सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के बाइबलमा गुप्त सन्देश छ?

के बाइबलमा गुप्त सन्देश छ?

के बाइबलमा गुप्त सन्देश छ?

न्‌ १९९५ मा इजरायली प्रधानमन्त्री यिशाक रबिनको हत्या गरियो। यसको लगभग दुई वर्षपछि एक पत्रकारले कम्प्युटर प्रविधिको मदतद्वारा मौलिक हिब्रू बाइबल पदमा उक्‍त घटनाबारे पूर्वानुमान गरिएको कुरा पत्ता लगाएको दाबी गरे। माइकल ड्रोज्निन नामक यस पत्रकारले आफूले वर्ष दिनअघि देखि प्रधानमन्त्रीलाई तिनको हत्या हुनेछ भनी चेताउनी दिए तापनि उनको केही लागेन भनेर लेखे।

बाइबल परमेश्‍वरद्वारा प्रेरित भएको हो भनेर उक्‍त गुप्त सन्देशले अकाट्य प्रमाण दिन्छ भनी दाबी गर्ने अन्य पुस्तक र लेखहरू अहिले प्रकाशित भएका छन्‌। के साँच्चै बाइबलमा यस्तो गुप्त सन्देश छ त? के बाइबल परमेश्‍वरद्वारा प्रेरित भएको हो भनेर विश्‍वास गर्ने आधार यसका गुप्त सन्देश नै हुन्‌?

नयाँ धारणा?

बाइबल पदमा गुप्त सन्देश छ भन्‍ने धारणा कुनै नौलो कुरा होइन। यो, काबाला वा परम्परागत यहूदी अलौकिक ज्ञानको मुख्य धारणा हो। काबालाका गुरुहरूअनुसार बाइबल पदको आधारभूत अर्थ त्यसको सही अर्थ होइन। परमेश्‍वरले हिब्रू बाइबल पदको एक एक अक्षरलाई संकेतको रूपमा प्रयोग गर्नुभयो र त्यसलाई राम्ररी बुझेको खण्डमा अझ सत्य कुरा थाह पाइन्छ भनी तिनीहरू विश्‍वास गर्छन्‌। तिनीहरूको विचारमा परमेश्‍वरले खास उद्देश्‍यसहित हरेक हिब्रू अक्षर र ती अक्षरहरू बाइबलको कुन पदमा प्रयोग गर्ने भनी तय गर्नुभयो।

बाइबलको गुप्त सन्देशको अनुसन्धानकर्ता जेफ्रे स्याटिनोभरअनुसार अलौकिक ज्ञानमा विश्‍वास गर्ने यी यहूदीहरूले उत्पत्तिमा भएको सृष्टिको विवरण रेकर्ड गर्न चलाइएको हिब्रू अक्षरहरूमा अत्यन्तै अलौकिक शक्‍ति पाइन्छ भनेर विश्‍वास गर्छन्‌। तिनी यस्तो लेख्छन्‌: “संक्षेपमा भन्‍ने हो भने, उत्पत्ति एउटा विवरण मात्र होइन। यो, सृष्टिको साधान अर्थात्‌ परमेश्‍वरको दिमागको ब्लूप्रिन्ट पनि हो।”

सारगोसा, स्पनेको १३ औं शताब्दीका काबाला रब्बी बाक्या बेन अशेरले आफूले उत्पत्तिको अंश पढ्‌दा गुप्त जानकारी पाएको कुरा लेखे। गुप्त सन्देशहरू पत्ता लगाउनको लागि यसरी अक्षरहरू छोड्‌दै पढ्‌ने तरिका बाइबलको गुप्त सन्देशको आधुनिक धारणाको आधार हो।

कम्प्युटरले गुप्त सन्देश “प्रकट गर्छ”

