत्यका सन्देश सुनाउँछन्‌। युद्धग्रस्त ठाउँहरूमा आफ्नो ज्यान जोखिममा हाल्नुलगायत कल्पनै गर्न नसकिने विभिन्‍न अवस्थामा तिनीहरू साहसी भई परमेश्‍वरको राज्यको समर्थनमा आफ्नो आवाज उठाउँछन्‌। आज पवित्र आत्माले काम गरिरहेको छ भनेर मसीही सेवकाईप्रतिको तिनीहरूको जोसले जोडदार प्रमाण प्रस्तुत गर्छ। अनि यहोवा परमेश्‍वरले तिनीहरूको प्रयासको लागि आशिष्‌ दिनुहुँदैछ भन्‍ने कुरामा कुनै शंका छैन।

उदाहरणका लागि, गत वर्ष परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न एक अरबभन्दा बढी समय बिताइयो। परिणाम के भयो त? लगभग ३,२३,४३९ मानिसहरूले पानीद्वारा बप्तिस्मा लिएर आफूलाई परमेश्‍वरमा समर्पण गरे। साथै, चासो देखाउने नयाँ व्यक्‍तिहरूसित ४४,३३,८८४ वटा साप्ताहिक गृह बाइबल अध्ययन सञ्चालन गरिएको थियो। जम्माजम्मी २,४६,०७,७४१ पुस्तक, ६३,११,६२,३०९ पत्रिका र ६,३४,९५,७२८ ठूलो तथा सानो पुस्तिकाहरू वितरण गरियो। परमेश्‍वरको आत्माले काम गरिरहेको छ भन्‍ने कस्तो जोडदार प्रमाण!

परमेश्‍वरको आत्मा र तपाईं

कुनै व्यक्‍तिले सुसमाचार सुन्छ, परमेश्‍वरको स्तरअनुरूप जीवन बिताउँछ र छुटकाराको प्रबन्धमा विश्‍वास गर्छ भने तिनको लागि परमेश्‍वरको अनुमोदन पाउने बाटो खुल्छ। यस्ता व्यक्‍तिहरूलाई प्रेरित पावलले यसो भने: “परमेश्‍वरले . . . तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ।”—१ थिस्सलोनिकी ४:७, ८; १ कोरिन्थी ६:९-११.

परमेश्‍वरको आत्मा पाउँदा थुप्रै असल आशिष्‌हरू पाइन्छ। कस्ता आशिष्‌हरू? एउटा आशिष्‌बारे परमेश्‍वरको प्रेरित वचन यसो भन्छ: “आत्माको फल चाहिं—प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, [र] संयम हुन्‌।” (गलाती ५:२२, २३) त्यसैकारण, परमेश्‍वरको पवित्र आत्मा ईश्‍वरीय गुणहरू झल्काउन मदत गर्ने र सबैको भलाइको लागि एउटा ठूलो शक्‍ति हो।

यसबाहेक, तपाईंले बाइबल पढेर सिक्नुभएका कुराहरू लागू गर्नुभयो भने परमेश्‍वरको आत्माले तपाईंलाई बुद्धि, ज्ञान, अन्तरदृष्टि, न्याय र सोच्ने शक्‍ति अझ बढाउन मदत गर्नसक्छ। राजा सुलेमानले मानिसहरूलाई नभई परमेश्‍वरलाई प्रसन्‍न बनाउन चाहेको हुँदा तिनले “ज्यादै बुद्धि र ज्ञान, औ समुद्रको किनारका बालुवा जत्तिकै समझशक्‍ति” पाए। (१ राजा ४:२९) यहोवाले सुलेमानलाई पवित्र आत्मा दिनुभएझैं आज उहाँलाई प्रसन्‍न बनाउन चाहनेहरूलाई पनि पक्कै आफ्नो पवित्र आत्मा दिनुहुन्छ।

