सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नाजी अत्याचारको सामने वफादार र साहसी

नाजी अत्याचारको सामने वफादार र साहसी

नाजी अत्याचारको सामने वफादार र साहसी

नेदरल्याण्ड्‌सकी रानी विल्हेल्मीनाले १९४६ जून १७ का दिन आमस्टरड्याममा बसोबास गर्ने यहोवाका साक्षीहरूको एउटा परिवारलाई समवेदना पठाइन्‌। त्यो पत्रमा रानीले दोस्रो विश्‍वयुद्धमा नाजीद्वारा मारिएको त्यस परिवारको छोरो, याकोप भ्यान बेनकोमको तारिफ गरेकी थिइन्‌। केही वर्षअघि नेदरल्याण्ड्‌सको पूर्वीय भागमा अवस्थित डोइटीकम शहरको नगर परिषद्‌ले त्यहाँको एउटा सडकको नाउँ बर्नाट पोलमन नामाकरण गर्ने निधो गरे। तिनी युद्धमा मारिएका यहोवाका साक्षी थिए।

दोस्रो विश्‍वयुद्धको दौडान नेदरल्याण्ड्‌समा नाजीहरूले याकोप, बर्नाट र यहोवाका अरू साक्षीहरूलाई सताउनुको कारण के थियो? अनि ती साक्षीहरूले वर्षौंसम्म क्रूर सतावट आइपर्दा पनि वफादार रहनु अनि आफ्ना देशवासीहरू र रानीको आदर तथा प्रशंसा कमाउन सक्नुको कारण के थियो? जवाफको लागि आउनुहोस्‌, यहोवाका साक्षीहरूको सानो समूह अनि त्यत्रो ठूलो नाजी संगठनबीच भएको दाऊद र गोल्यतरूपी भिडन्त सुरु हुनुका केही घटनाहरू पुनरावलोकन गरौं।

प्रतिबन्धित—तर पहिलेभन्दा अझ सक्रिय

सन्‌ १९४० मे १० का दिन नाजी सेनाहरूले नेदरल्याण्ड्‌समा अचानक आक्रमण गरे। यहोवाका साक्षीहरूले वितरण गरेका साहित्यहरूले नाजीवादका दुष्कर्महरूको पर्दाफास गर्ने र परमेश्‍वरको राज्यबारे बताउने हुँदा नाजीहरूले साक्षीहरूको क्रियाकलाप बन्द गर्न ढिलासुस्ती गरेनन्‌। नाजीहरूले नेदरल्याण्ड्‌समा आक्रमण गरेको तीन हप्ता पनि नबित्दै तिनीहरूले यहोवाका साक्षीहरूलाई प्रतिबन्ध लगाउने गोप्य आदेश जारी गरे। सन्‌ १९४१ मार्च १० का दिन एउटा प्रेस रिपोर्टले साक्षीहरूले “सम्पूर्ण सरकार र चर्च संस्थाहरूको विरुद्ध” अभियान रच्दैछ भन्‍ने आरोप लगाउँदै तिनीहरू प्रतिबन्धित हुन्‌ भनेर जनसाधारणलाई थाह दिइयो। यसले गर्दा साक्षीहरूलाई खोजी खोजी सताउने कार्य झनै चर्कियो।

चाखलाग्दो कुरा के छ भने, कुख्यात गेस्तापो अथवा गुप्त प्रहरीले सबै चर्चहरूको निगरानी गर्थे तर एउटा मसीही संगठनलाई चाहिं असाध्यै क्रूर सतावट दिन्थे। डच इतिहासकार डा. लुई डे यङले यसो भने, “एउटै धार्मिक समूह अर्थात्‌ यहोवाका साक्षीहरूलाई मात्र मृत्युसम्म सताइयो।”— हेट कोनिंक्राइक डेर नाडरल्यान्डेन इन ड ट्‌वाडे भारलडोरलुक (दोस्रो विश्‍वयुद्धको दौडान नेदरल्याण्ड्‌सको राज्य)।