कम्प्युटर युगअघि मानिसहरूले कमै मात्रामा यसरी बाइबल पद जाँच्न सक्थे। तथापि, अगस्त १९९४ मा सटस्टिकल साइन्स पत्रिकाले यरूशलेमको हिब्रू विश्‍वविद्यालयका एलियाहु रिप्स र तिनका सँगी अनुसन्धानकर्ताहरूले उदेकलाग्दो दाबीहरू गरेको एउटा लेख प्रकाश गऱ्‍यो। उत्पत्तिको हिब्रू पदका सबै अक्षरहरूलाई जोडेर कुनै कुनै अक्षरलाई छोड्‌दै पढ्‌दा तिनीहरूले ३४ जना प्रसिद्ध रब्बीहरूको नाउँका साथै ती नाउँहरूसँगै भएको तिनीहरू जन्मेको अथवा मरेको मितिजस्ता अरू जानकारी पनि पत्ता लगाएको बताए। a थुप्रै चोटि जाँचेपछि ती अनुसन्धानकर्ताहरूले उत्पत्तिमा भएको गुप्त जानकारी संयोगको कुरा नभई हजारौं वर्षअघि उत्पत्तिमा गुप्त लेखाइको रूपमा लुकेर रहेको प्रेरित जानकारी हो भन्‍ने आफ्नो निष्कर्ष प्रकाशित गरे।

यस्तै तरिका अपनाएर पत्रकार ड्रोज्निनले हिब्रू बाइबलको प्रथम पाँच पुस्तकहरूमा छिपेको जानकारी खोज्न आफै अनुसन्धान गरे। ड्रोज्निनअनुसार तिनले बाइबल पदको हरेक ४,७७२ अक्षरपछि यिशाक रबिनको नाउँ भेट्टाए। बाइबलको पदलाई ४,७७२ अक्षरहरूको लहरमा मिलाउँदा तिनले रबीन नाउँले (ठाडोबाट) अर्को लहरमा (व्यवस्था ४:४२ लाई तेर्सोबाट) काटेको देखे र जसलाई तिनले “हत्याराले हत्या गरिनेछ” भनी अनुवाद गरे।

व्यवस्था ४:४२ मा अनजानमा ज्यान लिने ज्यानमाराबारे उल्लेख गरिएको छ। तसर्थ, धेरैले ड्रोज्निनको अवैज्ञानिक तरिका प्रयोग गरे भने त त्यस्तै सन्देश अरू पदहरूमा पनि पाउन सकिन्छ भनेर दाबी गर्दै तिनको मनगढन्ते धारणाको आलोचना गरेका छन्‌। तर ड्रोज्निनले यस्तो चुनौती प्रस्तुत गर्दै आफ्नो अडान कायम राखे: “मेरा आलोचकहरूले [उपन्यास] मोबी डिक-मै प्रधान मन्त्रीको हत्याबारे बताएको सन्देश भेट्टाए भने म तिनीहरूले भनेको कुरा पत्याउनेथिएँ।”

प्रेरणाको प्रमाण?

अस्ट्रेलियाली राष्ट्रिय विश्‍वविद्यालयको कम्प्युटर विज्ञान विभागका प्राध्यापक ब्रेन्डन म्याक्केले ड्रोज्निनको चुनौतीलाई स्वीकारेर मबी डिक-को अंग्रेजी पदमा कम्प्युटरद्वारा विस्तृत खोजबिन गरे। b ड्रोज्निनले भनेकै तरिका अपनाएर म्याक्केले इन्दिरा गान्धी, मार्टिन लुथर किंग जुनियर, जुनियर जोन एफ. केनेडी, अब्राहाम लिंकन र अरूको हत्याको “भविष्यवाणी” पाएको दाबी गरे। म्याक्केले भनेअनुसार तिनले मबी डिक-मै यिशाक रबिनको हत्याबारे गरिएको “भविष्यवाणी” पनि पाए।

