सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिमीहरूलाई बाइबलबारे यत्तिका कुराहरू थाह रहेछ”

“तिमीहरूलाई बाइबलबारे यत्तिका कुराहरू थाह रहेछ”

राज्य उद्‌घोषकहरूको रिपोर्ट

“तिमीहरूलाई बाइबलबारे यत्तिका कुराहरू थाह रहेछ”

बाह्र वर्षका येशूले साहसी भएर यरूशलेमका धार्मिक नेताहरूसित बोल्नुहुँदा “सुन्‍नेहरू सबै उहाँको समझ र जवाफहरूमा छक्क पर्दथिए।” (लूका २:४७) त्यस्तै गरी आज यहोवाका थुप्रै जवान सेवकहरू आफ्ना शिक्षक र स्कूलका साथीहरूलाई परमेश्‍वर र बाइबलबारे बताउने साहस बटुल्छन्‌। अनि अक्सर तिनीहरूले त्यसै अनुरूप सन्तोषजनक परिणाम पनि पाउँछन्‌।

चौध वर्षीया टिफनीको कक्षामा दानियल ९:२४-२७ मा दिइएको ७० हप्तासम्बन्धी बाइबलले गरेको भविष्यवाणीबारे छलफल भइरहेको थियो। शिक्षकले ती पदहरूबारे एक/दुइटा कुराहरू मात्र बताएर कुरा अर्कै विषयतिर मोडे।

पहिला त टिफनी हात उठाउन हिचकिचाइ रहेकी थिइन्‌। तिनी भन्छिन्‌, “किन हो कुनि, ती पदहरू राम्ररी नबुझाउँदा मलाई साह्रै सकसक लाग्यो। अनि मेरो हात कतिबेला उठ्यो पत्तै भएन।” प्रायःजसो विद्यार्थीहरूलाई त्यस विषयबारे बुझ्न अत्यन्तै गाह्रो भइरहेको बेलामा कसैले त्यसबारे भन्‍नखोजेको देख्दा शिक्षक छक्क परे।

त्यस भविष्यवाणीबारे बुझाउने मौका पाउँदा टिफनी उठिन्‌ र कुनै तयारीबिनै फर्रर बोलिन्‌। तिनले बताइसकेपछि कक्षामा सबैजना चुप भए। टिफनी अलिअलि हडबडाइन्‌। त्यसपछि कक्षाका सबैजनाले ताली बजाएर तिनको निकै प्रशंसा गरे।

शिक्षकले धेरै चोटि “टिफनी, एकदमै राम्रो गऱ्‍यौ” भनिरहे। पक्कै पनि ती पदहरूको अर्थ त्यति मात्रा नहुनुपर्ने भनेर तिनलाई थाह भएको र साथै त्यसरी स्पष्टसित बुझाउने पहिलो व्यक्‍ति टिफनी थिइन्‌ भन्‍ने कुरा तिनले स्वीकारे। कक्षाको अन्तमा तिनले टिफनीलाई बाइबलबारे यत्तिका कुराहरू कसरी थाह पायौ भनेर सोधे।

तिनले यस्तो जवाफ दिइन्‌, “किनभने म यहोवाको साक्षी हुँ। मेरा मुमाबुबाले त्यो भविष्यवाणीबारे थुप्रै चोटि बुझाउनु भएपछि मात्र मैले बुझेकी थिएँ।”

तिनले बाइबलबारे यत्तिका कुराहरू जानेकीमा साथीहरू पनि छक्क परे। एउटी विद्यार्थीले टिफनीलाई यसो भनिन्‌: “अब भने मैले यहोवाका साक्षीहरू घरघर जानुको कारण बुझें। तिमीहरूलाई बाइबलबारे यत्तिका कुराहरू थाह रहेछ।” अरूले चाहिं अब उप्रान्त तिनको विश्‍वासलाई लिएर गिज्याउने छैनौं भने।

टिफनीले आफ्नो मुमाबुबालाई यी कुराहरू बताउँदा शिक्षकलाई ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक दिने सुझाउ दिए। जब तिनले आफ्नो शिक्षकलाई त्यो पुस्तक दिइन्‌ र दानियलको भविष्यवाणीबारे वर्णन गरिएको भाग देखाइन्‌ तब तिनले खुसीसाथ लिएर धन्यवाद दिए।

साँच्चै, परमेश्‍वर र बाइबलबारे मुमाबुबाले सिकाउनुभएका कुराहरू जवान मसीहीहरूले साहसी भई अरूलाई बताउँदा तिनीहरूले यहोवाको महिमा र आदर गर्नुका साथै आशिष्‌ पनि पाउँछन्‌।—मत्ती २१:१५, १६.