गेस्तापोले साक्षीहरूलाई खोजतलास गरेर पक्रनुमा डच प्रहरीहरूको सहयोग थियो। साथै, डराएर धर्मत्यागी भएका परिभ्रमण निरीक्षकले पहिलेका आफ्ना सँगी विश्‍वासीहरूबारे नाजीहरूलाई सुराक दिए। अप्रिल १९४१ को अन्तसम्ममा ११३ जना साक्षीहरू गिरफ्तार भइसकेका थिए। के यस्तो आक्रमणले गर्दा प्रचारकार्य ठप्प भयो?

अप्रिल १९४१ मा जर्मन जिकररिट्‌सपोलेट्‌सी-ले (सुरक्षा प्रहरी) तयार गरेको गोप्य कागजात मेल्डुंगेन आऊस डेन नाडरल्यान्डेन-मा (नेदरल्याण्ड्‌सबाट प्राप्त रिपोर्ट) उक्‍त प्रश्‍नको जवाफ पाइन्छ। त्यस रिपोर्टले यहोवाका साक्षीहरूबारे यसो भन्छ: “प्रतिबन्ध लगाइएको त्यस पन्थले ‘परमेश्‍वरका साक्षीहरूलाई सताउनु अपराध हो’ र ‘यहोवाले सताउनेहरूलाई अनन्त विनाशको दण्ड दिनुहुनेछ’ भन्‍ने नाराहरू भएका पर्चाहरू टाँस्नुका साथै गैरकानुनी सभाहरू सञ्चालन गरेर सम्पूर्ण मुलुकमा जोडतोडले लागिरहेका छन्‌।” दुई हप्तापछि त्यही रिपोर्टले “बाइबल विद्यार्थीहरूको क्रियाकलापमा सुरक्षा प्रहरीहरूले जत्ति नै कडा प्रतिबन्ध लगाए तापनि तिनीहरूको काम अझ बढी मात्रामा बिस्तार भइरहेको छ” भनेर बतायो। हो, गिरफ्तार हुने खतराको बावजूद साक्षीहरूले १९४१ मा मात्र ३,५०,००० भन्दा बढी साहित्यहरू जनसाधारणलाई वितरण गरेर आफ्नो काम कायमै राखे!

त्यतिखेरका केही सय यहोवाका साक्षीहरूको सानो तर बढ्‌दो समूहले त्यस्तो भयानक शत्रुको सामना कसरी गर्नसके? पुरातन समयका विश्‍वासी भविष्यवक्‍ता यशैयाजस्तै ती साक्षीहरूले पनि मानिसहरूको होइन, परमेश्‍वरको भय राखे। किन? किनकि यहोवाले यशैयालाई भन्‍नुभएका यी शब्दहरूमा तिनीहरूको पूरा विश्‍वास थियो: “तिमीहरूलाई सान्त्वना दिने मनै हुँ। मरणशील मानिस[देखि] . . . तँ किन डराउँछस्‌?”—यशैया ५१:१२.

साहसी हुँदा आदर पाइन्छ

सन्‌ १९४१ को अन्तसम्ममा गिरफ्तार हुने साक्षीहरूको संख्या २४१ पुग्यो। तथापि, कोही कोही भने मानिसको डरले हार खाए। जर्मन गुप्त प्रहरीका कुख्यात सदस्य, भिली लेगसले भने, “यहोवाका ९० प्रतिशत साक्षीहरूले कुरा फुस्काएनन्‌ भने अरू धार्मिक समूहका थोरै प्रतिशतले मात्र चुप रहने साहस बटुले।” अरू साक्षीहरूसँगै कैद गरिएका डच पादरी योहानस जे. बोअस्कले लेगसको कुरा समर्थन गर्छन्‌। सन्‌ १९५१ मा बोअस्कले यस्तो लेखे:

“त्यतिखेर तिनीहरूको भरोसा र विश्‍वासको शक्‍ति देखेर मेरो मनमा तिनीहरूको लागि ठूलो आदर जाग्यो। म एक जना केटालाई कहिल्यै भूल्न सक्दिनँ। तिनी २० वर्ष पनि पुगेका थिएनन्‌ होला। तिनले हिटलर र तिनको नाजी शासनको पतनबारे भविष्यवाणी गरिएको पर्चा वितरण गरेका थिए। . . . तिनले अब उप्रान्त यो गतिविधिमा संलग्न हुँदिनँ भनेर कबुल गरेको भए छ महिनाभित्रै छुट्‌न सक्थे। तर तिनले दृढ भई त्यसो गर्न इन्कार गरे र तिनलाई जर्मनीको श्रम शिविरमा अनिश्‍चित कालको सजाय दिइयो। त्यहाँ के के हुन्छ, भनिरहनु नपर्ला। भोलिपल्ट बिहान तिनलाई त्यहाँ लानको लागि हामीले बिदा दिंदा तिनको बारेमा सोच्नेछु र प्रार्थना गर्नेछु भनेर भनें। तिनले यस्तो जवाफ दिए: ‘मेरो चिन्ता नगर्नुहोस्‌। परमेश्‍वरको राज्य अवश्‍यै आउनेछ।’ यहोवाका साक्षीहरूको शिक्षाको विरोध गर्ने तपाईंसित ठोस कारण होला, तर यस्तो घटना भने तपाईंले कहिल्यै बिर्सनुहुन्‍न।”

क्रूर सतावटको बावजूद साक्षीहरूको संख्या वृद्धि हुँदै गयो। दोस्रो विश्‍वयुद्धअघि लगभग ३०० जना मात्र थिए भने १९४३ मा वृद्धि भएर १,३७९ पुग्यो। दुःखको कुरा, त्यही वर्षको अन्ततिर गिरफ्तार गरिएका ३५० भन्दा बढी साक्षीहरूमध्ये ५४ जना विभिन्‍न यातना शिविरमा मरे। सन्‌ १९४४ मा नेदरल्याण्ड्‌सका विभिन्‍न यातना शिविरहरूमा अझै पनि १४१ जना यहोवाका साक्षीहरू थिए।

नाजी सतावटको अन्तिम वर्ष

डि-डे भनेर चिनिने १९४४ जून ६ तारिखको दिन साक्षीहरूको लागि सतावटको अन्तिम वर्ष थियो। सैनिक दृष्टिकोणमा नाजी र तिनका सहयोगीहरूको हार निश्‍चित थियो। यस्तो अवस्थामा नाजीहरूले निर्दोष मसीहीहरूको खेदो गर्न छाड्‌छन्‌ होला भन्ठानिएको थियो। यद्यपि, त्यही वर्ष अरू ४८ जना साक्षीहरूलाई गिरफ्तार गरियो र कैद गरिएकाहरूसँगसँगै अरू ६८ जनाको हत्या गरियो। तीमध्ये एक जना सुरुमा उल्लेख गरिएको याकोप भ्यान बेनकोम थिए।

सन्‌ १९४१ मा यहोवाका साक्षीहरूको हैसियतमा बप्तिस्मा लिने ५८० जना व्यक्‍तिहरूमध्ये अठार वर्षीय याकोप पनि थिए। त्यसपछि तिनले चाँडै धेरै पैसा आर्जन हुने जागिर छोडे किनकि जागिरले गर्दा तिनले आफ्नो मसीही तटस्थतासित सम्झौता गर्नुपर्थ्यो। तिनले सन्देशवाहकको काम गरे अनि पूर्ण-समय सेवकको रूपमा सेवा गर्न थाले। बाइबल साहित्यहरू ओसारपसार गर्ने सिलसिलामा तिनलाई गिरफ्तार गरियो। सन्‌ १९४४ अगस्त महिनाको दिन २१ वर्षीय याकोपले रोटर्ड्‌याम शहरको झ्यालखानाबाट आफ्नो परिवारलाई यस्तो पत्र लेखे:

“म सन्चै छु अनि एकदमै आनन्दित छु। . . . अहिलेसम्ममा मलाई चार चोटि केरकार गरियो। सुरुमा दुई चोटि त मलाई एकदमै गाह्रो भयो र नराम्रोसँग पिटाइ खाएँ तर प्रभुको बल र अनुग्रहले गर्दा अहिलेसम्म मैले केही कुरा पनि फुस्काएको छैन। . . . मैले यहाँ जम्मा छ चोटि भाषण दिइसकें र जम्माजम्मी १०२ जना उपस्थित भए। तीमध्ये कोही कोहीले चासो देखाए र यहाँबाट छुटकारा पाउनेबित्तिकै यो चासो मर्न दिनेछैनन्‌ भन्‍ने वचन दिएका छन्‌।”

सन्‌ १९४४ सेप्टेम्बर १४ तारिखका दिन याकोपलाई डच शहर, एमर्जफोर्टको यातना शिविरमा लगियो। त्यहाँ पनि तिनले प्रचार गरी नै रहे। कसरी? तिनीसँगै कैद गरिएका एक जना कैदी यसो भन्छन्‌: “कैदीहरूले गार्डहरूले फ्याँकेका चुरोटका ठुटाहरू बटुलेर राख्थे र बाइबलका पानाहरूलाई चुरोट बेह्रने कागजको रूपमा चलाउँथे। चुरोट बेर्न चलाइने बाइबलका ती पानाहरू याकोपले कहिलेकाहीं भेट्टाउँथे र पढ्‌थे। पढ्‌नेबित्तिकै हामीलाई प्रचार गरिहाल्थे। त्यसकारण, हामीले तिनलाई ‘बाइबल म्यान’ भन्‍ने नाउँ राखिदियौं।”

सन्‌ १९४४ अक्टोबर महिनामा थुप्रै कैदीहरूलाई सशस्त्र ट्याङक फँसाउने सुरुङ खन्‍ने काम अह्राइयो। याकोपलाई पनि यही काम अह्राइयो। युद्धलाई समर्थन गर्ने त्यो काम गर्न याकोपको अन्तस्करणले नदिएको हुँदा तिनले इन्कार गरे। गार्डहरूले बारम्बार धम्काए तापनि तिनी मानेनन्‌। अक्टोबर १३ तारिखको दिन एक जना अधिकारीले तिनलाई एकल बन्दीगृहबाट निकालेर त्यही काम गर्ने ठाउँमा लगे। त्यतिखेर पनि याकोप आफ्नो अडानमा अडिग थिए। अन्तमा याकोपलाई आफ्नै चिहान खन्‍न लगाइयो र त्यहीं तिनलाई गोली हानेर मारियो।

साक्षीहरूविरुद्ध खेदो बन्द भएन

याकोप र अरू साक्षीहरूको साहसी अडान देखेर नाजीहरू असाध्यै रिसाए र साक्षीहरूलाई झनै खेदो गर्न थाले। तिनीहरूले खेदो गरेकामध्ये १८ वर्षका एभर्ट केटलारे पनि थिए। सुरुमा त एभर्ट लुकीलुकी हिंडे तर पछि तिनलाई गिरफ्तार गरियो र अरू साक्षीहरूबारे सुराक पत्ता लगाउन नराम्रोसँग पिटे। अरूबारे बताउन इन्कार गरेकोले जर्मनीको श्रम शिविरमा तिनलाई पठाइयो।