उत्पत्तिको हिब्रू पदकै कुरा गर्ने हो भने, रिप्स र तिनका सँगीहरूले गरेको परीक्षणको निष्कर्षलाई पनि प्राध्यापक म्याक्के र तिनका साथीहरूले पनि चुनौती दिएका छन्‌। रिप्स र तिनका साथीहरूले जे पत्ता लगाए, त्यो प्रेरित गोप्य सन्देशसितभन्दा पनि तिनीहरूले त्यस्तो सन्देश छ भनेर पत्ता लगाउन अपनाएको उपाय अर्थात्‌ आफ्नो विचारअनुसार तथ्यांक मिलाउनुसित सम्बन्धित छ भन्‍ने आरोप थियो। यसबारे शास्त्रविद्‌हरूको अझै पनि वादविवाद भइरहेको छ।

यस्ता गुप्त सन्देशहरू जानाजानी “स्तरीय” र “मौलिक” हिब्रू पदमा राखिएको थियो भन्‍ने दाबीले गर्दा अर्को विवाद पनि खडा भएको छ। रिप्स र तिनका सँगी अनुसन्धानकर्ताहरू आफूले “उत्पत्तिको पुस्तकको स्तरीय अनि लोकप्रिय पद”-मा अनुसन्धान गरेको हुँ भन्छन्‌। ड्रोज्निन यस्तो लेख्छन्‌: “अहिले अस्तित्वमा रहेका मौलिक हिब्रू भाषाका सबै बाइबलहरूमा उहिलेकै जस्ता अक्षरहरू छन्‌।” तर के यो साँचो हो त? “स्तरीय” पदको सट्टा विभिन्‍न पुरातन हस्तलिपिहरूमा आधारित हिब्रू बाइबलका थुप्रै संस्करणहरू आज प्रयोग गरिन्छ। हुन त बाइबलले एउटै सन्देश दिन्छ तर हरेक हस्तलिपिहरूको अक्षर-अक्षर मिल्छ भन्‍नुचाहिं मिल्दैन।

आज पाइने प्रायजसो अनुवादहरू पुरानो हिब्रू मेसोरेट हस्तलिपि अर्थात्‌ लगभग सा.यु. १००० तिर नकल गरेर बनाइएको लेनिनग्राड कोडेक्समा आधारित छन्‌। तर रिप्स र ड्रोज्निनले भिन्‍नै पद चलाए जसलाई कोरन भनिन्छ। अर्थोडक्स रब्बी तथा हार्वड विश्‍वविद्यालयका गणितज्ञ श्‍लोमो स्टर्नबर्गले लेनिनग्राड कोडेक्स र “ड्रोज्निनले चलाएका कोरन संस्करणमा व्यवस्थाको पुस्तकमा मात्रै ४१ वटा अक्षरहरूको भिन्‍नता छ” भने। मृतसागर हस्तलिपिहरूमा २,००० वर्षअघि नकल गरिएका बाइबल पदहरू पाइन्छन्‌। यी हस्तलिपिहरूका हिज्जे अक्सर त्यसपछिका मेसोरेटका पदहरूभन्दा भिन्‍न छन्‌। स्वर व्यञ्जनको उत्पत्ति भइनसकेको हुँदा कुनै कुनै हिज्जेहरूमा स्वर उच्चारण गर्न केही अक्षरहरू प्रशस्त मात्रामा चलाइन्थ्यो। अरू हस्तलिपिहरूमा भने कमै अक्षरहरू चलाइए। उपलब्ध सबै बाइबल हस्तलिपिहरूको तुलना गरेर हेर्दा, बाइबल पदको अर्थमा भने कुनै परिवर्तन भएको पाइँदैन। यद्यपि, हिज्जे र अक्षरहरूको संख्या पद पदअनुसार भिन्‍नाभिन्‍नै भएको प्रस्टै देखिन्छ।

गुप्त सन्देशै खोज्ने हो भने परिवर्तनै नभएको पद चाहिन्छ। किनकि, त्यस्तो कुनै गोप्य सन्देश छ भने पनि, एउटा मात्र अक्षरको परिवर्तनले पनि अर्थलाई अनर्थमा परिवर्तन गर्नसक्छ। परमेश्‍वरले बाइबलद्वारा आफ्नो सन्देशलाई सुरक्षित राख्नुभएको छ। तर उहाँले शताब्दीयौंको दौडान हिज्जे परिवर्तनजस्ता स-साना विषयहरूमा अति संवेदनशील हुनुभएर त्यसलाई सुरक्षित राख्न खोज्नुभएन। के उक्‍त कुराले परमेश्‍वरले बाइबलमा गुप्त सन्देश लुकाएर राख्नुभएको छैन भनी देखाउँदैन र?—यशैया ४०:८; १ पत्रुस १:२४, २५.