परमेश्‍वरको पवित्र आत्माले मसीहीहरूलाई शैतान र प्रेतहरू, यस दुष्ट रीतिरिवाज र आफ्नो पतित शरीरका पापी झुकावहरू विरुद्ध लड्‌न मदत दिन्छ। त्यो कसरी हुनसक्छ? प्रेरित पावल यस्तो जवाफ दिन्छन्‌: “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।” (फिलिप्पी ४:१३) हुन त पवित्र आत्माले परीक्षा वा प्रलोभनहरू नहटाउला तर त्यसले तपाईंलाई सहन मदत गर्नसक्छ। परमेश्‍वरको आत्मामा भर परेर हामीले जस्तोसुकै दुःखकष्ट वा पीडाको सामना गर्न “असामान्य शक्‍ति” पाउनसक्छौं।—२ कोरिन्थी ४:७, NW; १ कोरिन्थी १०:१३.

तपाईंले यी सबै प्रमाणहरू विचार गर्नुहुँदा परमेश्‍वरको पवित्र आत्माले आज काम गरिरहेको छ भन्‍ने कुरामा शंकै हुँदैन। यहोवाको आत्माले उहाँका दासहरूलाई आफ्नो महान्‌ उद्देश्‍यहरूको साक्षी दिन बल दिन्छ। त्यसले आध्यात्मिक ज्योति दिइरहन्छ र हाम्रो सृष्टिकर्ताप्रति वफादार रहन मदत गर्दै हाम्रो विश्‍वास बलियो बनाउँछ। परमेश्‍वरले आज आफ्ना विश्‍वासी दासहरूलाई पवित्र आत्मा दिनुभएर आफ्नो प्रतिज्ञा पूरा गर्नुभएकोमा हामी कत्ति कृतज्ञ हुनसक्छौं!

[फुटनोट]

a प्रहरीधरहरा अगस्त १५, १९७१, अंग्रेजी अंकको पृष्ठ ५०१-५ मा “आत्माको चमत्कारी वरदान पाउन किन बन्द भयो?” लेख हेर्नुहोस्‌।

[पृष्ठ १०-मा भएको पेटी]

यहोवाका साक्षीहरूबारे अरूले के भन्छन्‌

“अरू चर्चहरूले सल्लाहकारहरूलाई ज्यालामा लिएर मानिसहरूलाई चर्चतर्फ आकर्षित गर्छन्‌ वा समलैंगिकता र गर्भपातजस्ता वर्तमान समयका विषयहरूबारे तर्क गर्छन्‌ भने साक्षीहरूले परिवर्तनशील संसारसित कुनै पनि प्रकारको सम्झौता गर्दैनन्‌। तिनीहरू अझै पनि पृथ्वीमा सबैतिर प्रचार गरिरहेका छन्‌।”—अरेन्ज काउन्टी, क्यालिफोर्निया, सं.रा.अ.-को दी अरेन्ज काउन्टी रेजिस्टर।

“आफ्नो विश्‍वासबारे अरूलाई बताउने सन्दर्भमा यहोवाका साक्षीहरूजत्तिको . . . जोसिला सम्प्रदायहरू कमै होलान्‌।”—कोलम्बस, इन्डियाना, सं.रा.अ.-को दी रिपब्लिक।

“तिनीहरूले मात्र बाइबलका सिद्धान्तहरू लागू गर्दै घरघर गएर ‘सुसमाचार’ प्रचार गर्छन्‌।”—झचे लिटराट्‌स्के, पोल्याण्ड।

“अहिलेसम्म भएको सबैभन्दा ठूलो प्रचार अभियानमा यहोवाका साक्षीहरूले पृथ्वीभरि यहोवाको सन्देश पुऱ्‍याइरहेका छन्‌।”—न्युज-अब्जर्भर, टमाक्वा, पेन्सिल्भेनिया, सं.रा.अ.।

[पृष्ठ ९-मा भएका चित्रहरू]

परमेश्‍वरको पवित्र आत्माले आध्यात्मिक ज्योति दिन्छ,

. . . असल मसीही गुणहरू विकास गराउँछ

. . . र विश्‍वव्यापी प्रचारकार्यमा हामीलाई मदत गर्छ