त्यही महिना अर्थात्‌ अक्टोबर १९४४ मा प्रहरीहरूले एभर्टको भिनाज्यू बर्नार्ड लोइम्सको खेदो गर्न थाले। बर्नार्डलाई भेट्टाउँदा तिनीसित अरू दुई जना साक्षीहरू एन्टोनी रेमेयर र एल्बेरटुस बोज पनि थिए। एल्बेरटुसले पहिला पनि यातना शिविरमा १४ महिना बिताइसकेका थिए। यद्यपि, शिविरबाट छुटेपछि अझै पनि तिनले जोसपूर्वक प्रचारकार्य गरिरहेका थिए। सुरुमा त नाजीहरूले ती तीन जना पुरुषहरूलाई निर्मम ढंगमा पिटे र त्यसपछि गोली हानेर मारे। युद्ध सिद्धिएपछि मात्र तिनीहरूको लास भेट्टाइयो र फेरि गाडियो। युद्धको केही समयपछि थुप्रै स्थानीय अखबारहरूले यस प्राणदण्डबारे रिपोर्ट गरे। एउटा अखबारले यसो भन्यो, ती तीन जना साक्षीहरूले नाजीहरूको लागि परमेश्‍वरको व्यवस्था विरुद्ध कुनै पनि काम गर्न इन्कार गरे र त्यसको लागि “तिनीहरूले आफ्नो ज्यानै गुमाउनुपऱ्‍यो।”

त्यतिञ्जेल १९४४ नोभेम्बर १० तारिखको दिन सुरुमा उल्लेख गरिएको बर्नाट पोलमनलाई गिरफ्तार गरेर सैन्य परियोजनामा काम गर्न पठाइयो। त्यस श्रम शिविरमा साक्षीको नाउँमा तिनी मात्रै थिए र तिनले त्यो काम गर्न मानेनन्‌। तिनलाई सम्झौता गराउन गार्डहरूले विभिन्‍न दाउपेच गरे। तिनलाई भोकभोकै राखियो। तिनलाई लट्ठी, बेल्चा र बन्दुकको कुन्दाले निर्मम ढंगमा पिटियो। साथै, तिनलाई घुँडासम्म आउने चिसो पानीमा जबरजस्ती पार गर्न लगाइयो र त्यसपछि चिसो छिंडीमा बन्द गरेर राखियो। त्यहाँ तिनले चिसो लुगामै रात बिताउनु पऱ्‍यो। तैपनि, बर्नाटले हार खाएनन्‌।

त्यतिबेला बर्नाटका दुई बहिनीहरूलाई तिनीसित भेट्‌न दिइन्थ्यो र तिनीहरू यहोवाका साक्षीहरू थिएनन्‌। बहिनीहरूले तिनलाई आफ्नो अडान त्याग्न आग्रह गरे तापनि तिनी दृढ रहे। तिनको लागि केही गर्नसक्छन्‌ कि भनेर बहिनीहरूले बर्नाटलाई सोद्धा तिनले घर गएर बाइबल अध्ययन गर्ने सुझाउ दिए। त्यसपछि तिनकी गर्भवती पत्नीलाई देखेर त पक्कै पनि तिनले आफ्नो अडान त्याग्छन्‌ होला भनेर ती सताउने मानिसहरूले तिनलाई भेट्‌न दिए। तर तिनकी पत्नीको उपस्थिति र प्रोत्साहनदायी शब्दहरूले परमेश्‍वरप्रति विश्‍वासी रहिरहने बर्नाटको संकल्पलाई अझ बलियो बनायो। सन्‌ १९४४ नोभेम्बर १७ का दिन त्यस श्रम शिविरमा भएका अरू कैदीहरूको आँखाकै अगाडि बर्नाटलाई पाँच जना व्यक्‍तिहरूले गोली हानेर मारे। बर्नाटको मृत्युपछि अर्थात्‌ तिनको शरीर गोलीले छियाछिया भइसकेपछि पनि त्यहाँको अधिकृतको रिस मरेको थिएन, तिनले आफ्नो बन्दुक निकालेर बर्नाटको दुवै आँखामा गोली हाने।