के हामीलाई बाइबलको गुप्त सन्देश चाहिन्छ?

“परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, र परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्‌” भनेर प्रेरित पावलले प्रस्टै लेखे। (२ तिमोथी ३:१६, १७) बाइबलमा भएको स्पष्ट र सरल सन्देश बुझ्न तथा लागू गर्न गाह्रो छैन। तर धेरैजसो मानिसहरूले त्यसको वास्ता गर्दैनन्‌। (व्यवस्था ३०:११-१४) बाइबलमा खुलस्तसँग बताइएका भविष्यवाणीहरूले त्यसको प्रेरणामा विश्‍वास गर्ने ठोस आधार प्रस्तुत गर्छ। c गुप्त लेखाइजस्तो बाइबलका भविष्यवाणीहरू मनगढन्ते होइनन्‌ अनि ‘कसैले खास आफ्नो अर्थले दिएको पनि होइन।’—२ पत्रुस १:१९-२१.

प्रेरित पत्रुसले “हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको महाशक्‍ति र आगमनको समाचार दिंदा धूर्त्याइँसित अज्माएका दन्त्यकथाहरूको हामीले अनुकरण गरेनौं” भनेर लेखे। (२ पत्रुस १:१६) बाइबलमा गुप्त सन्देश छ भन्‍ने धारणा रहस्यमयी यहूदी अलौकिक धारणाबाट उत्पत्ति भएको हो। तिनीहरूले बाइबलको प्रेरित पदको सरल अर्थलाई अस्पष्ट अनि टेढो बनाउन “धूर्त्याइँसित अज्माएका” तरिकाहरू अपनाउँछन्‌। हिब्रू धर्मशास्त्रले बाइबललाई यस्तो रहस्यमयी ढंगमा प्रस्तुत गर्न खोज्ने कामको सरासर निन्दा गर्छ।—व्यवस्था १३:१-५; १८:९-१३.

परमेश्‍वरलाई चिन्‍न मदत गर्ने बाइबलको स्पष्ट सन्देश र निर्देशन पाउँदा हामी असाध्यै खुसी छौं! आफ्नै अर्थ लगाएर अनि कम्प्युटरमार्फत खोजतलास गरिएको गुप्त सन्देशहरू खोजेर सृष्टिकर्ताबारे सिक्नुभन्दा यो अत्युत्तम छ।—मत्ती ७:२४, २५.

[फुटनोटहरू]

a हिब्रूमा संख्यालाई पनि अक्षरद्वारा चित्रण गर्न सकिन्छ। त्यसैकारण, हिब्रू पदमा संख्या नभई अक्षरद्वारा तारिखहरू लेखिन्थ्यो।

b हिब्रू भाषामा स्वर वर्ण हुँदैन। पाठकहरूले नै प्रसंगअनुसार स्वर वर्ण थप्छन्‌। प्रसंगलाई बेवास्ता गरियो भने भिन्‍नै स्वर वर्ण थप्दा शब्दको अर्थ नै अनर्थ हुन जान्छ। अंग्रेजीमा सीमित स्वर वर्णहरू छन्‌ जसले गर्दा शब्द खोजतलाश गर्न झनै गाह्रो हुन्छ।

c बाइबलको प्रेरणा र त्यसका भविष्यवाणीहरूको थप जानकारीको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित सबैका लागि उपयोगी किताब हेर्नुहोस्‌।