यस्तो पाशविक ढंगमा हत्या गरेको कुरा सुनेपछि साक्षीहरू स्तब्ध भए तर तिनीहरू विश्‍वासी र साहसी रहे अनि आफ्नो मसीही क्रियाकलापमा अघि बढिरहे। बर्नाटको हत्या गरिएको ठाउँ नजिकै भएको यहोवाका साक्षीहरूको सानो मण्डलीले त्यस प्राणदण्डको केही समयपछि यस्तो रिपोर्ट गऱ्‍यो: “यस महिनामा मौसम अनुकूल नभए तापनि अनि शैतानले हाम्रो मार्गमा थुप्रै कठिनाइहरू ल्याए तापनि हामीले हाम्रो क्रियाकलापमा धेरै वृद्धि गर्न सकेका छौं। क्षेत्र सेवकाईमा बिताइएको घण्टा ४२९ बाट बढेर ७६५ पुग्यो। . . . प्रचार गर्दै गर्दा एक जना भाइले एक व्यक्‍तिलाई राम्रो साक्षी दिए। त्यस व्यक्‍तिले यो धर्म पनि गोली हानेर मारिएको मानिसको जस्तै हो कि भनेर सोधे। हो भनेर थाह पाएपछि त्यस व्यक्‍तिले लामो सास तान्दै यसो भने: ‘वाह, कस्तो गजबको व्यक्‍ति, कस्तो विश्‍वास! विश्‍वासको उदाहरण भनेको यस्तो पो हुनुपर्छ त!’ ”

यहोवाले सम्झनुभएको

सन्‌ १९४५ मे महिनामा नाजीहरूको हार भयो र नेदरल्याण्ड्‌सबाट धपाइयो। युद्धको दौडान निर्दयी ढंगमा सताइए तापनि यहोवाका साक्षीहरूको संख्या केही सयबाट बढेर २,००० भन्दा बढी भयो। ती युद्धकालीन साक्षीहरूबारे इतिहासकार डा. डे यङ यसो भन्छन्‌: “धम्की र सतावटको बावजूद तिनीहरूमध्ये प्रायजसो आफ्नो विश्‍वासमा दृढ रहे।”

त्यसकारण, केही सांसारिक अख्तियारवालाहरूले नाजी शासनको समयमा यहोवाका साक्षीहरूलाई तिनीहरूको साहसी अडानको लागि सम्झने ठोस कारण छ। तथापि, अझ महत्त्वपूर्ण कुरा त के हो भने, ती युद्धकालीन साक्षीहरूको उत्कृष्ट उदाहरणलाई यहोवा र येशूले सम्झनुहुनेछ। (हिब्रू ६:१०) आउनै लागेको येशू ख्रीष्टको हजार वर्षीय राज्यमा परमेश्‍वरको सेवाको खातिर आफ्नो ज्यान गुमाउने ती विश्‍वासी अनि साहसी साक्षीहरूलाई चिहानबाट बिउँताइनेछ अनि तिनीहरूले पार्थिव प्रमोदवनमा अनन्त जीवनको प्रत्याशा पाउनेछन्‌!—यूहन्‍ना ५:२८, २९.

[पृष्ठ २४-मा भएको चित्र]

याकोप भ्यान बेनकोम

[पृष्ठ २६-मा भएको चित्र]

यहोवाका साक्षीहरूलाई प्रतिबन्ध लगाउन बनाइएको उर्दी छापिएको अखबारको एक टुक्रा

[पृष्ठ २७-मा भएका चित्रहरू]

दायाँ: बर्नार्ड लोइम्स; तल: एल्बेरटुस बोज (बायाँ ) र एन्टोनी रेमेयर; तल: हीम्सटेडमा सोसाइटीको कार्यालय